डीबीको ‘नियत’

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार डीबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सोमबार लोकार्पण गरिएको छ । अभिनेत्रीत्रय रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले संयुक्त रूपमा विमोचन गरेको उक्त पुस्तकले रंगीन दुनियाँ भनिने रंगमञ्चदेखि फिल्म क्षेत्रसम्म महिला कलाकारमाथि हुने यौनजन्य हिंसाका दृष्टान्त पस्केका छन् । 

‘मैले पुस्तकमार्फत रंगीन क्षेत्रका फोहोरी मान्छेका फोहोरी नियतको सिकार भएका केही महिला पात्रलाई समेट्न खोजेको हुँ,’ पुस्तकबारे लेखक खड्काले भने, ‘यी दृष्टान्त पात्रमाथि भन्दा पनि प्रवृत्तिमाथि लेखिएका हुन् । यसले पाठकमा एउटा बहस सृजना होस् भन्ने अभिप्राय हो ।’ झन्डै १२ वर्ष लामो रंग पत्रकारिताको अनुभवलाई खड्काले पुस्तकमा समेटेका हुन् । अखबारिय लेखनशैली रहेको ‘नियत’ मा २० उपशीर्षकसहितका महिला कलाकारमाथिका कथाव्यथाहरू समेटिएका छन् । पुस्तकमा उनले यौन शोषणदेखि दुर्व्यवहारमा परेका दुई/तीन महिला कलाकारका व्यथालाई आधार बनाएर आफ्ना धारणा पेस गरेका हुन् ।


पुस्तक विमोचनपछिको अन्तरक्रियात्मक कार्यक्रममा वक्ताका रूपमा रहेका अभिनेत्रीत्रयले पनि रंगीन दुनियाँमा महिलाप्रति केही पुरुषहरूले बदनियत राखेर व्यवहार गर्ने गरेको सुनाए । अभिनेत्री थापाले महिला कलाकारलाई सफलता चुम्नेभन्दा सुरक्षित हुने चिन्ताले सताउने गरेको जिकिर गर्दै भनिन्, ‘तर यौनहिंसा र दुर्व्यवहार केवल महिला कलाकारले मात्रै भोगेको छन् भन्न मिल्दैन । यहाँ थुप्रै पुरुष पनि त्यसको सिकार भइरहेका हुन्छन् । तर महिलाले जसरी बोल्न सक्दैनन् ।’ अभिनेत्री खड्काले आफ्नो छवि नै छुच्ची खालको देखिने भएकोले खराब नियत राख्न अहिलेसम्म कसैले आँट नगरेको दाबी गर्दै यस्तो प्रवृत्ति आफूले पनि सुनेको बताइन् ।

प्रकाशित : पुस २९, २०७६ ०९:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अनुगमन प्रभावकारी बनाउन कार्यविधि

अमृता अनमोल

बुटवल — प्रदेशसभा सचिवालयले विषयगत समितिका अनुगमन र प्रतिवेदनलाई नियमन गर्न संसदीय निगरानी व्यवस्थापन कार्यविधि तयार गरेको छ । समितिका संयोजक एवं सदस्य भत्ताकै लागि अनुगमनमा जाने, प्रतिवेदन सार्वजनिक नगर्ने र जथाभावी खर्च गर्ने भन्दै प्रश्न उठेपछि सभामुखको संयोजकत्वमा समिति सभापतिसहितको बैठकले कार्यविधि तयार गरेको हो । 

कार्यविधिको प्रस्तावनामा ‘संसदीय निगरानीको विधि र बजेटलाई एकरूपतामा व्यवस्थित, प्रभावकारी तथा मितव्ययी तुल्याउँदै स्थलगत भ्रमण चुस्त, नियमित तथा पारदर्शी बनाउन कार्यविधि तयार गरिएको’ उल्लेख छ । त्यसमा संसदीय समिति कसको निगरानीमा जाने, कति सदस्य जाने र कस्तोमा अनुगमन गर्ने भन्ने व्यवस्थासमेत छ ।

निगरानी व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन कार्यविधि बनाइएको सभामुख पूर्णबहादुर घर्ती मगरले बताए । ‘अहिलेसम्म संसदीय समितिलाई शंका लाग्यो कि तुरुन्त अनुगमनमा जाने चलन थियो,’ उनले भने, ‘अब शंका र चाहनाका भरमा मात्रै अनुगमन हुँदैन । आवश्यकताका आधारमा हुनेछ ।’ कार्यविधिअनुसार सरकारका कामबारे शंका लागे समितिले सुरुमा बैठकमा बोलाएर सोध्नेछ । दोस्रोपटक लिखित जवाफ माग्नेछ । यसबाट चित्त नबुझे मात्रै निगरानीमा जाने उल्लेख छ । एक टोलीमा पाँच जनाभन्दा धेरै जान पाइनेछैन । त्यसमा एक जना सचिवालयका कर्मचारी रहनेछन् । एक कार्यक्रममा दुई वटाभन्दा बढी टोली बनाउन पाइनेछैन । सात दिनभन्दा लामो अनुगमन वा निगरानी हुनेछैन ।

‘अहिलेसम्म समितिको विवेकले देखेमा अनुगमनमा जाने गरेका थियौं । समितिका सबै सदस्य लर्को लागेर जान्थ्यौं । त्यसले प्रभावकारी निगरानी हुँदैनथ्यो,’ भौतिक पूर्वाधार तथा विकास समिति सभापति आशा स्वर्णकारले भनिन्, ‘अब त्यस्तो हुनेछैन ।’

कार्यविधिले अनुगमन गर्ने, प्रतिवेदन बनाउने र सार्वजनिक गर्ने विधिलाई समेत सहजीकरण गर्ने उनले बताइन् । संसदीय अनुगमन समितिको टोलीले प्रदेश सरकारले तोकेको यातायात खर्च र भ्रमण खर्च पाउनेछ । एक टोलीले विविध खर्चबापत १० हजार, प्रतिवेदनबापत दुई हजार र सञ्चार खर्चबापत एक हजार रुपैयाँ मात्र पाउनेछ । सरकारी गाडी नभए दैनिक ११ हजारसम्म भाडामा गाडी प्रयोग गर्न सकिने उल्लेख छ ।

अरूको अनुगमन र निगरानी गर्ने समितिलाई कार्यविधिले आफूलाई समेत पारदर्शी र अनुशासित बन्न निर्देश गरेको सचिवालय सचिव दुर्लभकुमार पुन मगरले बताए । ‘संसदीय समिति मिनी संसद् हुन्,’ उनले भने, ‘जसले सरकार र सदन दुवैलाई सही बाटोमा हिँडाउन सहयोग गर्छ ।’ अहिलेका अनुगमन छापामार शैलीमा हुने गरेको उनले बताए ।

प्रकाशित : पुस २९, २०७६ ०९:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×