कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संझ्यालबाट संसार चियाइरहेका कविवर

काष्ठमण्डपभित्र छिरेर नेपालको काष्ठकलालाई सर्वोच्च मान्यता प्रदान गर्ने एक विशिष्ट पारखी साहित्यकार हुन् माधव घिमिरे । उनले काठमाडौं उपत्यकाको संझ्याललाई नेपाली सम्पदाको हिमाली उचाइमा उचालेर पुर्‍याइदिएका थिए । 
हिमालको काखमा नेपाल छ भन्ने धेरैको धारणा छ । जब मैले पढेँ, ‘हामीले हिमाल उठायौं एसियाको माझमा’, त्यसपछि मलाई बोध भयो, त्यो हिमाल नेपालको काखमा उठेको छ । त्यसपछि नेपालको काखमा हिमाल छ भन्ने धारणा राख्दै आएको छु । 

काठमाडौँ — विसं २०७७ भदौ २ गते साँझको ५ बजेर ५५ मिनेटको अंकलाई घडीको सुईले छोप्दा–नछोप्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेको हृदय धड्कन बज्न छोडेछ । विसं १९७६ असोज ७ गते यस धरतीमा ओर्लिनुभन्दा पहिलेदेखि आमाकै कोखभित्र पनि अविरल ढुकढुक गर्दै आएको त्यस अवयव न कहिल्यै सुत्दथ्यो, न कहिल्यै निदाउँथ्यो ।

संझ्यालबाट संसार चियाइरहेका कविवर

आफ्नै शरीर झन्कारी झ्याम्किरी गीत गाउँथ्यो

सुन्दासुन्दै स्वयंलाई स्वयंभित्र निदाउँथ्यो

गाउँदागाउँदै आज झ्याम्किरी मरिरै’छ झैं

कि आफ्नै मर्सिया आफैं रचना गरिरै’छ झैं

(अश्वत्थामा अंक १, गीत २)

प्रत्येक मिनेट लगभग ७५ पल्ट धड्कने हृदयको गति बन्द भएसँगै गाउँदागाउँदै त्यो झ्याम्किरी आफ्नै मर्सिया आफैं रचना गरिरहेझैं स्तब्ध छ । नेपाल राष्ट्र स्तब्ध छ । शोकाकुल छ घिमिरे परिवार । शोकाकुल छ सम्पूर्ण नेपाल ।

जीवविज्ञानलाई विश्वास गर्ने हो भने जब एउटा पार्थिव शरीरको अन्त्य हुन्छ, त्यसका वंशाणुगत अंशहरू उनका छोरा–छोरी र तिनका पनि सन्तान दरसन्तानमा जीवित मौजुद हुन्छन् । त्यसैले होला पश्चिमी संस्कारमा जब कुनै व्यक्तिको मृत्यु हुन्छ, त्यसबेला तिनका छोरा–छोरीको संख्या गनेर ती सबैका माध्यममा ती दिवंगत व्यक्ति जीवित छन् भन्ने धारणा प्रकट गरिन्छ । सत्य र तथ्यका यी कुरा आफ्नै ठाउँमा रहँदा पनि बाबुको मुख हेर्ने कुशेऔंसीका दिन पिताको चितामा दागबत्ती दिनुपर्ने बाध्यतामा बाँधिएका घिमिरे परिवारको शोकाकुल अवस्थाप्रति हृदयदेखि नै समवेदना प्रकट गर्न चाहन्छु । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै राष्ट्रकविप्रति हार्दिक श्रद्धाञ्जली चढाउँछु ।

जीवविज्ञानको भाषा र परिभाषाभन्दा बाहिर निस्केर हेर्‍यौं भने माधव घिमिरे नेपाली बाङ्मयको केन्द्रीय स्पन्दनमा सधैं जीवन्त पाउनेछौं । ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली’ कहिल्यै मर्ला त ? ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ कहिल्यै नेपालीले बिर्सेलान् त ? ‘गौरी’ कहिल्यै अस्ताउला त ? के ‘अश्वत्थामा’ को काल पनि कुनै दिन सकिएला त ? कविवर माधव घिमिरेका थुप्रै अजर र अमर कृतिले उनलाई जीवन्त राख्नेछ ।

विसं २०६६ साउन महिनामा उनको निवास पुगेको थिएँ । विसं २०३६ देखि २०४६ सम्म नेराप्रप्रमा साथै काम गरेको हुनाले मेरो आफ्नैबारे उनको शुभसन्देशका केही विचारोक्तिहरू माग्ने प्रसंग थियो । त्यस बेला मेरी आमा ९६ वर्षकी थिइन् । कविवरले आमाको स्वास्थ्यबारे जिज्ञासा राखे । मैले भनें– सय वर्ष त जसरी पनि कटाउँछु । कविजीकी आमा उनी सानै हुँदा बितेकी रहिछन् । मलाई उनले ‘कति भाग्यमानी ?’ भने । कुरैकुरामा जीवनको के भर भन्नेजस्तो कुरा उठ्न थाल्यो । ‘कविजी पनि सय वर्ष त निश्चय पनि नाघ्नुहुन्छ’ भन्दै कुरा टुंग्याएँ । उनको हस्तलिखित ५ पृष्ठ लिएर घर आएँ । मेरी आमा १०३ वर्ष बाँच्नुभो । कविजी १०१ वर्ष । कविजीको त्यो १०१ वर्षलाई नियाल्यौं भने त्यो युग राष्ट्रकविको युगका रूपमा रूपान्तरित हुन्छ । कविजी आफ्नो ९५औं जन्मदिन मनाउने ठमठमे माहोलमा हुँदा असोज २०७० को ‘शिक्षक’ मासिकले विशेष आवरण अंक प्रकाशन गरेको थियो । त्यसबखत पनि कविजीसँग भेट गर्न लैनचौर पुगेको सम्झना छ । आमाको प्रसंग फेरि उठ्यो । आमाको माया र नेपाल आमाप्रति समर्पित उनका भावहरूले मलाई निकै भावुक बनायो । नेपाल आमाका एक सपूतका रूपमा माधव घिमिरे आज स्थापित छन् । राष्ट्रको महिमा र गौरवको गीतमा हामी उनलाई भेट्छौं र नमन गर्छौं ।

एकपल्ट फेरि झ्याम्किरीतिर फर्कौं । एक अंगुल लामो झ्याम्किरी (झ्याउँकिरी) को शरीरबाट वनजंगलै थर्किने झ्याउँझ्याउँ आवाज एक किलोमिटर टाढैबाट सुन्ने गरेको हुँ । त्यो सानो किरो त्यो झन्डै ‘सःमिल’ को काठ चिर्ने आवाज निकाल्ने कण्ठ कस्तो होला भन्ने जिज्ञासा सधैं मनमा हुन्थ्यो । धेरैलाई थाहा नहुन सक्छ झ्याउँकिरीको शरीरमा चराचुरुंगी, बाघ वा बाँदरको जस्तो आवाज निकाल्ने कण्ठ हुँदैन । धेरै पछि मात्र मैले थाहा पाएँ कि झ्याउँकिरीले आफ्नो पँखेटा र खुट्टा रगडेर त्यो आवाज निकाल्दो रहेछ । कुन गतिमा पँखेटा घुमाउँदो हो र कुन गतिमा खुट्टाले रेट्दो हो ! त्यो प्राकृतिक विष्मयको विषय कवि माधव घिमिरेले कसरी टिपे र लेखे कि ‘आफ्नै शरीर झन्कारी झ्याउँकिरी गीत गाउँथ्यो’ । प्रकृतिको सूक्ष्म अवलोकन गरेर जल, स्थल, आकाश, वायु र तेज अनि हिमाल, पहाड, नदी, नाला, झरना तथा चराचुरुंगी, पुतली, पशुपन्छी र फूलबिरुवाका प्रकृतिबारे कुराहरू कोट्याउँदै आफ्ना कविता, गीत, काव्य, महाकाव्य जड्न उनी कति सिपालु छन् भन्ने कुरा धेरैले अनुभव गरेका छन् ।

बारीबाट मकैका पातहरू कसरी बज्छन् र गीत बन्छन् ? फूलका तरेलीमा शीतका थोपा अलमलिएर प्रकृतिको गतिशील स्वभाव कसरी प्रकट हुन्छ ? एउटा फूलमा परिपूर्ण ब्रह्म कसरी देखिन्छ ? तोपचराले आफ्नो गुँड बनाउँदाको कलाकौशल साहित्यमा कसरी लागू हुन्छ ? कुनै चरा विशेषज्ञले भन्दा पनि सूक्ष्म अवलोकन गरेर तोपचराको गुँड पूर्वतिर फर्किएको हुन्छ भन्ने कुरा उजागर गर्न सिपालु छन् कवि माधव घिमिरे ।

हिमालको काखमा नेपाल छ भन्ने धेरैको धारणा छ । जब मैले पढेँ, ‘हामीले हिमाल उठायौं एसियाको माझमा’, त्यसपछि मलाई बोध भयो, त्यो हिमाल नेपालको काखमा उठेको छ । त्यसपछि नेपालको काखमा हिमाल छ भन्ने धारणा राख्दै आएको छु ।

माधव घिमिरेको राष्ट्रिय चेतना नेपालको प्राकृतिक एवं सांस्कृतिक वैशिष्टताको प्रतिविम्ब बनेर उनका रचनाहरूमा छरपस्ट छन् । काष्ठमण्डपभित्र छिरेर नेपालको काष्ठकलालाई सर्वोच्च मान्यता प्रदान गर्ने एक विशिष्ट पारखी साहित्यकार हुन् कवि घिमिरे । काठमाडौं उपत्यकाको संझ्याललाई नेपाली सम्पदाको हिमाली उचाइमा कवि घिमिरेले उचालेर पुर्‍याइदिएका थिए ।

‘तराई हाम्रो सुनको टुक्रा हिमाल हीराको

माटो र पानी पहिलो धन धर्तीका छोराको

ए कहाँबाट हेरौंला संसार सन्झ्यालै नरहे

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’

विसं २०१८ मा कविले यो कविता रचना रचेका हुन् । त्यसको २८ वर्षपछि २०४६ मा उनी नेराप्रप्रको कुलपति हुँदा मेरो संयोजनमा इ. चन्द्रबहादुर जोशीले तयार गरेको ‘काठमाडौं उपत्यकाका कलात्मक झ्यालहरू’ नामक पुस्तक प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । त्यसमा कविजीका उद्गारहरूमा प्रत्येक वाक्य एउटा सिंगो कविताजस्तै थियो । उनी भन्छन्, ‘कुनै व्यक्तिको मनको भाव हेर्ने हो भने उसका आँखा हेरे पुग्छ, कुनै देशका निवासीको मनको भाव हेर्ने हो भने तिनका झ्याल हेरे पुग्छ ।’ त्यसपछि उनी थप्छन्, ‘झ्याल केवल हावा खाने प्वाल मात्र हैन— यो त वैचित्र्यपूर्ण विश्वलाई हेर्ने कलाको कल्पना हो ।’ संझ्याललाई उनले त्यसो त ‘गौरी’ — शोककाव्य (२००४ सालको पहिलो पंक्तिभित्र समेटेका थिए—

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए

मेरै प्रीति सुहाई कान्तिपुरका सन्झ्याल अग्ला थिए

आज पर्‍यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्‍यो

आँसुमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्‍यो !

कविजी, आज हाम्रो कलम पनि आँसुमा चिप्लिएको अवस्था छ ।

प्रकृतिका उपासकहरू नै सफल कविका रूपमा प्रकट हुन्छन् । प्रकृतिका क्रियाशील प्रक्रियाहरूलाई पकड्ने चेत भएका कविहरूमा माधव घिमिरेको उचाइलाई उछिन्न गाह्रो पर्छ ।

हिमचुली लहरमा तिम्रो अधर हाँस्छ

तिम्रो गला खोला खोला धोविनीमा बास्छ ।

(पर्वतकी पार्वती हो, १ असोज २००४)

स्थिर पर्वत श्रेणीमा ‘डाइनामिक डाइमेन्सन’ क्रियाशील चलायमान आयाम थप्ने चलाखीमा पार्वतीको अधर मात्र होइन धोविनीचरीको बोलीसमेत जोड्न सफल भएका छन् । एउटा बालगीतभित्र प्रकृतिको पारिस्थितिकीय प्रणालीलाई चित्रण गर्न सफल छन् कवि घिमिरे :

जब लाग्छ रूखमा लहलह स्याउली

जब फुल्छ कान्लामुनि सुनजस्तो प्याउली

जब बोल्छ वनमा न्याउन्याउ न्याउली

अनि फूलको कचौरीमा मह तिमी खाउली

वनवन मात्तिएर ‘हुनुहुनु’ गाउली

पुतलीलाई गिज्याउली अप्सरालाई हियाउली

(बस, बस, माहुरी घामपानी २०५८, पृ. १७)

प्रज्ञा प्रतिष्ठानमा कवि माधव घिमिरेसँग बस्दा मेरा वानस्पतिक यात्राहरूका सिलसिलामा वन, वृक्ष, वनस्पति, फूल, भँवरा, चराचुरुंगी, पुतली एवं जडीबुटीका बारे धेरै कुरा हुन्थ्यो । लेक पाटनका पुण्य सम्पदाबारे स्थानीय गोठालाहरूको प्रसंगमा उनी ज्यादै पुलकित हुने गर्दथे । हाम्रो साझा धारणा थियो कि वनस्पतिको ज्ञान र विज्ञान हाम्रा गोठालाहरूमा व्याप्त छन् तर ती लुप्त छन् । उजागर गर्न बाँकी नै छ । कवि घिमिरेले आफ्नो साहित्यको माध्यमले धेरै कुरा उजागर गरेका छन् । तिनका रसस्वादमा हामी रमाउँदै छौं तर ती स्वयं भने रोग, भोक र गरिबीबाट मुक्त छैनन् ।

कविहरू कालजयी हुन्छन् । उनीहरू समयको परिधिभन्दा बाहिर बसेर हेर्छन्, देख्छन् र लेख्छन् । विसं २०१३ सालको ‘इन्द्रेणी’ पत्रिकामा प्रकाशित ‘नवयुवक’ कविताका पंक्तिले आजको कोरोना भाइरसको विश्वलाई झकझकाउने काम गर्ला भन्ने मलाई लाग्छ ।

घेर्छन् छाया जब विपतका दूरमा गर्जिएर

छिप्छन् मान्छे जब घरघरै त्रासमा तर्सिएर

त्यो बेला हे युवक ! खतरा खोज्नको निम्ति निस्क

आँधीबेरीसित जुध तिमी कालका साथ निस्क

कोरोना–१९ को त्रासमा आज हामी घरघरमा छिप्न थालेका छौं तर्सिएर । आज २०७७ को भदौ ५ गतेबाट काठमाडौंमा निषेधाज्ञा लागू छ । कोही बाहिर निस्केका छैनन् तर राष्ट्रकवि माधव घिमिरे भने एउटा अनन्त यात्रामा निस्केका छन् । उनको त्यो यात्रा मंगलमय होस् र उनको आत्मालाई चिरशान्ति मिलोस् । श्रद्धेय राष्ट्रकवि माधव घिमिरेप्रति यही मेरो श्रद्धाञ्जली !

(शनिबार कान्तिपुरमा प्रकाशित हुने प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र ५, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?