२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

आँखैसामु यसरी तोडियो जेल

चकमन्न र एकान्तको अनुभव कुनैकुनै बेला भएको छ मलाई, बाल्यकालमा। वीरगन्ज जेल तोडिएपछि त्यहाा देखिएको सन्नाटा त्यसैको उदाहरण हो। केही अनुभवहरूको निचोडले बनेको हो मेरो एक उपन्यासको शीर्षक- चकमन्नमा एकान्त।
ध्रुवचन्द्र गौतम

काठमाडौँ — २००७ कात्तिक २६ को बिहान, सबैले देखे— झ्यालखानको ताला तोडिएको छ । पहरेदार कोही थिएन । जेलमा सौदा दिने रामलाल गायब थियो । ताल्चा तोडिए पनि जेलमा सन्नाटा छ । न कोही बाहिर निक्लिरहेको थियो, न कोही भित्र पसिरहेको थियो । 

आँखैसामु यसरी तोडियो जेल

वास्तवमा कैदीहरूलाई पनि निकै समय लागेको थियो, यो विश्वास गर्न कि जेल तोडिएको छ । र, अब तिनीहरू भाग्न सक्छन्, मुक्तितर्फ ।

केही समयपछि पहिलो कैदी नेल, गलफन्दी र सिक्रीले बाँधिएको चौकन्ना हुँदै चारैतिर हेर्दै, छनछन सिक्री बजाउँदै एक हातले सधैं झैं आफ्नो सिक्रीको छेउ समाउँदै निक्ल्यो । ऊ निकै भयभीत देखिन्थ्यो । त्यसकारण पहिले बिस्तारै हिँड्दै निस्क्यो, जेल अड्डा अघिल्तिर आयो । जेलीमाई हुँदै, हाम्रो घरअघिल्तिर अखडा थियो । त्यहाँ सिपाही हुन्थ्यो । त्यता हेर्‍यो । अखडा खाली थियो । त्यसपछि जेलको पर्खालको छेउछेउ भएर एउटा खुटपैडिया बाटो थियो । हामी त्यहाँ चरिअमिलो र कहिलेकाहीँ भेटिने साँपको केंचुलका लागि जान्थ्यौं ।

त्यो कैदी त्यसपछि बिस्तारै छन्द्रङछन्द्रङ गर्दै जेलको पछाडि पुग्यो । त्यसपछि जेलपछाडिको ‘पूर्व रेल’ हुँदै रेल्वेलाइनमा पुग्यो । त्यहाँ उभिएर चारैतिरको जायजा लियो । सब निरापद देखियो । रेल्वे लाइनबाट ओर्लनासाथ त्यो यति बेस्सरी दगुर्न थाल्यो कि त्यसको सिक्कडको आवाज परैसम्म सुनिन्थ्यो । हुन त त्यस्तरी सामानले लादिएको कैदी कति भाग्न सक्छ र ! तर, त्यो अद्भुत गतिले दौडिरहेको थियो, जुन आफ्ना गहनाका साथ त्यस्तरी दौडिन सक्ने कल्पना पनि गरेको थिएन, त्यसरी कहिल्यै हिँड्नुपरेको पनि थिएन । त्यो त केवल कौडाको समय कहिलेकाहीँ दारु खानुपर्दा अड्डासम्म निस्किन्थ्यो, जसका लागि गति आवश्यक थिएन । सरेर हिँड्थ्यो, बरु ।

त्यो नगुवा पोखरी हुँदै, नगुवासम्म पुगेको देखियो, त्यसपछि ओझेल भयो ।

२००७ कात्तिक २६ गते जेल टुटेपछि निस्किने त्यो पहिलो कैदीको नाउँ थियो, कुटिया डाकु । डकैतीमा पक्डिएको थियो, त्यसैले डाकु । उसको थर वतन पनि होला, तर झ्यालखानमा उसको परिचय यही थियो ।

भन्थे– ऊ कुनै बखत माछा मारेर त्यसको कुटिया तारेर बेच्थ्यो, त्यसकारण कुटिया । अर्को कथा पनि थियो उसको । यही डकैतीकै सिलसिलामा पसाहाको छेउछाउतिर कोही नभएको ठाउँमा कुटी बनाएर, ढाडी फुलाएर र फलाएर दिनदिनै हवन गरेर बस्थ्यो । मानिस उसलाई एक सिद्ध तान्त्रिक साधु मान्थे र विभिन्न उपचार, भविष्यवाणीका लागि जान्थे । ऊ त्यहाँ कुटी बनाएर बसेको हुनाले होला, ‘कुटिया बाबा’ का नाउँले प्रसिद्ध थियो ।

ऊ सधैं शिवलिंग र कालीको मूर्तिलाई घण्टी बजाएर अहोरात्र साधना गर्थ्यो । मान्छे आफूलाई बाबाका कारण सुरक्षित ठान्थे । सोच्थे बाबाको साधनाले, भूतप्रेत सब उसका वशीभूत छन् । र, उसैले गर्दा त्यो गाउँमा भूतप्रेत फट्किन सकेका छैनन् ।

अब त यस्तो भइसकेको थियो कसैलाई कुनै प्रकारको रोग लागोस्, मानिस त्यसलाई ‘दोख’ ठानेर सल्लाह दिइहाल्थे— ‘जो कुटिया बाबा किहाँ ।’

‘उनका से होई ?’

‘सिध हवें, उनका से काहे न होई ?’

मान्छेको विश्वास थियो, स्वस्थ पनि भएर आउँथे रे !

त्यस्तो कुटिया बाबा, एक दिन पुलिसको चपेटमा आयो र पकडाइयो । सीधै कुटिया बाबालाई सिक्कड लगाएर कलैया जेलमा लगेको सबैले देखे । आफ्नै उपचार बाबाले गर्न सकेन । कलैया जेलबाट महिना–पन्ध्र दिनपछि कुटिया बाबालाई अड्डासार गरेर कागतपत्रसहित वीरगन्ज झ्यालखान पुर्‍याइएको हो । ‘डाका मुद्दा’ नै थियो वा अन्य पनि केके थियो, उसलाई नेल, हथकडी, सिक्री, गलफन्दी झ्यालखानमा उपलब्ध हुने सारा गहनाले सुसज्जित गरियो ।

उसको दाह्री त उही अवस्थामा थियो । ऊ यहाँ पनि नित्य पूजा–हवन गर्थ्यो र काठको खडाउ फट्काउँदै हिँड्थ्यो । त्यसको लाभ पनि उसलाई भयो । यहाँ पनि ऊ कुटिया बाबाकै नाउँले प्रसिद्ध भयो र थोरबहुत सिद्ध तान्त्रिक नै भनिन थाल्यो (जो पूर्वी पहाडको कुनै अधिकारी ब्राह्मण रहेछ) ।

वीरगन्जको झ्यालखानमा एउटा अशोक वृक्ष थियो, चौतारासहितको । कुटिया बाबा प्रत्येक बिहान आफूले पालेको तोता र मैनाको पिँजरा अशोकको डन्डीमा लट्काइदिन्थ्यो, ऊ प्रत्येक चरालाई सतुवाको सानोसानो गोली बनाएर ख्वाउँथ्यो । ती बाबाको औंलो नजिक पुग्नासाथ चोर र बुढी औंलाबीच फसेको सतुवाको गोली तोता र मैना आफ्नो चोंचमा लिन्थे र स्वादले निल्थे । बाबाको गोलीको भोगपछि नै ती चरा पिँजरामा राखिदिएको कटोरीमा राखेको धान र पानीमा ध्यान दिन्थे ।

बाबाले सिकाएको ‘सीताराम कहो’ र ‘राधाकृष्ण कहो’ त भन्थे नै । बाबाको निकटका कति अन्य कैदीको नाम पनि प्रस्ट उच्चारण गरिरहन्थे । इच्छा भयो भने कैदीले बोलेको वाक्य–वाक्यांश वा शब्द पनि उच्चारण गर्थे ।

भनिन्छ, होइन अझ व्यापक रूपमा भनिन्छ, यो त त्यहीँका सिपाहीहरूबाट पनि । एक बिहान ती चराहरू यस्तो उच्चारण गरिरहेका सुनिए— जेल तोड के भगबे तू, जेल तोड के भगबे तू ?

दिनभरि यही उच्चारण गरिरहे चराहरूले । सुनेर त्यहाँका कैदी त कैदी, सिपाही पनि झस्कन्थे– के भन्छन् यी ? जम्दारले थाहा पायो भने !

पछि सिपाहीहरूको अड्कल थियो, राति दुई कैदीले गरेको कुराकानीको प्रभाव हो त्यो । जेल तोड्ने योजना बेलाबेलामा कैदी बनाइरहन्थे, यदाकदा भाग्थे पनि । त्यस्तै कुनै कैदीको योजनामा अर्को कैदीको प्रतिक्रिया— ‘जेल तोड के भगबे तू ?’ होला । तोता–मैनाले त्यही टपक्क टिपे ।

नभन्दै, त्यसको भोलिपल्टै जेल टुट्यो र भाग्ने पहिलो आँटिलो कैदी भयो, उही कुटिया बाबा अर्थात् डाकु । तर, उसले भाग्ने सुरमा केही पनि लगेन । अपरिहार्य कैदीको गहनाबाहेक । बिस्तर, बटलोही सब छोडिदियो । यहाँसम्म कि आफ्नो, एक प्रकारले भविष्यवाणी गर्ने तोता–मैनासमेत डालीमै लट्केको छोडेर हिँड्यो । ती त अझै कराइरहेकै थिए— जेल तोडके भगबे तू ?’

तोता–मैनाको किस्सा चर्चित छ, त्यो चरितार्थ पनि भएको थियो । यी तोता–मैनाको त अन्त्य पनि भएकै थियो ।

...


पहिलो कैदी भाग्नु मात्रै के थियो, त्यसपछि त बाँकी कैदीहरूको रेला नै देखियो, पूरै कतार । जो जस्तो अवस्थामा थियो, दौडिरहेको थियो । अटुट लाम लागेको थियो । रोकटोक गर्ने कोही छँदै थिएन । होइन, ती सब निरुपाय थिए । स्वयं रिपुमर्दनको कतै पत्तो थिएन ।

झ्यालखानका सबै सिपाही आफ्ना असहाय वाणीहरू फलाक्दै यताउति गरिरहेका थिए । सिपाही, हवल्दार, जम्दार, सुवेदार पहिले त्यही झ्यालखानभित्र र बाहिर, रोबिला रहेका ओहोदावालहरू, अब मणिहीन साँप भएका थिए । यिनै ओहोदावालहरू पहिले फुँ फड्कार्दै हिँड्थे ।

कप्तान रिपुमर्दनको घरअघिल्तिरको बाटोमा खडन्जा छापिएको थियो र जेलको प्रांगणमा गएर अन्त्य हुन्थ्यो, त्यही बाटोमा गोरे हवल्दार फत्फताउँदै हिँडेको देखियो— ‘यस्तामा हामीले के ...ाँ..ो..गर्नु ?’

कैयौं अश्लील वचन विभिन्न ओहोदाका सिपाहीले बोलेका, हावामा लहराइरहेका थिए । हामी त्यसको पनि मजा लुटिरहेका थियौं । मलाई त डर पटक्कै लागेन । सबै आफ्नैजस्ता लाग्थे । वातावरण पूरै आफ्नो थियो । हो, नेल–सिक्रीको आवाजले पूरा आकाश गुञ्जायमान थियो, ती कैदीले भिरेको लोहाको टकराहटले । मलाई त एक प्रकारको संगीतजस्तो लाग्थ्यो । तिनको दगुराइ लसेडिया थियो– भारीले । त्यो लगभग एकै किसिमको हुन्थ्यो । पाँव कुद्न चाहन्थ्यो, तर त्यो ससरिन मात्र सक्थ्यो । त्यसैले लगभग एकै प्रकारको । त्यसैले संगीतजस्तो । मुक्तिको संगीतजस्तो भनूँ ।

सारा कैदीले आफ्ना होसका सबै द्वारहरू समेटेर एकैतिर लगाएका थिए, झ्यालखानबाट कसरी टाढा जाने ? पहिलेपहिले छुट्ने र बदलिने कैदीहरूको नेल काट्ने–ठोक्ने काम कालु लोहारको भाथीमा हुन्थ्यो । आज त्यो भाथी निभेर पूरै शून्य थियो । कसैलाई त्यसको खोजी पनि थिएन । खोजेको भए पनि त्यो कहाँ थियो त ?

त्यो कालु लोहार थियो– नेल मात्रै लगाएको कैदी, पहिल्यै चम्पत भइसकेको थियो ।

सबै मुक्तिको चाहना र छटपटीले सरपट भागिरहेका थिए । कसैलाई पनि चिन्ने फुर्सद तिनीहरूलाई थिएन । अन्तस्करणको स्वतन्त्रता यो, यहाँ त सिंगो अस्तित्वको मुक्तिको प्रश्न थियो वा अहिले त अझै त्यो समय पनि थियो । एक कौर खाएर जाउँला भन्ने पनि भएन, गुन्टा बोकेर जाने चाह पनि भएन, भाग्दा धोती एउटा लिएर जाऊँ भन्ने पनि भएन, अलिकति तहियाएर राखेको नोट समेत टिप्ने चाहना भएन भने... !

स्वतन्त्रताको मूल्य त्यतिखेर तिनीहरूभन्दा बढी कसलाई थाहा भयो होला त ? अहिले पनि त्यो अनुमान गर्छु । सारा नजारा भागदौड र मुक्तिको संगीतले भरिएको थियो ।

त्यसकारण हामीलाई डर लागिरहेको थिएन । झन् हामी त झ्यालखानको द्वारनिर बसेर जोजो निक्लेर भाग्छ, त्यसलाई चिन्ने प्रयत्न गर्दै उभिएका थियौं— रामअवतार, मखिया, चरना, किसु चमारु, जल्लु, पनवाडी, सतदारी, सिहोडिया, सरजु, लेखनदास, वासु, लक्ष्मी, साधु, टमटी, सिताबी, झगडु, लहुरिया, भजनिया, रामबहादुर, श्यामे क्षत्री, कटुवाल, भेटवाल, बारमासे, दलबहादुर, अष्टमान... । अनेक हामी चिन्दै, तिनको नाउँ उच्चारण गर्दै, खुसी पनि हुँदै बस्थ्यौं ।

झ्यालखान खाली भयो । अघिल्तिरको आँगन, अड्डा, सब सुनसान भयो । त्यो खालीको आवाज हाम्रो वरपरको वातावरणमा आइरह्यो । खालीको भयावह आवाज चारैतिर छायो ।

त्यसको एकाध घण्टा पनि नबित्दै एउटा अर्को अद्भुत नजारा देखियो । फेरि त्यही झ्यालखान पस्नेहरूको भीड देखियो । स्त्री–पुरुष सब थिए, सब तँछाड–मछाड गर्दै जेल पस्न आतुर देखिन्थे । अद्भुत भएन त ?

तर, यसपटक कैदीहरू होइन । वरपर, अझ कति त परपरका पनि झ्यालखानमा सिनेमा हेर्न गएझैं पसिरहेका थिए । म सोच्दै थिएँ, यी यस्तरी किन पसेका होलान् ? एकैछिनमा थाहा भइहाल्यो, यसपटक ती सभ्य नागरिक, चोर–डाकाहरूको सम्पत्ति लुटिरहेका थिए । अद्भुत, न कहिल्यै कसैले देख्यो, न अब देख्नेछ । म त्यही देखिरहेको थिएँ । आफ्नो जीवनकालमा त्यो नदेख्नेले फेरि त्यस्तो दृश्य कहिल्यै देख्न पाउँदैन पनि ।

यस दौरान हो कि, अलि पछि हो, म पनि पसेँ । सबै लुटिरहेका थिए, केही त हात लाग्छ भनेरै पनि होला । म पनि त्यही सभ्य समाजको अंग थिएँ, जो त्यो दिन चोर–डाकाको सम्पत्ति लुटिरहेको थियो । सभ्य नागरिक चोर डाकुलाई लुटिरहेका थिए । कस्तो अद्भुत दृश्य थियो त्यो !

तर, म जाँदा सायद लुटको ज्वार शान्त भइसकेको थियो । कोही देखिएन । तर जति देखेँ, त्यो मेरो जीवनको एक अपूर्व अनुभव थियो । सधैं जाँदा जेल कैदीहरूले गुलजार रहन्थ्यो । म त त्यहाँ, ड्युटी नपरेको सिपाहीको गुन्टा फैलाएर सुतेको पनि थिएँ । कैदी र सिपाहीको संरक्षणमा कुनै भय कहिल्यै भएन ।

अहिले हेरेँ, एउटा अनौठो शान्ति थियो । पञ्चकको बेला थियो । दुई–चार क्यारमबोर्डजस्तो खाल थियो । कालो कपडाले तनक्क पारेको चौकोर खाल । १६ कौडी कसैले हिर्काएर हिँडेको थियो क्यार, अझसम्म छक्का दाउ लागिरहेको थियो । तर, छक्का दाउवालाले पैसा जित्न भने पाए/भ्याएजस्तो लागेन । खालमा केही नोट छितरिएको अवस्थामा थिए । दाउ मार्नेले नत्र सबै नोट सोहोरेको हुन्थ्यो । हामी पनि त्यहाँ च्याँखे थाप्न अथवा जित्नेबाट जितौरी माग्न पुग्थ्यौं । जितौरी दुई–चार आना पाइन्थ्यो पनि । जस्तो मेवालालले मलाई जितौरी दिएको याद छ । कति दियो, त्यो याद छैन । प्रायः जित्नेले नोटहरू दिँदैनथ्यो । खुद्राखुद्री जुन बचेको हुन्थ्यो, त्यो बाँड्थ्यो । त्यही हाम्रो कमाइ हुन्थ्यो । च्याँखेमा हारेकै छ भने, त्यसबाट हारेको भर्पाई मजाले हुन्थ्यो ।

जेलमा हामीलाई कुनै रोकटोकै थिएन । ताल्चा मारेर हवल्दार सुत्न गएको छ भने त्यतै कतै हामी त्यसलाई उठाएर खुलवाउँथ्यौं र भित्र पस्थ्यौं । जेल मेरो जीवनको एक पाठशाला थियो, पछि मेरो लेखनलाई बल दिने अनुभव पनि ।

च्याँखे, एक–दुई आनाभन्दा कति थाप्थ्यौं र तैपनि खेल्नेले दाउ हार्दा जान्थ्यो, लाग्थ्यो सर्वस्व गयो । म चिरौरी पनि गर्थें— ‘ना हमरा ना चाहीँ, हमर ढेउवा लौटा द ।’

कहिलेकाहीँ कैदी दयालु स्वभावको छ भने भन्थ्यो, ‘लैका फैका हो के, एतवड खाल में कैसे आगइल चोखिया लगावे ?’ त्यसमा मेरो रुन्चे चिरौरी हुन्थ्यो, ‘अब ना खेलेम हमर ढेउवा दे द ।’ त्यसपछि त्यो दयालु कैदीले दिन्थ्यो पनि ।

मेवालालजस्तो कैदी त जितौरी उत्साहपूर्वक बाँड्थ्यो, तर च्याँखे मान्दैन थियो । पहिल्यै घोषणा गरिदिन्थ्यो, ‘चेल्हवा, पोठिया बाद ।’ अर्थात् हामीहरू बाद, केवल ठूला खेलाडी कैदी, जो खाल नपाएका तर लतले समाएका, ठूलठूलो रकम च्याँखे थाप्थे अथवा एक प्रकारले मिलेर खेल्थे । त्यस्ताको भने सम्मान थियो । पछि कसैले दाउ खाली गर्नासाथ, ती खालमै बस्थे, कहाँबाट ल्याउँथे कुन्नि, नोटका गड्डीका गड्डी राखेर बस्थे ।

तर, अहिले त्यो केही थिएन । भनें मैले एउटा खालमा कसैले छक्का दाउ पारेर, तर जितेको पैसासमेत नसोहोरेर हिँडेको थियो । हाम्रा सभ्य लुटेराहरूले पनि नजरअन्दाज यसकारण गरिदिए होलान् कि खाली खालमा के होला र भनेर ! त्यता हेर्दै हेरेनन् । तिनको नजर सानोभन्दा अन्य नगद र सामानहरूमाथि बढी थियो । जसको हात जे पर्‍यो, त्यसले त्यो उठाएर हिँड्यो । मलाई याद भएकोमा एउटाले त रावणको दस शिरको मुकुटै पनि उठाएर हिँड्यो । ईश्वरचन्द्रको हातमा रेसमको कीरा परेछ । लेंडीको पत्तामा झांपेर राखे । रेसम निकाल्छ कि भनेर हामी हेर्थ्यौं । रेसम त निक्लेन, दुईचार दिनपछि सब मरे ।

हाम्रा आमाहरू पनि, भित्र त जानुभएन, बाहिर बाल्टिनभित्र बाल्टिन खप्टेर राखेको हुन्थ्यो, इनारमा । ती भरिन पालो पर्खेर बसेका बाल्टिनहरू नै, कम से कम दुई पटकका दरले उठाएर आउनुभयो, कम से कम दुई पटक ल्याउँदा चार जति बाल्टिन त हाम्रो घरमा आमामार्फत आयो होला । तिनलाई हामी चिन्थ्यौं । पछि किसुन त्यसमा पानी भरेर ल्याइदिन्थ्यो ।

कोही सेफजस्तो कन्तुर उठाएर भागेको थियो, कसैले आफ्नी स्वास्नीलाई बनाइदिएको चाँदीको हँसुली उठाएर हिँडेको थियो । मैले भनेँ नि, ती सारा सभ्यहरू त्यसबखत साक्षात् लुटेरा भएका थिए । सोचे होलान्, बाहिर गएर त सभ्य नागरिक बन्नु नै छ, एक पटक प्राप्त हुने यो लुटको आनन्द किन नलिने ? पछि इतिहासमा ‘लखनउ लुट’ बारे पढ्दा मलाई झ्यालखानकै लुटको सम्झना हुन्थ्यो ।

सबभन्दा महत्त्वपूर्ण अनुभव थियो त्यो मेरा लागि । चोरडाका नभएको अनुभव, त्यस दिन त्यो जेलमा भएको थियो । पहिलो र अन्तिम पटक । जेलभित्र म एक्लै थिएँ त्यसबखत । अकल्पनीय चकमन्न थियो, एकान्त थियो । मलाई त्यो चकमन्नमा भएको एकान्तले, बादल, कुहिरो, धूवाँजस्तै चारैतिरबाट घेर्‍यो । मलाई भुमरीजस्तै त्यो चकमन्नले आफ्नो लपेटमा यस्तरी लियो कि म एक्लो बालक बेपत्ता डराएँ । मलाई के भयो के, त्यो बेपत्ताको भयले म भित्रबाट थरथर काँप्न थालेँ । लाग्यो, चिच्याएँ भने पनि आवाज निस्किँदैन । छेउमै चियाको किट्ली र सानो डेक्चीमा उम्लेको दूध थियो, व्यापारका लागि होला । बेन्च रहन्थ्यो । एउटा ठाउँमा केही बिस्कुट र केका लागि हो तेल कडाहीमा खौलेर चीसो भइसकेको थियो । छेउमा बेसन र प्याज साँधेर राखिएको थियो ।

गरिब कैदीहरू पञ्चकमा जुवाडीलाई चिया, पकौडी ख्वाएर व्यापार गर्थे । ती सबै त्यसै छाडेर गएका थिए । तर, यो सब देखेर मेरो एकान्त भयमा झन् चड्का वृद्धि भयो । दिल धड्किरहेको थियो, त्यो त थाहा पाइन्थ्यो । यहाँ त चकमन्न, एकान्त र भय धड्किरहेको थियो । कन्चटमा समेत हिर्काइरहेको थियो ।

त्यसै भयले होला म त्यहाँबाट सामने खालमा भएको नोट वा एकन्नी–दुअन्नी नै पनि नलिएर निस्केको थिएँ । लगभग म भाग्न थालेँ । मलाई डर लाग्न थाल्यो, कतै निस्कने ढोकामा ताल्चा नमारेको होस् ।

यस्तो चकमन्न र एकान्तको अनुभव कुनैकुनै बेला भएको छ मलाई बाल्यकालमा । यिनै अनुभवको निचोडले पनि बनेको हो, पछि मेरो एक उपन्यासको शीर्षक— चकमन्नमा एकान्त ।

झ्यालखानको र बाहिरको पनि हालत सत्तलसिंहको कथाको नगरजस्तै भएको थियो ।

जेल टुट्नुअघि केही केटाकेटी बाँसको कुर्सीमा रङ्गीबिरङ्गी चेथरा बाँधेर झन्डाजस्तै उठाउँदै नारा लगाएर खेलिरहेका थिए— पर्जातन्तर जिन्दावाद, राणाशाही मुर्दावाद, वीर बिसेश्वर जिन्दावाद ।

यिनमा म पनि थिएँ । यो बाहिर घन्किरहेका नाराहरूकै एक मेनिफेस्टेसन थियो ।

अड्डामा आगो लगाइदिएको थियो कसैले । त्यो धूँधूँ गर्दै जल्न थालेको थियो । तर, निभाउने कोही थिएन ।

जेल रित्तो भएपछि हाम्रो घर र जेल वरपरको छिमेकमा पनि त्यो रित्तोपन यति छायो कि हामी घरघरमा दुब्केर बस्न थाल्यौं । हल्लाको बजार गरम थियो । सारा माहोल एउटा अपरिचित भय र आतंकले लबालब थियो ।

टोलमा यदाकदा भागेका चोर–डाकु घुमिरहेका देखिए । ती जेलमा निरापद लागे पनि अब भयप्रद लाग्न थालेका थिए । त्यसैबखत खबर आयो कि जल्लुलगायत केही डाकु हाम्रो र अन्य केही सम्पन्न घर लुट्ने तयारीमा छन् । बा पनि जिम्दार हुनुहुन्थ्यो, त उहाँलाई पनि सम्पन्न र लुट्नयोग्य ठाने होलान् तिनले । उनीहरूले बेलाबेलामा गडीमा धान आएको देख्दा होलान् । हाम्रो आङ्नामा दुइटा ठूल्ठूला बेहरी थिए, जुन लकडीको मजबुत पायाहरू र त्यसमाथि टिन बिछ्याएर बनाइएको थियो । ती बेहरीहरू भरिभराउ रहन्थे । त्यो तिनले पनि देखेकै होलान् ।

एक साँझ जल्लु डाकु त्यहाँ घुमिरहेको देखियो पनि । पहलमानी शरीर, अग्लो र जुँगा पालेको । पहिले त हामी सट्केर घरमा पस्यौं । लागिरह्यो, जल्लुले अब लुट्यो, तब लुट्यो । त्यस्तैमा बा जल्लु डाकुनिर जानुभयो, निडरै भएर । उहाँले भन्नुभयो, ‘क्या जल्लु तुम हमारे घर में लुटपाट मचाना चाहते हो ?’ जल्लुले मुठा मोछमा ताउ दिँदै भन्यो— ‘नहीँ, नहीँ, हम तो ऐसे ही घुमफिर रहे हैं मालिक, जबतक जानेका जोगाड नहीँ होता ।’

‘हम ने तो ऐसा ही सुना है ?’

‘अगर सुना भी है तो, आप बेखौफ रहिये । देखते हें, कौन आप के घर पर देखेने की हिम्मत करता है ? जब तक हम हैं न, कभी ऐसा नहीँ होने देंगे ।’

जल्लुले त्यस्तो त भन्यो, तर बा ‘बेखौफ’ हुन सक्नुभएन । डाकुले दिएको आश्वासन भुलावा पनि हुन सक्छ । फलतः जुन सलाई फ्याक्ट्री, ‘दी जुद्ध मैच फ्याक्ट्री’ मा बा काम गर्नुहुन्थ्यो, त्यसका मालिक नारायणबहादुर चिपालुको ‘नुन गोदाम’ अर्थात् एक नम्बर रोडमा, त्यहाँ उनको एउटा घर खाली रहेछ, भनसुन गरेर उहाँ सपरिवार त्यसमा सर्नुभयो ।

प्रकाशित : कार्तिक ४, २०८० १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?