कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बर्मा गए भाषासँगै’

दीपक परियार

(पोखरा) — उखानै छ ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपाल सँगै’ । नेपालीभाषी बर्मेली युवा यो उखान फेर्न उद्यत छन्, बर्मा (म्यान्मार) मा नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमार्फत । 

‘बर्मा गए भाषासँगै’

धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सवमा सहभागी भएर बर्मेली नेपालीको टोली सोमबार पोखरा आयो । उनीहरू र्‍यान्डम रिडर्स सोसाइटीले गरेको अन्तरसंवादमा जुटे । बर्मेली कवि, साहित्यकार, संस्कृतिकर्मी र नागरिक अभियन्ताले नेपाली भाषा साहित्यप्रतिको लगाव खुलस्त राखे । भाषा जोगाउन भएका प्रयत्न दुरुस्त सुनाए । परदेशबाट घर फिरेका सन्तानले बाबुआमालाई सुनाएका कहरजस्तै उनीहरू ठाउँठाउँमा पोखिए । साहित्यकार अश्विनी कोइरालासँगको अन्तरसंवादमा उनीहरूले पितृभूमिप्रतिको माया दर्साए ।


झन्डै डेढ सय वर्षअघि धेरै नेपाली विविध कारणले बर्मा प्रबासिए । बर्माका साहित्कार भागवत बस्नेतका अनुसार राणाको छिचोमिचो, शोषण र दुःखले नेपाली बर्मा भासिए । ‘दोस्रो विश्वयुद्धमा भारतीय सेना हुँदै बेलायती सेना भएर पनि बर्मामा धेरै नेपाली पुगे,’ बर्मेली जनजीवनको इतिहास उल्लेख गर्दै उनले भने, ‘व्यापार र तीर्थयात्राको सिलसिलामा पनि नेपाली बर्मा पसे ।’

बर्मामा डेढदेखि २ लाख नेपालीभाषी रहेको तथ्यांक छ । राजा महेन्द्रले नेपालमै बर्मेली टोल बनाएर देश फर्किन आह्वान गरेदेखि उता जाने घटेका छन् । प्रत्येक बर्मेली नेपालीले आफ्नो पुर्खा बसेको ठाउँ हेर्न चाहेको बस्नेत बताउँछन् । नेपाली भाषा, साहित्य र संस्कृति बर्मेली नेपालीबीच नङ र मासुजस्तै गाँसिएको उनी भन्छन् । पितृभूमिप्रतिको मोह उनले कवितामा सुनाए ।


प्रत्येक वर्षामा पहिरो जाने

हामीभित्र पनि एउटा कृष्ण भीर छ

फरक यत्ति हो

तिम्रो डाँडापाखामा पहिरो जान्छ

हाम्रो छातीमा पहिरो जान्छ


बर्माका ९० प्रतिशत बर्मेली नेपालीले नेपाली भाषा बोल्छन् । सैनिक शासनकै बीच नेपाली भाषा मर्न नदिन बर्मेली नेपालीले गरेको संघर्ष भीमलाल पाण्डेले रोचकरूपमा सुनाए । भारतको उडिसाबाट जानेको भाषा लोप हुँदा संस्कृति लोप भएको उनले देखेका छन् । बर्माको राजनीतिक अप्ठेरोमा पनि नेपालीभाषी अभियन्ता ठाकुरप्रसाद गुरागाईंलगायतले आन्दोलन छेडे । नेपाली भाषा, साहित्य र संस्कृति जोगाउन मन्दिरहरूमा लुकाइछिपाई रामायण र महाभारत पुर्‍याए । गुरागाईंले हातैले लेखेर मन्दिरसम्म नेपाल भाषाका किताब पठाए । मठमन्दिरबाट नेपाली भाषाको पढाइ सुरु भयो । नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन त्यो अभियान सहयोगी बन्यो ।


पाण्डेका अनुसार व्यवस्था केही खुकुलो भएपछि विद्यालयमै नेपाली भाषा पढाउन थालियो । हरेक वर्ष ‘वसन्त बिदाइ’ मा हुने दुईमहिने छुट्टीको उपयोग गर्दै विद्यार्थीलाई नेपाली भाषा पढाउन थालियो । हाल वर्माका २ सय २७ विद्यालयमा नेपाली भाषाको पढाइ हुन्छ । ४ स्थानसम्म नेपाली भाषामा डिप्लोमा पढाइन्छ । ३ वटा ठूला संस्कृत पाठशाला छन् । अहिले त्यहींका बर्मेलीलाई नेपालीभाषीले नेपाली भाषा र गीत सिकाउन थालेको उनले सुनाए ।


साहित्यकार सीमा साँवा गीताका श्लोक कण्ठस्थ सुनाउँछिन् । उनका हजुरबुबा १३ वर्षको छँदा नेपालबाट बर्मा पसेको हो उनको पुर्खा । ५ सयभन्दा बढी नेपाली भाषीको मात्रै घरधुरी भएको बर्मेली सहर मिचिनामा उनी बस्छिन् । नेपाली भाषामा कलम चलाउँछिन् । लिम्बू भाषा पनि धेरथोर बोल्छिन् । बर्माबाट प्रकाशित हुने ऐरावती साहित्यिक पत्रिकाकी सहसम्पादक मधु घर्ती क्षेत्रीले नेपाली सिक्न बुबाको निकै जोड गरेको स्मरण गर्छिन् । नेपाली सिक्न २–३ महिनामा एकपल्ट पुग्ने नेपाली फिल्मको डीभीडी १०/१० पल्टसम्म हेरेको अनुभव उनीसँग छ । ‘बर्मेली नेपाली भाषा शिक्षक राजन ढकालले विद्यार्थीले बुझ्ने गरी नेपाली सिकाउन मिहिनेत गरेको उल्लेख गरे । रिता लामा कार्कीले छोरा र छोरीबीच हुने भेद, जातिप्रथा, संस्कार नेपालमै जस्तो भएको सुनाइन् ।

प्रकाशित : फाल्गुन २२, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?