२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पराजुली र मुकारूङलाई प्रतिभा

काठमाडौँ — नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोज अन्वेषण गरी उल्लेखनीय योगदान दिएबापत गीतकार एवं संस्कृतिकर्मी शुभ मुकारुङलाई प्रतिभा पुरस्कार दिइएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले काठमाडौंमा गरेको समारोहमा उनलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको हो । 

त्यस्तै २५ हजार रुपैयाँ र दोसल्लासहितको ‘प्रतिभा सम्मान’ द्वारा भने प्रयोगवादी धाराका वशिष्ट कवि गोपाल पराजुलीलाई दिइयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले पुरस्कार र सम्मान हस्तान्तरण गर्दै ‘विदेशमा क्रियाशील संघसंस्थाले नेपालका रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तरदेशीय सम्बन्ध वृद्धि हुने’ बताए । प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीवृद्धिमा डायास्पोरामा रहेका संघसंस्था र स्रष्टाहरूको उल्लेखनीय योगदान रहेको दाबी गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले डायास्पोरिक साहित्यको प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठान पनि लागिपरेको सुनाए ।


प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक प्राज्ञ शशी लुमुम्बूले संघको गतिविधि प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २४ स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको बताए । त्यस्तै प्रतिभा प्रतिष्ठानका महासचिव मिजास तेम्बेले भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन र विकासमार्फत आफूहरू बेलायतमा नेपाली पहिचान स्थापित गर्न सक्रिय रहेको बताए । कार्यक्रममा गीतकार चूडामणि देवकोटाले पुरस्कृत मुकारुङका योगदानबारे र कवि तथा समालोचक सुरेश हाचेकालीले सम्मानित कवि पराजुलीका बारेमा प्रकाश पारेका थिए ।




प्रकाशित : पुस २२, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?