कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुधौलीमा मातृभाषा

गणेश राई

(सिन्धुली) — (इतिहास हराएमा संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए भाषा भेषभूषा, भाषा हराएमा जातिको पहिचान हराउँछ..)

‘इतिहास हराइब त संस्कृति हराइतो

संस्कृति हराइब त संस्कार हराइतो

संस्कार हराइब त भाषा भेषभूषा

भाषा हराइब त जातिक पहिचान....’


यी हरफ दनुवार भाषाका हुन् । कवि पुष्पा धामी दनुवारले सिर्जना गरेकी हुन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सिन्धुलीको दुधौलीमा सम्पन्न बहुभाषिक कविता गोष्ठीमा वाचन गरेकी हुन् । दुधौली प्रज्ञा प्रतिष्ठानले पहिलो पटक गरेको काव्यगोष्ठीमा पुष्पाले मातृभाषामै कविता रचना अवसर पनि पहिलो पटक नै पाएकी हुन् । ‘नेपाली भाषामा कविता र गजल त सुनाउँदै आएकी छु,’ सिन्धुली बहुमुखी क्याम्पसमा स्नातकोत्तर (नेपाली) अध्ययनरत पुष्पाले भनिन्, ‘आफ्नै भाषामा वाचन गर्दा आनन्द आउने रहेछ ।’ तथ्यांकअनुसार देशभरि दनुवार जातिको जनसंख्या करिब ८५ हजार छ । सबैभन्दा धेरै सिन्धुलीमा बसोबास रहेको छ ।


सिंहबहादुर घिसिङले तामाङ मातृभाषामा ‘ह्याङ्ला ह्युल्सा’ (हाम्रो देश) शीर्षकको कविता सुनाए । तामाङमा घिसिङ, अर्जुनबहादुर तामाङ र मोतीलाल बल, दनुवारमा धर्मलाल दनुवार, माझी भाषामा कुलवीर माझी, सुनुवारमा प्रेमबहादुर सुनुवार, खड्गबहादुर सुनुवार, वाम्बुलेमा शुभराज राई (काजी), गुरुङमा सन्तोष गुरुङ, मगरमा हरिहर थापा मगरले कविता सुनाए । नेपालीमा जीवनहरि आचार्य, शैलेन्द्र घिमिरे, रवीन्द्र भट्टराई ‘सागर’, अशोक गुरुङ, कपिल अधिकारी, लोकेन्द्र डहरे र बालकवि विवेक राईले रचना सुनाए ।


दुधौली नगरपालिकाले गत कात्तिकमा प्रज्ञा प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठान गठन भएपछि गत माघमा स्रष्टा लोकेन्द्र पौडेलको ‘सन्की सिपाही’ मुक्तक संग्रह निकालेको प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले जनाए । मेयर घनश्याम राउतले स्थानिय भाषा, साहित्य, कला, संस्कृति संवर्द्धन गर्न प्रतिष्ठान बनाएको बताए । कलाकार कुलवीर माझी, गीतकार अशोक गुरुङ, गायक कुमार लामा, धर्मलाल दनुवार लगायत १४ जनाले सम्मान पाए । गान्धीराज मगरले ‘दुधौलीमा मगर भाषा साहित्यको अवस्था’, उजिर राना मगरले ‘मगर भाषा साहित्यको वर्तमान अवस्था’, अर्जुन तामाङले ‘तामाङ साहित्यको वर्तमान अवस्था’, रामेश्वर अधिकारी दनुवारले ‘दनुवार भाषा र संस्कृतिको अवस्था’ शीर्षक कार्यपत्र प्रस्तुत गरे ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?