जादु
अचानक – कहाँबाट आयो
एक जादुगर एक दिन र आाखा चिम्लिन भन्यो !
हामीले हेर्दै थियौं
– हराभरा जंगल
– कुमारी पहाड
– फराकिला चउर
– निर्मल नदी
– शुभ्र हिमाल
– थरीथरीका चरा/पुतली र जनावर
– बास बसेको घर
हेर्दै थियौं –
पंक्ति मिलाएर उड्दै दूर देशबाट आउने पाहुना मालचरी
अनि आकाश नियाल्ने बालक/धर्ती खोप्ने किसानहरु
हेर्दै थियौं –
आँगनमा भुनभुन गर्दै उड्ने रंगीचंगी सोझा पुतलीहरु
पछिपछि दौडने बाल्यकाल/यौवन लहराउने बोटहरु
हेर्दै थियौं –
गाउँगाउँ घुमिहिँड्ने मायालु कोमल गौंथलीहरु
गुाड लाउन मिल्ने दलिनहरू/र दयालु घरधनी
हेर्दै थियौं –
बाटो, गोरेटो र आँगनमा उड्ने ताराजस्ता जूनकिरीहरु
झिल्मिल उज्यालो/र चम्किरहने सम्झनाहरु
सहरका कुनाकुनाका ढुंगेधारा
पानी भर्ने पँधेर्नी र/अञ्जुली पिउने बटुवा – हेर्दै थियौं
एक छिनपछि बन्द आँखा खोल्दा
जादुगरले गायब गरिसकेको थियो धेरै कुराहरु
– हराएका थिए कठै ती पुतलीहरु !
– हराएका थिए केही चराहरु !
– थिएनन् केही बोट/वनस्पति र प्राणीका प्रजाति !
– थिएन सफा आकाशको टुक्रा/हरियो जंगल/निर्मल जल
कस्तो जादु थियो त्यो
हाम्रो हात / हातमा थियो बरू
मोबाइल नामको – रंगीन वस्तु !
त्यसयता,
धूवाँ–धूलोले भरिएको सहर
र काकाकुल गाउँमा बसेर
निहुरिँदै तस्बिरमा हेरिरहन्छौं आजभोलि हामी
– जंगल
– चरा
– पुतली
– बगिरहेको नदी,
– भीषण पहिरो, बाढी र कहिले
– हिमालका सेता कञ्चन शृंखलाहरु – कााचको पर्दामा !
प्रकाशित : श्रावण ३०, २०७८ ०८:५७