विसर्जनको मार्गचित्र- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विसर्जनको मार्गचित्र

सामान्य नेपाली महिलाले जनयुद्धमा खेलेको भूमिकाबारे पुस्तक बोल्दैन । दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्रका प्रसंगहरु प्रसंगवश मात्रै आएका छन्  ।
गुणराज लोहनी

हिसिला यामीको किताब ‘हिसिला यमी फ्रम रिभोल्युसनरी टु फस्ट लेडी’ विश्वचर्चित प्रकाशनगृह पेन्गुइन र्‍यान्डम हाउस इन्डियाबाट अंग्रेजी माध्यममा सन् २०२१ मा प्रकाशित भयो । देशमा कोरोना संक्रमणका कारण हुन सक्छ, पुस्तकको त्यति चर्चा भएको छैन ।

वास्तवमा पुस्तक पढ्नलायक छ । पहिलो त यो एक जना जनयुद्धकी सहयात्रीले लेखेकी छन् । अर्को, हिसिला आफैंमा जनयुद्धकी पहलकर्ता महिलामध्ये एक हुन् । बाबुराम भट्टराईकी जीवनसंगिनी पनि भएकाले जनयुद्धको तयारी, जनयुद्धकाल, शान्तिप्रक्रिया, माओवादी आन्दोलनमा उतारचढाव, उनी र उनका जीवनसाथीले किन र कसरी मार्क्सवाद नै परित्याग गरे भन्ने तथ्यलाई उनको पक्षबाट सरल, स्पष्ट र सजीव रूपमा उतारिएको छ ।

किताब वास्तवमा आत्मकथा हो । ३४६ पृष्ठको पुस्तकमा हिसिलाले आफ्नो बाल्यकाल, बुबा धर्मरत्न यामीको पारिवारिक, राजनीतिक, सामाजिक भूमिकाबारे ३८ वटा उपशीर्षकमा प्राय: सबैमा प्रशंग समावेश गरेकी छन् । काठमाडौंको एक सचेत, आर्थिक रूपमा सम्पन्न परिवार, मन्त्री बनिसकेका र राणाविरुद्धको आन्दोलनमा सामेल धर्मरत्न यमीकी छोरी हुन् हिसिला । १८ वर्षको वयमा बाबुरामसँग भेट हुँदा उनले हिसिलालाई ‘भविष्यमा के बन्छ्यौ ?’ भनी सोधेको प्रसंगबाट किताब शुरु हुन्छ । पहिलो अध्ययायको शिर्षक नै ‘ह्वाई ह्याभ एन एम इन लाइफ’ छ । पुस्तक ‘शुरुवात’, ‘जनयुद्ध’ र ‘नयाँ सुरुवात’ गरी ३ भागमा लेखिएको छ । किताबमा हिसिलाको औपचारिक शिक्षा–यात्रा, बाबुरामसँगको भेट, प्रेम–विवाह, जनयुद्ध तयारीदेखि विधिवत अन्त्य, शान्तिप्रक्रिया, पुष्पकमल दाहाल–बाबुरामबीचको अन्तर्विरोध हुँदै पार्टी अनि सभासद्बाट राजीनामा, नयाँ शक्ति, जनता समाजवादी पार्टी निर्माणसम्मका राजनीतिक, वैचारिक घटना, अन्तर्विरोध र बाबुरामको बौद्धिक क्षमताको वर्णन गरिएको छ ।

माओवादी आन्दोलनमा सहभागि भएपछि भोग्नुपरेका असहजता, असमझदारीलाई उच्च प्राथमिकताका साथ व्याख्या गरिएको छ । पार्टीभित्र पढेलेखेको व्यक्ति बाबुराम र हिसिलाले बुर्जुवा भनेर खेप्नुपरेको आरोप, मानुषीलाई उच्चस्तरीय शिक्षा दिन झेल्नुपरेका व्यवधान, ‘जनयुद्ध’ थाल्दा आफूले बनाएको घर छोड्नुपर्दाको पीडा र त्यो बेला भारतमा बस्दा डेरा खोज्दाका झमेलासम्मलाई समेटिएको छ । हिसिलाले प्रचण्डलाई गतिशील, बहिर्मुखी, कार्यकर्ताको भावना बुझ्ने र बाबुरामलाई पढेर वा जानकारी पाएर दिएका सूचना वा धारणालाई आफ्नो बनाई कार्यकर्ताबीच प्रस्तुत गर्न सक्ने व्यक्तिका रूपमा अघि सारेकी छन् । बाबुरामलाई बौद्धिक, सर्वज्ञाता तर अन्तरमुखी, कार्यकर्ताको भावना बुझ्न नसक्ने व्यक्तिका रूपमा प्रस्तुत गरेकी छन् ।

प्रचण्ड र बाबुराम एकअर्काका प्रतिस्पर्धी र विपरीत भनेर समेत उनले चिनाएकी छन् । तर, जनयुद्धलाई सञ्चालन गर्नेदेखि शान्ति प्रक्रियामा सहज तरिकाले अवतरणसम्म बाबुरामको वैचारिक र राजनीतिक क्षमताले काम गरेको सगर्व उल्लेख छ । रमाइलो विषय त २०५२ साल माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको ४० बुँदे, २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनको ‘महान् अग्रगामी छलाङ : इतिहासको अपरिहार्य आवश्यकता’, रोल्पाको गैरीगाउँमा २०६० सालमा बसेको केन्द्रीय समिति बैठकको ‘एक्कासौं शताब्दीमा जनवादको विकासबारे’ र २०६२ सालको असोज १८-२२ सम्म बसेको चुनवाङ बैठकको चर्चित ‘राजनीतिक एवं संगठनात्मक प्रस्ताव’ दस्तावेजको मुख्य हकदार बाबुराम रहेको भनिएको छ ।

उनले प्रचण्डको प्रशंसा पनि गरेकी छन् । जनयुद्ध सुरु भएपछि भारतमा रहँदा केन्द्रीय कार्यालयमा प्रचण्डको सहयोगी भएका बेला सहज सहकार्य भएको हिसिलाको भनाइ छ । कार्यकर्तामा सहज पहुँच, मिलनसार र गरम स्वभावले आफू प्रभावित भएको स्विकारेकी छन् । प्रचण्ड एकदमै करिस्म्याटिक रहेको हिसिलाको धारणा छ । प्रचण्डमा नेतृत्वमा हुने धेरै विशेषता रहेको, तर उनी षड्यन्त्रकारी पनि हुन् भनेर हिसिलाले द्विविधात्मक चित्रण पुस्तकमा गरेकी छन् । ‘इनोसेन्स भर्सेस कन्स्पिरेन्सी’ शीर्षकमा प्रचण्डलाई षड्न्त्रकारी र आफूलाई निर्दोष भनेर समेत उनले उल्लेख गरेकी छन् ।

हिसिलाले पुस्तकमा सबैभन्दा बढी मन नपराएका पात्र हुन्, मोहन वैद्य ‘किरण’ । किरण जडसूत्रवादी मार्क्सवादी रहेको उनको धारणा छ । किरणले मार्क्सवादलाई जडका रूपमा बुझेको र यसलाई शास्त्रीय रूपमा प्रयोग गर्नुपर्ने, सिद्धान्तभन्दा एक इन्च यताउता हुन नहुने भनी उनले अनावश्यक अन्तर्विरोध मच्चाएको हिसिलाको आरोप छ । बाहिरी रूपमा प्रचण्ड र बाबुरामबीच अन्तर्विरोध देखिए तापनि आन्तरिक रूपमा बाबुराम र किरणबीच वैचारिक र राजनीतिक भिन्नता रहेको स्वीकारोक्ति हिसिलाको छ ।

२०५५ सालको चौथो विस्तारित बैठकमा पेस भएको दस्तावेजको मुख्य सार किरणको थियो । र, त्यसबेला ‘आधार इलाका निर्माण, नेतृत्व केन्द्रीकरण’ जस्ता प्रस्ताव पारित भएकाले प्रचण्ड पार्टीमा शक्तिशाली बन्न पुगेको हिसिलाको तर्क छ । हिसिलाले बाबुरामसँगको आफ्नो सम्बन्धबारे पनि पुस्तकमा उल्लेख गरेकी छन् । ‘माई रिलेसनसिप विथ बिआरबी, कम्प्लिमेन्ट्री एन्ड कन्ट्राडिक्टरी’ शीर्षकमा उनले आफूहरूबीचको अन्तर्विरोधबारे भने खासै चर्चा गरेकी छैनन् । अन्य शीर्षकमा भने अन्तर्मुखी र बहिर्मुखी स्वभावको टकराव स्पष्ट बुझ्न सकिन्छ । जब पार्टीभित्र अन्तर्विरोध देखापर्थ्यो, हिसिलाकै भाषामा बाबुरामले उनलाई बोल्न नदिने गरेको कुरा पुस्तकमा छ । उनले यतिसम्म भनेकी छन्, ‘मैले भित्तासँग बिहे गर्न पुगेछु ।’

पुस्तकमा हिसिलाले जति विषयवस्तु प्रस्तुत गरेकी छन्, ती तथ्यमा आधारित छन् । सबैभन्दा राम्रो पक्ष जनयुद्धका क्रममा भएका गतिविधि, उत्पीडित वर्ग, क्षेत्र, लिंगका युवायुवतीहरूको सहभागिता, उनीहरूको त्याग, बलिदान र समर्पणको खुलेर प्रशंसा गरिएको छ । जनयुद्धले नामेट पारेको लिंगीय, क्षेत्रीय र सामाजिक विभेदको व्याख्या पनि गरिएको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको मुख्य आधार जनयुद्धलाई मानिएको छ । जनतामा विकास भएको विद्रोही चेतना जनयुद्धले ल्याएको भनिएको छ । यसरी सापेक्षित रूपमा जनयुद्धका सबल पक्षलाई उजागर गरिएको छ । जनयुद्धको सही मूल्यांकन गर्न कुनै कञ्जुस्याइँ गरिएको छैन । यो असाध्यै सबल र माओवादीका लागि सर्वस्वीकार्य हो ।

तर, हिसिलालाई मन नपरेका र राम्रा–नराम्रा पक्षबारे पुस्तकमा जानाजान नजरअन्दाज गरिएको छ । हिसिलाको आत्मकथा भए पनि पुस्तकलाई बाबुराम भट्टराईको प्रशंसाको पुलिन्दा भनिदिए हुन्छ । त्यसैले जनयुद्धको एकपक्ष बाबुराम भट्टराई हुन् । र, हिसिलाकै भनाइ सापटी लिने हो भने पनि माओवादी आन्दोलनले यो दुर्गति बेहोर्नुको कारण ‘बाबुरामको कार्यदिशालाई प्रचण्डले स्विकारेकाले हो’ भन्ने निष्कर्ष निकाल्नुपर्छ । हिसिलाको यो अभिव्यक्ति स्विकार्न सकिँदैन । यदि यो सही हो र चुनबाङ बैठकमा पारित प्रतिवेदन बाबुरामले तयार पारेका हुन् भने हिसिलाले एउटा वाक्यांश कतै उल्लेख गरेकी छैनन् । गणतन्त्रबारे लेखिएको त्यो वाक्य हो, ‘...निश्चय नै यसप्रकारको गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरूले बुर्जवा गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारावर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्नेछ ।’ वास्तवमा माओवादी आन्दोनको यो हविगत हुनुको मुख्य कारण यही वाक्यांशको अपव्याख्या र नेतृत्वको छद्म चरित्र हो ।

त्यसै दस्तावेजमा हेडक्वार्टरलाई जे पनि गर्न सक्ने अधिकार दिइएको थियो । सधैंभरि प्रचण्डलाई केन्द्रीकरणका नाममा दिइएको अधिकारले आफूहरू निरीह भएको भन्दै अन्तर्संघर्ष गर्ने बाबुरामहरूले यस्तो निर्णयको किन विरोध गरेनन् ? यही सम्पूर्ण अधिकार हेडक्वार्टरमा सीमित गरिएकाले १२ बुँदे समझदारी र बृहत् शान्ति सम्झौताबिना कुनै सम्मेलन, भेला वा बैठकबाट निर्णय गर्दा बाबुरामहरूले जनवादको कुरा किन नउठाएको भन्नेमा पनि पुस्तक मौन छ ।

किरणको पटनाको गिरफ्तारीलाई पनि यहाँ सामान्य मानिएको छ । किरण स्वयंले आफ्नो गिरफ्तारीमा संशय व्यक्त गरेका छन् । ‘जनयुद्ध’ सुरु गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी

(माओवादी) मा अघोषित तीन सदस्यीय कोर टिम बनाइएको थियो- प्रचण्ड, किरण र बादलको । यो विषय यहाँ लुकाइएको छ । पुस्तकमा जनयुद्धकालीन सांगठानिक संरचना, प्रचारप्रसारलाई जस्ताको त्यस्तै राखिएको छ । विद्रोही शक्तिले केन्द्रीय सत्ता कब्जा गरिसकेपछि कैयौं प्राविधिक कुरालाई सार्वजनिक नगरिएको पाइन्छ । यत्तिको इमानदारी हिसिलामा देखिँदैन ।

जनयुद्ध सुरु भएको केही महिना प्रचण्ड र बाबुराम पनि देशमै थिए । जब देशमा तत्कालीन सरकार र सत्ताले अन्धाधुन्ध नेता, कार्यकर्ता र जनताको हत्या गर्न थाल्यो अनि नेतृत्वको सुरक्षाको प्रश्न निकालिएर २०५३ कात्तिक ९ को केन्द्रीय कार्यालयको विशेष परिपत्रमा दिइएको निर्देशनलाई अध्ययन गरियो भने जनयुद्धमा राजनीतिक, वैचारिक र सांगठानिक समस्या सृजना गरिएको थियो भन्ने बुझ्न सकिन्छ । केन्द्रीय सामन्तवाद र त्यसलाई टेको लगाउन आएको भारतीय विस्तारवादविरुद्ध संघर्ष गर्ने विषयलाई पार्टीले उक्त सर्कुलरपछि छाडिएको सन्दर्भ पुस्तकले बोल्दैन । सर्कुलरसँगै मुख्य नेतृत्व भारतमा बस्दै आएको थियो । प्रचण्ड आफैंले ८ वर्ष भारत बसेको स्विकारेका छन् । तर, यो तथ्य पुस्तकमा छैन ।

सामान्य नेपाली महिलाले जनयुद्धमा खेलेको भूमिकाबारे पनि पुस्तकले केही भनेको छैन । पार्टीको केन्द्रीय तहमा रहेर काम गरेका जयपुरी घर्ती, सरला रेग्मी, उमा भुजेल, ओनसरी घर्ती, कमला रोका, लक्ष्मी श्रेष्ठहरूबारे पनि खासै चर्चा छैन । हिसिलाजीलाई मनपर्ने केही महिलाको प्रसंग भने उठाइएको छ । तर बिन्दु, स्वप्नशीला, कल्पना, अनुपम, समीक्षा, गौरीकला विकजस्ता महिलाको कुनै सन्दर्भ उल्लेख छैन । दलित, जनजाति, मधेसी, उत्पीडित क्षेत्रका प्रसंग प्रसंगवश मात्र आएका छन् ।

प्रकाशित : भाद्र ५, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

समुद्र किनारमा एक कुटी

समुद्रको तिर्खाले विकास, मनोरञ्जन, चहलपहलका हाम्रा सपना कुँजिएजस्ता लाग्छन् । तर, समुद्र किनारमा पनि जीवन ऐतिहासिक रुपमै सजिलो थिएन । र, अहिले पनि छैन ।  हुँदाखाँदाको यथार्थ नहेरेर कागको पछि लाग्नुजस्तै हो– समुद्रतिरको दौड । समुद्र ! समुद्र !! भन्दै किन दौडन्छन् मानिसहरु ? लेखक सोध्छन् :
सौरभ

शीर्षक परिचयथेग्नै गाह्रो हुनेगरी सामान लादिएका अजंगका मालवाहक पानीजहाजहरू बगालै यात्रा गरिरहेको देखिने, तर चौडाभन्दा चौडा बगरको वारि नै ताड र नरिवलका रूखहरू तल ठिंग उभिएको कुटीलाई ‘नेपाल’ भनेर बुझियो भने यो लेख निष्चय नै स्पष्ट हुनेछ । 


लेखोट मूलतः समकालीन राजनीति र कूटनीतिसँग सम्बन्ध राख्दैन । सुरुमा ‘समुद्री किनार’ उपशीर्षक अन्तर्गत दिइएको एउटा प्रसंग राजनीतिकजस्तो लागे पनि त्यो सन् १९४७ भन्दा अघिको अर्थात् इन्डिया बन्नुपूर्वको हो, प्राज्ञिक भइसकेको । यति बेलालाई रोचक होला, तर अन्य सन्दर्भका निम्ति अर्थहीन । र, समुद्रको अर्थ समुद्र मात्रै होइन, त्यहाँको पानीको अजस्र स्रोत हिमाल पनि हो । कुरा सुरु गरौं ।

समुद्री किनार

ब्रिटिसहरूले इन्डिया छोड्ने कुरा नेपाललाई थाहा थियो, इन्डियनहरूलाई भन्दा पहिला– पुरुषोत्तमशमशेर राणाले उहिल्यै एकदिन गफका सिलसिलामा भनेको सम्झना हुन्छ, ‘हामी इन्डियालाई सबैतिरबाट खुला पनि छोड्न चाहँदैनौं, यसैले पूर्वी भाग (अहिलेको बंगलादेश) तिरको भू–भाग तिमीहरू चाहन्छौ भने भन हामी सकारात्मक छौं भनेका थिए अनौपचारिक रूपमा अंग्रेजहरूले नेपालका शासकहरूलाई । त्यसो भन्न उनीहरू प्रतिनिधिमण्डल नै बनेर आएका थिए, तर हाम्रा शासकहरूले आँट गरेनन् ।’

आँटका दुई अर्थ लाग्छ । पहिलो- मोहम्मद अली जिन्नाले मुसलमान–बहुल इलाकामा पाकिस्तान हुनुपर्छ भनेकाले त्यो भूभाग नेपालको हुनु सम्भव थिएन । दोस्रो- धर्मभीरु राणाशासकहरू सनातनधर्मी नेपाललाई मुसलमान–बहुल इलाकासँग जोडेर यसको परम्परालाई अबरुद्ध गर्न तयार थिएनन् ।

समुद्रसँग जोडिने एउटा अपूर्व अवसरलाई गुमायो नेपालले- बहुसंख्यकले बुझ्ने कुरा यही नै हो यतिबेला । द्रुतगतिमा विकास हुने, विश्वसँग सम्पर्क गर्न सकिने एउटा बाटो बनेन- विकासवेत्ता र अर्थशास्त्रीहरूले भन्ने कुरा यही नै हो यतिबेला ।

तर- सन् १८५४ मा अमेरिकाका म्याथ्यु पेरीले आक्रमण गरेर आफूसँग व्यापार गर्न बाध्य गराएका थिए जापानलाई ।

टमस रोय समुद्रकै बाटो उत्रेका थिए इन्डिया । उनले सन् १६१२ मा मुगल बादशाह जाहँगिरसँग गरेको वाणिज्य सन्धी नै इन्डियालाई उपनिवेश बनाउने कार्यको थालनी थियो ।

भास्को द गामा समुद्रबाटै गोवा उत्रेका थिए, इन्डियालाई पोर्चुगिज उपनिवेश बनाउने अभियानको थालनीमा । क्याप्टेन कोलम्बस अमेरिकालाई स्पेनिस उपनिवेश बनाउन समुद्री बाटोबाटै गएका थिए दोस्रोपल्ट । संसारमा जति पनि उपनिवेश बने ती शतप्रतिशत भनेजस्तो समुद्री बाटोबाट बने ।

प्रश्न पहिलो- समुद्रसँग जोडिएको भए तिमीले आफ्नो सार्वभौमसत्ता हजारौं वर्षदेखि अक्षुण्ण राख्न सक्थ्यौ ?

सम्पदा

नेपालमा सुन पाउनु आयरल्यान्डमा सर्प फेला पार्नुजस्तै हो- कर्क पेट्रिक, हेमिल्टन, ओल्डफिल्ड कसले लेखेको हो ? यतिबेला ठीक सम्झना छैन, तर सन् १९५० भन्दा अगाडि नै अंग्रेजले लेखेको चाहिँ हो ।

सन् १९७० को दशकमा क्याम्बोडियामा २० लाखको ज्यान लिने खमेररुजको शासन चल्यो । त्यसको मुख्य इलाका थियो ‘पालिन’ । पालिन विशेषगरी सूर्यास्त माणिकका निम्ति संसारको आँखी बनेको ठाउँ हो । यही सूर्यास्त माणिक खमेररुजको आम्दानीको मुख्य स्रोत थियो । र, नै त्यसलाई उसले सबैभन्दा बलियो पकडमा राख्यो । र, पश्चिमा व्यापारीका निम्ति सबैभन्दा बलियो बिचौलिया पनि उही रह्यो अर्थात् खमेररुज पालिनमा पश्चिमा व्यापारीहरूको मुख्य एजेन्ट थियो ।

१९७० कै दशकमा कंगो विश्वको सबैभन्दा ठूलो तामा उत्पादक देश थियो (यति बेला चिले छ), राष्ट्रपति थिए– मोबुतु सेसे सेको । र, तामा उत्पादन हुने इलाका कटांगामा दर्जनौं पटक ठूलाठूला विद्रोह भए । तामा निर्यात हुने मुख्य देश थियो पूर्वमालिक फ्रान्स ।

विद्रोह गराएर मोबुतुलाई भाउ मिलाउन दबाब दिनु, कुरा मिलेपछि फेरि पदमा थामेर लाभ बाँडफाँड गर्नु आयातकर्ताहरूको संस्कृति नै थियो, मारमा थिए त कंगोका जनता ।

सियरालियोनमा हीरा टिप्न हिँडेका हजारौं हातहरू काटिनुको कारण यही थियो । स्पेनिस पिज्जारो र उसका अनुयायीहरूले एजटेक र माया सभ्यता सिध्याएकै सुन लुट्नका निम्ति हो । सेसिल रोड्स र उनका अनुयायीहरूले दक्षिण अफ्रिकी भूभागहरूमा अश्वेत शासन लादेकै सुन, क्रोमियम, प्लेटिनियम र हीराका निम्ति हो । मध्यपश्चिममा संसारको पकडको कारण नै त्यहाँको पेट्रोलका निम्ति हो ।

निश्चय नै सुन पाइन्छ नेपालमा, तर दक्षिण अफ्रिकाको प्रतिटन ढुंगा १५ ग्राम वा इन्डोनेसियाको इरियन जायाको प्रतिटन ढुंगा ३० ग्रामको अनुपातमा चाहिँ होइन, इन्डियाको कोलारको प्रतिटन ढुंगा ०.३ ग्रामभन्दा पनि धेरै तल ।

प्रश्न दोस्रो- तराईमा सर्पजस्तै सुन छ्याप्छ्याप्ती पाइने भए के तिमी यति सुरक्षित रहन सक्थ्यौ ?

सैपाल–सगरमाथा

यो देशमा छ नै के ? सधैं भिरालोबाट माटो बगिरहन्छ । परियोजना मागेर ल्याउनुपर्छ । त्यो हरिसिद्धि इँटा–टायल कारखाना, बाँसबारी छाला जुत्ता कारखाना पनि वीरेन्द्रको चीन यात्रामा उपहारको रूपमा मागेर ल्याएको हो- दरबारका एक अवकाशप्राप्त सचिवले एक गफमा भने । वीरेन्द्रका सचिव थिए उनी । गफको समय वीरेन्द्रका अन्तिम दिनहरू थिए ।

आफ्नो देशको क्षमताप्रति विश्वास नभएकाहरूलाई कर्मचारी बनाएपछि बन्छ पनि के ? लाग्यो पंक्तिकारलाई । (‘यो देशमा के छ र ?’- भनेर २०१५ सालका मन्त्री सूर्यप्रसाद उपाध्यायले दिएको अभिव्यक्ति, आज सम्झना नभएको कुनै पुस्तकमा पढेर पंक्तिकारलाई उहिल्यै पनि लागेको थियो- आफ्नो देशप्रति विश्वास नभएको व्यक्ति मन्त्री भएपछि हुन्छ पनि के ?)

यो ‘सधैं माटो बगिरहने भिरालो’ भनेको विश्वको कान्छो पर्वतशृंखला अर्थात् हिमालय हो । गण्डकी नदीभन्दा कान्छो मानिएको यो हिमालय पनि उठ्दा उठ्दा ३० हजार फिट पुग्न लागिसक्यो । सगरमाथाको टुप्पोमा पुग्नेहरू भन्छन्- बेग्लै संसार देखिन्छ त्यहाँबाट, चारैतिर हिउँले पुरिएका शिखरहरूको विशाल फैलावटबाहेक केही देखिँदैन- कति हिमाल कति !- एकताका खुबै नाम कमाएका सगरमाथा आरोही सुङदरे शेर्पाले यस्तै भनेका थिए पंक्तिकारलाई । त्यसपछि पनि भेटिए कैयन सगरमाथा आरोही ।

तर, चंगेज खाँ र कुब्लाई खाँहरू पसेनन् नेपाल आक्रमण गर्न किनभने उनका सबैभन्दा महत्त्वपूर्ण युद्ध उपकरण घोडानिम्ति अनुकूल थिएन, त्यत्रो विशालकाय हिमालयको लस्कर । आएको भए चंगेज र कुब्लाई खाँको हातपर्ने थिए यहाँका त्यतिबेलाका लगभग २५–३० लाख नागरिकहरू, जसलाई दास बनाएर बेच्न सकिने थियो मंगोलिया, मध्यएसिया र दक्षिण एसियामा । उनीहरूले अनगिन्ती पटक दोहोर्‍याएर हत्या नगरेको अवस्थामा पनि चंगेज खाँले आक्रमण गरेको इलाकाका कुनै नागरिकलाई बाँच्न पाउने अधिकार दिएनन् ।

अशोकले देखेनन् मगधबाट हेरेको ‘दूरबिन’ले नेपाल तराईको घना जंगलभित्र मानिसहरू नै । त्यहाँबाट चिसो उत्तर लाग्न उत्साह भएन प्रचण्ड गर्मीमा बसेका उनलाई । र, चिसो उकालोले नरोकेको भए अर्को भीषण रक्तपात नहुने थिएन । आखिर उडिसाको कलिंगमा उनले रगतको खोलो बगाएकै हो- त्यो देखेर विरक्तिँदै बौद्ध धर्मावलम्बी हुनलाई । पंक्तिकारले त्यो ढिस्कोमा उभिएर उनको आँखा कहाँसम्म पुग्यो होला ? एउटा काल्पनिक आकलन गरेको पनि हो ।

तिमीलाई अझै पनि लाग्छ, समुद्र किनार भइदिएको भए म सम्पन्न र सुखी हुन्थेँ ? किनारमा भएको भए तिमीलाई सयौं माछाका स्वाद थाहा हुने थियो । तर, पुर्खाले बेहोरेका सुनामीका अनगिन्ती कथा सुनाइरहन्थ्यौ । अनि आफू भने समुद्री आँधी र सुनामीको एउटा समाचार बनिरहन्थ्यौ ।

यद्यपि पाँच फिट हिउँमा डुबेरै बाटो तय गरेका हुन् चंगेज खाँका सेनापति सुबुताई र मुखलाईले, तर त्यो अपवाद हो । बेलाबेला हिउँ पर्ने फ्रान्सका नेपोलियन पनि हिउँले कठांग्रिएर रुसविरुद्धको आक्रमणबाट फिर्ता भएका हुन् । यद्यपि सिमोन बोलिभारले हिजो मात्रै एन्डिजमा पर्ने पिस्बाको हिउँ नछिचोलेका होइनन्, स्वाधीनताका निम्ति भएको युद्धकालमा । त्यो पनि अपवाद हो ।

रेवती

दासप्रथा थियो- चन्द्रशमशेरले उन्मूलन गरे, इतिहासले साबित गरेको कुरा हो । कमैया थिए, हलिया थिए, बालीघरे थिए- अहिलेकाहरूले निरन्तर भनिरहने कुरा हो ।

रेवती- कमारी, दास हुन् पंक्तिकार स्वयंले देखेको । डल्ली–डल्ली थिइन्, गोरी थिइन्, निरन्तर हाँसिरहने, लज्जालु स्वभावकी थिइन्, ७० वर्षमाथि पुगिसक्दा पनि २०३५ तिर दास युगकी अन्तिम अवशेषजस्तै थिइन् तिनी । मानौं त्यो युगकी क्युरिओ थिइन् । आँखामा गाजल कहिल्यै छुट्दैनथ्यो ।

तराईतिर दिएकी छोरी र त्यस छोरीबाट उत्पन्न सन्तान पछि लगाएर बुवाको मावलीघर कालिकास्थानबाट ओर्लिएकी थिइन् ती हाम्रो घरसम्म । यो दृश्य पंक्तिकारले सम्झेको मध्ये सबैभन्दा पछिल्लो हो । ती छोरीका बाबु उनी त चिन्दी हुन् तर खोलिनन् यस्तो कहिल्यै । कुनै सन्तानका बाबुको हुलिया खोलिँदैनथ्यो पनि त्यस्तो दासका । पंक्तिकारकी आमाको भनाइ थियो- दास प्रथा उन्मूलनपछि पनि पुरानो मालिकको घर छोड्न नचाहेकीले रहेकी हुन् उनी ।

प्रश्न तेस्रो- सधैं भिरालोबाट माटो बगिरहने हिमाल नउभिइदिएको भए र समुद्रबाट पनि धेरै पर नभइदिएको भए हाम्रै कुनै वंशावली हुन्थ्यो ? हामी स्वयं रेवतीहरू भइसक्थ्यौं ।

साम्राज्य

सामागाउँ (उत्तरी गोरखा) का एक वृद्धले भने- रुई भोटमा थियो हाम्रो घर । उतिबेला चीनले तिब्बत लिँदा ‘यस्तो कम्युनिस्ट शासनमा बस्न हुँदैन’ भनेर यता नेपाल आइयो । अहिले उता सुखैसुख छ, यता दुःखैदुःख छ । दक्षिणका माम्लामा पनि यस्तै टिप्पणीहरू बेलाबेलामा सुनिन्छन् ।

नाम लिँदा होच्याएजस्तो हुनेछ, यसैले कुनै पनि नाम नलिईकन यति भन्न बाध्य छु- हाम्रा सयौं राजदूतहरू यतिबेला डेढ अर्ब जनसंख्या पुग्न लागेको चीनका नागरिक भएका भए- ती सामान्य निजी कम्पनीको क्लर्क हुनका निम्ति पनि पसिना चुहाइरहेका हुन्थे ।

नाम नलिईकन यति मात्र भन्न बाध्य छु, सयौं मन्त्रीहरू हाम्रा यतिबेला सवा अर्ब जनसंख्या पुग्न लागेको इन्डियाका नागरिक भएका भए, होच्याएको आरोप नलागोस् ती अत्यन्तै तल्लो पदमा बहाल हुनका निम्ति बिन्ती भाउ गरिरहेका हुन्थे ।

नाम नलिईकन यति मात्र भन्न बाध्य छु- सरकारी छात्रवृत्तिमा विदेशबाट पढेर आएका आजका कैयनले त्यो छात्रवृत्ति पाउन सम्भव हुन्थ्यो होला ? आज विशेषज्ञ हुनलाई !

न नाम चलेको लेखक, न चिनिने चित्रकार, कलाकार, न संगीतकार, न गायक, न ठूलो व्यापारी, न योजनाकार, न अर्थशास्त्री, फगत चना पसले, मादले र गोफ्ले मात्र हुन्थे ती अनुहारहरू ।

प्रश्न चौथो- तिमी ठूलो साम्राज्यको नागरिक भएको भए के तिमीले प्रतिस्पर्धा गर्नुपर्ने नागरिक यति नै हुन्थ्यो ? र, आज तिमीलाई मिलिरहेको ठूलो भाग पाउन सम्भव थियो ?

ईर्ष्याको सीमा

तपाईंहरू त उतिबेलै काठमाडौंवासी हुनुभएछ नि ! हामीचाहिँ किन अक्करे भीर खोज्दै पहाडतिर लागेछौं ?- एक जनाले प्रश्न गरे ।

एकाएक आएको प्रश्नले बरु पढ्नेलाई तिरिमिरि होला पंक्तिकारलाई भने अलमल्याएन ।

सबैभन्दा पहिला कोही शत्रुले कतैबाट फेला पार्ने सम्भावना थिएन, त्यो मानिसले मानिससँगै लुकेर हिँड्नुपर्ने युगमा । मुस्ताङका गुफाहरू यसैका प्रमाण हुन् । चेपाङहरू आज पनि कतिपय ओढारमा बसिरहेका समाचार आउँछन् । उनले पनि त्यस्ता कैयन् समाचार बनाएका होलान् ।

प्रशस्त चरा, जनावर, कन्दमूल, फलफूल थिए खानलाई । खेती गर्नुपर्ने दरकारै थिएन । र, औलो, टाइफाइड जस्ता रोगहरूको न डर थियो, न यस्तो छ भन्ने नै थाहा थियो । पानीको मूल त्यहीं नै भएकाले रोगव्याधिको त्रास भएन कहिल्यै । सर्प, बिच्छी, बाघ, हात्ती आदिको पनि डर थिएन । डर थियो त एउटै कुराको- अत्यन्त एकलासको । त्यही एकलासको नाम हो भूतप्रेत, त्यही एकलास कारण हो ‘सामानिज्म’ को ।

मीठो भाषामा भन्दा- जीवन शान्त थियो, अलि नपच्ने भाषामा भन्दा- जीवन गतिहीन थियो ।

प्रश्न पाँचौं- आफू गतिहीन भएपछि तिमीले गर्दा मचाहिँ अविकसित भएँ भन्न कसरी मिल्छ ?

यो लेखको एउटा विशेष अर्थ यही प्रश्नमा पनि निहित छ- ऊ मात्रै होइन हामी सबै सुरक्षित थियौं, तर गतिहीन । हिजो त्यो शान्त जीवन सुन्दरतम कुरा थियो । आज गतिशील विश्वसँग तुलना गर्दा आफैंलाई विगत र वर्तमान बोझजस्तो भएको छ । बाँकी विश्व अशान्त थियो निश्चय नै, त्यसैले गतिशील थियो । र, जब हिलोमा उम्रेको कमलजस्तै अशान्तिमा फुलेको उसको गतिशीलता आफ्नो आँगनसम्म आइपुग्यो- हामी प्रतिक्रियात्मक भयौं, प्रतिक्रियात्मक छौं र प्रतिक्रियात्मकता नै हाम्रो नियति भएको छ ।

कालपात्र

२०२८ को वर्षबाट तीन चरण देखेको छु- नेपालको गृह निर्माणको । काँचो इँटले बनेका र छ्वालीको छाना हालेका घरहरूका लस्करहरू ढले र तिनका ठाउँ पाको इँटले बनेका मुन्डन घरहरूले लिए ।

२०४० को दशक लाग्दा/नलाग्दै ती घरहरू पनि लडे र तिनका ठाउँ कंक्रिटका पिलर र ढलानले बनेका घरहरूले लिए । २८ देखि आज ७८ भन्नाले ५० वर्षदेखि निरन्तर घर, घर र घर बनिरहेको छ पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म । हामीलाई एउटा पक्की घरको भयानक अभाव रहेछ, पक्की घरको भयानक तिर्सना रहेछ । हामी औताएका, रन्थनिएका र काकाकुल भएका रहेछौं एउटा पक्की घरका निम्ति । यो क्रम अझै मत्थर हुने देखिँदैन ।

एउटा राजनीतिक पार्टीले ५० को दशकको सुरुतिर ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने नारापछि धमाधम सडकहरू बने । र, अब ठूलाठूला पक्की राजमार्गहरू बन्न थालेका छन् । हामीलाई सडक पनि उत्तिकै चाहिएको रहेछ । लगभग २० वर्षदेखि त्यो कायम छ । र, त्यसको क्रम पनि कम हुने देखिँदैन ।

यी दुवैको गति मत्थर भइसक्दा शिक्षा र स्वास्थ्यको तिर्खा उकालो लागिरहेको हुनेछ- बोल्नलाई धेरै नै हतार गर्ने तिम्रो चुच्चो बिजुलीको गतिमा चलायमान हुनेछ भन्ने म जान्दछु ।

प्रश्न छैटौं- तिमी आफ्नो उत्पादन कहिले र कुन शताब्दीमा पुगेर गर्छौ ? त्यसमा, अनुसन्धानमा आधारित विकास कुन शताब्दीमा पुगेर जोड्न थाल्छौ ? जसलाई देखाउन चाहन्छौ, ती सबै अर्को ग्रहमा बसाइँ सरिसकेपछि ?

हिमाली चिसा मानिसहरू

जति पनि छ नुनपानी हालेर गोडा डुबाउने बाटा । आखिर हामी यहाँ के सेवाका निम्ति बसेका ?- होटल सञ्चालिकाले भनिन् टुकुचेमा । झन्डै बाह्र घण्टा हिँडेर पुगेको ठाउँमा त्यो अप्रत्याशित उत्तरले दिएको खुसी अपार थियो ।

मोजा लगाएको गोडाचाहिँ ओछ्यानमा नराखिदिनोस् है ?- भोजपुरका होटल सञ्चालकले भने । नभन्दै उनले दिएको शयनकक्ष कतै छुँदा पनि दाग लाग्ला जस्तो थियो ।

महिला थकाली हुन्, पुरुष नेवार हुन् । यी दुवै यायावर व्यापारीका उत्तराधिकारी हुन् । उनीहरूलाई भित्रैदेखि थाहा छ- यात्रुका कठिनाइहरू कस्ता हुन्छन् ? कस्तो अत्यन्त सानो सुविधाले हृदयदेखिको खुसी दिन्छ ?

यो त्यो बेलाको कुरा हो, जतिबेला होटल होइन, व्यक्तिका घरमा बास माग्नुपर्थ्यो यावत् पहाडभरि । यस्तै एक–दुई फाटफुट होटल भेटिए मात्रै हो । ब्राह्मण वा अन्य जातिका होटल भेटिए कालो ध्वाँसोको यस्तो संसार हुन्थ्यो- कुनै घर हो या अन्धमुस्ठी गुफा हो ? पत्तै नहुने । खानै दिगमिग, सुत्नै दिगमिग । त्यसको विपरीत पश्चिमा ट्याभर्न र इन पाइला–पाइलामा हुने संस्कृतिको सुरुआत भएको सदियौं सदियौं भइसक्यो । अहिले होस्टल, बी एन्ड बी, मोटलको मारामार छ उतातिर । यो उदाहरण मात्रै हो होटेलको, मूल सन्दर्भ कुनै पनि व्यवसायको हो ।

प्रश्न सातौं- आफ्नो उत्पादनको निम्ति धनी हुनुपर्‍यो । तर, धनी हुनलाई मुद्रामैत्री, बजारमैत्री, ग्राहकमैत्री आचरण छ तिम्रो ? त्यसले ‘न्यानोपन बोध’ गर्छ कहिल्यै तिम्रो व्यवहारले ? किनभने तिमी यायावर नै होइनौ । तिमी त पहाडमा जमेको जडभरत न हौ ।

नतिजा फेरि ईर्ष्या

चंगेज र अशोकले ‘दूरबिन’ ले हेरे, तर देखेनन् पहाडका जंगलभित्र कोही मानिस । सुन लुट्न सकिने, कुत बुझ्न सकिने, दास बनाउन सकिने केही सम्भावना रहेन, ती फर्किए ।

तर, दुई हजार वर्षपछि जब गुफामा लुकेको मानिस जंगलको किनारमा पुगेर हेर्‍यो- मानिसहरूले धान, गहुँ, नजाने अनेक नामका घाँसको खेती गरिरहेका रहेछन् । अन्न उब्जाइरहेका रहेछन् । अनेक घाँस फुलिरहेका रहेछन् । सुबिस्ताको जीवन रहेछ, दूध दिन छोडिसकेका अनेक पशु खोजेर हिँड्नै नपर्ने । त्यो जीवनप्रति लोभ लाग्यो, चौंचौं लाग्यो ।

तर, सधैं आकाशबाट फल झारेर खाइरहेको बानी, निहुरिएर माटो कोतर्न मन लाग्ने कुरै भएन । यता धान काटेर फसल भित्र्याइदिन आएको विहारीलाई चाहिँ भन्यौ- शरणार्थी ! तर, जब विदेशी धान खेतको मालिकले भन्यो- पसलबाट धान किनेर खान सकिने पैसा दिन्छु सोझै, कोकाकोलामा मुछेर भात खा ! बियरमा साँधेर घोटेको चन्दन खा ! तिमी ‘आशे’ भएर कुबेत र कतार लाग्यौ, कफनमा बाँधिएर फर्कनलाई !

यहाँ मानिस जेटी र जेटीए हुन्छ आफ्नो खेतीमा त्यो ज्ञान लगाउनलाई होइन, जागिर खानलाई । कृषिमा पीएचडी गर्छ आफ्नै खेती गर्नलाई होइन, जागिर खानलाई । अर्थशास्त्र र वाणिज्य पढ्छ आफ्नो व्यवसाय सफल बनाउनलाई होइन, जागिर खानलाई । इतिहास पढिहाल्यो भने आफूलाई चिन्न होइन, जागिर खानलाई । भूगोल पढ्यो भने धरातल चिन्न होइन जागिर खानलाई । जागिर अर्थात् कसै न कसैको नोकर, नोकर र नोकर नै हुनलाई । कतारोमा तलब थाप्नलाई ।

प्रश्न आठौं- तिमीले आफ्नो सीपको उपयोग आफ्नै लागि गरेर बाँच्ने कोसिस कहिले गर्‍यौ ? र, तिमीले टेकेको भार थाम्न नसकेर समयको हाँगा निहुरिने हो ? अर्थात् तिमी धनी भएको तिम्रो जीवनकालले देख्न के जरुरी छ ?

आँधी र हुरी

चीनले विगत २० वर्षदेखि भित्र्याइरहेको रद्दी प्लास्टिकमा एक्कासि प्रतिबन्ध लगायो, तर कराँची र बंगलादेशमा रद्दी जहाजहरू किनारा लाग्ने र त्यसलाई भत्काउने काम भइरहेकै छ । मलेसिया र इन्डोनेसियाका किनारमा रद्दी प्लास्टिक र आणविक फोहोरहरू फाल्ने काम भइरहेकै छ । यावत् अफ्रिकी समुद्री किनारका देशहरूमा फोहोरहरू छोड्ने काम भइरहेकै छ ।

प्रश्न नवौं- हो दुईपल्ट महामारीको वेग आयो आफूले नचाहँदा नचाहँदै पनि । यसको वेगलाई नियन्त्रण गर्न सकिएन । पूरै रोक्नु त धेरै परको कुरा । तर, खुला समुद्र किनार भएको भए वर्षको ३६५ होइन ३६७ दिन बलियो देशले फालेर जाने दुसाध्य व्याधि तल तिम्रो हालत के हुने थियो ?

बिहान र साँझ

समुद्र किनारमा उभिएर जब छाल र लहरहरू हेरिन्छ, जब सूर्य डुब्छ असाध्यै सुन्दर देखिन्छ, मनले अव्यक्त आनन्द बोध गर्छ । बगरमा मानिसहरूको चहलपहल भइरहन्छ, सुगम पनि हुन्छ आउन जान- मानिसहरू भन्छन् ।

प्रश्न दसौं- तर, जौ जस्तै लाग्दैनथ्यो होला तिमीलाई समुद्र किनार, ऋषिमुनिदेखि आधुनिक विज्ञानले समेत निरन्तर प्रशंसा गरिरहने, तर ५–७ दिन खाएपछि अमन हुने ? त्योसँग तुलना गर्दा जति खाए पनि अमन नहुने चामल र गहुँ होइन र हिमालय, त्यसतलका थुम्काहरू, जसमा प्रत्येक नागीले, प्रत्येक थुम्काले चारैतर्फ बेग्लै दृश्यहरू निरन्तर उब्जाइरहन्छ ?

पुछारमा

तिमीलाई अझै पनि लाग्छ, समुद्र किनार भइदिएको भए म सम्पन्न र सुखी हुन्थेँ ? तिम्रो प्रकृतिले त्यस्तो सम्भावना देखाउँदैन । तिमी हदै सुखी भए फिलिपिन्स र इन्डोनेसियाका टापुहरूबीच देखिने डुंगामा किराना पसल र चमेनागृह राखेर भौंतारिइरहने स–साना पसलेमा परिणत हुने थियौ । तिमीलाई सयौं माछाका स्वाद थाहा हुने थियो । तर, पुर्खाले बेहोरेका सुनामीका अनगिन्ती कथाहरू सुनाइरहन्थ्यौ । अनि आफू भने समुद्री आँधी र सुनामीको एउटा समाचार बनिरहन्थ्यौ ।

आज तिमीलाई जब म हेर्छु- तिमी कुनै ‘सिपिङ म्याग्नेट’ हुने सम्भावना परपरसम्म देख्दिनँ । म तिमीले समुद्रको पीँधबाट सुन ओसारिरहेको स्वैरकाल्पनिक दृश्य पनि देख्दिनँ । म तिमीले समुद्री छालबाट बिजुली निकालिरहेको तिलस्मी रेखाचित्रसम्म पनि कोर्न सक्दिनँ ।

किनारमा समुद्र भइदिएको भए तिमी हुने थिएनौ । किनभने तिम्रो अहिलेको जे कुटी छ, त्यही नै सम्भवतः हुने थिएन । तिमीलाई फुत्केको माछो ठूलो भएको मात्रै हो ।

प्रकाशित : भाद्र ५, २०७८ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×