जेबीका जीवन–आलापहरू- कोसेली - कान्तिपुर समाचार

जेबीका जीवन–आलापहरू

हाम्रो गीतिप्रभावबाट अताल्लिएर अन्य पार्टी र पञ्चायती मान्छेहरू बरोबर भन्थे, ‘बामे बजियाहरूले गीतैले नै देशमा डढेलो लाए... गीतैले सिध्याउने भए अरू पार्टीहरूलाई... !’
रामेश

२०३३ साल, मञ्जुल र म धनकुटा–धरानका केही ठाउँतिर सासाना गीति कार्यक्रमहरू दिएर फर्केका हुन्छौं । धरानको तातो मध्याह्नमा कोही साथीले भने, ‘ए तिमीहरूजस्तै गीत गाउने एक जना गायक कहिलेकाहीँ  यतातिर झुल्किन्छन्, भेटघाट गर न ।’ केही दिनपछि खबर आयो, ‘जेबी धरान आएका छन् ।’ साथीहरूले भेट गराए । गाउँले पाराको साथी, सोझो, निश्छल, मनको कुरा सजिलोसँग गर्ने !

हामीले उहाँका गीतहरू सुन्ने इच्छा गर्‍यौं । कत्ति पनि गाह्रो नमानी बिनाबाजा सजिलै गाउन थाल्नुभयो–

‘बसाइँं हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ , लाखौंका लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ’

‘जान्न म त नि गोर्खाभर्ती मलाया छाउनीमा

पापी मोरो कुइरेको देशैमा...’

‘आमा दिदी बैनी हो कति बस्छौ दासी भइ, सुखको सधैं प्यासी बनेर...’

धरान क्याम्पसअगाडि बन्दै गरेको घरको भुइँतलामा साथीहरूले हाम्रो गीति कार्यक्रमको आयोजना गर्नुभयो । जेबी हामीसँग सहभागी हुनुभएको पहिलो कार्यक्रम थियो त्यो । उहाँको उपस्थिति साथीहरूले साह्रै राम्रो मान्नुभयो ।

अरु एक–दुई कार्यक्रममा सँगै गाएपछि एकदिन मैले जेबीलाई भनें, ‘जेबीजी, अरू गीतहरू राम्रा छन्, एउटा गीत तपार्इंले नारीको सम्मानका लागि गाउनुभएको हो, तर सुन्दै जाँदा मलाई नारीहरूकै उपहास भएजस्तो लाग्छ’, मैले गीतका केही हरफहरू उल्लेख गर्दै भनें, ‘घर–समाजका हाम्रा नारीहरूले जीवन–व्यवहारमा जे गरे, गर्दै छन् त्यसमा उनीहरूको के दोष ? सामन्ती पितृसतात्मक सत्ता, समाजका ठालु र पण्डितहरूले जे सिकाए, जे गर्न बाध्य पारे त्यसै गरे । बिचरा... बिस्तारै अज्ञानतावश त्यसैमा रमाउन पनि थाले, जो उनीहरूको अहितमा हुन्थ्यो । ती सबै कुराको जानकारी दिन र नारीको गरिमाबोध गराउँदै त्यस्तो अवस्थाबाट उनीहरूलाई मुक्त पार्न हाम्रो गीतमा केही कुरा त अवश्य थप्नुपर्छ ।’ उहाँले स्विकार्दै भन्नुभयो, ‘उसोभए थपूँ न त, मलाई चित्त बुझ्यो । मैले त एउटा पत्रिकामा पढेँ, राम्रो लाग्यो र लय भरेर गाउन थालिहालेँ ।’

धरान–चतरा लाइन, एउटा घरको भुइँतलामा एक दिन विकल ज्ञवालीको त्यो गीतमा नारीको गरिमाबोध गराउन केही लहरहरू थप्न दुई जना बस्यौं–

‘आफ्नै पौरख खान्छन्, आफ्नै सीपमा बाँच्छन्

दुःख–कष्ट सहेर सृष्टि यिनले थाम्छन्

असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्

ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन्

तर पनि अँधेरोमा जीवन बिताउँछन्

आमा दिदी बैनी हो कति बस्छौ दासी भई

सुखको सधैं प्यासी बनेर....’

कोही बोलाउन आयो, जानैपर्ने भयो । हामी छुट्टियौं । अन्त्यमा थप्ने कुरा बाँकी नै रह्यो । धरानबाट तुरुन्तै काठमाडौं फर्कनुपर्ने भयो मैले । पछि धरानकै प्रगतिशील कवि साथी बम देवानसँग बसेर जेबीले गीतमा पछिल्ला लहरहरू थपेर पूरा गर्नुभएछ ।

‘सामन्तीको कुचाल यो, भ्रष्ट रीति पुँजीको

बुझी सब ब्युँझ अब, ध्वस्त पार्न नारीबन्धन

दुःख अनि जीवनको

युगले आज भन्दछ नारी पनि मान्छे हो

जाग उठ नारी हो, सृजनाको घाम बनेर

आमा दिदी बैनी हो कति बस्छौ दासी भई

सुखको सधैं प्यासी बनेर...’

त्यसपछिको भेटमा जेबीले भन्नुभयो, ‘रामेशजी बम देवानवाट बाँकी हरफ लेख्न लगाएर त्यो गीत गाउन थालेको छु ।’ साँच्चै, जेबीको ‘आमा दिदी बैनी हो..’ उहाँको परिचयगीत नै बन्यो देश–विदेश सबैतिर ।

हामी झापाली प्रभावबाट बनेको कोर्डिनेसन केन्द्रमा प्रवेश गर्दै नेकपा–माले पार्टी निर्माण गर्ने भित्री अभियानमा थियौं । जेबीजी पनि त्यही अभियानमा जोडिनुभएको रहेछ । वैचारिक नाताले पनि हाम्रो मित्रता अझै गाढा भयो ।

२०३५ सालमा नेकपा–माले पार्टी निर्माण भएको घोषणापछि हामी दोब्बर उत्साहले संकल्प गीति अभियानको मोर्चामा जुट्न थाल्यौं । यसै सिलसिलामा साथी ध्रुबनारायण श्रेष्ठको विशेष पहलमा उहाँकै हिमालय सिनेमा टाकिज हलमा ‘संकल्प गीति अभियान’ को पहिलो कार्यक्रम निर्विघ्न रूपमा सम्पन्न भयो । जेबीजीपछि धरानबाट शम्भु राई र लोचन भट्टराई पनि ‘संकल्प गीति अभियान’ मा जोडिए । त्यसपछि बिस्तारै अरू धेरै कलाकार पनि संलग्न हुँदै गए । पूर्वी नेपालको विभिन्न भागतिर हामीबाहेक अरू नयाँ कलाकारहरूबाट पनि ‘संकल्प गीति कार्यक्रम’ हरू सञ्चालन हुन थाले । त्यसै सिलसिलामा आयोजकहरूले पञ्चायती दमनको पर्वाह नगरी राति राति मधुमल्ला, उर्लाबारीतिर ठूलाठूला गीति कार्यक्रम आयोजना गरे । चालीस–पचास हजार जनतासामु प्रहरी प्रशासन निरीहजस्तै बन्यो ।

एकबिहान हामी उर्लाबारी जेबीजीको परिवार रहने बासस्थान पुग्यौं । भुइँतला, चार–पाँच जना सासाना केटाकेटीहरू– दयनीय अवस्थामा थियो परिवार, त्यसमाथि बिरामी भाउजू ! कठै, दुःखले रोयो हाम्रो मन ! तैपनि जेबी हरेक कार्यक्रममा हामीसँग सधैं रहनुभयो । जनता उठाउन, ब्युँझाउन र जनताको हित गर्ने राजनैतिक व्यवस्था ल्याउन एकनासले आमजनतामा निरन्तर छाइरहनुभयो ।

एक पटक अकस्मात हामीले कहिल्यै नसुनेको धामी–गीत धामीजस्तै कामेर मञ्चमा गाउनुभयो जेबीले ः

‘हे नि बालाउ, गरिबगुरुवा बुझी लैजाउ है...

पूर्व पश्चिम राजमार्ग बनाउने हामी, घण्टाघर बनाउने हामी

धरहरा बनाउने हामी ,बाटोघाटो, पाटीपौवा, स्कुल धर्मशाला बनाउने हामी

हामी नै खाननपाई, हामी नै ओखतीमूलो नपाई

नांगो आङ ढाक्न नपाई, जाडोले कक्रँदै मर्ने हामी

अब त हामी गरिबगुरुवाहरूले पनि बुझ्नुपर्छ है बाला

हामी एकभएर नजुटेसम्म, देशका बैरीहरूलाई सखाप नपारेसम्म

सुख त पाइँदै पाइँदैन होला है बाला... ए...गरिब गुरुवा बुझी लैजाऊ है...बाला....’

जनताले खुबै रुचाए त्यो गीत । हामी पनि दङदास... !

काठमाडौंमा पनि ‘संकल्प गीति कार्यक्रम’ हरू प्रस्तुत हुन थाले । जेबी टुहुरे, शम्भु राई, लोचन भट्टराईहरू धरानबाट काठमाडौंमा सहभागी हुन आउनुभयो । पार्टी संगठन गर्न, पार्टीको सैद्धान्तिक परिचय आम जनतामा पुर्‍याउन, हरक्षेत्रमा पार्टी विस्तार गर्न हाम्रा गीत र गीति कार्यक्रमहरूबाट नेकपा–मालेलाई अकल्पनीय सहयोग पुगेको थियो । हाम्रो गीतिप्रभाबबाट अताल्लिएर अन्य पार्टी र पञ्चायती मान्छेहरू बराबर भन्थे, ‘बामे बजियाहरूले गीतैले नै देशमा डढेलो लाए... गीतैले सिध्याउने भए अरू पार्टीहरूलाई...तेरिमा हो... !’

पार्टीप्रति साथीहरू इमानदार थिए । सबै दुःखी–गरिब नै थिए, दुःखजिलो गरेर जिन्दगी गुजार्थे— कोही सानो खिस्रिमिस्री दोकान चलाएर, कोही चियाको सानो होटेल थापेर । तर, उनीहरू पार्टीमा आबद्ध छन् भनेर थाहा पाउने चतुरे कमरेडहरू होटेलमा गएर मग्न खान्थे, पैसा दिने बेला ‘पछि मिलाउँला है’ भनेर हिंड्थे । ‘खाएर किन पैसा नदिएको’ भन्दा काननिर मुख ल्याएर सानो स्वरमा भन्थे, ‘पैसा नदिए पनि हुन्छ क्या, उहाँ त हाम्रो पार्टी कमरेड पो हो त !’ दुःखको जीवन गुजारामा केही सहयोग पुग्थ्यो कि भनेर जेबीले पनि ‘शान्त शीतल लज’ विराटनगरमा खोल्नुभयो । म पनि एक पटक जेबीको लजमा पुगेँ । दुःखजिलो गरेर लज सामान्यतः राम्रै, ठीकै बनाउनुभएको थियो । खाना खाएर पैसा दिन खोज्दा उहाँले लिन मान्नुभएन । मैले मानिनँ, लाग्नेजति दिएँ र भनेँ, ‘यसरी त कसरी लज चल्छ होला र जेबीजी ! काम गर्नेहरूलाई तलब दिन, घरको भाडा तिर्न, चाहिने सामानहरू किन्न पैसा नभई कसरी चल्छ र लज... !’

‘के भन्नुहुन्छ रामेशजी,’ मनको बह खोल्दै उहाँले भन्नुभयो, ‘लज त खोलियो, तर पार्टी पाल्ने ठाउँजस्तो पो भएको छ त यो । काँ–काँबाट कमरेडजीहरू आउनुहुन्छ, खानुहुन्छ, सुत्नुहुन्छ पैसा तिर्ने बेलामा हामी त पार्टीको काममा आएको, पार्टीले नै मिलाउँछ है कमरेड भन्दै लस्किनुहुन्छ ।’ नभन्दै एक दिन जेबीको लज पार्टीकै साथीहरूको कारण धराशायी भएको खबर आयो । उहाँको मात्र हो र पार्टीभित्रका धेरैसाथीहरूजो सानोतिनो काम गरेर जीवन धान्थे यस्तै प्रवृत्तिहरूको सिकार भएर टाट पल्टिन्थे । कठै बिचरा... धेरैको जीवन–पेसा यसरी नै पार्टीबाट उजाडिएको देखेँ मैले !

२०४६ सालपछि पार्टीर्हरू खुला भए । जेबी नेकपा–माले पार्टीको तर्फबाट कलाकार भएर पार्टी निर्देशनअन्तर्गत सांस्कृतिक मोर्चामा काम गर्न थाल्नुभयो । २०३९ सालतिर नै नेताजीहरूका बानी–व्यहोरामा आएको परिवर्तनबाट आजित भएर म ‘अब यिनले देश बनाउँदैनन्, आफूलाई बनाउनतिर लाग्छन्’ भनेर पार्टी छोडिसकेको थिएँ । जेबी पनि कहिलेकाहीं मसँग पार्टी–जीवनप्रतिको असन्तुष्टि यसरी पोख्नुहुन्थ्यो, ‘कहिले काँ , कहिले काँ, पार्टीले जाँ भन्छ त्याँ, जे भन्छ त्यै, मन परे पनि नपरे पनि गर्नैपर्ने, मान्नैपर्ने । पार्टीमा त हाम्रो क्यै मूल्य नभएझैं लाग्ने रामेशजी । नेताहरूसँग दाँज्दै हामीलाई सानो पारेर हेर्ने, त्यस्तै हेलाहोचोको व्यवहार गर्ने । जनतामा हुँदा म पनि यो देशको केही हुँजस्तो लाग्थ्यो, पार्टीभित्र छिरेपछि त त्यो भावना कता गयो कता ! साह्रै दुःख लाग्छ ।’

पछिपछि पनि कार्यक्रमहरूमा भेट हुँदा जेबी मलाई एकान्तमा लैजानुहुन्थ्यो र वर्तमानमा भोगेका दुखाइ, घोचाइहरू पोख्नुहुन्थ्यो, ‘अरू कसैलाई भनूँ पार्टीका माथितिर कुरा पुग्ला र कारबाही भोग्नुपर्ला भन्ने डर, तपाईंसँग भेट्दा मनका सबै बहहरू पोखेर हलुंगो हुन मन लाग्छ रामेशजी । आर्थिक कमजोरीले पार्टीले दिएको माना खाएर बाँच्नुपर्‍यो । केटाकेटीहरू पनि अब त केही ठूला भए । पैसा कमाउन लाखापाखा लाग्छन् । भनेजस्तो के हुन्थ्यो । अनेक झन्झटहरू आइलाग्छन् । एमालेमा रहेर बाँच्न पनि कठिन भो, माओवादीतिर छिर्दा जिउन क्यै सजिलो हुन्थ्यो कि जस्तो लागेर त्यतैतिर पो छिरेँ म त । तलका कमरेडहरूलाई गरिब, निर्धन, दरिद्र बनाउँदा पैसावाल कमरेडहरूलाई तिनलाई खेलाएर आफ्नो स्वार्थ सिद्ध गर्न सजिलो हुने रैछ । त्यसैले पार्टीभित्र स्वतन्त्र र सजिलो भएर बाँच्न सजिलो नहुने कुरा मैले प्रस्टै बुझेँ । नेताका निगाह भए सांसदको इज्जतसम्म पाइने । सांसद हुँदा हामीजस्ता सोझासाझाहरूले अरूले जस्तो धन कमाउन पनि आफ्नो नैतिकताले नदिने । यत्रो जीवन यसरी नै सिध्याएँ रामेशजी मैले । यस्तै दिन ल्याउन हामीले त्यत्रो त्याग तपस्या गरेका हौं त ? देश त खै केही पनि फेरिएन । जनताले त्यत्रो साथ दिए, त्यत्रो ज्यान दिए, उनीहरूले पनि खै के पाए ? कहिलेकाहीँ त हाम्रो कारणले पनि जनताले धोका पाएको हो कि जस्तो लाग्छ ... अति विश्वास गर्‍यौं... ।’

सोझो मन, छलकपट केही नजान्ने, पहिले जनतामाझ हुँदा अनि माले–एमाले हुँदै माओवादीमा प्रवेश गर्दा पनि मान्छेहरूले जेबी टुहुरेलाई कहिल्यै कसैले गाली गरेको सुनिनँ । बरु धेरैले यसो भने, ‘पार्टीसँग मतलब छैन हामीलाई, जुन पार्टीमा रहे पनि जेबी पहिला हामी जनताको हो । उसले नेपाली जनताको अहित कहिल्यै सोचेन । जनताको शिर ढाल्ने काम पनि केही गरेन । जहाँ रहे पनि चोखो मनले देश र जनताको हितमा गीतहरू गाई नै रह्यो । नेपाल र नेपाली जनताको पक्षमा दरोसँग उभिइरह्यो ।’

जेबी अकस्मात जानुभयो । अस्पताल पुगेपनि हामीमाझ फर्कने ठूलो आशा थियो । कोरोना आतंकको समय... दुखद खबर आयो । साथी, भाइ, बहिनीहरू अन्तिम श्रद्धा दिन आर्यघाट पुग्नुभयो । उहाँ जनताको जनप्रिय कलाकार ! उहाँको लोकप्रियतालाई आफ्नो पक्षमा पार्न पार्टीहरूले आ–आफ्नो झन्डाले उहाँको शव छोप्न तँछाडमछाड गरे कि... ! मन सशंकित भइरह्यो । त्यहीबेला मेरो मनमा एउटा इच्छा खेलिरह्यो, ‘उहाँको शवलाई नेपालको चन्द्र–सूर्य अंकित राष्ट्रिय झन्डा ओढाएर सुशोभित गरे राष्ट्रसम्मान उच्च हुनेथियो । त्यही नै उत्तम श्रद्धाञ्जली हुनेथियो ।’ मन दुःखी थियो । भित्रबाट मेरो अन्तस्करण मधुरो स्वरमा बोल्यो... जेबीजी... बिदा...श्रद्धाञ्जली... ! तपाईंका सुन्दर गीतहरूमा हाम्रो भेट भइरहनेछ.... !

(शनिबार प्रकाशन हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘कोसेली’बाट ।)



प्रकाशित : भाद्र १८, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

अमेजन रेनफरेस्ट अर्थात् आदिमानव

शकुन्तला जोशी

म हुँ यो धरतीको आदिमानवनसिकाऊ मलाई सभ्यताको पहेंलो पाठ 

मैले रोपेको हुँ

सृष्टिको पहिलो फूल

मैले खनेको हुँ मानिस हिँड्ने

पहिलो गोहो

मैले चिनेको हुँ

अनाजको पहिलो दाना

मैले चाखेको हुँ विष र अमृत

मैले ठोसेको हुँ पहिलोपल्ट दल्छिन ढुंगा

र, निस्केको हो– आगो

म हुँ यो धरतीको आदिमानव

नसिकाऊ मलाई सभ्यताको पहेंलो पाठ


तिमी बेच्न चाहन्छौ ब्रान्डिङ गरेर–

पवित्र पन्छी ओरूबुरूको पंख खसेको

यो भूमि, आदिम गन्धयुक्त मेरो नाङ्गो शरीर

एक आदिम अनुहार

एउटा आदिम धुन

टेकेपछि तिमीले हाम्रो भूमि

रिसाए भूमिदेव

यो जंगलजस्तै शान्त हामी

एकाएक बन्यौं लडाकु



ओ अमेजन !

ओ ब्राजिलियन भूमि !

ओ एयासी ताल !

ओ जुरूवा नदी !

ओ एन्भिरा !

हामी तिम्रो काखमा छौं

तिमी देऊ हामीलाई तिम्रा जराहरु

आउने अनेक जुग

तिम्रै हावामा बाँच्न चाहन्छौं


म जान्दिनँ अल्जेब्राका सूत्रहरु

बुझ्दिनँ आइन्स्टाइनको विज्ञान

तिम्रो भाषा, राजनीति

मेरो के कुरा,

तिम्रो सभ्यतामा टिक्न

ताता भट्टीहरूमा करङ पोलिरहेको मजदुरलाई सोध !

ऊ साँच्चै बाँचिरहेको छ ?

कि बाँच्नका लागि मरिरहेको ?

भर्खरै किताब खोसिएको अफगान नानीलाई सोध

ऊ साँच्चै हाँसिरहेको छ ?

कि तिम्रो बन्दुकसँग काँपिरहेको ?

कहिल्यै खेलौना नदेखेका

मेरा मोये, इयो, यायाहरु

बाघका डमरूसँग खेल्छन्

यसरी जोगाउँदै आयौं अनन्तकालदेखि

यो अनादि जंगल र सिमसारलाई,


यो बजारलाई मेरै रगतको रङ चिनाउने

तिमी को हौ ?

सुन,

मैले कहिल्यै तिम्रो तरबार ताकिनँ

देख्दै नदेखेको दरबार ताकिनँ

किन पठाउँछौ तिमी मेरो जंगलतिर

मेसिनगन बोकेका मान्छेहरु ?

म आदिमानव !

बुझ्छु यही जंगलको भाषा

हुँ त एक अचूक निसानाबाज

तिम्रो बुर्ज खलिफाको टुप्पो ताकेर

तिम्रो ह्वाइट हाउस वा

अमेजोनाको व्यस्त सुपरमार्केटतिर

छुट्यो भने मेरो निसाना

के छेक्न सक्छौ कार्बनडाइअक्साइडको ताकतदार हतियारले ?


म हुँ यो पृथ्वीको आदि र अन्त्य

मैले श्वास फेर्छु र यो जंगलमा बतास चल्छ

सिंगो अमेजनले सास फेर्छ

र, तिम्रो राज्यको फोक्सो चल्छ

अझ भनौं,

व्यापार गर्छौ अक्सिजनको

उद्योग चलाउँछौ पानीको

यही जंगलमा डोजर हानेर

खोतल्छौ पृथ्वीको गर्भ

निकाल्छौ कोहीनूर, कोइला

डुबुल्की मार्छौ यसरी कि

एक्लै रित्याएर धर्तीको तेल कुवा

बन्न चाहन्छौ साम्राज्य नायक


ए सभ्य दुनियाँ !

के यो सृष्टि तिम्रो पुस्ताकै लागि मात्रै हो ?

के यो पृथ्वी तिम्रै भोगविलासका लागि मात्रै हो ?

कि छन् भोलि आउने कोही तिम्रो दलानमा पनि ?


हामी जंगलवासी

कसैसँग गुनासो थिएन

प्रश्न थिएन

एकाएक बिथोलेपछि जंगलको शान्ति

खलबलियो हाम्रो आदिम सभ्यता

रिसायो हाम्रो प्रकृति

हामी नांगै जन्मिएका

काँडाहरूसँग नाङ्गै जिस्किँदै हुर्किएका

हाम्रो यौनांग प्रकृति हो, हाम्रा लागि

आदिशक्ति हो सृष्टिको

तिमीजस्तो छोप्न सिकाएर

खुलेआम नङ्ग्याउँदैनौं हामी छोरीहरुलाई

हामी सँगै बगाउँछौं पसिना, सँगै गर्छौं भोजन

तिमी हजार व्यञ्जनको भोग लगाउँछौ

तिम्रै राज्यमा भोको पेटमा नाम्लो बाँधी

मर्नेहरु मरिरहेछन्

ओहो ! कुन मुखले सिकाउाछौ मलाई

‘कम से कम लंगौटी लगाऊ

हाम्रो मानव सभ्यताको लाज राख !’


म हुँ तिम्रो अस्तित्वको जरा

मसँग छ त यो ब्रह्माण्डको सिंगो शक्ति

मैले चाहे पल्टाइदिन सक्छु पृथ्वीलाई उल्टो

बगाइदिन सक्छु यी नदीहरुलाई उल्टो

उखेलिदिन सक्छु तिम्रो दरबारका जराहरु

जो मेरै छातीमा उभिएका छन्

ओ आधुनिक मान्छे !

तिमीभन्दा कति–कति सभ्य छु म

म जे छु देखिएको छु

मेरो नांगोपन मेरो आदिम सभ्यता हो


भो मलाई नपढाऊ !

म हुँ यो धरतीको आदिमानव

नसिकाऊ मलाई सभ्यताको पहेंलो पाठ ।

प्रकाशित : भाद्र १२, २०७८ १३:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×