कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उज्यालो दूत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली पत्रकारिताको करिब पौने शताब्दीको गतिविधिका एक साक्षी हुन्– पत्रकार भैरव रिसाल । बिहीबारबाट उमेरले ९२ टेकेका उनको आयु जति लम्बिएको छ, उति नै तन्किएको छ पत्रकारिता आजसम्म । देखी, जानी, बुझी, गरी आएका छन् ।

उज्यालो दूत

जन्मोत्सवकै अवसर पारेर यी अग्रजको जीवनयात्राका पाटाहरू थोरै उधिन्ने काम भएको छ । पत्रकार मोहन मैनालीले उनै रिसालका साथ भर्चुअल माध्यमबाट सहजीकरण गरे ।

००७ सालको राजनीतिक परिवर्तनपछि रिसालले पत्रकारिता आरम्भ गरेका हुन्– ‘हालखबर’ दैनिकबाट । त्यसपछि साँघुरो बाटोबाट जोगिँदै उनी अघि बढे । मूलतः पत्रकारिताको बाटो हुँदै । उनले आमसञ्चार नै आम मानिसको आँखा ठाने । उनी राष्ट्रिय समाचार समिति सम्बद्ध भएर पत्रकारिता गरे । तर सरकार मातहतको निकायमा जनहितका सबै खाले सामग्रीले स्थान पाउँदैनथ्यो किनकि शासनसत्तालाई घच्चमच्च पुग्थ्यो । त्यतिखेर पत्रकार रिसालले आफूले फेला पारेका समाचारका गोप्य सामग्रीहरू गोप्य ढंगले ‘मदरल्यान्ड’ पत्रिकासम्म पुर्‍याउँथे ।

रिसाल ‘विकासे कार्यकर्ता’ पनि बने । उनले प्रतिपादन गरेका नौला कार्यक्रम एकातर्फ सरकारले लागू गर्थ्यो । अर्कोतर्फ स्थानीय समुदाय त्यही काममा जुट्थे । त्यसको उदाहरण ‘हुम्लामा उज्यालो’ कार्यक्रम थियो । जुन कार्यक्रम रिसालसँग अनुमति लिएर सरकारले ‘कर्णालीमा उज्यालो’ भनेर चलायो ।

तथ्यांक अधिकृत भएर ०१८ सालको जनगणनामा खटिए । लामो समय राससमा काम गरे । बहुदलीय शासन आएपछि ०४८ सालमा भक्तपुरबाट नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार पनि भए । तर पराजित रहे । यता रिसालले आफ्नै जन्मथलो भक्तपुरमा ‘बुहारीलाई शिक्षा’ कार्यक्रम चलाए ।

धादिङ, मकवानपुर दुर्गम भेगका गरिब चेपाङ समुदायलाई ‘रेडियो’ बाँडे । अर्कोतिर बाजुराका गाउँघरको विद्यालयसम्म ‘नेपाली शब्दकोश’ पुर्‍याए । ‘हरेक कार्यक्रमका निम्ति भैरव दाइले आफ्ना साथी सर्कललाई गुहारेर गर्नुहुन्थ्यो,’ मैनाली भन्छन्, ‘थोरैथोरै सहयोग जुटाएर लौ है यो ठाउँमा यो काम गरौं भनेर गरिछाड्नुहुन्थ्यो ।’ रिसाल पर्यावरण संरक्षण अभियानमा निरन्तर छन् ।

पार्किन्सनले गर्दा केही वर्षदेखि कलम चलाउन रोके । तैपनि रेडियो सगरमाथामा बोलीको भरमा पत्रकारिता निरन्तर राखेका छन् । नियमित थेरापी गर्ने र औषधि सेवन गरेपछि अहिले कलम चलाउँदै आएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?