लेखकको अनुभव- लकडाउन साधनाको सुनौलो अवसर

गणेश राई

काठमाडौँ — अवकाशपछि धेरैको दिनचर्या फुर्सदिलो हुने गरेको छ । कोभिड–१९ को महामारीले लकडाउन (बन्दाबन्दी) भएपछि भने लेखकीय जिन्दगीमा अतिरिक्त फुर्सदले नयाँ उभार ल्याएको केही ज्येष्ठ लेखकले बताएका छन् । विश्वविद्यालयबाट अवकाशप्राप्त तिनै लेखक एवं भाषाशास्त्रीको अनुभूति यहाँ प्रस्तुत छ ।

संस्कृतिविद् वीणा पौड्याल हिजोआज घरकै पुस्तकालमा बिताउँछिन् । वेद, पुराण, महाभारत, भागवत गीता लगायतका पात्रहरू केलाउँदैमा उनको आधा दिन पुस्तकालयमै कट्छ । ‘महामारी दुःखदायी भए पनि अवसर हो, उपयोग गर्नुपर्छ,’ उनी भन्छिन् ।

पौड्याल त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् । मूर्तिकलामा विद्यावारिधि उनी ‘विविध आयाममा नेपाली महिलाहरू’ पुस्तकको लेखकसमेत हुन् । उनका १४ कृति प्रकाशित छन् । ‘सांस्कृतिक, राजनीतिक, धार्मिक मूल्यमान्यताभित्र महिलाहरू अटाएका छन्,’ काठमाडौंवासी पौड्याल भन्छिन्, ‘शास्त्र र व्यवहारमा गरिने चिन्तनलाई औंल्याउँदै छु ।’

प्रदेश नं. १ को धरानमा रहेका भाषाशास्त्री टंक न्यौपानेको दिनचर्या लेखन र पठनमै बित्दै छ । ‘लकडाउन मेरा लागि राम्रो भइरहेको छ,’ ७२ वसन्त टेकेका न्यौपानेले भने, ‘प्रदेशकै लेखक स्रष्टाहरूको कृति पढेर समीक्षासमेत लेख्दै छु ।’ श्री जबेगुको कथासंग्रह र अर्का ५१ वर्षे लेखक गुरुङ रामप्रकाश ‘समथिङ’को ५१औं कृति पढिरहेको उनले सुनाए ।

प्राध्यापक न्यौपाने लकडाउनअघि पाँचथर र भोजपुरको दुङ्‌मा गाउँको स्थलगत अध्ययन भ्रमणमा रहेछन् । ‘भोजपुरको दुङमाली भाषाको व्याकरण लेख्दै छु, सय पृष्ठ नाघिसक्यो,’ उनले भने, 'कतै कोलाहल छैन । संकलित सामग्रीलाई बडो आनन्दले लेखन कार्य गरिँदै छ । यो त साधनाको सुनौलो अवसर जस्तो लागिरहेको छ,’ उनी धनकुटाको आठपहरिया भाषामा विद्यावारिधिप्राप्त लेखक हुन् ।

भाषाशास्त्री चूडामणि बन्धु अवकाशको जिन्दगी प्रायः चितवनको भण्डारास्थित घरमा बिताइरहेका छन् । ‘लकडाउन ठिकै छ, पहिलोदेखि अधुरा रहेका काम गर्दै छु,’ मिष्ठभाषी बन्धुले सुस्तरी बोले, ‘लेख्ने, पढ्ने काममै छु । पहिल्यैदेखि तयारीमा जुटेको पर्यायावाची शब्दकोशको कामा पूरा हुँदै छ ।’ कर्णालीको लोकसंस्कृति अध्ययनमा संयुक्त रुपमा मदन पुरस्कारबाट सम्मानित बन्धुले अहिले लोकसाहित्यका सामग्रीलाई समेत पुस्तकाकार दिँदै रहेको बताए । ‘छन्द कविताको सम्पादन कार्य पनि ल्यापटपमै गर्दै छु,’ उनले भने ।

अधिक विद्यार्थीलाई ‘चूडामणि गौतम अंग्रेजी ग्रामर’ प्रिय लाग्छ । उनै ७७ वर्षीय गौतम यतिखेर ‘गौतम बृहत्तर नेपाली शब्दकोश’को सम्पादनको अन्तिमतिर छन् । ‘जिन्दगीको एउटा किताब समाजलाई समर्पण गर्न तम्सिँदै छु,’ उनले भने, ‘यो १ हजार ७ सय पृष्ठको हुनेछ ।’ गौतमकृत शब्दकोश कृतिको पंक्तिमा यो १४औं हुनेछ । यसअघि उनका अंग्रेजी–अंग्रेजी, अंग्रेजी–नेपाली, नेपाली–अंग्रेजी शब्दकोश प्रकाशित छन् । समग्र कृतिका हिसाबले १०२ औं नम्बरमा रहेको गौतमले बताए। काठमाडौंको डिल्लीबजार रहेका गौतम दैनिक १० घन्टा आफैं कम्प्युटर चलाएर लेखन, सम्पादन जुट्ने गरेका छन् ।

लोकसंस्कृतिविद् प्राध्यापक मोतीलाल पराजुली काठमाडौंको स्युचाटारमा बस्छन् । उनका लोकसंस्कृति, लोकसाहित्य, छन्द, रस, अलंकारलगायत विधाका १५ वटा कृति प्रकाशित छन् । ‘केही वर्षदेखि क्यान्सर र दमको रोगी छु,’ उनले भने, ‘लकडाउनकै बेला मेरा ६ वटा अधकल्चा कृतिलाई पूर्णता दिँदै छु ।’ रोगले गर्दा धेरै चिन्तनमनन गर्न नसकेको उनले बताए ।

भाषाशास्त्री नोवलकिशोर राईले आफू पनि विधागत काममा लागिरहेको सुनाए । ‘लकडाउनलाई सकारात्मक रुपमा लिएको छु र यसले फाइदा भएको छ,’ ललितपुरको धोबिघाट रिङरोडभित्र निवास रहेका प्राध्यापक राई भन्छन्, ‘चारैतिरको हावापानी स्वच्छ भएको छ। बोटबिरुवा सफा शुद्ध भएका छन् । हामी भाग्यमानी भयौं । कोरोनाले हाम्रो देशमा एक जनाको पनि ज्यान लिएको छैन ।’

राईले सन् १९८५ मै पुना विश्वविद्यालयबाट भाषाविज्ञान विषयअन्तर्गत ‘बान्तावा भाषाको व्याकरण’मा विद्यावारिधि हासिल गरेका हुन् । यतिखेर उनी ‘बान्तावा–नेपाली–अंग्रेजी शब्दकोश’ निर्माणको अन्तिम चरणमा जुटेका छन् । ‘अहिले नित्यकर्म र शब्दकोश निर्माणमा समय बित्दै छ,’ ७४ वर्षीय राईले भने, ‘त्योभन्दा पनि उहिल्यै एसएलसी दिँदाका साथीहरूलाई खोजीखोजी फोन गरेँ । एसएलसी छिचोल्न नसकेकालाई भेटेँ। हेडमास्टर भएर रिटायर्ड भएर बसेका छन् ।’

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः उमेरले ८५ वर्ष पुगेका छन् । ‘लकडाउनको सदुयोग गर्दै छु,’ ठट्यौलो पारामा उनले भने, ‘पेन्सन छ, टेन्सन छैन । घरको नामै निष्ठा छेँ हो । निष्ठापूर्वक बस्छु ।’ उनी भक्तपुर निवासी पूर्वप्राध्यापक हुन् । उनका संस्कृतिसम्बन्धी ८ वटा कृति प्रकाशित छन् ।

‘अहिले कोरोना भाइरस किन फैलियो भन्नेबारे विश्लेषण गर्दै छु,' उनले भने, ‘२०२२–२३ सालतिर जापान, कोरियालगायत मुलुकको भ्रमण गर्दा त्यहाँको नाइट्रोजन फ्याक्ट्री, हिरोसिमा, नागासाकी गएको थिएँ । प्रकृतिमाथि गरिएको विध्वंशले यो कोरोना भाइरस आएको हो भन्ने मेरो निष्कर्ष हो । यही लेख्दै छु ।’ उमेरका कारण घरबाहिर धेरै हिँडडुल नगर्ने भएकाले घरबन्दी हुँदा खासै समस्या नपरेको उनले बताए ।

कवि तुलसी दिवसलाई भने पहिलोपटक औपचारिक घरबन्दीमा रहँदा सुरुवाती दिनमा केही असहज भएछ । ‘घरबन्दीको ३६ दिनले आफैंतिर फर्काएको अनुभव गरेको छु,’ उनले भने, 'अरुबाट मात्रै होइन मानसिक र आन्तरिक व्यवधानको पनि अनुभूत गरेँ । मैले सूक्ष्म चिन्तन गरेर लेखेको छैन । मेरा केही कृतिलाई नयाँ संस्करणमा ल्याउन तयारी गर्दै छु ।’ ती पुस्तक तीन दशकअघि प्रकाशित ‘तुलसी दिवसका कविताहरू’, ‘नेपाली लोककथा’ र नयाँ कृतिका रुपमा अभि सुवेदीद्वारा अंग्रेजीमा अनुदिन ‘दिवसका कविताहरू’ रहेको उनले जानकारी दिए ।

‘आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक मूल्य र संरचनामा मान्छे आफू बाँचिएन भने अर्थहीन हुने रहेछ,’ प्राध्यापक दिवसले दार्शनिक पारामा भने, ‘आफू सुरक्षित रहेर अरुलाई असुरक्षित बनाउने होइन । जिन्दगी खोजेजस्तो, चाहेजस्तो हुँदैन । देखेभन्दा नदेखेको ज्यादा तर जिन्दगी बाँच्ने चाहना मान्छेमा जाग्छ। नदीजस्तो भएर बगिरहन्छ । रोक्न खोजेर हुँदैन ।’

देश–विदेशमा प्रस्तुत गरेका नेपाली र अंग्रेजी भाषाका कार्यपत्रहरूको अलग्गै संग्रह बनाउने क्रममा पनि आफू लागिरहेको कवि दिवसले बताए । प्रकाशित : वैशाख १७, २०७७ १९:१६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भर्चुअल पढाइले पूरा गर्ला भौतिक कक्षाको विकल्प?

'नेपालमा इन्टरनेट सुविधाको उपलब्धतासम्बन्धी सर्वे गरिएको छैन। साधखोज गरी तथ्यांकमा आधारित रहेर मात्रै भर्चुअल शिक्षण पद्धति कसरी प्रभावकारी हुन्छ?'
गणेश राई

काठमाडौँ — सामान्य अवस्था भइदिएको भए प्रत्येक घरका बालबालिका नयाँ पोसाकमा ठाँटिदै किताब, कापी बोकेर माथिल्लो कक्षामा पढ्ने उत्साहसाथ विद्यालय जान थालेका हुन्थे। तर लकडाउनका कारण आफू परीक्षामा पास भएर नयाँ कक्षा पुगेँ कि पुगिनँ भनेर थाहा पाउन सकेका छैनन्। नयाँ कक्षामा पढ्न पाउने कि नपाउने भन्ने अन्योल छ। वैशाख लागेसँगै सुरु हुने शैक्षिक सत्रको भर्नासमेत कहिले खुल्ने अत्तोपत्तो छैन।  

शिक्षा मन्त्रालयको तालिकाअनुसार सामुदायिक (सरकारी) विद्यालय वैशाख १५ सम्म भर्ना अभियान सुरु रहन्छ। विद्यालय जाने उमेरका कोही छुटे भने त्यसपछि पनि भर्ना लिइन्छ। निजी विद्यालयमा पढ्ने भर्ना भएर धमाधम पढिरहेका हुन्थे। यसपटक कुनै विद्यार्थीको हातमा नयाँ पोसाक र पुस्तक हात पर्न सकेको छैन।

लकडाउन भएपछि कुनै विद्यालय खुलेका छैनन्। नतिजा प्रकाशन भएको छैन। नयाँ भर्ना खुलेको छैन। निजी विद्यालयले विद्यार्थीले कुन प्रकाशनको पाठ्यपुस्तक खरिद गर्ने भन्नेबारे जानकारी गराएका छैनन्। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा सरकारले लकडाउन खोल्ने निर्णय गरेपछि मात्र नयाँ शैक्षिक सत्रको सूचना जारी हुने बताउँछन्। ‘लकडाउन खुलेपछि रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षा मिति टुंगो लाग्छ,’ उनले भने, ‘त्यो सँगै कक्षा ९ सम्मको नतिजा प्रकाशन, नयाँ शैक्षिक सत्रको भर्ना र पठनपाठन हुनेछ।’

१० प्रतिशत पाठ्यपुस्तक छापिन बाँकी

२०७७ को नयाँ सत्रका निम्ति कक्षा ५ देखि १० कक्षाका पाठ्यपुस्तक २ करोड थान छापिन्छन्। त्यसैगरी कक्षा १ देखि ४ का पाठ्यपुस्तक प्रतिकक्षा ४ लाख सेट छापिन्छन्। यो वर्षबाट कक्षा ८ सम्मका सबै पाठ्यपुस्तक रंगिन छन्। जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक छापिसकेको प्रवक्ता चित्र आचार्यले बताए। ‘कक्षा ६, ७ र ८ कक्षाको केही पुस्तक छपाइ हुन बाँकी छ,’ आचार्यले कान्तिपुरसित भने, ‘करिब १५ लाख थान पुस्तक छाप्दाछाप्दैका छन् भने छापिएकालाई हाम्रा क्षेत्रीय कार्यालयमा पुर्‍याउन बाँकी छ। पुस्तक ओसार्ने ट्रकको पास पाएलगत्तै सबैतिर पुर्‍याउँछौं।’

विकल्प भर्चुअल कक्षा होइन : विज्ञ

यतिखेर कुनै विद्यालय नखुलेकाले विद्यार्थीले विद्यालय, खेलमैदान, कक्षाकोठा, पाठ्यपुस्तक, साथीसँगी, गुरु/गुरुआमाबाट टाढिएका छन्। विशेषगरी निजी विद्यालयमा पढाउन शिक्षकको पेसा गुम्ने स्थिति छ। यस्तो अवस्थामा भर्चुअल कक्षाबारे चर्चा हुँदै आएको छ।

सबैतिर चर्चा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा अनलाइन शिक्षा सञ्चालन उच्चस्तरीय समिति गठन गरेको छ। त्यसैगरी खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माको संयोजकत्वमा भर्चुअल कक्षा सञ्चालन समिति बनेको छ।

शिक्षाविद् वासुदेव काफ्ले लामो समय लकडाउन भएकाले शिक्षालयलाई तुरुन्त खोल्न नमिल्ने बताउँछन्। ‘विकसित मुलुकको निम्ति भर्चुअल शिक्षण पद्धति अपनाउनु स्वाभाविक हुन सक्ला,’ उनले भने, 'प्रविधिमैत्री देशमा शिक्षण प्रशिक्षणपछि अपनाउने पद्धतिको नक्कल नेपालले तत्काल गर्न सम्भव छैन। नेपालमा इन्टरनेट सुविधा कति क्षेत्रमा उपलब्ध छ, त्यसको उपलब्धतासम्बन्धी सर्वे गरिएको छैन। साधखोज गरी तथ्यांकमा आधारित रहेरमात्र भर्चुअल शिक्षण पद्धति कार्यान्वय हुन सक्छ।’

नेपालमा मोबाइल, इन्टरनेट सेवा र त्यसको उपभोग सबै वर्गका नागरिकमा पुग्न नसकेको शिक्षाविद् काफ्लेको भनाइ छ।

अर्का शिक्षाविद् विद्यानाथ कोइराला विद्यालय तहका बालबालिकाको निम्ति अनलाइन भौतिक कक्षाको विकल्प नहुने बताउँछन्। ‘अनलाइन शिक्षण लकडाउनमा अपनाउन एउटा तरिका मात्र हो,’ उनले भने, ‘भौतिक कक्षाको विकल्पमा पाठ्यक्रममा आधारित सामग्री रेडियो, टेलिभिजन, युट्युब आदि प्रयोग हुन सक्ला तर यसबाट डिजिटल खाडल र ज्ञानको खाडल सिर्जना हुनेछ। विद्यार्थीको चौतर्फी ज्ञान प्रवर्द्धन तथा मनोवैज्ञानिक खाडल पुर्न संवाद जरुरी छ।’ डिजिटल सामग्री निर्जीव हुने भएकाले त्यसमा मानवीय संवेदनाको खाँचो हुने कोइराला बताउँछन्। ‘शिक्षक–विद्यार्थी, विद्यार्थी–विद्यार्थीबीच हुने संवाद, सहकार्य महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘मान्छे भनेको मान्छे हो, भर्चुअल शिक्षण गर्दा बालमस्तिष्कमा मानवीय संवेदनाले प्रवेश नपाउन सक्छ।’

मनोचिकित्सक डा. प्रतीक्षा चालिसे भर्चुअल कक्षा केही नहुनुभन्दा केही हुनु राम्रोमात्र भएको बताउँछिन्। ‘घरमा कोचिएर रहेको स्थितिमा भर्चुअल कक्षाबाट केही सैद्धान्तिक ज्ञान आर्जन गर्न सक्छ,’ डा. चालिसे भन्छिन्, ‘तर शिक्षण भनेको अभ्यास, व्यवहार अनि सानो बच्चालाई नक्कल गरेर, अभिनय गरेर पढाउनु/बुझाउनुपर्ने हुन्छ। यदि भर्चुअलमै भर पर्ने हो भने उसको व्यावहारिक ज्ञानमा असर पर्छ।’ नेपालको भौगोलिक अवस्था, इन्टरनेट सेवाको उपलब्धता र त्यसको तीव्रता सबैतिर समान नहुने भएकाले भर्चुअल कक्षाले वर्ग विभेद सिर्जना गर्ने उनले बताइन्।

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा विद्यालय तहका बालबालिकालाई इन्टरनेट प्रविधिबाट शिक्षण गर्दा उनीहरूमा खराब लत बस्ने बताउँछन्। ‘सानो कक्षामै भर्चुअल सिकाइ गर्न, गराउनु उचित छैन,’ उनले भने, ‘हामीले विद्यार्थीलाई कम्प्युटरमा आधारित प्रोजेक्ट वर्क गर्न दिँदासमेत आमाबाबुको आँखा छलेर नेटमा समय बिताउने गरेका छन्। अझ अनलाइन कक्षा नै भन्न थाल्यौं भने सानैदेखि भविष्य अन्योलमा पर्न सक्छ।’ लकडाउनले गर्दा घरमा बसेका सहरका विद्यार्थीमा मोबाइल, इन्टरनेटमा गेम खेल्ने, टेलिभिजन हेर्ने लत बसेकाले त्यसको खराब असर अबको शिक्षणमा पर्न सक्ने उनले बताए।

बुढानीलकण्ठमा अनलाइन कक्षा

काठमाडौंको बुढानीलकण्ठ स्कुलले शैक्षिक सत्र २०७७ को पठनपाठन सुरु गरेको छ। उसले कक्षा ९ सम्मको परीक्षा नतिजा अनलाइनमा प्रकाशन गरिसकेको छ। त्यसलगत्तै विद्यार्थी र अभिभावकलाई ‘नयाँ शैक्षिक सत्रको अनलाइन कक्षा’मा सहभागी हुन/गराउन आह्वान गरेको छ।

‘हामीले माइक्रोसफ्ट टिमको एप्लिकेसन प्रयोग गरी अनलाइन कक्षा सञ्चालन गरेका छौं,’ प्रिन्सिपल होमनाथ आचार्यले भने, ‘प्रत्येक विद्यार्थीलाई युजर नेम र पासवर्ड दिएका छौं। समय तालिकाभित्र विद्यार्थी अनिवार्य सहभागिता जनाएर कक्षा पढ्ने र असाइन्मेन्ट लिँदै छन्।’ कक्षा ६ देखि १० सम्ममात्र विद्यार्थी रहेकाले सहज भएको प्रिन्सिपल आचार्यले जनाए। नेपाल टेलिकमसँग समन्वय गरी विद्यार्थीको मोबाइल नम्बरमा डाटा प्याकेजसमेत उपलब्ध गराइएको उनले बताए।


प्रकाशित : वैशाख १५, २०७७ २०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×