कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

निर्मलाको ‘दरबन्दी’

काठमाडौँ — भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनकै क्रममा स्टेजमा रोइन् गायिका निर्मला घिसिङ । संगीतकार दीप श्रेष्ठको प्रश्नले चिमोटे पछि उनले विगत सम्झेकी थिइनन्, जतिबेला उनी छापामारहरूसित ‘जनवादी गीत’ गाउँदै गाउँबस्ती हिँड्थिन् । १३ वर्षको उमेरमै माओवादी जनयुद्धमा होमिएकी मकवानपुर फापरबारीकी यिनले युद्धकै क्रममा गाउन सिकेकी थिइन्, गुरु थिए दिवंगत गायक खुसीराम पाख्रिन । 

निर्मलाको ‘दरबन्दी’

भ्वाइस अफ नेपालमा सेलेक्ट नहुँदै उनले झन्डै दुई सयभन्दा बढी गीत गाइसकेकी थिइन् र ‘रहर’ र ‘खबर’ दुईवटा एकल एल्बम पनि ल्याइसकेकी थिइन् । नकआउट चरणसम्म पुगेर बाहिरिएकी उनले शुक्रबार सेलो आधारित नयाँ गीत ‘कहाँ होला च्याङ्बाको दरबन्दी...’ म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छन् ।


सुसन लामाको शब्द तथा संगीत रहेको गीतमा एक अविवाहित तामाङ युवतीको छटपटी समेटिएको छ । आस्याङको छोरा (मामाचेला) ले सगुन लिएर माग्न आउने दिन पर्खिरहेकी मैच्याङले आफ्ना संगिनीहरूसित मनोभाव साट्दै नाच्दाको क्षणलाई अजय स्याङ्तानले म्युजिक भिडियोमा कैद गरेका छन् । नेपाली भाषाकै गीत भए पनि आफूले तामाङ संस्कृतिलाई केन्द्रमा राखेर प्रेमकथा भन्न खोजेको गायिका घिसिङले बताइन् । एल्बम लोकार्पण गर्दै वरिष्ठ सेलो गायक तथा संगीतकार चन्द्रकुमार दोङले लामो समयदेखि निर्मलाको स्वरबाट आफू परिचित रहेको बताए । ‘यसपटक उनले अझ मौलिकतालाई ध्यान दिएकी छन्,’ उनले भने ।


प्रकाशित : पुस २७, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?