कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८९ वर्षमा २७ कृति

काठमाडौँ — उमेरले नौ दशक टेक्नै लाग्दा पनि साहित्यकार डा. महेश्वर शर्मा लेखनमा क्रियाशील छन् । शनिबार उनले आफ्नो २७ औं कृति सार्वजनिक गरे– ‘उहिलेका कुरा र अहिलेका कुरा’ । यो आख्यान कृतिलाई उनले नारीका कथा, नारीकै व्यथा भनेका छन् । महाराजगन्जस्थित निवासमा वरिष्ठ पत्रकार भैरव रिसालले उनको पुस्तक सार्वजनिक गरे । 

८९ वर्षमा २७ कृति

पुस्तक समीक्षा गर्दै समालोचक रजनी ढकालले विषयको गहिराइमा पुग्नु नै लेखकको खुबी रहेको बताइन् । पुस्तकमा महिला उत्पीडन, दुर्व्यवहारलगायत विषय रहेकाले आफू प्रभावित भएको उनले सुनाइन् । ‘नारीका कथा व्यथा आजमात्रै हैन, हिजोदेखि थियो’, उनले भनिन्, ‘यो पुस्तकले उहिले र अहिलेको दुवै अवस्थाको व्याख्या गर्छ ।’


पुस्तकमा राजनैतिक पक्षबाट पनि नेपालको अवस्था चित्रण गरिएको उनले बताइन् । लेखक शर्माले आफूले मन भुलाउन लेख्ने गरेको बताउँदै मूल्यांकनको जिम्मा पाठकमा रहेको बताए । पूर्व प्रशासक शर्माले २००८ देखि लेखन थालेका थिए । ‘पञ्चायती राजकाज’, ‘योगमाया’, ‘कथालिका’, ‘मुर्कटा’, ‘स्याङजाका चौबिसे राज्य’, ‘मुक्तिनाथदेखि देवघाटसम्म’, ‘एउटा क्रुर कथा’ लगायत दुई दर्जन बढी कृति प्रकाशित छन् । उनले उपन्यास, कथा, निबन्ध, नाटकदेखि अनुवादसम्म कलम चलाएका छन् ।


पत्रकार रिसालले नेपाली महिलाको अवस्था र पुरुष सोच परिवर्तन गर्न शर्माको पुस्तकले सघाउने बताए । लेखक तथा पूर्वमन्त्री नरहरि आचार्यले लेखकीय स्तन्त्रता नभएको पञ्चायतकालमा पनि पत्रिका प्रकाशनमा शर्माको हौसला र प्रेरणालाई उल्लेखनीय रहेको स्मरण गरे । ‘उहाँ सकारात्मक सोच र ऊर्जाको स्रोत हुनुहन्छ,’ आचार्यले भने ।

प्रकाशित : माघ १९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?