कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कुडा काठमाडौंका’

भीडमा सबै काठमाडौंमै देखिने अनुहार थिए, बोली–वचन र धारणा काठमाडौंकै थियो
कान्तिपुर संवाददाता

काठमाडौँ — भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको प्रादेशिक बातचित गर्न सय भन्दा बढि लेखक–स्रष्टा फागुनको दोस्रो सातादेखि धनगढी नगरमा भेला भए । त्यही हुलमा जोडिन अमेरिकाको न्युयोर्कबाट रातबिरात दार्चुले मूलका कवि किसनसिंह धामी पनि धनगढी आइपुगेका थिए । विश्व साहित्य सम्मेलनमा अमेरिकाको संयोजक हैसियत लिएर न्युयोर्क–दिल्ली हुँदै वनबासाबाट छिरेर आफ्नो माटो टेकेका कवि धामी सुरुमा हर्षबिभोर देखिन्थे, अलिक पछि भने विस्मित देखिन थाले । 

‘कुडा काठमाडौंका’

‘विश्व साहित्य सम्मेलनको अभियान आफैंमा सराहनीय थियो,’ धनगढी सम्मेलन सकेर अमेरिका उड्ने क्रममा एकै दिनका लागि काठमाडौं उत्रिएका कवि धामीले कान्तिपुरसँग भने, ‘तर, म एउटा साहित्य सम्मेलनमा भाग लिन काठमाडौं आएको थिएँ कि मेरो सुदूरपश्चिम ? खुट्याउनै सकिनँ ।’ उनका बुझाइमा, साहित्य सम्मेलनको भीडमा सबै काठमाडौंमै देखिने अनुहार थिए, बोली–वचन र धारणा काठमाडौंकै थियो । सुदुर पश्चिम र कर्णालीका भाका, शब्द, भाषा, संस्कृति र सभ्यताको धरातलबारे बुझबुझारथ गराउनेमा स्थानिय हैन, काठमाडौंबासी थिए । यत्रो महोत्सवमा डोट्याली भाषामा संवाद गर्ने कवि एक जना मात्रै रहेछन्, उनै कवि किसनसिंह । ‘यताका कुडा हैन, भैदियो—कुडा काठमाडौंका,’ धामी भन्छन् ।


बितेको ६ वर्षयता अमेरिका बस्दै आएका कवि धामी न्युयोर्क आसपासमा कवि–कविताको पुनर्जागरण गराउने अभियन्तामध्येमा पर्छन् । कविद्वय व्याकुल पाठक र धामीको संपादनमा गत बर्ष प्रकाशित ‘न्युयोर्कका कवि र कविता’ संग्रह अहिले डायस्पोरामा बसेर लेखनकर्म गरिरहेका स्रष्टाका निम्ति अनुकरणीय काम बनेको छ । यो संग्रहमा अमेरिकावासी स्रष्टाका ४७ वटा कविता संकलित छन् । धामीका ‘एटलान्टिकका भँगालाहरू’(कविता), ‘गजबार नभएको सहर’ (कविता), फ्रन्ट सिट (अनुभूति) लगायतका कृति नेपाली पाठकमाझ चिनिएका छन् ।


धामीले विगतमा झन्डै २ दशक फ्रेन्च दूतावासमा बिताए, राजदूत सहयोगीका रूपमा । राजदूतसँगै गाडीको ‘फ्रन्ट सिट’ का उनी सहयात्री हुन्थे । त्यस क्रममको कूटनीतिक र राजनीतिक प्रत्यक्ष–परोक्ष अनुभव उनले ‘फ्रन्ट सिट’ मा समेटेका छन् । झन्डै आधा दर्जन फ्रेन्च राजदूतका गतिविधि र आफूलाई चित्त बुझेका वा नबुझेका सन्दर्भहरू यो पुस्तकमा छन् । ‘यो पुस्तकको दोस्रो संस्करण प्रकाशनको तर्जुमा गर्न जम्मा एक दिनका लागि काठमाडौंमा रोकिएको हुँ,’ उनले सुनाए ।


अरूभन्दा पनि आफ्नो माटो, भावभूमि र भाषाकै कुरा गर्ने मुद्रामा हानथाप गर्दै आइपुगेका कवि धामी दोहोर्‍याउँदै भनिरहेका थिए, ‘यसपाला धनगढीमा कुडा काठमाडौंका भए, कुडा केन्द्रकै थिए । कर्णाली भेगका केही सहजकर्ता थिए तर वक्ताहरू काठमाडौंकै थिए । यता पोखरा होस् वा जनकपुर, इलाम होस् वा लुम्बिनी— बोल्ने र धारणा बनाउनेहरू उनै थिए, जो सधैंभर केन्द्रै रहेका छन् ।’


उसो त अन्तरसंवादको बहस मञ्चमा धामी स्वयं पनि थिए । तर, धेरै कुरा औपचारिकताका लागि थियो । ‘मूलधारको भाषा भनेको के हो ? सुदूर भाषा के हो ? मोफसल भाषा के हो ? ख्वै त, बहस भएको ?’ उनले थपे, ‘यस्तो समृद्धिको सूचक सिञ्जाली भाषा अथवा डोट्याली भाषा–साहित्यको प्रवर्द्धनमा के बहस हुन सक्यो र ? जे भयो, सबै केन्द्रकै कुडा भयो ।’


कवि धामी पेसाले क्याब (उबर) चालक हुन् न्युयोर्कमा । उनी आफू मात्रै होइन, अधिकांश कवि–लेखक र जोकोही अमेरिकै भने पनि १२/१४ घण्टाको सास न बासको दैनिकीपछिको समयमा मात्रै केही रचनात्मक बनिरहेका हुन्छन्, यो यथार्थ हो । ‘सुख र खुसी फरक कुरा हो । अमेरिकामा हुने नेपालीहरू सुखी होलान्, तर खुसी छैनन् । यही कठिनको समयमा साहित्य लेखिन्छ, केही रचना गरिन्छ,’ उनी भन्छन्, ‘उता बसेर हामी कोही पनि पूर्णकालिक लेखक, स्रष्टा हुनै सक्दैनौं, यो यथार्थ स्विकार्नै पर्छ ।’


उबर चलाइरहेका बेला धामी अहिलेसम्म २० हजारभन्दा बढी विविधताका यात्रुसम्म पुगेका छन् । बिहानीको यात्रामा कसैलाई भेट्नासाथै ‘हस्पिटालिटी’ का निम्ति ‘गुड मर्निङ’ भन्नै पर्‍यो । यसो भन्दा कोही झर्कंदै भनिरहेका हुन्छन्, ‘ह्वाई गुड मर्निङ ? नन्सेन्स ।’


कसैले राम्रो व्यवहार देखायो, उबरमा उठेको बिल राम्रैगरी तिर्‍यो भने स्वभावत: भन्न मन लाग्छ— थ्यांक यु सर । अचम्मैसँग त्यो यात्रु रिसाउँछ, र थर्काएको स्वरमा भन्छन्, ‘ह्वाई थ्यांक यु ? नन्सेन्स ।’ यसरी बाँच्नुको अनेक विविधता र भोगाइका माझ कवि धामी वा कवि पाठक अलमलमा ज्याक्सन हाइटतिर टहलिरहेका हुन्छन् । यही अप्ठ्यारो दैनिकीमाझ कवि धामी भनिरहेका छन्, ‘सुख प्राप्त गर्न सकिने कुरा हो, खुसी त स्वयं आउनुपर्ने चिज हो, जुन मुस्किल छ ।’

प्रकाशित : फाल्गुन २५, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?