कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कविता

धरहरा 

भूपिन

रात स्वयम् छ गहिरो निद्रामा
नसुतेको तिमी छौ र म छु 
पुलिस दाइ !
म केही छिन आँखाको पिरो मार्न चाहन्छु 
म केही छिन आँखाको ढक्कन बन्द गर्न चाहन्छु 
नयाँ बनेको यो धरहरामा 
आज एकरात बास बस्न चाहन्छु !

धरहरा 

अनुरोध त

सिधै प्रधानमन्त्रीसँग गर्न मन थियो

सुनेको छु, परमादेशको स्लिपिङ ट्याबलेट सेवन गरेपछि

अनिद्राले सताइएका उनी गहिरो लम्पसारमा छन्,

हकिन्सले पत्ता लगाउन नसकेको ‘सम्पूर्णताको सिद्धान्त’

आफूसँग भएको दाबी गर्ने

सत्ताका कम्फर्टेबल क्याप्टेनलाई सोध्न मन थियो

सुनेको छु– उनी पद बाँडफाँडको सूत्र थाहा नपाएर आतंकित छन्,

सोध्न मन थियो प्रतिपक्ष दलका नेतालाई

सुनेको छु– उनी यही धरहराको उचाइबाट खसेपछि

घाइते भएको अहम्को बार्दलीमा बसेर

गालीशास्त्रको नयाँ पाना रच्न व्यस्त छन्

एक आफन्त थिए

जो भन्थे, ‘म नेता हुँ नेता’

सुनेको छु,

उनी आफ्नै घर जलाएर निस्केको खरानीको व्यापारबारे सोच्दै छन्

नगरपिताको के कुरा गर्नु ?

पर्खालबाहिर फोहोर थुप्रिएको कुनै होटलभित्र

उनी स्वच्छ काठमाण्डूको गौरवगाथा गाउने हतारमा छन्

छिप्पिइसकेको छ रात

र, यो धरहराछेउमा तपाईं भेटिनुभयो

आज एक रात बास दिनुस् न !


होचो जिन्दगी बाँच्दा बाँच्दा दिक्क लागिसक्यो

कहिलेकाहीँ त हामीलाई पनि

उचाइमा बसेर बादल उडेको हेर्न मन लाग्छ

साँघुरो जिन्दगी बाँच्दा बाँच्दा वाक्क लागिसक्यो

कहिलेकाहीँ त हामीलाई पनि

टाकुरामा बसेर फराकिलो धरती हेर्न मन लाग्छ ।


पुलिस दाइ

सहरमा डेरा किन नखोजेको भन्नुहोला

खोजेको छु

दिनभरि घरका गेटहरु ढक्ढकाएर खोजेको छु,

बिजुली घण्टीहरु थिचेर खोजेको छु,

केहीले मेरो जागिर सोधे र डेरा दिन इन्कार गरे

केहीले मेरो पोसाक हेरे र डेरा दिन इन्कार गरे

केहीले मेरो जात सोधे र डेरा दिन इन्कार गरे ।


पुलिस दाइ

‘सत्य सेवा सुरक्षणम्’

यो बेला म केवल खोजिरहेछु सुरक्षा,

जीवन खोज्न गाउँबाट राजधानी छिरेको थिएँ

तर, यो सहरमा जीवनको नटबोल्ट हराएँ,

सुरक्षा हराएँ,

खाडीको भिसा लागेको पासपोर्ट पर्खिंदा पर्खिंदा

अचानक कोभिडबाट खेदिएँ

जब मजदुरी गरेको पैसा ओखतीमा सकियो

डेराबाट खेदिएँ

दिउँसोको पसिना र सााझको झरीले

अहिले चिसोबाट खेदिएको छु ।

म कहाँ जाऊँ पुलिस दाइ ?

यो धरहरामा

आज एक रात बास दिनुस् न !


किन रिसाउनुभएको पुलिस दाइ ?

किन यसरी मलाई घुरेर हेर्नुभएको ?

किन सोध्नुभएको

‘रक्सी पिएर पागलझैं किन बर्बराउँछस् ?’ भनेर ।


हो सायद बर्बराइरहेछु म, बर्बराइरहेछु.

नेताहरु यहाँ

मानिसको रगत पिएर बर्बराउँछन्

म मजदुरी गरेको पैसाले

भ्रमवस केही क्षण दुःख बिर्सन

जाबो सस्तो रक्सी पिएर बर्बराउन पाउँदिन ?


(यसै पनि मानिसको रगत पिउनुभन्दा

रक्सी पिउनु धेरै सुन्दर कुरा हो ।)


बरू सुन्नुस् न

हिजो पशुपतिको चिसो पाटीमा सुत्दा

अचानक प्रकट भएका थिए राजा महिन्द्र मल्ल ।

तपाईंले पनि कतै भेट्नुभयो कि उनलाई ?

उनले सोधेका थिए,

‘किन रोएको यसरी ?’

भक्कानिँदै भनेको थिएँ,

‘महामारीको पीडा त जसोतसो सहो

भोकको पीडा सहन गाह्रो भयो हजुर ।’

त्यसपछि सोधेका थिए उनले,

‘के तिम्रो देशमा अहिले

जनताको घरमा चुलो बलेको हेर्न सकिने

कुनै नौतले दरबार छैन ?

किन भोको छौ तिमी ?

के तिम्रो देशमा अहिले

तिमीले खाएपछि मात्र खाने कुनै अभिभावक छैन ?’


के जवाफ दिऊँ म उनलाई ?

छन त छन् नी आफैंले चुनी पठाएका अभिभावकहरु !

तर, के गर्नु ?

सन्तानलाई भोकै राखेर उनीहरु आफू मात्र खान्छन्

नदी खान्छन्, जंगल खान्छन्

श्रमिकहरुका पसिना र आँसु खान्छन्

गरिबीका हर सूचकहरुमा सबैभन्दा पछि छ देश

यही मुद्दामा उनीहरुले राजनीतिको पसल धान्छन्

म धरहराबाट हेर्न चाहन्छु

अहिले कहाँ छ त्यो नयाा नौतले दरबार

जहााबाट नागरिकका चुलाहरु देखिन्छन्,

म हेर्न चाहन्छु

अहिले कहाँ बस्छन् वर्तमानका महिन्द्र मल्ल ?


पुलिस दाइ

नयाँ बनेको धरहरामा

आज एक रात बास दिनुस् न !

प्रकाशित : भाद्र १९, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?