कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानको आत्मकथा 

के जाति हो भाइरस आएपछि मेरो दु:ख उत्पातै बढ्याछ । अरु बेला त म मान्छेलाई सुन्दर देखाउने चस्माको हलुंगा डाँडीहरु अड्याउँथे । ढाका टोपी र पाली टोपीका मुलायम फेदहरु मेरो छेउमा स्पर्श गरेर अडिएझैं देखिन्थे । तर यो भाइरसको महामारीपछि मान्छेहरु ममाथि बढी नै भर पऱ्याछन् ।
जनकराज सापकोटा

फलानो त टाउकोमै चढ्याछ । टाउकाले टेकेर भए पनि बस्छु । यी दुईमध्ये पहिलो वाक्य अक्सर घमण्डी मान्छेप्रति टिप्पणी गर्दा प्रयोग गरिन्छ । दोस्रो भने जति दु:ख पाए पनि टिकेर बस्छु भन्ने बुझाउन प्रयोग गरिन्छ ।

कानको आत्मकथा 

टाउको जोडिएर प्रयोग हुने अनेकन वाक्यहरु म टाउकाकै एक छेउमा चुपचाप बसेर सुनिरहन्छु । म शरीरको परित्यक्त अंग हुँ कि उल्कै भाउ पाएर मैमत्त भएको अंग हुँ मलाई थाहा छैन । किनकी मेरा छेउछाउका अरु अंगका आफ्नै दु:ख छन् । मान्छेहरु सिँगान फाल्दा बेस्सरी नाकलाई निचोर्छन् । भब्बाउने गरी नेप्किनले बेसरी पुछ्छन् । मुखको पनि आफ्नै दु:ख छ । अरुका लागि बोलिदिन्छ । तर आफ्नो कथा भन्न सक्दैन । जाडो याममा चिसो पानीले पखालिँदा मुखले आफैलाई कठै म भन्न सक्दैन । जिब्रोलाई स्वाद पुऱ्याउन दाँतहरु खुरुखुरु मान्छेका आदेश तामेल गर्छन् । तातो, चिसो, साह्रो, गिलो, नुनिलो, अमिलो र तितोको अनेकन स्वाद त सहन्छन् नै कहिलेकाहीँ ‘डेटएक्सपायर्ड’ खानाको हरक पनि सहन्छन् ।

तर मेरो शान बेग्लै थियो । टक्क गिदीको छेउमै बेस्न पाउनु । मान्छेका सोच विचारअनुसार परिवर्तन हुने टाउकाको चाल थाहा पाउनु । जाडो याममा मुलायम टोपीले छोपिँदाको न्यानो, अनेकन सुमधुर संगीत सुन्दाको आनन्द । आहा ! क्या काइदाका दिन थिए ।

बेलाबखत मान्छेहरु कनकर्नो वा ‘इयरबड’ले मेरो पेटमा काउकुती लगाउंछन् । त्यस्तो बेला कहिलेकाहीँ दु:खेजस्तो भए पनि म भित्रको फोहोरमैला सफा हुने भएकाले मलाई उतिसारो रिस उठ्दैन । टाउकोमै नटेके पनि झण्डैझण्डै खोपडीकै छेउमा बस्न पाछु । मान्छेका खासखुस, गुह्य कुरा सुन्न पाछु । मुखले झैं दिनमा कैयन पटक चिसो पानीले पखालिनुपरेको छैन, नाकले झैं निचोरिनु परेको छैन । दाँतले झैं चलिराख्नु पऱ्या छैन । कपालले झैं काइँयोबाट जोतिनुपरेको छैन । हाइसन्चो थियो ।

छिमेकी अंगहरु मेरो आसन देखेर आह्रिस गर्थे । मेरो आकार अलिक ठाडो देखिनेलाई कसै कसैले जिस्क्याएर ठाड्काने भन्थे । म लुत्रुङ्ग परेको देखे भने कानलत्रे भन्थे । आकारका आधारमा जिस्क्याइने यस्तो शैली मलाई पिटिक्कै मन पर्दैन । तर लोभी मुखले मेरो कुरा कहिल्यै भनिदिएन ।

कोही-कोही मान्छेहरु मलाई दु:ख दिएर सुन्दरता निर्खाछन् । महिलाहरु मलाई छेडेर गहना झुन्ड्याउँछन् । एकाध पुरुषहरु पनि मलाई छेडेर मुन्द्रा र टप झुन्ड्याउँछन् । महँगा गरगहना झुण्डयाउने स्ट्याण्ड बन्न पाउनु पनि मेरा लागि सुखकै बात थियो । नाकमा फुली लाउने चलन हराउन थालेपछि मलाई स्ट्याण्ड बनाएर गर–गहना झुन्डयाउने चलन अलिक बढेको हो कि झैं लाउँछ ।

कागले कान लग्यो भनेर कागको पछि नदर्गुनु भनेर पनि मान्छेहरु अर्ति उपदेश देको सुन्छु । तर हामीलाई काग त के कुनै चराका प्रजातिले पनि लगेको थाहा छैन । यस्ता उल्टापाल्टा वाक्य विन्यास कस्ले गऱ्या होला भनेर हामी बेलाबेला गम खान्छौं ।

जोगीको एकथरी सम्प्रदाय सम्झे मलाई भाउन्न छुट्छ । गोरखनाथ र नरहरिनाथका अनुयायी भन्ने उनीहरु मेरो स्वरुप नै कुरुप पार्ने गरी मलाई दु:ख दिन्छन् । तिनीहरु मलाई फक्लक्कै चिर्छन् र के जाति हो झुन्ड्याउँछन् । मान्छेहरु तिनलाई कानचिरा वा कानफट्टा जोगी भन्छन् । ग्रह दशा काट्न त्यस्ता जोगीलाई अनेकन सिदा दिन्छन् । उनीहरु राति घर–घर डुलेर नाद बजाएर फेरी लगाउँछन् । यसो गर्दा छेद, भेद, मरिद, मसान, डंकिनी, भूत र पिचासले घरमा बस्नेलाई दु:ख दिँदैन भन्ने जनविश्वास रही आएको छ । मलाई छेडेर आफ्नो अलग्गै पहिचान बनाएर तिनले परम्परा धानेका छन भनेर मैले सन्तोक मान्दै आछु ।

भनी नै सकेँ, मेरा छिमेकीहरु आँखा, नाक र मुख हुन् । नाकसँग मेरो भलाकुसारी नभए पनि आँखा र मुखसँग भइरहन्छ । आंखाले देखेका र मैले सुनेका कुराहरुको विश्लेषण गरेर मुखले बोल्नुपर्ने हो । तर हिजोआज बेलाबखत मुख धेरै जान्ने भइदिन्छ । मैले के सुनेको थिएँ भनेर उसले थाहै नपाएजस्तो गरिदिन्छ । ठूलाबडा नेताहरु, शक्तिका ब्रोकरहरु र दलका वरिपरि घुम्ने दलालहरुका कानहरुले पछिल्ला वर्षहरुमा यस्ता गुनासा साट्न थालेको सुनेको छु ।

समयका अनेकन घुम्तीहरु पर गर्दा गर्दै एक्कासि मेरा दु:खका दिन सुरु भए । मान्छेहरुले रबर जस्तो तन्किने डोरोले मलाई बेर्न थाले । बुझिल्याउँदा थाहा पाएँ, त्यो मास्क अड्याउने डोरो रैछ । मेरो फेदमा मास्क अडक्याएर मान्छेहरु नाक र मुखलाई थुन्न थालेछन् । मेरो मुलायम फेदमा अडिन आउने डोराहरु थरीथरीका थिए ।

गतिलो मास्कको डोरो पनि मुलायम हुँदो रछ । तर त्यस्तो गतिलो मास्क लाउन सक्ने मान्छे थोरै रैछन् । सस्तो र नक्कली मास्कको डोरो जरखरिएको हुँदोरैछ । कुनै–कुनै डोरीले त मेरो फेद नै रातो पार्दिन्छ । सही आकार र साइज नभएको डोरीले तान्दा त मलाई रुख काट्न लाएका बेला डोरी लगाएर तानेझैं अनुभूति हुन्छ । कुनैकुनै बेला त मास्कको रबर जस्तो डोरो गुलेली तन्केझैं तन्किएर च्वाट्ट चुडिन्छ । त्यतिबेला त मेरी आम्मै तिरीमिरी झ्याइँ देखिएजस्तो हुन्छ ।

के जाति हो भाइरस आएपछि मेरो दु:ख उत्पातै बढ्याछ । अरु बेला त म मान्छेलाई सुन्दर देखाउने चस्माको हलुंगा डाँडीहरु अड्याउँथे । ढाका टोपी र पाली टोपीका मुलायम फेदहरु मेरो छेउमा स्पर्श गरेर अडिएझैं देखिन्थे । तर यो भाइरसको महामारीपछि मान्छेहरु ममाथि बढी नै भर पऱ्याछन् । जतिबेला पनि मास्कको डोरो अड्याउँदाअड्याउँदै मलाई औडाहा हुन्छ । त्यतिबेला म मुन्तिरका नाक र मुख पनि छाेिपएर, गुम्सिएर बस्याछन् नि । दु:ख नै भए पनि बरु मैले स्वच्छ हावा त खाना पाछु भनेर चित्त बुझाउँछु ।

कोही–कोही मान्छे खप्टाएर दुइटा मास्क लाउँछन् । त्यस्तो गर्दा मैले चारवटा डोरो अड्याउनुपर्छ । अझै कोही कोही त चस्मा र मास्क दुवै लाउने हुन्छन् । त्यस्ता मान्छेबाट मलाई थप भार थपिएको छ । मान्छेहरु घरमै बसेका बेला मलाई हाइसन्चो हुन्छ । बाहिर निस्केका बेला त ममाथि डोरो झुन्ड्याइहाल्छन् ।

डाक्टर, नर्स त ड्युटीभरि मेरै सहारामा हुन्छन् । कोहीकोही काम नभएका मान्छे पनि लखरलखर हिँडछन् । ती लखरवालाहरुले त मलाई सधैं दु:ख मात्रै दिन्छन् । चुप्प लाएर घरमै बसे त मैले सुख पाउथेँ नि भन्ने लाग्छ । तर यी लखरवालाहरु बातको वतङगड बनाउन सिपालु हुन्छन् । तिनलाई केही भन्न हुन्न । छुरा जस्तो मुख चलाउँछन् ।

एकथरी मान्छे भने सारै झ्याउलाग्दा हुन्छन् । तिनीहरु बोल्ने बेला, सुर्ती चुरोट खाने बेला, चिया पिउने बेला मास्कलाई चिउँडोमा झार्छन् । त्यतिबेला मास्कको डोरो झनै तन्किन्छ । अनि मलाई दु:ख हुन्छ । आफ्नो सुखका निम्ति तिनले मलाई दु:ख देका छन् । बदलामा तिनलाई भाइरस सर्ने डर पनि त हुन्छ । त्यस्तालाई त खुच्चिङ भन्न चाहन्छु ।

ठूलाबडाको टाउकोमुनिको कान हुन पाउनुको भने आफ्नै सुख रैछ । ठूलाबडा आफ्नै शक्तिको प्रतापमा मैमत्त छन् । यिनीहरु अरुलाई मास्क लगाएर हिँड्नुपर्छ भन्ने अर्ती दिन्छन् तर आफूले लाउन्‍नन् । मान्छेहरु भेट्दै हिँड्छन् । कार्यकर्ताबाट भाइरस सर्दैन भन्ठान्छन् । जेसुकै ठानुन्, यिनले मलाई त हाइसन्चो बनाएका छन् ।

कहिले यो भाइरसको ओखती बन्ला र हामी समस्त कानहरुको सुखका दिन आउलान भनेर हामी कानहरु कुरी बसेका छौं । मान्छेहरु घरमै बसे, जरुरी नपरी बाहिर ननिस्के हाम्ले पनि सुख पाउँथेम । तर जनताका कुरा नसुन्ने शासकहरु भएका देशमा हामी कानका कुरा कसले सुन्ने ? हामी मन्दिरका मुर्ति जस्ता छौं, सबैबाट पुजित हुन्छौं, सबैका भाकल सुन्छौं तर चिसा मन्दिरभीत्र कैद हुन्छौं । मुर्ति जस्तै हामी पनि अरुका कुरा सुन्न मात्रै अभिशप्त छौं ।

हामी समस्त कानहरुको कथा पढिदिने जोर आँखाहरुलाई धन्यवाद । मुख चलाएर पढ्नुभएको छ भने छिमेकी मुखहरुलाई पनि धन्यवाद । यो कुरा दिमाग र मनमा राख्नुभयो भने मन र दिमाग दुवैलाई पनि धन्यवाद ।

प्रकाशित : भाद्र ६, २०७७ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?