कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्यारासाइट’ ले पायो साग

काठमाडौँ — अमेरिकाको कलाकारहरूको संस्थाले प्रदान गर्ने स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्डस्मा यसपटक दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ लाई सफलता मिलेको छ । अभिनयका ६ विधामा प्रदान गरिने यस अवार्डलाई ओस्कार अवार्डसँग तुलना गरिन्छ । प्रायः साग अवार्ड जित्नु भनेको ओस्कार जित्ने संकेत मानिन्छ ।

‘प्यारासाइट’ ले पायो साग

‘प्यारासाइट’ ले यसपटक दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै पहिलो पटक ओस्कारमा उत्कृष्ट फिल्म र विदेशी भाषी फिल्मसहित महत्त्वपूर्ण छ विधामा मनोनीत भएको छ । ब्ल्याक कमेडी फिल्म ‘प्यारासाइट’ ले आइतबार आयोजित साग अवार्डमा सबैभन्दा महत्त्वपूर्ण मानिने आउटस्ट्यान्डिङ पर्फमेन्सको अवार्ड जितेको हो ।


‘यतिबेला हामी पनि हलिउडको परजीवीजस्तै भएकाले अलिकति असजिलो लागिरहेको छ,’ फिल्म ‘प्यारासाइट’ कै अभिनेता ली सुन–क्युँले अवार्ड थाप्ने क्रममा ठट्यौली पारामा यसो भनेका थिए । हुन पनि ठूला र प्रतिष्ठित फिल्म अवार्डमा हलिउड इतरका फिल्मले प्रायः स्थान पाउन सकिरहेका हुँदैनन् । यस्तोमा दक्षिण कोरियाली फिल्मले भने ओस्कारदेखि अन्य अवार्डमा आफ्नो सशक्त उपस्थिति जनाइरहेको छ । बोङ जुन हो निर्देशित ‘प्यारासाइट’ कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुँदै पाल्म डिओर अवार्ड जित्ने पहिलो दक्षिण कोरियाली फिल्मसमेत बनेको थियो । त्यसैगरी, गोल्डेन ग्लोब अवार्डमा समेत उत्कृष्ट विदेशी भाषी फिल्म दरिएको थियो । साग अवार्डमा त पहिलो पटक गैरअंग्रेजी फिल्मले अवार्ड जित्ने इतिहास नै बनायो ।


निर्देशक बोङले साग जित्नु ओस्कारका लागि वातावरण बनिरहेको टिप्पणी गर्छन् । अर्का अभिनेता सङ काङ हुले अवार्ड थापिसकेपछि मन्तव्य दिने क्रममा भने, ‘यद्यपि फिल्मको नाम प्यारासाइट (परजीवी) छ । तर मलाई लाग्छ, यो फिल्म खासमा सह–अस्तित्वको बारेमा हो । हामीहरू कसरी एकअर्कासँग साथसाथ बस्न सक्छौं भन्ने बारेमा हो ।’ ‘प्यारासाइट’ ले हलिउड फिल्महरू ‘बमसेल’, ‘द आइरिसम्यान’, ‘जोजो र्‍याबिट’ र ‘वन्स अपअन अ टाइम इन हलिउड’ लाई समेत पछि पार्दै साग अवार्ड जितेको हो ।


त्यसैगरी ‘जोकर’ बाट जोक्विन फोनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा अभिनेत्रीतर्फ ‘जुडी’ बाट रेनी जेल्वेगर उत्कृष्ट ठहरिइन् । ब्राड पिटले ‘वन्स अपअन अ टाइम इन हलिउड’ बाट सहअभिनेताको अवार्ड जित्दा ‘म्यारिज स्टोरी’ बाट लाउरा डेर्नले सहअभिनेत्रीको साग अवार्ड हात पारिन् । सागमा टेलिभिजनका कलाकारलाई पनि विधागत अवार्ड दिने गरिन्छ । सन् १९९५ देखि सुरु गरिएको यस अवार्डका लागि २१ सय सदस्यले दिइएको मतका आधारमा छनोट गर्ने गरिन्छ ।


प्रकाशित : माघ ८, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?