नेपाली सञ्‍चार माध्यममा जातका कुरा : सहानुभूति कि समानुभूति ?- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली सञ्‍चार माध्यममा जातका कुरा : सहानुभूति कि समानुभूति ?

नेपाली पत्रकारिता अभ्यासमा जात र थरको आधारमा अपराधी समूह र निरपराधी समूह भनेर कित्ताकाट गर्ने तितो यथार्थ रहेको पाइन्छ ।
निरञ्‍जन सापकोटा

सोह्रश्राद्ध सुरु भएको पहिलो दिन, घरमा सँगै बस्ने भाउजूले चिया खान दिँदा अचम्ममा परेँ । हामीले सँगै बसेर खाना खाने टेबुलमा दाइ र भाउजू बसेर चिया खाँदै हुनुहुन्थ्यो । म कोठाबाट निस्किएपछि उहाँको व्यवहार अलि भिन्न पाएँ । उहाँमा मैले छोइदेला भन्ने अनौठो संशय देखिन्थ्यो ।

हुन त उहाँले करिब एक हप्ता अगाडिदेखि नै मलाई सचेत नगराउनु भएको भने होइन । ‘सुत्दा र चर्पी जाँदा लगाएका लुगा लगाएर हामीलाई नछुनु है बाबु ।’ त्यसै दिनदेखि मलाई भने आफू अछूत भएको महसुस भइरहेको थियो । कारण थियो – सोह्रश्राद्ध । यस अवधिभर उहाँले मलाई पकाउन पनि नलाउने हुनुभयो । सजिलै भयो ।

तर, मनमा भने अघिल्लो दिन सामाजिक अभियन्ता दिदी डा. विष्णुमाया परियारसँगको कुराकानी खेलिरह्यो । दलितका बारेमा उहाँ भन्नुहुन्छ, ‘दलितलाई मान्छेको रुपमा अझै लिइँदैन समाजमा ।’ मैले यो अवधिमा हामीले नै दलितहरुप्रति गरेका अनेकन् हर्कतहरु झलझली सम्झें । दमाई ठूलाबालाई पिँढीमा राखेर भात खान दिएको होस् वा उहाँले खाना खाएर आफैं माझ्नुभएको थाल फेरि पखालेर चोख्याएको होस् । ‘आफू नमरी स्वर्ग देखिँदैन’ भन्ने आहानको मर्म यतिखेर आफैं ‘अछूत’को कोटीमा परेपछि मात्र थाहा भयोे ।

सामाजिक संरचनामा जबदेखि दलित वर्गलाई होचो पारियो, त्यसैदिनदेखि सो वर्गले सुविस्ताको स्वास फेरेनन् सायद । अभियन्ताहरु दलित शब्दसँग नै सहमत छैनन् । यद्यपि, शिल्पीहरुलाई दलित शब्दले पुकार्ने चलनलाई संविधानले नै वैधता दिएको छ । भारतीय लेखक दीपंकर गुप्ता आफ्नो पुस्तक ‘हाइरार्की एण्ड डिफरेन्सेसः एन इन्ट्रोडक्सन (२०००)’ मा सामाजिक वर्गीकरणलाई यसरी परिभाषित गर्छन्, ‘निश्चित मापदण्डको आधारमा सामाजिक स्वरुपको वर्गीकरण गरिन्छ, जसमा जात, वर्ग, वर्ण र लिंगलाई प्रयोग गरिएको हुन्छ । यसले समाजमा तहगत व्यवस्था पनि गरेको हुन्छ ।’ यही तहगत व्यवस्थाले नेपाली समाजमा कथित दलितहरुलाई पिँधमा पुर्‍याएको तथ्यलाई नकार्न सकिँदैन ।

नेपाली सञ्चार माध्यमले दलित र जनजातिका सवालहरुलाई उचित स्थान दिएको छैन भन्ने कोणबाट विद्यावारिधिको सोध गर्ने क्रममा समाजको तल्लो तहमा पारिएको वर्गका आवाजलाई हामीले कुन स्थान दिएका छौं भन्ने तथ्य उजागर गर्ने कोसिस गरेको छु । समाज उसै भेदभावपूर्ण छ, त्यसमाथि नेपालमा विद्यमान जातको जञ्जालले होचालाई घोचेको कुरा प्रमाणित गर्न कुनै अनुसन्धानको खाँचो नपर्ला नै ।

यहाँ दलित र जनजातिलाई सामाजिक संरचनाले नै भेदभाव गरिरहेको छ भनेर अभियन्ताहरु चिच्याइरहन्छन् तर सदियौं बितिसक्दा पनि परिदृश्यमा परिवर्तन नआउनु दुःखद हो । समाचार माध्यमहरुले पक्षपाती व्यवहार गरीरहेको कुरा बेलाबखत विभिन्न व्यक्तिहरुबाट व्यक्त भई नै रहेका हुन्छन् । पत्रकार तथा लेखक दिल निसानी मगरले नेपाली मूलधारको पत्रकारिता अत्यन्तै भेदभावपूर्ण छ भन्ने आशयसहित एउटा स्टाटस प्रेसित गरे । जसको आशय थियो, सुन तस्करीको आरोपमा पक्राउ परेका तामाङ थरका आरोपितको थर राखेर समाचार शीर्षक बनाइयो– ‘सुन तस्करीमा तामाङ पक्राऊ’ । यदि सोही व्यक्ति ब्राम्हण थियो भने समाचारको शीर्षक हुन्थ्यो, ‘सुन तस्करीमा युवा पक्राउ’ ।

यसै सन्दर्भमा पत्रकार रञ्जित तामाङको पनि धारणा पनि उस्तै छ । उनी भन्छन्, कथित उपल्लो जातका पत्रकारहरु नै दलित तथा जनजाति संलग्न आपराधिक घटनाका शीर्षकमा थर उल्लेख गरेर लेख्न रमाउँछन् । उनी थप्छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गरेका अधिकांश व्यक्तिहरु ब्राम्हण तथा क्षेत्री समूहबाट छन् । तर सकेसम्म पदलाई प्राथमिकता दिएर समाचार शीर्षक लेखिन्छ न कि थर । तामाङकै कथनलाई हेर्ने हो भने पनि नेपाली पत्रकारिता अभ्यासमा जात र थरको आधारमा अपराधी समूह र निरपराधी समूह भनेर कित्ताकाट गर्ने तितो यथार्थ रहेको पाइन्छ ।

यो उदाहरण सम्बन्धित जात/समूहले पालिरहेको रोष हो, जस्ले समग्र समुदायको आवाजलाई प्रतिनिधित्व गरिरहेको छ । समाजको संरचना र त्यसैभित्र सञ्चालित सबै संगठनहरुमा जरा गाडेर बसेको मानसिकता नै आजसम्मको गोलचक्करको कारण हो । सञ्चारमाध्यम कुनै छुट्टै ग्रहबाट आएका मानिसहरुको व्यवसाय होइन त्यसैले जातको आधारमा समाचार सामग्रीले उचित स्थान पाउनु नपाउनुमा पनि समाजले जातलाई कसरी प्रयोग गरिरहेको छ भन्ने प्रतिबिम्बित हुन्छ । पंक्तिकारले यसै विषयमा विगत चार वर्षदेखि गरिरहेको अनुसन्धानको प्रारम्भिक नतिजा पनि यही हो कि, नेपाली मूलधारका समाचार माध्यमले सामग्रीहरु पस्किँदा जातीय गन्धलाई मेट्न सकेको छैन । जसमा असमानता र भेदभावको राम्रै प्रयोग भएको छ ।

‘द कास्ट सिस्टम एण्ड इट्स इम्प्लिकेसन’ पुस्तकमा लुइस डुमोन्ट (१९८०) लेख्छन्, ‘जात’ सामाजिक संगठनको एउटा प्रणाली हो, जुन परम्परागत भारतीय उपमहाद्वीपका विभिन्न देशका हिन्दूहरुमाझ अवस्थित छ । हिन्दु परम्परागत समाजमा जात व्यवस्थाका आधारमा मानवको भाग्य निर्धारण हुने गरेको पाइन्छ । ब्राम्हण कूलमा जन्म लिनेले जन्मसिद्ध उपल्लो दर्जा प्राप्त गर्छ, जसरी राणा शासनमा जन्मेको बालक जन्मनेबितिक्कै जर्नेल हुन्थ्यो । यही (कू)परम्परालाई नेपाली सञ्चार माध्यमहरुले पनि निरन्तरता दिइरहेको सरोकारवालाहरुको असहमतिबाट पनि प्रस्ट हुन्छ ।

नेपाली सञ्‍चार माध्यम र जात

लेखिका तथा अभियन्ता सरिता परियारलाई नेपाली मूलधारका समाचार माध्यमहरुले दलित समुदायप्रति यथेष्ठ योगदान दिन सकेको छैन भन्ने लाग्छ । आजका दिनमा पनि दलित र पिछडिएको सम्प्रदायलाई सहानूभूति दर्शाउन मात्र समाचारहरु लेखिने उनको धारणा छ । समग्र पत्रकारिता पेसामा दलित तथा जनजाति समुदायको प्रतिनिधित्व कम हुनाले पनि यस्तो अवस्था सिर्जना भएको परियारको दाबी छ । यसरी उनको धारणालाई मात्र केलाउने हो भने पनि नेपाली पत्रकारिताभित्रको भेदभावलाई बुझ्न सकिन्छ । समाजलाई समतामूलक बनाउन वा भेदभावमुक्त बनाउन पिछडिएको समुदायको आवाजलाई सुन्ने कोसिस गरे मात्र पनि सकारात्मक कदम हुने सरिता परियारको धारणा रहेको छ ।

तीन वर्षअगाडिको वर्षाले तराई जलमग्न भएको बेला पत्रपत्रिकामा एउटा तस्बिरले राम्रै स्थान पायो । नरेन्द्र श्रेष्ठले खिचेको उक्त तस्बिरमा सप्तरीका देवकुमार सदाले आफ्नो आठ महिने भतिजा कमल सदाको शवलाई पानीमा बगाइरहेको दर्दनाक दृश्यलाई देख्न सकिन्छ । शवलाई पानीमा बगाउनुको कारण थियो, वर्षाले जलमग्न जपमनमा शवलाई गाड्ने स्थान नहुनु । फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७५मा सो फोटो सर्वोत्कृष्ट ठहरियो पनि ।

दलितका सवालमा लामो समयदेखि बहस गर्दै आएका डा. मित्र परियारलाई यो फोटोमा प्रयोग गरिएको विवरणमा चित्त नबुझेर सामाजिक सञ्जालमा लेखे, ‘फोटोमा भनिए जस्तै बच्चाको शवलाई गाड्ने स्थान नभएको कारणले बगाइएको नहुन सक्छ । मृतक दलित मुसहर परिवारबाट भएकोले शवलाई पुर्न नदिइएकोले सो शवलाई बगाइएको हो, उनले सँगै आह्वान पनि गरे, ‘नेपालका कोही साथीले यस कुरालाई उत्खनन् गर्न सक्छन् ।’

मित्र परियारको संशयले नेपाली समाचारहरुको विश्वसनीयता र तथ्यपूर्णतामाथि नै प्रश्नचिन्ह खडा गरेको रुपमा बुझ्नु पर्ने हुन्छ । अध्ययनको क्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग गरिएको साक्षात्कारले पनि के बताउँछ भने पिछडिएको वर्गको आवाजलाई मुखरित गर्न मिडिया चुकिरहेको छ । तर विगतको तितो इतिहासलाई संग्ल्याउन नयाँ आउने पुस्ता मरिमेटेर लागिरहेको छ ।

सञ्चार माध्यमले बिकाउ समाचारलाई प्राथमिकता दिने व्यवहारिक पक्ष एकातिर छँदै छ । योसँगै उनीहरुले उत्तरदायित्व पनि निभाउनुपर्ने हुन्छ । हरेक समाचार माध्यमहरुले आफ्ना सम्भावित पाठकहरुका पृष्ठभूमिबारेमा गहिरो अध्ययन गरिरहेका हुन्छन् । विशेषगरी छापा माध्यमले वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय मुद्दा के हो भन्ने प्रस्टसँग बुझेर काम गरिरहेका हुन्छन् । अनुसन्धाता तथा दलित अभियन्ता प्रकाश बराइली जातको आधारमा मिडियाका सम्भावित उपभोक्ता हुने कुरा स्वीकार्छन् । मिडियाले बिकाउको सामग्रीलाई उच्च प्राथमिकता दिने हुनाले तल्लो वर्गका समाचार सकेसम्म लुकाइने बराइलीको अनुभव रहेको छ । सम्भ्रान्त वर्गको मिडियासँग जुन अनौपचारिक साँठगाँठ हुन्छ, त्यसले विषयवस्तुलाई तोडमोड गर्न र लुकाउन प्रेरित गर्ने बराइली बताउँछन् । नेपालमा सीमान्तकृत समूहको माग सम्बोधन हुनै लागेको परिप्रेक्ष्यमा अन्तरिम संविधानपश्चात मिडियाले दलित तथा जनजातिको मुद्दालाई अलपत्र पारेको आरोप पनि बराइलीले लगाए । सम्पादकको रुचि र विश्वासमा आहत पुग्नेगरी समाचार सामग्रीहरु तयार पार्दा पनि ती सामग्रीहरु लत्याइने तर्क बराइलीको छ ।

मधेश, जनजाति, दलित र महिला नेपाली सञ्चारमाध्यमले हेला गरेका विषयका रुपमा लिन्छन् उपप्राध्यापक तथा लेखक लेखनाथ पाण्डे । विषयवस्तुका आधारमा दलितका समाचार प्रसारण भए पनि अधिकांश नकारात्मक नै हुने गरेको पाण्डे दाबी गर्छन् । सहभोज, मन्दिर प्रवेश, सार्वजनिक धारा प्रयोग जस्ता विषयवस्तुमा अल्मलिएको समाचार लेखन भेदभावको चुरो कुरोमा प्रवेश नगरेको पाण्डेको भनाइ छ । झट्ट हेर्दा नेपाली पत्रकारिता मात्र भेदभावपूर्ण रहेको लागे पनि विश्वव्यापी अभ्यास नै यस्तै रहेको तर आवाजविहीनहरुको आवाज बन्न नेपाली सञ्चार जगत चुकिरहेको जगजाहेर नै छ ।

प्राध्यापक तथा लेखक राम लोहनी भने समाचार माध्यमलाई दोष दिँदैनन् । उनका अनुसार दलित तथा अल्पसंख्यकका समाचारहरुलाई मिडियाले उचित स्थान र प्राथमिकता दिइरहेका छन् । जातका आधारमा हुने झैझगडा, मन्दिर प्रवेशमा रोक लागेका घटनाहरु, अन्तरजातीय विवाह जस्ता विषयवस्तु पस्कन मिडियाले कन्जुस्याइँ नगरेको लोहनीको अनुभव रहेको छ । संवाददाताहरु धेरै भएका मिडियाहरुले तुलनात्मक हिसाबले धेरै घटनाहरुलाई समेटेको पनि लोहनीको ठहर छ ।

विगतमा समाजको परम्परागत मूल्य र मान्यता मान्नुपर्छ भन्ने धारणाका कारण समाजले गरेका क्रुर व्यवहारलाई पनि दलित तथा पिछडिएको वर्गले चुप लागेर सहेर बसेको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीको ठम्याइ छ । विश्वव्यापी परिवर्तन र चेतनाको क्रमिक विकासले सबै तह र वर्गले आफूलाई मूल प्रवाहमा बगाउन खोज्यो । जसका कारण समावेशीता र समताका मुद्दाहरु उठे । दोस्रो ऐतिहासिक जनआन्दोलनपछिको चेतनाको सेरोफेरोमा नेपाली समाज पनि यो मुद्दामा बढी केन्द्रित भएको पाइन्छ । त्यसैको छाप मिडियामा पनि पर्नुपर्छ भन्ने माग सम्बन्धित निकायले राखेका हुन् । अति संवेदनशीलताले गर्दा समस्या देखिएको पत्रकार अधिकारी स्विकार्छन् ।

अन्त्यमा, जातको रंगले नेपाली मूलधारको सञ्चार माध्यम पोतिएको यथार्थलाई नकार्न सकिँदैन । नकारात्मक तवरबाट पीडितलाई झन् पीडा दिइनु हुँदैन भन्ने विश्वव्यापी मान्यतालाई सबैले अनुशरण गर्नैपर्छ । दलित तथा जनजातिले आफूलाई सहानुभूतिभन्दा समानुभूति हुनेगरी समाचार प्रसार भएको हेर्न चाहेका छन् । जनजातिभन्दा दलित वर्गलाई सकारात्मक विभेद गर्नुपर्ने आजको आवश्यकतालाई सञ्चार जगतले पनि ध्यान दिनुपर्ने देखिन्छ । संख्यासँगै गुणात्मक सामग्रीको प्रकाशनले पीडितलाई पीडा कम गर्न सहयोग पुग्ला । सत्य छोप्दा विद्रोह बलियो हुन जाने तथ्यलाई आत्मसात गर्दै समावेशी र सन्तुलित सञ्चारमाध्यमको लागि बहस गर्नु आजको खाँचो हो ।

–सापकोटा पोर्चुगलको मिन्यो विश्वविद्यालयबाट ‘कम्युनिकेसन साइन्स’ मा विद्यावारिधि गर्दैछन् ।

प्रकाशित : भाद्र २०, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

३१ लाखभन्दा बढी निको भए, ६९,५६१ जनाको मृत्यु
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४० लाख नाघेको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप ८६ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख २३ हजार १ सय ७९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार ८९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ५ सय ६१ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७७.२३ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७० हजार २ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ३१ लाख ७ हजार २ सय २३ जना निको भएका छन् भने करिब ८ लाख ४६ हजार संक्रिय केस रहेका छन् ।

भारतमा पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार शुक्रबार १० लाख ५९ हजार ३ सय ४६ नमुना परीक्षण भएको छ । भारतमा शुक्रबार साँझसम्म ४ करोड ७७ लाख ३८ हजार ४ सय ९१ नमुना परीक्षण भएको छ ।

यसैबीच करिब ६ महिनादेखि बन्द रहेको दिल्ली मेट्रो रेल सेवा मंगलबारदेखि पुन: सञ्चालनमा आउने भएको छ । दिल्ली मेट्रोको नयाँ गाइडलाइनअनुसार टोकन प्रयोग गर्न पाइने छैन भने मास्क र स्मार्ट कार्ड अनिवार्य गरिएको छ ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै तेस्रो प्रभावित मुलुक हो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म ६२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म करिब एक लाख ८७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब २३ लाख निको भएका छन् ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वभर दुई करोड ६६ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ८ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये एक करोड ७७ लाखभन्दा बढी निको भइसकेका छन् ।

प्रकाशित : भाद्र २०, २०७७ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×