कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिर्जनात्मक काममा अवसर कति ?

कान्तिपुर संवाददाता

काठमाडौँ — विराटनगरबाट २६ वर्षअघि काठमाडौं आउँदा दीपाश्री निरौलाले कलाकार बन्ने सपना बोकेकी थिइन् । तर, यहाँ उनले चिनेजानेका कोही थिएनन्, खानबस्नै धौधौ थियो । मदनकृष्ण श्रेष्ठले रेडियो नेपाल बोलाएर बालनाटकमा अभिनय गराए । त्यसबापत् उनले पाउँथिन् ३ सय रुपैयाँ ।

सिर्जनात्मक काममा अवसर कति ?

त्यसपछि वासुदेव मुनालको बालनाटकबाट २ सय रुपैयाँ पाइन् । ब्लकस्टर ‘छक्का पन्जा’ सिरिजकी निर्देशक दीपाश्रीले हाँस्दै सुनाइन्, ‘५ सय पाउँदा काठमाडौं नै किन्छुजस्तो भएको थियो तर त्यसपछि पनि यहाँ टिक्न निरन्तर संघर्ष गर्नुपर्‍यो ।’


‘बुलबुल’ का निर्देशक विनोद पौडेलको सपनाचाहिँ हिरो बन्ने थियो । फिल्म अध्ययनपछि हिरोमा छानिए । भूमिका थियो, लागूपदार्थ दुर्व्यसनीको । चरित्र खोज्दै वाग्मती किनारामा कैयौं दिन बिताए, दुर्व्यसनीको सिकार भएकासँग संगत गरे । फिल्म सुटिङ भयो तर कहिल्यै रिलिज भएन । उनले अभिनय गरेका अन्य पाँच फिल्म पनि हलसम्म पुगेनन् । विनोदले ठट्टयौली शैलीमा सुनाए, ‘हिरो होइन, निर्देशक र कलेजको प्रिन्सिपल बनें ।’ उनी ओस्कार इन्टरनेसनल फिल्म कलेजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रिन्सिपल हुन् ।


‘फिल्म, भिडियो, एनिमेसन र कर्पोरेट क्षेत्रमा सिर्जनात्मक कामको अवसर’ विषय अन्तरक्रियामा बुधबार दीपाश्री र विनोदले अनुभव बाँडेका हुन् । सिर्जना सूत्रले गरेको कार्यक्रममा एनिमेसन कम्पनी इन्स्सेन्ट रेन स्टुडियोका सीईओ किरणभक्त जोशी र राइड सेयरिङ सर्भिस पठाओका क्षेत्रीय निर्देशक असीम मानसिंह बस्न्यात पनि वक्ता थिए । उनीहरूले सिर्जनशील क्षेत्रमा अगाडि बढ्दाका आफ्नो अनुभव सुनाउँदै नयाँ पुस्तालाई सुझाव पनि दिए ।


‘गुनासो नगरी राम्रो काम गर्ने हो भने अवसर आफैं आउँछ,’ हलिउड फिल्म निर्माण कम्पनी डिज्नेमा लामो समय काम गरेका किरणभक्तले सुनाए, ‘पहिले आफूमा विश्वास गर्नुस्, त्यसपछि तपाईंको आइडियाले अरूको मन जित्छ ।’ उनको कम्पनीले १२ वर्षदेखि हलिउड एनिमेसनको काम नेपालबाटै गर्दै आइरहेको छ । ‘सुरुमा हलिउड कम्पनीले पत्याउँदैन्थे, हामीले कामबाटै प्रमाणित गर्‍यौं । अहिले भारतमा समेत काम गराउँछौं,’ उनले भने ।


पठाओका असीममानले ‘पुरातन शैलीमा जागिर खाने सोचले अब नहुने’ बताए । धैर्य राखेर काममा केन्द्रित हुँदा सफलता पाइने दीपाश्रीले बताइन्– ‘हाम्रा फिल्मले अहिले करोडौंका व्यापार गर्छन्, अढाइ दशकको मिहिनेतको फल हो यो ।’ फिल्म, संगीतसहित हरेक सिर्जनशील क्षेत्रमा अघि बढ्न चाहनेलाई अवसर प्रदान गर्ने ‘प्लेटफर्म’ का रूपमा सिर्जना सूत्र स्थापना गरिएको संस्थापक सम्पदा मल्लले बताइन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?