कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ हप्ता लामो शिल्पी नाट्ययात्रा सम्बन्धी पुस्तिका विमोचन

कान्तिपुर संवाददाता

काठमाडौँ — शिल्पी नाटकघरले ५ हप्ता लामो नाट्य यात्राबारे तयार पारेको पुस्तिका विमोचन गरेको छ ।

५ हप्ता लामो शिल्पी नाट्ययात्रा सम्बन्धी पुस्तिका विमोचन

शनिबार सामाजिक दूरी कायम गर्दै लेखक कुमार नगरकोटी र शिल्पी नाटकघरका अध्यक्ष कुमार आलेले पुस्तिकाको विमोचन गरेका हुन् । पुस्तिकामा गत असोज र कात्तिकमा गरिएको नाट्ययात्राबारे कलाकार र दर्शकका अनुभूति समेटिएको रंगकर्मी घिमेरे युवराजले बताए ।

'गत वर्ष दसैंको पूर्णिमाको भोलिपल्टै हामीले नाट्य यात्रा सुरु गरेका थियौं । सुर्खेतबाट सुरु भएको हाम्रो यात्रा विकट ठाउँसम्म पुग्यो । कलाकार र दर्शकका अनुभूति समेटेर यो पुस्तिका तयार पारिएको हो,' उनले सुनाए ।

कार्यक्रममा नाट्ययात्राको २१ मिनेट लामो वृतचित्र समेत प्रदर्शन गरिएको थियो । वृतचित्रमा नाट्ययात्रामा हिँडेका १७ जना समूहको यात्रा, 'कल्पना र उर्मिला दु:खमा छन्' नाटक प्रदर्शनका दृश्य समेटिएको थियो । त्यस्तै नाटकमा दर्शक सहभागी हुँदै गरेको दृश्य पनि वृतचित्रमा प्रस्तुत गरिएको थियो ।

रंगकर्मी युवराजले निर्देशन गरिएको यो कचहरी नाटक १० ठाउँ पुगेर ४२ पटक मञ्चन गरिएको थियो । कचहरी नाटकमा २ पटक नाटक मञ्चन हुन्छ । दोस्रो पटकको नाटक मञ्चन भइरहँदा दर्शक पनि सहभागी हुन् पाउँछन् ।

नाटकले गाउँघरमा आम कशोरी र महिलाहरुको कथा समेटिएको थियो । कचहरी नाटकले दर्शकको भोगाइलाई समेटेको बताउँछिन् कलाकार स्मारिका फुँयाल । 'जाजरकोटमा नाटक देखाइसकेपछि एकजना दिदीले आफ्नो अनुभव बाँड्नु भएको थियो । उहाँको अनुभव सुन्नु भन्दा अगाडि मलाई लाग्थ्यो, हामी नाटक देखाउँछौं उहाँहरु दर्शक मात्र हुनुहुन्छ भन्ने । तर नाटक हामीले देखाएका हौं, भोगाई त उहाँहरुको हो भन्ने मलाई लाग्यो,' उनले सुनाइन् ।

त्यस्तै नाटकमा उर्मिलाको भूमिकामा देखिएकी कलाकार संगीता उरावले यही यात्रामा आफ्नो समुदायबीच नाटक प्रस्तुत गर्न पाइन् । 'यात्राकै क्रममा फूपुको छोरीको बिहे हुने कुरा भइरहेको थाहा पाएँ । उनी सानै थिइन् । मैले अहिले नै बिहे नगर्न सल्लाह दिँदै थिएँ । त्यतिकैमा युवराज सरले सुन्नु भएको रहेछ । त्यसपछि उहाँले सुनसरी गएपछि मेरो गाउँमा नाटक गर्ने कुरा भयो,' १ वर्षअघिको कुरा सम्झिँदै भनिन्,'मलाई सबैले के काम गर्छौ भनेर सोध्नुहुन्थ्यो त्यहाँ । त्यहाँ नाटक मञ्चन गरेपछि मैले त्यसको जवाफ दिन पाएँ । नाटक भन्ने बित्तिकै नकरात्मक सोच्नुहुन्थ्यो । नाटक गर्नुअगाडि मलाई जुन तरिकाले हेर्थे, भन्थे त्यो नाटक प्रस्तुत गरेपछि परिवर्तन भयो ।'

कचहरी नाटकले आफैंमा परिवर्तन ल्याएको बताउँछन् अर्का कलाकार अमजद प्रवेज । नाटकमा संगीतको कामसमेत गरेका उनले भने,'कचहरी नाटक हेरेर एकजना सानो नानी रिसले आँखाभरी आँशु पारिन् । त्यो दृश्य मैले नजिकबाट देखें । त्यसले मलाई जति असर पारेको छ सायद नाटकघरभित्र पाइन्थेन होला । हामी परिवर्तनको सन्देश लिएर गाउँ/गाउँ पुगेका थियौं । अरु परिवर्तन हुनु/नहुनु आफ्नो ठाउँमा छ । तर म परिवर्तन भएँ ।'

प्रकाशित : कार्तिक १५, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?