खनालको ‘नेपालमा कार्टुन हिजो र आज’ सार्वजनिक

काठमाडौं — लामो समयदेखि कला सिर्जना र लेखनमा सक्रिय कलाकार तथा लेखक केशवराज खनालको ‘नेपालमा कार्टुन हिजो र आज’ पुस्तक सार्वजनिक भएको छ । 

खनालको ‘नेपालमा कार्टुन हिजो र आज’ सार्वजनिक

शुक्रबार राजधानीको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति केके कर्माचार्य, उपकुलपति गोपाल चित्रकार गायतकाले पुस्तकको विमोचन गरे ।

कार्टुनकला अन्य कलाभन्दा निकै प्रभावकारी भए पनि यसको ऐतिहासिक दस्तावेजका रुपमा सामग्रीहरु निकै कम देखिएकोले पुस्तकका रुपमा संग्रह गरिएको खनालले बताए । ‘मैले कार्टुनकलाबारे पुस्तकहरु निकै कम भएकोले निकै दु:ख पाए’, उनले भने, ‘यस पुस्तकले नयाँ पुस्ताका विद्यार्थीहरुलाई कार्टुनका बारेमा बुझ्न सघाउ पुराउन सक्छ भन्ने अपेक्षा गरेको छु ।’

अहिले पत्रपत्रिकाहरुमा कार्टुनकलाले पाठकहरुलाई निकै आकर्षित गरेको सुनाउँदै उनले व्यक्तिगत रुपमा मात्र नभएर राज्यले पनि यसलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । खनालका अनुसार पुस्तकलाई प्रतिष्ठानको वास्तुकला र सिर्जनात्मक कला विभागहरुको पहलमा ल्याइएको हो ।

पुस्तकबारे बोल्दै कुलपति कर्मााचार्यले नेपालमा कार्टुन विधा ओझेलमा परेको स्वीकार गरे । यस विधालाई विस्तार गर्न प्रतिष्ठानले हरेक वर्ष यसैसम्बन्धी कार्यक्रम तथा प्रकाशनहरु गर्दै आएको उनले बताए । पुस्तक नेपाली कार्टुनलाई जान्न चाहनेहरुका लागि स्रोत सामग्री बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित : चैत्र १४, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?