डुमेरो [पुस्तक अंश]- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुमेरो [पुस्तक अंश]

समाचारमा फोटोचाहिँ गाउनमा पोखिएको वाइनको दागसहितको थियो । वाइन लिन निहुँरिँदै गर्दा देखिएको क्लिभेजसहितको अर्को फोटो पनि थियो ।
सरला गौतम

तीन महिना भयो डेरामा बस्न थालेको । अनामनगरमा । एक्लै । दुइटा ससाना कोठा, बरन्डासहित । बार्दलीबाट देखिने अगाडिको खाली भागमा रूखबिरुवा पनि । काठमाडौंको मध्यभागमा यतिको हरियो काफी लागिरहेको छ । छेउमा एकजना वकिल बस्छन् । घरबेटी माथिल्लो फ्ल्याटमा बस्छन् । पानी ठीकै आउँछ ।

सामानको नाममा एकजोर सिरक–डसना र झोलामा केही कपडा । डसना भुइँमा प्लास्टिक ओछ्याएर फिँजारेकी छु । अरू सामान केही छैन । नाटकबाट आएको पैसाले चुलो किनेकी छु । खाट किन्न सकेकी छैन । भाँडाकुडा एकएक सेट छन्, पकाउने र खाने । सुप्रियाकहाँ जान नपाएको दिन एक छाक मात्र खाने गरेकी छु ।

बिहान उठेँ कोठाभरि मन पोखियो, असरल्ल । खानेकुरा सबै सकिएको छ । चामल, दाल, तरकारी केही छैन ।

ओछ्यानको पत्रबाट पचास रुपैयाँ निकालेँ । दूध र बिस्कुट किन्न हनुमानथान चोकतिर गएँ । बाटोमा नारायणगढका एक चिनेका मान्छे भेटिए । छलेर हिँड्न खोज्दा पनि देखिहाले । नजिकै आएर मलाई तलदेखि माथिसम्म नियाले ।

निकै बेरपछि मुस्काउँदै उनले भने, ‘कति दुब्ला’की ! अलि खाने गर । जीउडाल त भरिलो–पोषिलो पो राम्रो !’

मैले भनेँ, ‘दुब्ला’को होइन, स्लिम भ’को । मेरो पेसा नै त्यस्तो छ ।’

ओठ लेब्य्राउँला जस्तो गर्दै उनी एकातिर लागे । ठीकै भयो ।

यता सुइँय्य सिटी बज्यो । यसो हेरेको डिस्को रैछ । उसले सिटी फुक्यो, मोटरहरूको अघि उभिएर हात हल्लायो । अनि गएर रूखमुनि बस्यो । पसलछेउ उभिएर यो सब हेरेँ ।

पसल र घरको दूरी धेरै छैन । पसलको छेउमा एउटा रूख छ । रूखमुनि सुस्ताएर बसिरहन्छ डिस्को । ऊ त्यहीँ सुत्छ । तीस हाराहारीको मानिस छ । उसको साथमा एउटा कुकुर छ । काँसी भनेर बोलाउँछ । पुक्कपुक्क गाला भएको डिस्कोको अनुहारमा अजिबको शान्ति छ । मोटेमोटे, डल्ले छ । कसैले केही दिए हात थाप्छ । माग्दैन । हातमा एउटा सिटी टुट्दैन । बाटोमा भीड बडेपछि आएर फुक्न थाल्छ । ‘ट्राफिक हुँ म’ भन्छ । उसको नरम मिजासकै कारण मानिसहरू उसलाई केही न केही दिइरहन्छन् ।

नजिकै गएँ । उसको खबर सोधेँ । कसैले उसको सिरक चोरिदिएछ । उसले खबर बुझाउँदै गर्दा रूखमा आयो एउटा काग । मैले पीर जताएँ, ‘अब के गर्छौ त ? अहिले त जाडो छैन । जाडो महिनामा के गर्ने ?’

उसले मस्त अन्दाजमा भन्यो, ‘त्यो बेलासम्म कसै न कसैले दिइहाल्छ नि !’

काँसी उसको छेउमा आयो । डिस्कोले उसको गर्दन मुसारिदियो । मैले एउटा ग्लुकोज बिस्कुट डिस्कोलाई दिएँ । उसले धन्यवादको भावमा टाउको हल्लायो । खोल्यो । तीन पुरिया काँसीलाई दियो । एउटा मिचेर कागलाई भन्यो, ‘आइजा खा ।’

डिस्कोलाई फर्कीफर्की हेर्दै म कोठातिर गएँ । मेरो ज्यान साँच्चै गल्दै गएको छ ।

दूध लिएर कोठानजिक पुग्दा घरबेटीको टेलिफोन बज्यो । अडिएर सुनेँ । मैलाई कसैले फोन गरेका हुन् कि ? निर्माता र निर्देशकहरूलाई घरबेटीकै फोन नम्बर बाँडेकी छु ।

फोन मेरो होइन रैछ । बोलाएनन् । कोठाभित्र छिरेँ ।

चियामा सातु घोलेर खाएपछि बीपीको आत्मवृत्तान्त पढ्न थालेँ । बनारस बस्दा एक छाक चनाको झोल र भात खाएको प्रसङ्ग । हिजोदेखि आफैँ पनि त्यसमै अडिएकी छु । मेरो कोठामा त चना पनि छैन !

एक बजे डेराबाट निक्लेर पशुपतिनाथतिर लागेँ । ज्ञानेश्वरमा ठेलामा रसिला तरबुजा देखिए । एक छिन अडिएर हेरिरहेँ । ठेलावालाका आँखा पनि मैतिर सोझिन थाले । अनि हिँडें ।

अलि पर पुगेपछि दुई घोगा हरिया मकै किनेँ । पैसा पनि सकियो ।

ब्यागबाट बोतल निकालेर पानी खाएँ । उमालेर हालेको पानी अझै सेलाएको रहेनछ । तरबुजाको तलतल मन तातो पानीले मेटेन ।

पशुपतिनाथ पुगें । मूल ढोकाबाट भित्र पसें । ज्योतिर्लिङ्ग देखिने गरी वरै बसें, सिँढीमा । मूर्तिलाई एकोहोरो हेरें । आँखामा तलाउ जम्न थाल्यो । आँसु रोकेँ । र मनमनै भनें, ‘शम्भो मलाई बचाइदेऊ मात्र, बाँकी काम त म आफैं गर्छु !’

निकै बेर बसेपछि उठें । कता जाऊँ ! लागें आर्यघाटतिर । धूवाँधूवाँ मानिसको जिन्दगी ! मैले पनि छाडिजाने होला । यो अनित्य चोला । आगोमा पोलिएझैं लागेको यो समय पनि हुने त होला, यसरी नै धूवाँधूवाँ ।

वाग्मती पुल तरेर सिँढी उक्लिएँ । अलि माथि एकातिर तीन–चार जना जोगीले चिलिम तान्दै रैछन् । म त्यतै गएँ । यिनलाई कति आनन्द ! मैले एकोहोरो हेरिरहेँ; उनीहरू मलाई हेरेर हल्का मुस्कुराए । मैले गाँजा मागें एक जनासँग । एकजना ताइरे ज्यानधारीले चुरोटमा गाँजा भरेर सल्काएर दिए । सजिलै, पानी दिएजस्तै ।

मैले गाँजा तानें र धूवाँ घाँटीबाट तल नझारी उडाएँ । ‘खान जानेन’ भन्दै जोगीहरू हाँसे । उडेको धूवाँलाई हेरिरहेँ । धूवाँमै हराइरहेजस्तो लाग्यो मनका सन्तापहरू । वरिपरिका मानिसहरू मलाई हेर्दै हिँडें । भन्नै मन लाग्यो, ‘हे मानिसहरू, हृदयको आगो देखिन्न । देखिन्छ त केवल धूवाँ ।’

यो मादक धूवाँसँगै उडिजान पाए कतै । आहा !!

एक खिली उडाइसकेपछि जोगीहरूलाई ‘जय शम्भो’ भनें । उनीहरूले कोरसमा फर्काए, ‘जय शम्भो !’

म भने आएकै बाटो फर्कें । आरतीको बेला भइसकेको रैछ ।

नीलोनीलो आकाशमुनि कैलाशपतिको यो अखडा । जिस्क्याएर जूनको उज्यालोलाई बल्न थाले दियोहरू । प्रदीप्त पारिदिए हृदयको एउटा कुना ।

‘हे शम्भो तिमी मालिक कैलासको

म महारानी आफ्नै साम्राज्यको

कण्ठभरि बोकेर विष समुद्रको

जसरी मुस्काउँछौ तिमी

पिएर सप्पै सहरको विष एक दिन

के सक्छु होला म पनि उन्मुक्त हाँस्न ?’

मेरो हातमा ‘नगरी’ छ । पल्टिएको पानामा मेरै समाचार छ, ‘अभिनय एक आना, फेसन र नखरा चार आना’ शीर्षकमा । लेखिएको छ—

‘सिनियर कलाकारदेखि पत्रकारसम्म कसैलाई मिजास नदेखाउने सिमरन घमन्डको पोको नै हुन् । सिने क्षेत्रमा प्रवेश गरेको तीन–चार वर्षमै उनले आफ्नो कला र मेहनतले सफलता हासिल गरेकी होइनन् । उनको चलाखी, निर्माता–निर्देशकसँगको उठबस, अरू हिरोइनलाई पाखा लगाउन सक्ने ‘खुबी’ उनी चम्कनुको मुख्य कारण हो । शुक्रबार हिमालयन होटलमा भएको एउटा पार्टीमा हातमा वाइन समातेर हल्लिरहेकी सिमरनले छाती ह्वाङ्ङ देखिने लुगा लगाएकी थिइन् । सहरका प्राय: सबै निर्माता र निर्देशक जम्मा भएको उक्त पार्टीमा सबैको ध्यान आफूतिर खिच्नु उनको उद्देश्य देखिन्थ्यो । रूपक नामका सामान्य निर्मातासँग सिमरनको लामो अफेयर पनि हिमालयन होटलको हलमा पोखिएको थियो । वाइनले ढलपल गर्दै गरेकी सिमरनको कम्मरमा रूपकको हात घरीघरी पुगिरहेको थियो । अभिनयमा दक्खल भएका तर नखराले चलखेल गर्न नसक्ने नायिकाहरू सिमरनकै कारण ओझेलमा छन्... ।’

समाचारमा फोटो चाहिँ गाउनमा पोखिएको वाइनको दागसहितको थियो । वाइन लिन निहुँरिँदै गर्दा देखिएको क्लिभेजसहितको अर्को फोटो पनि थियो ।

केही वर्षअघि श्रीषा कार्कीले यस्तै समाचारका कारण आत्महत्या गरिन् । उनका लागि म कति रिसाएकी थिएँ ! आज रिस उठेन; मेरा नौनाडी गले । यो समाचार बाआमाले पढे के भन्लान् ? के भन्लान् आफन्तले ? अरूका बारेमा पढ्दा त हिरोइनका बारेमा यस्तो लेखेछ भन्दै पत्रिका हेर्थे !

निर्माताहरूसँग साँठगाँठ ! सुनाकोठीतिर कुन मारवाडीले घर पनि किनिदिएको छ रे मलाई ! आफ्नो कमाइचाहिँ फ्ल्याटको भाडा तिर्दातिर्दा सकिन्छ !

फेसबुक खोलेर हेरें । फिल्म उद्योगका केही मानिसले लेखको स्क्रिनसट सेयर गरिसकेछन् । मेरो छाती ह्वाङ्ङ परेको छ । नशामा मदहोस भएजस्ता आँखा । ढल्केको ज्यान । बीचसडकमा नाङ्गै छुजस्तो लाग्यो ।

मोबाइल बज्यो । उठाइनँ । पत्रिका कुनामा मिल्काएर बसिरहें, एकै ठाउँ । कम से कम रूपक दाइसँग त नाम नजोडिदिएका भए हुने नि ! भोलिदेखि म कसरी बाहिर निस्कनु ! घर कसरी जाने होला ! यहीँ घरबेटीले के सोच्ने होलान् ! कहाँ लुकाउने होला मैले आफूलाई !

राति आठ बजेको समाचारको धुन बजेको सुनियो, छिमेकको टीभीमा । दूध तताएँ; ओछ्यानमा बसेर पिएँ र ग्लास छेउमा राखेर पल्टिएँ । तेजाबले शरीरमा पोलेसरि पोल्यो । सरेयाम बीच सडकमा राखेर कसैले ढुङ्गा हानेसरि दुख्यो ।

उठेर दराज खोतलें । अर्जुन–कृष्ण संवाद पढ्न कोसिस गरें । सकिनँ । कसरी भन्छौ कृष्ण– यो तिमीलाई दुखेको होइन, फगत भ्रम हो भनेर ? तिम्रो शरीर र आत्मा फरक हो भनेर ? सास आएर घाँटीमा रोकिन्छ जस्तो भयो । युट्युबमा ‘महाभारत’ खोजेँ ।

मर्छुजस्तो लागेको दिन ‘महाभारत’ हेर्ने गर्छु । यो जीवनमा कर्मले अघि बढ्छु जस्तो लागेको दिन ‘महाभारत’ हेर्छु ।

घरको सम्झ्ना आयो । अनि सम्झिएँ ती साँझहरू । बाको लयात्मक आवाजमा ‘महाभारत’ का श्लोक सुनिरहेको । ‘आज कोही रुन पाउँदैन, नत्र म पढ्दिनँ’ भन्दै लगाएको घुर्की । वरिपरि हामी बसेको । ‘हुन्छ, रुन्नौँ’ भनेर वरिपरि बसेर सुनेका कथा । सुरु भएपछि मनमा छाएको बादल । नथामिएर भिजेका आँखा । बाहुलाले पुछेको आँसु । अभिमन्युको चक्रव्यूहको कथा सुरु नहुँदै रुन थाल्थेँ म । एक छिनमा रुनुपरिहाल्छ, देर किस बात की भने जस्तो गरी † बा मलाई हेरिरहन्थे । अनि पुस्तकको पानो बन्द गर्थे ।

बा, आज म आफैँ चक्रव्यूहमा परेकी छु ! म मर्छु कि निस्कन्छु होला, बा ?

कामेको हातले युट्युब अन गरेँ । ‘द्रौपदीको चीरहरण’ । दु:शासनले घिसार्दै सभामा ल्यायो । एकएकले अपमान गरे । भीष्म, द्रोण र विदुरले शिर निहुर्‍याए । उनका पाँच पतिले शिर निहुर्‍याए । अनि तान्न थाल्यो दु:शासनले सारी । ‘कृष्ण ! कृष्ण !’ पुकार्छिन् द्रौपदी । छोपिदिन्छन् लाज कृष्णले ।

हे केशव, द्रौपदीको त तिमी थियौ; म पुकारूँ कसलाई ?

-सरला गौतमको भर्खरै प्रकाशित उपन्यास ‘डुमेरो’ अंश

प्रकाशित : श्रावण २४, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली फिल्मको लैंगिकताको पाटो

नेपाली फिल्म र फिल्मका कलाकारको नाम बाक्लै पढिरहँदा बेलाबेला उपन्यास पढिरहेको कि नेपाली फिल्म क्षेत्रभित्रैको काम गरिरहेको कसैको स्मरण पढिरहेको हो भन्ने महसुस भइरहन्छ । नियमित रुपमा सञ्चारमाध्यममा दोहोरिने समाचारहरुको कतिपय ठाउँमा उही रुपमा पाइन्छ । तर, सहज लाग्छन् ।
नारायणी देवकोटा

कोरोना महामारीका कारण महिनौंदेखि बन्द भए पनि कहिले महानायकको खोजीमा त कहिले मानहानीको दाबीसहितको मुद्दा बोकेर नेपाली फिल्म उद्योग तातिरहेको छ । यी दुई यस्ता सवाल हुन् जसले समानता, भावना र सानातिना भनेर घोषणा गरिएका कामको सम्मान गर्दैनन् ।

जब कुनै पनि पेसामा मानिसहरुले आफ्ना भूमिका राम्ररी निभाउन सक्दैनन् तब त्यहाँ महानायकको खोजी हुन्छ । चाहे त्यो समाज होस्, चाहे राजनीति होस् चाहे फिल्म उद्योग होस् वा अरु नै कुनै । लैंगिकताका आँखाबाट हेर्दा यो अझै ‘मेलस्ट्रिम’ देखिन्छ । किनकि विभाजन नै गरेर हेर्दा पनि यसले कहिल्यै महानायिकाको खोजी गर्दैन । महानायिकाको कुरा त धेरै पर नायिकाले ‘मैले दुर्व्यवहार महसुस गरें’ भनेर रुन पनि मिदैन । त्यसैले त

दोषीको नाम नलिई एक नायिकाले आफूले भोगेको दुव्र्यहारको बारेमा बोलेको विषयलाई लिएर करोडौँ क्षतिपूर्तिको माग दाबीसहित मुद्दा दायर गर्न हिम्मत आउँछ नायक तथा निर्मातालाई ।

फिल्म उद्योग गरमागरम बहसमा उत्रिरहेका बेलामा संयोगले (वैशाखमा बजारमा आउने भनिएको किताब लकडाउनका कारण साउनमा बजारमा आएको छ) लामो समयदेखि पत्रकारिता र स्वतन्त्र लेखनमा सक्रिय सरला गौतमले आफ्नो पहिलो उपन्यास डुमेरो लिएर आएकी छिन् । लेखक गौतमले नेपाली फिल्म उद्योगमा आफ्नो जिन्दगी खोजिरहेकी युवतीको कथालाई लिपिबद्ध गरेकी छन् । जसको सुरुवात ‘नारनघाट’ बजारमा फिल्म सुटिङ हुँदा नायक राजेश हमाल र नायिका कृष्टि मैनालीलाई हेर्न विद्यालयका कक्षा हापेर हिँडेकी किशोरीको बिस्तारै कार्यक्रम प्रस्तोताको यात्रा, टेलिभिजनमा काम गर्दा गर्दै टेलिफिल्ममा अभिनय, व्यापारिक फिल्मदेखि फिचर फिल्मसम्मको अभिनय र निर्देशकीय भूमिकासम्मको यात्रालाई उतारेकी छन् ।

कथानक भनिने नेपाली (अरुतिर पनि) फिल्ममा काम गर्ने मानिसका पर्दामा नदेखिने कथाहरु छन् । काठमाडौं बाहिरबाट आएकामध्ये धेरैका फिल्म उद्योगमा न आफन्त छन्, न बलियो आर्थिक आधार छ, न त परिवारको सहयोग नै छ । त्यसमाथि नायिकाका थप दुख्ख छन्, सधैँ सुन्दर, सुकोमल, शालीन भइदिनु पर्ने । बौद्धिक भनेका सञ्चार जगतका फिल्म पत्रकार छन्, जो हिरोइनका क्लिभेज कहिले देखिएला वा कहाँ के गल्ती गर्ला र समाचार बनाउँला भनेर सुन्दरता र शालीलनताको फिता लिएर नाप्न बसेका छन् । फिल्मका कथा छन् अधिकांश एउटै कथा बस्तुमा आधारित (धनी बाबुकी सुन्दर छोरी, जो गरिब गाउँले केटाको प्रेममा पर्छे, तर उसँग बिहे गर्न चाहन्छ बाबुको बिजनेस पार्टनर) । र, जोडिएका छन्, प्रेम, विवाह, सुहागरात र बलात्कारका सिन । जुन सिन खिच्ने बेलामा चुरोट, पान वा रक्सीको गन्धले वान्ता आउला जस्तो भए पनि पस्कनुछ अदाकारी मुस्कान । अप्ठेरो भयो, असहज भयो भने बजारमा चर्को प्रतिस्पर्धा छ र तयार छन् पुरानालाई रिप्लेस गर्न आतुर झन् ज्ञानी नायिकाहरु ।

यस्तो बजारमा मनमा ‘श्रीषा कार्कीको आत्महत्या आत्महत्याभन्दा बढी हत्या हो’ भन्ने सोच बोकेर हिँड्ने नायिका चलिरहेको फर्मुला फिल्मभन्दा फरक फिल्म खेल्न चाहन्छे । जसलाई बनाउने न आर्थिक रुपमा बल्लियो निर्देशक छन् न आफ्नो आर्थिक हैसियत राम्रो छ । केही राम्रा फिल्म खेलेकी हिरोइनलाई सानो अपार्टमेन्ट किन्ने पैसा हुँदैन र उ सानै भए पनि आफ्नो घर बनाउने उद्देश्यले अमेरिकामा काम गर्न जान्छे र रेस्टुँरामा काम गर्छे ।

नेपाली फिल्म र फिल्मका कलाकारको नाम बाक्लै पढिरहँदा बेलाबेला उपन्यास पढिरहेको कि नेपाली फिल्म क्षेत्रभित्रैको काम गरिरहेको कसैको स्मरण पढिरहेको हो भन्ने महसुस भइरहन्छ । नियमित रुपमा सञ्चारमाध्यममा दोहोरिने समाचारहरुको कतिपय ठाउँमा उही रुपमा पाइन्छ । तर, सहज लाग्छन् । उपन्यास नेपालको फिल्म उद्योगभित्रका महिलाको कथामा आधारित भए पनि, समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा आउँदै गरेको परिवर्तन, आमरुपमा महिला स्वयं, परिवार र प्रेमका बारेमा भत्किँदा मानक, फिल्म पत्रकारिता, पर्यावरण पनि जोडिएर आउँछन् ।

कैयौं ठाउँमा कथाकी मूल पात्रसँग जोडिएकी पत्रकार युवती बोल्ड रुपमा प्रस्तुत हुन्छे । कयौँ ठाउँमा उपन्यासकी लेखकले सामाजिक सञ्जाल र पत्रिकामा लेखमार्फत उठाउँदै आएका विषयहरुलाई जस्ताको त्यस्तै पत्रकार साथीको तर्फबाट राख्दा लेखकलाई पछ्याइरहेका व्यक्तिलाई यो कुरा त दोहोरियो नि भनेझैं महसुस भए पनि झर्को भने लाग्दैन । अङ्ग्रेजीका केही शब्द र केही गालीहरुलाई नराखेको भए पनि हुन्थ्यो कि भन्ने पनि भइरहन्छ । तर, आम रुपमा बोलिने शब्दहरु राखेर जीवनन्तता दिन खोजेको जस्तो लाग्छ ।

यो उपन्यास पढिरहँदा मैले केही वर्ष अगाडि लेखक शिवानीसिंह थारुले आफूले पढ्न चाहेको कथा नेपाली साहित्यमा अझै नलेखिएको भनेर बताएको कुरा सम्झिरहेँ । सरलाले नेपाली फिल्म जगतको अहिलेसम्म नलेखिएको तर सबैले महसुस गरेको कुरालाई पुस्तकका रुपमा ल्याएर बहसको ढोकालाई अझ फराकिलो पारेकी छिन् । काठमाडौं बाहिरबाट काठमाडौं केही बन्ने सपना बोकेर आउने मानिसहरुले यो कथामा आफूलाई पाउनेछन् । त्यसैगरी नेपाली फिल्म उद्योगका मानिसहरुले उपन्यास पढे भने कयौँ ठाउँमा आफूलाई पाउलान् । तर, के नेपाली फिल्म उद्योगका मानिसहरुले यो किताब पढ्लान् ?

प्रकाशित : श्रावण २४, २०७७ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×