कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै घर छ, छोरीलाई केको डर छ ? 

के दिदीबहिनी र छोरीहरूलाई तपाईंहरू सम्पत्ति दिन सक्नुहुन्छ ? छोरीहरूको सहअस्तित्वको लडाइँमा तपाईंहरूको सदाशयता रहला ?  अब छोरीहरूले मैलेझैं पैतृक सम्पत्ति माग्ने हिम्मत गर्लान् ? 
शीतल दाहाल

२०७३ मा बा बित्नुभो । त्यतिखेर सान्दाइ विदेश थिए । जेठा दाइ, आमा र मसहित तीन जना बाको किरिया बस्यौं । मेरो मनमा थियो, म छोरी भए पनि बाको ‘पितृकार्य’ मा सरिक हुनेछु । जेठो दाजुले जस्तै कपाल मुण्डन गर्न र सेतो कपडा लगाउन म मानसिक–शारीरिक दुवै हिसाबले तयार थिएँ ।

आफ्नै घर छ, छोरीलाई केको डर छ ? 

अन्तिम समयमा कपाल मुण्डन नगर्न र सेतो कपडा नलगाउन मलाई सुझाव र दबाब दिइयो, त्यसो गर्न वञ्चित गरियो । वञ्चित मात्रै होइन किरिया र पितृकर्मका नाममा पाप–धर्मको डर देखाएर मलाई मेरा बाको सन्तान हुनुको हक नदिन चौतर्फी घेराबन्दी गरियो । मृतकको छोरा भएको अवस्थामा छोरीहरूले त्यसो गर्न नहुने र त्यो जरुरी नभएको स्थानीय पण्डितलगायतको तर्क थियो ।

आफ्नो केश मुण्डन गर्न र आफ्नै लागि सेतो कपडाको व्यवस्था गर्न नसकेकोमा आज खेद छ । म चाहन्छु, समाज र परिवारको हस्तक्षेपले अब अरू छोरीहरू मझैँ रोकिनु नपरोस् । साँच्चै भन्ने हो भने त्यसबेला मैले विद्रोह गर्न सकिनँ । आफूलाई जन्म दिने बाको शोकमा रहँदा, यस्तो जकडिएको समाजमा विद्रोह गर्ने काम कठिनसाध्य रहेछ, त्यसबेला बुझें । तर, सेतो लुगा र कपाल मुण्डनबाहेक अरू सबै कर्मकाण्ड मैले दाजुसरहै गरें । शोकको त्यस घडीमा आफन्त र समाजले छोरा–छोरीमा गर्ने विभेदका दृश्य हेर्ने एउटा आँखीझ््याल बन्यो मेरो बाको मृत्युकर्म ।

बा बितेको १३ दिनसम्म आफन्त र चिनेजानेकाहरू हामीलाई भेट्न आए । कोही आमाका आफन्त, कोही मेरा साथीभाई त कोही दाजुहरूका हितैसी । तर, सबैजसोको चिन्ता र चासो दाजुप्रति रह्यो । त्यसपछि क्रमशः आमाप्रति । बा त मेरा पनि थिए, तर एकदम कम आफन्तको ध्यान मतर्फ भएको अनुभव गरेँ । कारण मैले सेतो लुगा लगाएकी थिइनँ, कपाल मुण्डन गरेकी थिइनँ । सबैका लागि म छोरी, बहिनी, नानी ! तर, बाचाहिँ मेरो दाइको मात्रै बितेजस्तो देखिने आम व्यवहार !

दृश्य यस्तो देखिन्थ्यो, बाको मृत्युमा सहानुभूतिको जरुरी दाइलाई मात्र थियो । मानौं बा अर्थात् म छोरीको पनि बा बित्नु मेरा लागि कुनै क्षति र विषादको विषय होइन । त्यसो हुँदा घरमा आएका आफन्तमध्ये कत्तिले त मलाई भेट्दासमेत नभेटी गए । उनीहरू दाजु भेट्न आएका थिए किनकि दाजु ‘किरिया’ बसेका थिए । मेरो मनमा प्रश्न उब्जियो– ‘किरिया बस्नु’ भनेको के हो ? मेरो बुझाइमा किरिया बस्नु भनेको शोकमा रहनु हो । उसो त म पनि शोकको अवस्थामा थिएँ, दुःखको अवस्थामा थिएँ । तर, मेरो दुःखलाई समाजका मान्छे अनि उनीहरूले स्थापित गरेका मूल्य–मान्यताले कति मूल्यहीन र गौण ठान्दारहेछन् भन्ने आभास मलाई त्यस घटनाले गरायो । बाको दुःखमा १३ दिन बस्दा विभेद भोगें, रुढीवाद देखें र गरुड पुराणका महिलाद्वेषी कथाहरूलाई गाउँ–समाजले कति स्वाद मानेर सुन्दोरहेछ भन्ने बुझ्न पाएँ ।

बाको निधनपछि हामी आमा–छोरीले दुईवटा र दुई दाइका दुईवटा गरी हाम्रो परिवारमा वर्षको चारवटा श्राद्ध (पितृकार्य) सम्पन्न हुन्छ । गत बैशाखमा जेठो दाइको घरमा श्राद्ध थियो । पितृपूजाका लागि म तयार थिएँ । तर, त्यतिबेला स्तब्ध भएँ, जतिबेला श्राद्धपाठ गरिरहेका पण्डितले पितृपूजा गर्न मलाई रोक लगाए । त्यसबेला कसरी पण्डितसँग प्रतिवाद गर्ने भन्ने सोच्नै सकिनँ । र, चुपचाप पितृपूजाबाट बाहिरिएँ ।

आमा र दाजुहरूले पनि पण्डितसँग यस विषयमा बहस गरेनन् । म पनि बहसमा उत्रेर पितृलाई फूलपाती चढाउनतिर लागिनँ । तर, मनमा चाहिँ लाग्यो, ‘यो सानो विभेदको कुरा होइन, म यसबारे चुप बस्दिनँ ।’ किनकि छोरी भएकै कारण प्रत्यक्ष विभेद भएको उदाहरण र अनुभव यो दोस्रो थियो । धर्म–पापका नाममा, श्राद्ध–पितृकार्यका बहानामा छोरीहरूलाई बारम्बार अन्याय र आक्रमण गरिन्छ भन्ने आक्षेप हो मेरो । र, म यो आक्षेप सार्वजनिक रूपमै समाजको रीतिथिति–संस्कारको जिम्मा लिएका ठालुहरूलाई लगाउँदै छु ।

बाको मत्युअघि नै हाम्रो परिवारको पैतृक सम्पत्ति चार भाग लगाइएको थियो । तीन भाग हामी छोरा–छोरीलाई, एक भाग बा–आमाका लागि । बाको मृत्युपछि पैतृक सम्पत्तिको केही हिस्सा र आफ्नै सञ्चित रकम खर्च गरेर मैले घर बनाएँ, त्यस घरमा अहिले आमा र म बस्छौँ । यो घर न आमाका पतिको हो, न मेरा बाको । नितान्त व्यक्तिगत प्रसंग यहाँ उल्लेख गर्नुको पनि कारण छ । आजसम्म हामीमध्ये सबै कि त लोग्नेको घरमा बस्यौँ कि त बाको घरमा । हामीमध्ये कति पो छौं, जो आफ्नै घरमा बस्न पाएका छौँ । छोरीको हकमा यस्ता उदाहरण बिलकुलै छैन । किन यस्तो हुनगयो ? यसको एतिहासिक, सामाजिक, आर्थिक कारण र विज्ञान के हो ? छोराहरूलाई घर र सम्पत्तिको मालिक ठानिरहँदा किन छोरीहरूलाई अर्काको घरलाई आफ्नो ठान्ने पाठ पढाइयो ? किन छोरीहरूलाई सम्पत्तिमाथिको अधिकारबाट बेदखल गरियो ?

अब सुरु गरौं, सम्पत्तिसँगको लडाइँको मेरो निजी कुरो । दाजुहरूसरह पैतृक सम्पत्ति लिन मलाई पनि सजिलो थिएन । ‘सम्पत्ति लिएपछि यिनी पोइल जान्छिन्’ भनेर आफन्तले नै कुरा काट्दै हिँडे । बाउ–आमाको सम्पत्ति (पैतृक सम्पत्ति) लिन कानुनी झमेला आफ्नो ठाउँमा छ, त्योभन्दा ठूलो चुनौती सम्पत्तिकै कारण दाजुभाइसँग छोरीको सम्बन्ध बिग्रेला भन्ने आमाबाउको चिन्ता छ । ‘सम्पत्ति लिएपछि पोइल जान्छे’ भन्ने चिन्ताको प्रतिउत्तर के हुन सक्थ्यो ? के मसरह नै पैतृक सम्पत्ति लिएका मेरा दाजुहरूले बिहे गरेका छैनन् ? उनीहरूले सन्तान जन्माएका छैनन् ? छोरीले पैतृक सम्पत्ति लिनेबित्तिकै बिहे गर्न नपाउने हो ? या बिहे गरेपछि सम्पत्ति फिर्ता गर्नुपर्ने हो ? उसले आफ्नो स्वतन्त्र जीवन जिउन नपाउने ? छोरीले सम्पत्तिको अधिकार प्राप्त गर्नेबित्तिकै ऊ दाम्पत्य सुखबाट वञ्चित हुनुपर्ने ? पैतृक सम्पत्ति प्राप्त गरेका महिलाले दाम्पत्य सुख लिन नमिल्ने र सन्तान जन्माउन पनि नपाउने हो ?

संयोगले दाजुहरूसँग सम्पत्ति प्राप्तिका लागि मैले घरायसी–कानुनी लडाइँ लड्नु परेन, झैझगडा गर्नु परेन । तर, सबै छोरीलाई मेरैजस्तो संयोग नजुर्न सक्छ । त्यस्तो बेला छोरीहरूले के गर्ने ? बाउ–आमाको सम्पत्तिमा दाबी गर्ने हिम्मत गर्ने छोरीहरूले एउटा कुरा मनमा राख्नैपर्छ– आफूले दाबी गर्न चाहेको सम्पत्ति तपाईंको दाजु वा भाइले बिनादाबी अर्थात् निसर्त पाउँछन् । यदि दाजुभाइहरू निःसर्त पैतृक सम्पत्तिको हकदार हुन्छन् भने दिदीबहिनीहरू पनि पैत्रिक सम्पत्तिको स्वतः हकदार हुन्छन् । सम्पत्तिकै कारण दाजुभाइसँग सम्बन्ध बिग्रन्छ भन्ने मनोविज्ञानले छोरीहरूलाई तर्साउने–धम्क्याउने खतरा सबैभन्दा बढी रहन्छ । तर, याद गरौं, दाजुभाइसरह दिदीबहिनीलाई सम्पत्ति दिँदा सम्बन्ध बिग्रन्छ भने त्यो असाध्यै निम्छरो सम्बन्ध हो । प्राकृतिक न्यायको सिद्धान्तले पाउनुपर्ने सम्पत्तिको माग वा दाबी गर्दा सम्बन्ध बिग्रन्छ भने बिग्रियोस् । र, अर्को कुरा, सम्बन्ध टिकाउने–जोगाउने ठेक्का दिदीबहिनीहरूको मात्रै होइन ।

युगौंसम्म पैतृक सम्पत्ति छोराहरूमा मात्रै हस्तान्तरण हुँदा सम्पत्तिकै लागि कुनै छोरीहरूले दाजुभाइसँग झगडा गरेनन् । उही बाउ–आमाका सन्तान, तर बाउ–आमाको सम्पत्ति भोगचलन गर्न पाएका छोराहरू लाखौँ सम्पत्तिको मालिक भएको र छोरीहरूको दैनिक गुजारा पनि धौधौ भएका कैयौँ उदाहरण के हामीले नदेखेका हौं र ? समानताको आँखाले छोराछोरीलाई हाम्रा पुर्खाले उहिल्यै हेरेको भए आज कानुनी लडाइँ र झगडाको कुरै उठ्ने थिएन । ‘छोरीले पनि अंश माग्छन् त ?’ भन्ने मनोविज्ञान नै विकास हुने थिए । ठीकै छ कछुवा चालमै सही, युग नै बदलिँदै छ । अहिले त कानुनले नै छोरीहरूलाई स्वतः सम्पत्तिको हक दाबा गर्ने अधिकार प्रत्याभूत गरिसक्यो । अबको समय प्रत्येक छोरीहरूले आफ्नो हक सुनिश्चित गर्ने हो, हक अर्थात् सम्पत्ति सुनिश्चत गर्ने हो ।

यदि परनिर्भरताको बाटो बदल्ने हो भने पैतृक सम्पत्तिमाथि छोराहरूले जसरी युगौंयुगसम्म एकोहोरो हक–अधिकार पाइरहे, अब छोरीहरूले पनि सो हकलाई मौलिक हकसरह खोज्नुपर्छ । कानुनले पैतृक सम्पत्तिलाई मौलिक हक नमान्न सक्छ । तर, मसरहको दाजुभाइले मेरो बाउ–बाजेको सम्पत्ति निःसन्देह, निर्बाध रूपमा भोगचलन पाउँछन् भने मैले पनि पाउनुपर्छ भन्ने हिम्मतका खातिर अब छोरीहरूले आफ्नो आवाज बुलन्द पार्ने समय आएको छ । अब छोरीहरू शिक्षित मात्रै भएर पुग्दैन, जसरी घरका छोराहरू शिक्षित मात्रै भएर पुगेन । छोरीहरूले पनि पैतृक सम्पत्तिको मालिक हुन पाउनुपर्छ ।

हिजो छोरीले शिक्षा पाउँथेनन्, अचेल पाएका छन् । अब सम्पत्ति पनि पाउनुपर्छ । युगौंदेखि तपाईंहरूले सम्पत्तिको मालिक छोरालाई बनाउनुभयो, अब कम्तीमा छोरीलाई पनि आधा सम्पत्ति दिएर हेर्नुहोस् ! सम्पत्तिको शक्ति र सामर्थ्यमा अहिलेसम्म समाजमा पुरुषहरूको जगजगी देख्यौं । अब सम्पत्तिमा पनि समता स्थापित भएपछि त्यसले सिर्जना गर्ने अर्कै सुन्दर संसार हेरौं । छोरीहरूले पाएको शिक्षा र सम्पत्तिले अवश्य पनि युग बदलिनेछ ।

म बाको घरमा पनि बसें, दाजुको घरमा पनि बसें, साथीभाइ, आफन्तको घरमा पनि बसें । तर, जब म आफ्नै घरमा बस्न थालें, त्यस अनुभवलाई जीवनकै उत्कृष्ट र स्वतन्त्र बसाइ ठानें । भौतिक सम्पत्ति धाक र रवाफजस्तो सुनिएला, अहंकारी बुझिएला, तर छोरी आफैंले आफ्नो घर बनाउने विषय ठूलो बलको काम रहेछ । र, सम्पत्तिको शक्तिले मान्छेको स्वाभिमान स्थापना गर्न ठूलो आँट दिनेरहेछ, जुन हाम्रो परम्परागत सम्पत्ति सम्बन्धले छोरीलाई फिटिक्कै दिँदैन । बरु परम्परागत सम्पत्ति–सम्बन्धले छोरीले घर बनाउन सुरु गरी भने घरबारे नै प्रश्न गर्न सुरु गर्छ ः इँटा किन्ने पैसा कहाँबाट आयो ? बालुवा, सिमेन्ट र फलामे रड कसले किनिदियो ? सबैभन्दा महत्त्वपूर्ण प्रश्न : घर बनाउने जग्गा कहाँबाट आयो ?

पैतृक सम्पत्तिबाट बेदखल पार्न मात्र होइन, छोरीको मनोबल कमजोर पार्न पनि कहिले र कस्ता प्रश्न गर्नुपर्छ, पितृसत्तालाई त्यो पनि राम्रोसँग थाहा छ । उसको घर नबन्दै घरभन्दा पनि ठूला आकारका प्रश्न सोध्नाले छोरीको मन दुख्छ भन्ने जानेर पनि प्रश्नमाथि प्रश्न गर्न आतुर छ समाज । देशमा कति छोराका घर बने, ती घरबारे एउटा पनि प्रश्न प्रश्न बनेनन् । तर, टोलमा छोरीका एउटा घर बन्छ र अनेकौ प्रश्न उठ्छन् !

सम्पत्ति वा घर केवल चार पर्खालभित्रको सुरक्षित गुँड होइन । घर केवल सिँगारिएको भान्छा र सुविधावाला शौचालय होइन, यो त लडाइँको किल्ला पनि हो । छोरीहरूको अस्तित्वको लडाइँमा सम्पत्ति एउटा सुरक्षाकवच हो । छोरीको आफ्नो घर हुनु भनेको छोरी पनि ‘मान्छे’ बन्नु हो । आफ्नो घर भएकी छोरीले आफूले चाहेको काम गर्न सक्छे, पितृकार्यलगायत सबै संस्कारबारे आफ्नै विवेकले फैसला गर्न सक्छे । उसको स्वतन्त्रताको पहिलो सोपान आफ्नो निजी घर हो । यो मेरै अनुभवको निचोड हो ।

के दिदीबहिनी र छोरीहरूलाई तपाईंहरू सम्पत्ति दिन सक्नुहुन्छ ? छोरीहरूको सहअस्तित्वको लडाइँमा तपाईंहरूको सदाशयता रहला ? अनि के देशका छोरीहरूले मेलेझैं पैतृक सम्पत्ति माग्ने हिम्मत गर्लान् ?

प्रकाशित : कार्तिक ६, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?