कपिलधाम ‘साहित्य तीर्थ’

मनोज पौडेल

कपिलवस्तु — मुलुकका लागि अमूल्य योगदान गरेका दिवंगत वा जीवित साधक एउटै थलोमा देख्न चाहनुहुन्छ भने कपिलवस्तुको कपिलधाम आउँदा हुन्छ । यहाँ अहिले विभिन्न क्षेत्र र भाषा वाङ्मय साधना गर्ने राष्ट्रका १७ अमूल्य निधिका प्रतिमा एकै ठाउँमा देख्न सक्नुहुन्छ । सबैका अर्धकदका प्रतिमा छन् ।

वाणगंगा नगरपालिका–९, कपिलधामस्थित उक्त ठाउँलाई ‘साहित्य तीर्थ’ नाम दिइएको छ । बनगाई–भलवार्ड कालोपत्रे सडक खण्डको उत्तर लहरै सालिक देख्न सकिन्छ । सबैभन्दा पहिले आदिकवि भानुभक्त आचार्यको सालिक राखिएको छ । उनको सालिक ०७० मा अनावरण गरिएको थियो । उनको सालिक साहित्यकार हरिराज शर्माको खर्चमा स्थापना गरिएको थियो ।


त्यसपछि कविशिरोमणि लेखनाथ पौडेलको सालिक छ । उनको सालिक नेपाल प्रज्ञा प्रतिष्ठान र वाणगंगा साहित्य प्रतिष्ठानको लागतमा बनाइएको हो । त्यसपछि क्रमशः विभिन्न स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङ्मय र कला साधनाद्वारा राष्ट्रको गौरव बढाउने व्यक्तित्वका प्रतिमा राखिएका छन् ।


दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा पं. दधिराम मरासिनी, भीमनिधि तिवारी साहित्य प्रतिष्ठानद्वारा भीमनिधि तिवारीको र धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा जनकविकेशरी धर्मराज थापाको प्रतिमा राखिएको छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा लीलाध्वज थापा, जयतु संस्कृतम् समितिद्वारा पूर्णप्रसाद ब्राहृमण र खिल शर्मा, राजीव लोचन जोशीद्वारा राजीवलोचन जोशीको प्रतिमा राखिएको छ । रुद्रराज साहित्य सेवा समितिद्वारा सरदार रुद्रराज पाण्डे, विष्णुराज आत्रेयद्वारा रश्मिराज आत्रेय र मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा मास्टर मित्रसेन थापाको प्रतिमा राखिएको छ ।


त्यस्तै, थारू अगुवा कृष्णबहादुर चौधरीद्वारा नेपालका त्रिभुवन, मदन र साझ पुरस्कार पाउने एकमात्र सहित्यकार भवानी भिक्षुको र रूपादेवी तथा अनन्त पन्थीद्वारा टीकाराम पन्थीको प्रतिमा राखिएको छ । त्यस्तै एक मात्र महिला कवयित्री लोकप्रिया देवीको प्रतिमा शशी रिमाल र शंकर रिमालले स्थापना गरेका हुन् । उनी लक्ष्मीप्रसाद देवकोटाकी बहिनी हुन् । सबैभन्दा पछिल्लोपटक गत सोमबार वासु स्मृति प्रतिष्ठानद्वारा कवि वासु शशीको र समालोचक कुमारबहादुर जोशीको प्रतिमा अनावरण गरियो । ‘यो राज्यले गर्नुपर्ने सद्भाव र सोचको कुरा हो,’ वासु शशी स्मृति परिषद्का अध्यक्ष एवं गायक गणेश रसिकले शशीको प्रतिमा अनावरण क्रममा भने, ‘यो पवित्र स्थल कुनै दिन साहित्यिक पर्यटनको गन्तव्य बन्ने निश्चित छ ।’


प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ । प्रतिमा २ देखि ४ फुट अग्ला छन् । प्रतिमा ढुंगा, पित्तल र फलामका बनाइएका छन् । एउटा प्रतिमा राख्न डेढदेखि २ लाख खर्च हुन्छ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले संयोजन गरेर साहित्य तीर्थ बनाएको हो । कपिल आरोग्य मन्दिर कपिलधाम धार्मिक वनको ३ बिघा जग्गामा प्रतिष्ठानले साहित्य तीर्थ बनाइरहेको हो । ‘एउटा लाइनमा २० वटा प्रतिमा राख्ने योजना छ,’ कपिलधाम धार्मिक वन अध्यक्ष तथा प्रतिष्ठान सदस्य शंकरप्रसाद आचार्यले भने, ‘विस्तारै थप्दै लैजान्छौं ।’ अहिलेलाई १७ प्रतिमा ठडिएका छन् । यसमध्ये कृष्णप्रसाद कोइरालाको मात्र प्रतिमा राख्न बाँकी छ ।


दुई साहित्यकार रश्मिराज आत्रेय र भीमनिधि तिवारीको प्रतिमा राखिए पनि अनावरण गर्न बाँकी नै छ । त्यस्तै, साहित्यकार मंगलप्रसाद नेपाली, हर्षबहादुर बूढा र अन्य जनाको प्रतिमा राख्ने निर्णय भएको छ । २० प्रतिमा पूरा भएपछि अर्को लाइनबाट नयाँ प्रतिमा राखिनेछन् । प्रतिमा पूर्व–पश्चिम लामो लाइन बनाएर राखिएको छ । ४ मिटर फराकिला दूरीमा छन् । प्रतिमाको दक्षिणतिर फलामको द्वीपस्थल बनाइएको छ । उनीहरूको जन्मजयन्तीलगायतका कार्यक्रम गर्दा द्वीप प्रज्ज्वलन गर्न द्वीपमाला बनाइएको हो ।

राष्ट्रको गौरव बढाउने प्रतिभावान् मूर्धन्य साधकको योगदानका उच्च मूल्यांकन गर्न यहाँ प्रतिमा राखिएको लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले बताए । ‘साहित्य पर्यटनको गन्तव्य बनाउन नयाँ सोचले अगाडि बढेका छौं,’ उनले भने, ‘यसले साहित्यानुरागीको प्यास मेटाउँछ , साहित्य तीर्थका रूपमा विकास हुन्छ । एकै ठाउँमा मुलुकभरिका अमूल्य निधिको अध्ययन अवलोकन गर्ने केन्द्रका रूपमा विकास गर्छौं,’ उनले भने, ‘नेपाली साहित्यको आद्योपान्त थाहा पाउन धेरै ठाउँ चाहर्नु पर्दैन । नेपालमा नै नयाँ अवधारणामा ल्याएर काम गरिरहेका छौं,’ उनले भने ।


यहाँ प्रतिमा राख्नका लागि लुम्बिनी वाङ्मय प्रतिष्ठानले ३ सदस्यीय मूल्यांकन उपसमिति छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको साहित्यकार कलाकारको रोस्टरमा नाम सूचीकृत हुन अनिवार्य गरिएको छ । त्यसपछि मात्र प्रतिमा राख्न दिने/नदिने निर्णय गरिनेछ ।

यहाँ मुलुकभरिका १ सय १ स्रष्टाको प्रतिमा राख्ने योजना बनाइएको हो । नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्य र कला श्रीवृद्धिमा योगदान गर्ने साधकका पनि यहाँ प्रतिमा राखिने बताइएको छ । प्रकाशित : चैत्र १, २०७६ ०८:१२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

८०% कोरोना संक्रमित विशेष उपचारबिनै निको

गम्भीर अवस्थामा कोभिड–१९ को संक्रमण ३ देखि ६ सातासम्म रहन सक्छ 
अतुल मिश्र

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रसले अधानोम ग्रेहबेयससले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई औंल्याउँदै ‘आफूहरूले खतराको घन्टीलाई चर्को रूपले बजाएको’ बताएका छन् । कोरोना भाइरस परिवारबाट फैलिएको पहिलो महामारी, कोभिड–१९ अब कुनै पनि दिशातर्फ अघि बढ्न सक्ने उनले बताए । 

डा. टेड्रोसले बुधबार जेनेभामा भर्चुअल पत्रकार सम्मेलनमा बताएअनुसार पछिल्लो दुई सातामा चीनबाहिर यो संक्रमण १३ गुणा बढेको छ भने प्रभावित मुलुकको संख्यामा समेत व्यापक वृद्धि भएको छ । उनले अगामी दिनमा संक्रमित र मृतक संख्यासहित प्रभावित मुलुकको संख्या अझै बढ्ने चेतावनी पनि दिए ।

कोभिड–१९ को यो भयावह अवस्था एक्कासि आएको भने हैन । विश्वभर अंग्रेजी नयाँ वर्ष २०२० मनाउने तयारी चलिरहँदा डिसेम्बर २९ मा चिनियाँ अधिकारीले वुहान सहरको एउटा समूहमा ‘निमोनिया’ जस्तै समस्या देखे । यो समस्या नयाँ कोरोना भाइरसका कारणले हुने पत्ता लाग्यो । पछि यसलाई कोभिड–१९ नाम दिइयो । चीनबाहिर थाइल्यान्ड र जापान हुँदै फैलिइएको कोभिड–१९ विश्वका १ सय ४० भन्दा बढी राष्ट्रमा पुगिसकेको छ । रोकथामका कडा उपाय अपनाएपछि चीनमा लगभग नियन्त्रण हुन लागे पनि विश्वको अन्य भागमा भने तीव्र गतिमा फैलिइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ लाई गत बुधबार विश्वव्यापी महामारी घोषणा गरेपछि नेपालले समेत थप सतर्कता, तयारी र आम नागरिकबीच सजगता अपनाउन आवश्यक देखिएको छ । हालसम्म चीनबाट फर्केका एक विद्यार्थीलाई यो संक्रमण देखिए पनि उनी पूर्ण स्वस्थ भइसकेका छन् । उनीबाहेक नेपालमा हालसम्म थप संक्रमण देखिएको छैन ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुर हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण नदेखिए पनि भोलिका दिनमा यसले व्यापक रूप लिन सक्ने जोखिम रहेको बताउँछन् । उनका अनुसार मुलुकको अस्तव्यस्त स्वास्थ्य सेवा र भेन्टिलेटरसहितको आईसीयू अभावकै बीच संक्रमण देखिए स्थिति कस्तो होला, सहजै अनुमान गर्न सकिँदैन । छिमेकी भारतमा संक्रमित संख्यामा वृद्धि भइरहेको र एक जनाको मृत्युसमेत भइसकेकोले नेपाल पनि संक्रमणबाट मुक्त रहन सक्ने सतप्रतिशत स्थिति नरहेको उनी बताउँछन् । यसैले सरकार र आम नागरिकले समेत यो रोग मुलुकमा फैलिन नदिन रोकथामका उपाय अपनाउन आवश्यक रहेको डा. ठाकुर औंल्याउँछन् ।

कोभिड–१९ लाई रोक्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संक्रमणको कडी तोड्ने (ब्रेक द चेन अफ ट्रान्समिसन) रणनीति अपनाइरहेको छ । डा. टेड्रसका अनुसार यो रणनीतिअन्तर्गत यथाशीघ्र संक्रमण पत्ता लगाएर बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको छ । यसै रणनीतिले चीनमा संक्रमण दर घट्दो छ ।

‘कोभिड–१९’ संक्रमणविरुद्घ हालसम्म कुनै खोप र विशिष्ट उपचार पत्ता लागेको छैन । संक्रमितमा देखिने लक्षणका आधारमै उपचार गरिँदै आएको छ । डा. टेड्रसका अनुसार विश्वभर करिब २० वटा खोप र केही औषधि विकासको क्रममा छन् । केही महिनाभित्रै कोरोनाको खोप आउन सक्ने भए पनि हाललाई भने यसबाट बच्नु नै महत्त्वपूर्ण हुने उनी बताउँछन् ।

कोभिड–१९ को सामान्य लक्षण ज्वरो आउनु र सुक्खा खोकी लाग्नु हो । हालसम्मको अध्ययनअनुसार कोभिड–१९ संक्रमण लाग्ने संक्रमितलाई सायदै रुघा लाग्ने हुन्छ । आधा लाखभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनअनुसार यसको संक्रमण प्रभावित करिब ९० प्रतिशत मामिलामा ज्वरो देखिएको छ भने दुई तिहाइ व्यक्तिलाई सुक्खा खोकी (ड्राई कफ) समेत देखिएको छ । थकान महसुस हुनु पनि यसको सामान्य लक्षण हो । करिब ४० प्रतिशत संक्रमितमा थकान देखिएको छ ।

कोभिड–१९ संक्रमित हरेक तेस्रो व्यक्तिले खोक्दा खकार आउने गरेको अनुभव गरेका छन् । करिब ५ जना प्रभावितमध्ये एक जना अर्थात् १८ प्रतिशतले सास फेर्न असजिलो हुने अनुभव गरेका छन् । कोभिड–१९ को भाइरस शरीरमा प्रवेश गरेको ५–६ दिनमा यसको लक्षणको विकास हुने गरेको छ । यसको औसत लक्षण ५ देखि ६ दिनमा देखिने भए पनि १४ दिनपछि पनि लक्षण देखिन सक्ने डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार औसत रूपमा यो रोग दुई सातासम्म रहन्छ । तर गम्भीर मामिलामा यो समय तीनदेखि छ सातासम्म हुन सक्छ । संक्रमणले मृत्यु हुनेबारे अध्ययन गर्दा लक्षण देखिएदेखि मृत्युसम्मको समय दुईदेखि आठ सातासम्मको थियो । कोभिड–१९ मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) फैलिने प्रक्रियाजस्तै संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा श्वासप्रश्वासको माध्यमले फैलिन्छ । यो मुख, नाकबाट निस्किने पानीका ससाना कण (ड्रप्लेट) बाट एक व्यक्तिबाट अर्को निकट सम्पर्कमा रहेको व्यक्तिमा फैलने गरेको छ । प्रत्यक्ष रूपमा नाक, मुखबाट निस्किने पानीका स–साना थोपालाई श्वासप्रश्वासका माध्यमले शरीरमा तान्दा यो संक्रमण हुन्छ ।

यसबाहेक नाक, मुखबाट निस्किने यस्ता पानीका थोपा कुनै वस्तु वा सतहमा पर्दा त्यसलाई छुने स्वस्थ व्यक्तिको हातसमेत जीवाणुले संक्रमित हुन्छ । यस्तो हातले पुनः आँखा, नाक, मुख छुँदा जीवाणु शरीरमा प्रवेश गर्छ । खोक्दा, हाच्छिउँ गर्दा निस्किने पानीको स–साना थोपामा यस्तो भाइरस हुन्छ । त्यसैले रुघाखोकी लागेका बिरामीसँग न्यूनतम एक मिटरको दूरी कायम राख्दा र नियमित रूपमा साबुनपानीले हात धुने गर्दा श्वासप्रश्वासको माध्यमले हुने संक्रमणको जोखिम कम हुन्छ ।

डब्लूएचओका अनुसार धेरैजसो व्यक्ति अर्थात् करिब ८० प्रतिशतमा विशेष उपचार नभएरै कोभिड–१९ रोग निको हुन्छ । संक्रमण भएका ६ जनामध्ये एकजना गम्भीर रूपमा बिरामी पर्छन् र उनीहरूमा सास फेर्न समस्या देखिन्छ । बूढापाका र उच्च रक्तचाप, मुटुको समस्या, मधुमेह आदि भएकाहरू गम्भीर रूपमा बिरामी हुन सक्छन् ।

डा. टेड्रसका अनुसार हालसम्मको विभिन्न तथ्यांकअनुसार ६० वर्षमाथिका मुटु र रक्तनलीका रोग भएका, मधुमेह, श्वासप्रश्वास, क्यान्सर, दीर्घरोगीमा संक्रमण कडा रूपमा देखिएको छ । हालसम्म संक्रमितको तथ्यांकलाई विश्लेषणअनुसार बालबालिका कोभिड–१९ बाट धेरै कम प्रभावित देखिएका छन् । ९ वर्ष सम्मका बालबालिकामा यो संक्रमणले मृत्यु भएको देखिएको छैन भने १० देखि १९ वर्ष उमेरका व्यक्तिमा ०.२ प्रतिशत मात्र मृत्युदर देखिएको छ ।

डा. टेड्रोसले सबै मुलुकलाई आपतकालीन प्रतिक्रिया प्रणाली अपनाउन आग्रह गरेका छन् । बिरामी व्यक्तिसँग दूरी कायम राख्नु, श्वास–प्रश्वास र हातसम्बन्धी स्वच्छताको नियम अपनाउनुलगायत बचाउका उपाय फाइदाजनक हुने डब्लूएचओले जनाएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे हात धुने, श्वासप्रश्वासम्बन्धी स्वच्छताको बानी अँगाल्दा यो संक्रमणबाट धेरै हदसम्म बच्न सकिने बताउँछन् ।

प्रकाशित : चैत्र १, २०७६ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×