काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सत्ता–शक्ति आडमा पक्राउ पुर्जी लिइएको भन्दै आपत्ति जनाएका छन् । सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र/लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेस नेताहरूले बताएका छन् ।
अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको खबरपछि नेताहरू कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीमै आएर आफूहरू सधैँ प्रेस स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा रहने प्रतिबद्धता जनाएका छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस सांसद एनपी साउदले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी र धरपकड सह्य नहुने चेतावनी दिए । ‘हामी कान्तिपुरको साथमा छौं । यो सत्ताको आडमा तर्साउने काम हो । प्रजातान्त्रिक मूल्य मान्यतामाथि र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो,’ साउदले भने ।
कांग्रेस सांसद राजेन्द्र बजगाईंले 'लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्न लगाएर प्रधानमन्त्रीले के गर्न खोजेको हो ?' भनेर प्रश्न गरे । त्यस्तै सांसद रामनाथ अधिकारीले पनि प्रधानमन्त्रीलाई प्रश्न तेर्स्याए । 'लोकतन्त्रका लागि लडेको कान्तिपुर विरुद्दको आक्रमण गर्ने ठाउँमा तपाईं (प्रधानमन्त्री) किन पुग्नु भयो ?,' उनको प्रश्न छ ।
सांसद वीरबहादुर बलायरले कान्तिपुरका मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मात्र नभई सिंगो लोकतन्त्र र प्रेसविरुद्ध आक्रमण भएकाले सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
सांसद प्रतीमा गौतमले अध्यक्ष सिरोहियाविरुद्धको पक्राउ पुर्जी सहकारी ठगीविरुद्ध कान्तिपुरले उजागर गरेको तथ्यलाई विषयान्तर गर्न र मिडियालाई तर्साउन गरिएको हर्कतका रूपमा लिइन् । ‘हामी लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि कान्तिपुरको पक्षमा छौं,’ उनले भनिन् ।
सांसद राजु थापाले गृहमन्त्री रवि लामिछानेले मिडियासँग बार्गेनिङ गर्न खोजेको र त्यसबाट नसकेर प्रतिशोधमा उत्रिएको आरोप लगाए । ‘सहकारी केसमा गृहमन्त्रीलाई नै पक्राउ गर्नु पर्छ,’ उनले भने । सांसद चन्दा चौधरीले सत्यतथ्य समाचार उजागर गरेपछि कान्तिपुरविरुद्ध गृहमन्त्रीले प्रतिशोध साधेको बताए । ‘यसका विरुद्ध हामी जुनसुकै मोर्चामा लड्न तयार छौं,’ उनले भने ।
सांसद दीपक गिरीले कान्तिपुर मिडिया लोकतन्त्र र गणतन्त्रका लागि पुर्याएको योगदान सधै स्मरणीय रहेको भन्दै गृहमन्त्रीले प्रतिशोध साँध्न पक्राउ पुर्जी जारी गरेको बताए । ‘सरकारले कान्तिपुरलाई तर्साउन खोजेको हो । नक्कली मुद्दा लगाएर तर्साउन खोजेको छ यसको विरोध र प्रतिकार आवश्यक छ,’ उनले भने ।
सांसद कुसुम थापा मगरले सहकारी ठगीविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण धरपकड भएको भन्दै भर्त्सना गरिन् । ‘कैलाश सिरोहियालाई देखाएर समग्र मिडियालाई तर्साउन खोजिएको छ,’ उनले भनिन् ।
कांग्रेस नेता गोविन्द पोखरेलले कैलाश सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी लोकतन्त्रको खिलापको कदम भएको बताए । ‘प्रतिशोधमा कुनै पनि काम गरिनु हुँदैन,’ उनले भने ।
सांसद रामकृष्ण यादवले लोकतन्त्रमाथि आक्रमण हुँदा कान्तिपुरले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सबै लोकतन्त्रवादीहरू कैलाश सिरोहियाको साथमा रहेको बताए । सांसद श्याम घिमिरेले पक्राउ पुर्जीका नाममा भएको धरपकड दु:खद र लोकतन्त्रमाथिको आक्रमण भएको बताए । उनले यो घटनालाई गम्भीर रूपमा लिएर कांग्रेस पार्टी अघि बढ्ने बताए । निष्पक्ष रूपमा मिडिया सञ्चालन गरेर लोकतन्त्रको पक्षमा कान्तिपुरले योगदान पुर्याएको उनको भनाइ छ ।
सांसद नागिना यादवले सरकारले सत्ताको दम्भ देखाको भन्दै भर्त्सना गरिन् । उनले भनिन्, ‘रामले पनि लडाइँ गर्न जाँदा केही थिएन, सत्य मात्रै थियो । अन्त्यमा सत्यकै जित भयो । अहिले कैलाश सिरोहिया पनि सत्यको बाटोमा हुनुहुन्छ, डराउनु पर्दैन ।’
त्यस्तै उद्योगी उपेन्द्र महतोले सत्यतथ्य निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताए ।
पक्राउ पुर्जीका नाममा धरपकड गर्न खोजेको भन्दै त्यसविरुद्ध कान्तिपुरमा ऐक्यबद्धता जनाउन आएका सांसदहरूलाई धन्यवाद दिँदै अध्यक्ष सिरोहियाले बेथिति, भ्रष्टाचारर अनियमितता विरुद्ध तथा लोकतन्त्रका पक्षमा सधै उभिने प्रतिबद्धता जनाए ।
आफू अनुसन्धानका लागि सघाउन सँधै तयार रहेको तर एकपटक पनि सोधपुछ नगरी पक्राउ पुर्जी जारी गरिनुले प्रतिशोधबाट केन्द्रित भएको उनको टिप्पणी छ । उनले आफू अनुसन्धानलाई सघाउन तयार रहेको र गृहमन्त्री आफैंविरुद्ध २ वटा नागरिकताको विषय रहेकोले त्यसमा पनि निष्पक्ष अनुसन्धान गर्न माग गरे ।
‘उहाँ (रवि लामिछाने) विरुद्ध पनि २ नागरिकतामा छानबिन गर्न पक्राउ पुर्जी जारी होस् । मेरो पनि निष्पक्ष र पारदर्शी रूपमा छानबिन होस् । कोही शक्तिमा हुँदैमा कानुन नलाग्ने, कोही जनता हुँदैमा कानुन लाग्ने हुन्छ र ? यो परिपाटी थुन र सुन भन्ने परिपाटी स्थापित गर्न खोजेको छ । प्रतिशोध जस्तोसुकै साधिए पनि हामी कहिल्यै विचलित हुने छैनौँ। अनुसन्धानमा सघाउन म तयार छु ।’
