६७ भाषाको वर्णमाला : अलिखित कथा !!!- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६७ भाषाको वर्णमाला : अलिखित कथा !!!

नेपालमा भोट बर्मेली भाषा दुई समूहका छन् । ‘हिमाली’ भाषाहरु ब्रह्मपुत्र बेंसीका भाषासँग शब्दावली र व्याकरणमा धेरै मिल्छन् भने अर्काथरी भाषाहरु चाहिँ ‘तिब्बत’ (भोट) का भाषासित बढ्ता मिल्छन् ।
जुन जुन मातृभाषा अलिखित नै थिए, मैले वर्णमाला बनाए पछि ती मातृभाषाको लेखाइ जति वर्ण वैज्ञानिक भएको छ, त्यति वैज्ञानिक लामो लेखन परम्परा भएका भाषाहरूको वर्णमाला छैन । 
डा. माधव प्रसाद पोखरेल

मैले अहिले सम्म नेपालका ६७ ओटा मातृभाषाको वर्णमाला बनाएको छु । तिनीहरू मध्ये धेरैजसो अलिखित नै थिए । ती मध्ये ४३ ओटा भोट बर्मेली, २० ओटा भारोपेली, दुइटा आग्नेय, एउटा द्रविड र एउटा कुसुन्डा भाषा छन् । 

भोट बर्मेली भाषा

उत्तरवैदिक र पौराणिक साहित्यका आधारमा हिमाली भाषा बोल्ने जातिलाई ‘किरात’ वा ‘किलात’ भनिएको पाइन्छ (म्याक्डोनेल र किथ, ‘वेदिक इन्डेक्स) । राहुल सांकृत्यायन (गढवाल) ले पिथौरागढको ‘राजी’ भाषालाई ‘राजकिरात’ भनेका छन् । भारविको ‘किरातार्जुनीय’ महाकाव्यमा अर्जुनसँग किरातेश्वर महादेवको युद्ध भएको ठाउँ उत्तराखण्ड मानिएको छ । अर्कातिर ‘महाभारत’ मा ‘प्राग्ज्योतिष’ (असम) बाट कौरव पक्षको लडाइँमा भाग लिने ‘किरात’ राजा भगदत्त थिए । ‘अथर्ववेद’ मा ओखतीमूलो खन्ने किराँतिनी (‘किरातिका’) पनि पश्चिम तिरकै हो । यी साहित्यलाई हेर्दा ‘किरात’ शब्दले आजको नेपालको एक नम्बर प्रदेशका किराँती जाति मात्र जनाएको बुझिँदैन । ‘किरात’ शब्दले गढवालको ‘बुनान’ भाषादेखि लिएर नागाल्यान्ड, मिजोरम, मणिपुर, त्रिपुरा र सम्भवतः बर्मा सम्मका भोट बर्मेलीभाषी जाति जनाउँछ । भाषा वैज्ञानिकहरूले यी सबै भाषालाई जनाउन ‘हिमाली’ शब्द चलाएको पाइन्छ । मैले वर्णमाला बनाएका नेपालका भाषा यी हुन् (मातृभाषाका सूचकहरूका नाम कोष्ठमा दिइएका छन्) :

भोट बर्मेली हिमाली भाषा

मेचे (पागलसिंह मेचे, आयाबाडी र सन्तलाल मेचे जलथल अनि मेचे समाज), धिमाल (पात्र धिमाल धाइजन, रामजी धिमाल दमक), लिम्बु (येहाङ लावती, दिलेन्द्र सुब्बा), छथरे लिम्बु (गोविन्द सुब्बा), याक्खा (रामजी कोङ्ग्रेन धनकुटा र याक्खा समाज), मारेक याक्खा (याक्खा समाज), मेवाहाङ (गणेश राई याफु र मेवाहाङ समाज), लोरुङ (लोरुङ समाज), दुङ्माली (दुङ्माली समाज), लुफ्मि (लुफ्मि समाज करफोक), चाम्लिङ (चाम्लिङ समाज,बयानसिंह राई रतन्छा, टंकबहादुर राई हलेँसी, शान्ति कुमारी राई बलम्ता), साम्पाङ (साम्पाङ वक्ताहरू), दुमी (नेत्रमणि दुमी र दुमी समाज), कुलुङ (एम डी कुलुङ वालुङ), खालिङ (खालिङ समाज र राष्ट्रिय भाषाहरू संस्था), थुलुङ (रामलच्छी थुलुङ मुक्ली), बाहिङ (विश्वराज राई, मेखराज राई र बाहिङ समाज), उम्बुले वा वाम्बुले (नवराज राई बज्जराज राई उँबु, गणेश राई हिलेपानी, वाम्बुले समाज), सुनुवार (दिनेश कोर्माचा साल्मे खिजी, सुनुवार समाज), सुरेल (सुरेल समाज), हायु (ज्ञान बहादुर हायु र मसाली हायु मुडाजोर), थामी, थाङ्मी (मुङ्लीमाया थामी कालिन्चोक, थामी वक्ताहरू), नेवार (तेजरत्न कंसाकार, ज्योति तुलाधर, ओंकारेश्वर श्रेष्ठ), पहरी (बद्रीनाथ पहरी र राजेन्द्र पहरी बडिखेल, पहरी समाज), बलामी (शैलेन्द्र बलामी ओखरपौवा), चेपाङ (चेपाङ समाज), भुजेल (भुजेल समाज), मगर ढुट (हीरासिंह थापा दाङ, लोक बहादुर थापा स्याङ्जा, गैराखुँदी र लसर्घाका वक्ताहरू अनि मगर समाज), मगर खाम (तेजेन्द्र बुढा र ओंकार बुढा तकसेरा, कुमिर पुन र सुमित्रा बुढा कोल, मोहन रोका र भागिन्ता बुढा काँक्री, मोहनराज घर्ती र बलराम बुढा महट, सूर्य कुमारी बुढा खाराबाङ, जित्राजी बुढा मैकोट, वीर बहादुर घर्ती हुकाम, टीका कुमारी बुढा थापा कोर्चाबाङ, बल बहादुर घर्ती कोटगाउँ, बास्मती घर्ती र साङ्ली घर्ती घुस्बाङ र मगर समाज), राउटे (सूर्य नारायण शाही कल्याल, शेर बहादुर शाही रास्कोटी, चन्द्रमान शाही रास्कोटी), राजी (कालुसिंह राजी र पट्टौली राजी सोल्ता), व्यासी, टिंकर, सौका (कविता बुढाथोकी र दशरथी बुढाथोकी) ।

नेपालमा भोट बर्मेली भाषा दुई समूहका छन् । ‘हिमाली’ भाषाहरू ब्रह्मपुत्र बेँसीका भाषासँग शब्दावली र व्याकरणमा धेरै मिल्छन् भने अर्काथरी भाषाहरू चाहिँ ‘तिब्बत’ (भोट) का भाषासित बढ्ता मिल्छन् । तिब्बतीसँग मिल्ने भोट बर्मेली भाषालाई ‘भोटात्मक’ भाषा भन्न सकिन्छ । चाङहरू (२०१९ इ.) गरेको जाननिक अनुसन्धानका आधारमा सबै भोट चिनियाँ जातिहरूको पुर्ख्यौली थलो ह्वाङह नदीको बेँसी (सिआन्सी) हो । त्यहाँबाट केही दक्षिण तिर माचिच्याउ सभ्यतामा सहर विस्तार भए पछि भोट चिनियाँभाषीहरू विभिन्न दिशामा तितरबितर भए । सागार्टहरूले गरेको अनुसन्धान (२०१९ इ.) का आधारमा पाँच हाँगामा बाँडिएका भोट चिनियाँहरू मध्ये जुन हाँगो पश्चिम तिर लाग्यो, त्यही भाषा नै तिब्बती (भोटात्मक) हो । जुन हाँगो असम तिर लाग्यो त्यो चाहिँ हिमाली भाषा हो । मैले वर्णमाला बनाएका तिब्बती मूलका भाषा यी हुन् :

भोट बर्मेली भोटात्मक शाखा :

ह्लोमी (ह्लोमी समाज), शेर्पा (गेलु शेर्पा सोलु, मन्जु शेर्पा मार्बो), जिरेल (अमृत जिरेल बचोबारी), तामाङ (अमृत योन्जन), गुरुङ (रेम बहादुर गुरुङ स्याङ्जा, पोल क्रोम्छे सिक्लिस, तमु बौद्ध समाज काठमाडौँ, तमु छोँज धीँ पोखरा, रेम बहादुर गुरुङ), दुरा (मुक्तिनाथ घिमिरे), घले (काली घले बार्पाक), छन्त्याल (छन्त्याल समाज म्याग्दी), थकाली (कुल बहादुर गौचन कुन्जो र थकाली समाज), मार्फा थकाली (मार्फा थकाली समाज), मगर काइके (काइके समाज) ।

भारोपेली भाषा

भारोपेली भाषाहरू पनि नेपालमा दुई किसिमका छन् । एक किसिमका भारोपेली भाषाहरू नेपालका छैटौँ र सातौँ प्रदेश अनि भारतका उत्तराखण्ड, हिमाचल प्रदेश र कश्मीरका मातृभाषासँग मिल्छन् । इतिहासमा त्यस क्षेत्रलाई ‘खसान’ लेखिएको पाइन्छ (‘खस जातिको खास कुरो’, ‘अन्नपूर्ण पोस्ट’, ११ फागुन २०७५)। नेपाली भाषा पनि त्यसै मूलको भाषा हो । मैले वर्णमाला बनाएका खस मातृभाषा यी हुन् :

भारोपेली खस मातृभाषा :

नेपाली (माधव पोखरेल), सिजाली (सिँजा नगर पालिका), अछामी (हर्क बहादुर शाही), बैतडेली (चूडामणि पाण्डे स्याडी, नारायणी भट्ट), डोट्याली (आर.डी. प्रभास चटौत), दार्चुलेली (वासुदेव बिस्ट), डँडेल्धुरेली (मोहन भट्ट), चुरौटे, मियाँ (मुकमान अली र अमिना अली पाली, खगडी) ।

मैले वर्णमाला बनाएका खस बेगरका नेपालका भारोपेली आर्य भाषाको नामावली यहाँ छ । यी भाषा धेरैजसो तराईमा बोलिन्छन् । आर्य भाषाभाषीको पुर्ख्यौली र विस्तारका लागि मेरो लेख (‘नेपालमा आर्य गणको इतिहास’, ‘नयाँ पत्रिका’, २०७७ साउन ९) हेर्न सकिन्छ ।

अन्य भारोपेली भाषा

राजवंशी (दलसिंह राजवंशी ज्यामिरगढी, राजवंशी समाज र राष्ट्रिय भाषाहरू संस्था), मालपाँडे (भाषा सर्वेक्षण परियोजन), मगही (मगही समाज ढल्केबर), बज्जिका (बज्जिका समाज), भोजपुरी (गोपाल ठाकुर), दनुवार (दनुवार समाज), माझी (धन बहादुर माझी राकाथुम, फुलमाया माझी मन्थली, शान्ति माझी सित्खा र माझी समाज), दराई (नरवीर दराई र माया दराई पिपलटार तनहुँ, मान बहादुर दराई जगतपुर चितवन, सुक बहादुर दराई भादगाउँ तनहुँ), डङौरा थारू (डङौरा थारू वक्ता), राना थारू (आरटीआई), मारवाडी (भाषा सर्वेक्षण परियोजना), साद्री, सदनी (धनराज मुण्डा ज्यामिरगढी) ।

मैले वर्ण निर्धारण गरेका नेपालमा बोलिने आग्नेय र द्रविड परिवारका यी तीन ओटा हुन् :

आग्नेय भाषा

सन्ताल (दुर्गा मर्डी सारोङ्पाडा, मैना मड्डी, गोपाल टुड्डु, दिलीप कुमार बस्की, तालामई मर्डी गरामनि र तोपगाछी), खडिया (बुधुवा इन्दुवार, खडिया टोल) ।

द्रविड भाषा

कुणुख, उराउँ, उरावँ, झाँगड, धाँगर (गुम्दौरान कुड्खान र परमेश्वर उराउँ, राजगन्ज सुनसरी) ।

कुसुन्डा भाषा

नेपालमा एउटा एकल भाषा छ कुसुन्डा । त्यो भाषा संसारको कुनै पनि अर्को भाषासित मिल्दैन । अहिले त्यो भाषा फरर्र बोल्ने एक जना वक्ता मात्र छिन् । यो भाषा पनि मैले वर्णमाला बनाएकै भाषामा पर्छ ।

कुसुन्डा (कमला खत्री र ज्ञानी मैयाँ सेन) ।

डेक्कन कलेज (पुणें विद्यापीठ) बाट १९८९ इ. मा ध्वनिविज्ञान र नेपाली भाषाको वर्ण व्याकरणमा ‘विद्यावाचस्पति’ उपाधिको अनुसन्धान पुरा गरेर नेपाल फर्के पछि मैले ध्वनि विश्लेषण, वर्ण विश्लेषण र वर्ण निर्धारण गरेर वर्णमाला बनाएको पहिलो भाषा लिम्बु हो । लिम्बु भाषा सिरिजंगा लिपिमा लेख्ने चलन हजसनका कागतमा सबभन्दा पहिलो फेला परेको हो । हजसनका कागतका आधारमा क्याम्बेलले बनाएको लिम्बु भाषाका वर्णको संख्यामा इमानसिंह चेम्जोङले देवनागरी वर्णमालासँग मिलाएकाले वर्णको संख्या ह्वात्तै बढेको पाइन्छ, त्यसैले बैरागी काइँलाले अद्यावधिक गर्न चाहेको इमानसिंह चेम्जोङको ‘लिम्बु नेपाली अंग्रेजी शब्दकोश’ का लागि आज प्रचलित चेम्जोङको ‘वर्णमाला’ मध्ये वर्ण वैज्ञानिक सिद्धान्तका आधारमा लिम्बु वर्ण चाहिँ कुन कुन हुन् भन्ने कुराको ठेगान लगाउने जिम्मा मैले पाएको थिएँ । काठमाडौँ, धुलाबारी र ताप्लेजुङ सम्म पुगेर सबै भाषिका बोल्ने लिम्बु वक्ता र विद्वानसित अन्तरक्रिया गरेर मैले बनाएको वर्णमालाका आधारमा एकेडेमीले प्रकाशित गरेको लिम्बु कोश छ ।

मातृभाषाका विभिन्न भाषिकाका वक्ताहरूसँगको सामूहिक छलफल आधारमा लिम्बु भाषाको वर्णमाला बनाए जस्तै गरेर मैले वर्णमाला बनाएका अरू मातृभाषा यी हुन् :

सामूहिक छलफलका आधारमा :

लुफ्मि, मेचे, लिम्बु, छथरे लिम्बु, राजवंशी, याक्खा, मारेक याक्खा, मेवाहाङ, लोरुङ, दुङ्माली, ह्लोमी, शेर्पा, साम्पाङ, चाम्लिङ, दुमी, बाहिङ, उम्बुले, सुनुवार, खालिङ, मगही, दनुवार, माझी, सुरेल, थामी, पहरी, तामाङ, बज्जिका, चेपाङ, गुरुङ, घले, भुजेल, मगर ढुट, दुरा, थकाली, मार्फा थकाली, छन्त्याल, डङौरा थारू, मगर खाम, राउटे, सिँजाली, मगर काइके, डोट्याली, राना थारू) ।

पाइकको विधि अनुसार र स्वाडेसको (आधारभूत शब्दावली) का आधारमा :

हायु, जिरेल, मालपाँडे, उराउँ, खडिया, सन्ताल, साद्री, मारवाडी, थुलुङ, कुलुङ, कुसुन्डा, व्यासी, शेर्पा, नेवार ।

एमए र पिएचडीका विद्यार्थीलाई सिकाउँदा वक्ताहरूसँग अन्तर्वार्ता गरेका आधारमा :

नेपाली, धिमाल, प्याङगाउँले, बलामी, भोजपुरी, दराई, चुरौटे्मियाँ, राजी, अछामी, डँडेल्धुरेली, दार्चुलेली, बैतडेली ।

निष्कर्ष

यसरी मैले वर्ण विश्लेषण, वर्ण निर्धारण र वर्णमाला बनाएका मातृभाषाहरूको संख्या ६७ पुगे पनि केही रमाइला अनुभव भएका छन् । आज ‘गोरखापत्र’ ले ‘नयाँ नेपाल’ भन्ने स्तम्भमा पालो गरेर ३५–४० ओटा मातृभाषाका सामग्री प्रकाशित गर्छ । तिनीहरू मध्ये धेरै ओटा मातृभाषाको वर्णमाला मैले बनाई दिएको हो । त्यहाँ ठाउँ नपाएका केही मातृभाषाहरूमा लेखन कार्य अघि बढेकै छ भने, केही मातृभाषाका वक्ताले चाहिँ उनीहरूको भाषाको वर्णमाला प्रयोगै नगरेर गाईका फाँचामा दुध नसाँचिए जस्तो भएको छ ।

मैले सिकाएकै जस्तो गरी रिट्ठो नबिराई चलाउने मगर (ढुट) र माझी भएको मलाई थाहा छ । कुनै कुनै समुदायले एकदुई ओटा सुझाव चाहिँ नमाने जस्तो लाग्छ । लामो लेखन परम्परा भए पनि मेरा सुझाव प्रायजसो मान्नेमा लिम्बुहरू आउँछन् भने, लामो लेखन परम्परा हुने (नेवार, मैथिली, लाप्चा, आदि) धेरैले आफ्नो मातृभाषाको लेखाइ वर्ण वैज्ञानिक कसीमा कति खरो देखिन्छ, त्यो जँचाउन आवश्यक पनि ठानेका छैनन् । जुन जुन मातृभाषा अलिखित नै थिए, मैले वर्णमाला बनाए पछि ती मातृभाषाको लेखाइ जति वर्ण वैज्ञानिक भएको छ, त्यति वैज्ञानिक लामो लेखन परम्परा भएका भाषाहरूको वर्णमाला छैन । कहाँ सम्म भने, मेरै मातृभाषालाई चाहिँ मैले वैज्ञानिक बनाउन सकेको छैन ।

-(लेखककै हिज्जेअनुसार)

प्रकाशित : असार १९, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

साहित्यमा  ‘तिमी’, राजनीतिमा ‘तपाईं’

राजा वीरेन्द्रले नेता गणेशमान सिंहलाई ‘तिमी’ सम्बोधन गरे । सिंहले राजालाई सिकाउँदै भने, ‘यसरी आफ्ना हजुरबासँग काम गरेका राजनेतालाई सरकारले तिमी भन्नुहुँदैन, सम्मान गरेर बोल्नुपर्छ ।’ भनिन्छ, वीरेन्द्रले त्यही दिनदेखि ‘तिमी’ आदरार्थी कोड प्रयोग गरेनन् ।
राजनीतिक परिवर्तनपछि, अझ नेपाल गणतन्त्र भएपछि, राजनेता र शक्तिमा आसीनहरू बदलिए । राजनीतिक परिवर्तनले स्वाभाविक रूपमा राजनेताहरू धेरै निकाल्ने नै भयो । 
अभि सुवेदी

साहित्य र राजनीतिमा आदरार्थीको प्रयोग विषयमा भर्खरै एउटा छलफल भयो । साहित्यिक समालोचना र सृजनशील साहित्य लेख्ने व्यक्तिको नाताले केही दायित्व पूरा गर्न सानै भए पनि यो लेख लेखिएको छ । 

नेपाली भाषामा ‘तिमी’ र ‘तपाईं’ को प्रयोग विषयमा हामीले साहित्यका फाँटमा धेरै छलफल गरेनौं । तर, नेपाली साहित्यकारले साधारण छलफल गरेर वा नगरेरै पनि समालोचनाको भाषामा आदरार्थी, खासगरी ‘तिमी’ को प्रयोगमा धेरै ठूलो काम गरेका रहेछन् भन्ने पछि बोध भयो । तर साहित्यकार, अझ समालोचना लेख्नेले, जसमा आफैं पनि पर्छु, यस विषयमा खासै केही नलेखेको देख्दा केही असजिलो लागेको हो । व्याकरण र हिज्जेका छलफलमा निकै काम भए, हुँदै छन् । तर, नेपाली समालोचनामा नेपाली लेखकले कसरी

‘तिमी’ आदरार्थीको सहज प्रयोग गरे र त्यसलाई मानक बनाए, त्यस विषयमा लेखिनुपर्थ्यो, खासै लेखिएनछ । यो लेख त्यसै जानकारीको एउटा आरम्भसम्म हो ।

नेपालमा ‘तिमी’, ‘तपाईं’ वा ‘हजुर’ जस्ता आदरार्थीका प्रयोग राजनीतिक परिवर्तनसँग जोडिएका छन् । दुई प्रसङ्ग वाचाल छन्, जुन ठीक विपरीत छन् । छयालीस/सत्चालीस सालको राजनीतिक परिवर्तनपछिको पहिलो प्रसङ्ग छ । संवैधानिक राजा भएका वीरेन्द्रलाई भाषा प्रयोगमा केही असहजपना भएको थियो त्यसबेला । तर, उनले त्यसमा तुरुन्तै बानी बसाए, आफूलाई । घटना यस्तो थियो :

नारायणहिटी राजदरबारमा गणेशमान सिंहसँग कुरा गरिरहँदा राजा वीरेन्द्रले उनले सिकेको राजाले प्रयोग गर्ने आदरार्थी कोडअन्तर्गत गणेशमानलाई ‘तिमी’ भनेर सम्बोधन गरे । नेता गणेशमानले राजालाई सिकाउँदै भने– यसरी आफ्ना हजुरबासँग काम गरेका र अरू राजनेताहरूलाई सरकारले ‘तिमी’ भन्नुहुँदैन, सम्मान गरेर बोल्नुपर्छ । सिंहले हामीलाई सुनाएको कुराबाट मैले सार राखेको हुँ । भनिन्छ, राजा वीरेन्द्रले त्यही दिनदेखि लगभग ‘तिमी’ भन्ने आदरार्थी कोडको प्रयोग गरेनन् । राजालाई जनताका नेताले ‘तपाईं’ भन्नु भनेर सिकाएपछि परिवर्तन भएको उदाहरण हो यो ।

दोस्रो उदाहरण धेरै वाचाल छ । राजनीतिक परिवर्तनपछि, अझ नेपाल गणतन्त्र भएपछि, राजनेता र शक्तिमा आसीनहरू बदलिए । राजनीतिक परिवर्तनले स्वाभाविक रूपमा राजनेताहरू धेरै निकाल्ने नै भयो । त्यसमा कमिनिस्ट नेताहरूको बाहुल्य रह्यो । त्यसो त नेपाली कांग्रेसका नेता पनि थिए । तर, राजनीतिक परिवर्तन भएर दलका नेता सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि उनीहरूमा एउटा ‘हाइरार्की’ को चेतना पलायो । नेपालको ठूलो मिडिया हाउस र त्यसबाट निस्केको अखबार ‘कान्तिपुर’ सबैभन्दा चर्चामा आयो । कारण उही आदरार्थी ‘तिमी’ र ‘तपाईं’ को प्रयोग थियो । लामो छलफल नगरौं । त्यो २०७४ सालतिरको कुरा हो । ‘कान्तिपुर’ ले सबैलाई ‘तिमी’ कोड प्रयोग गर्ने सम्पादकीय भाषिक नीति नै बनाएको रहेछ । यो विषय त्यसबेलाका भाषा सम्पादक अखण्ड भण्डारीले लेखेको ‘कान्तिपुरले किन सबैलाई तिमी भन्छ ?’ (फागुन ७, २०७४) भन्ने लेखमा छ । तर, त्यति मात्र होइन, राष्ट्र प्रमुख वीरेन्द्रलाई नेता गणेशमान सिंहले भनेको ठीक उल्टो सरकार प्रमुख अथवा प्रधानमन्त्री केपी ओलीले ‘कान्तिपुर’ लाई ‘तिमी’ कोड प्रयोग गरेकोमा गुनासो गरेछन् । अखण्डले लेखेका छन्, ‘ओलीले गुनासो गरे, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तिहरूलाई तिमी भन्ने अधिकार कान्तिपुरलाई कसले दियो ? कान्तिपुरले चाहिं अरूलाई आदर गर्नुपर्दैन ? सबैभन्दा ठूलो हो कान्तिपुर ?’

यो विषय निकै चल्दै छ भन्ने देखिन्छ किनभने ९ माघ २०७७ मा ‘कान्तिपुर अनलाइन’ ले त्यही लेख फेरि छाप्यो । कुरा चाखलाग्दो हो । राजा वीरेन्द्रले ‘तिमी’ छोडेर ‘तपाईं’ प्रयोग गरे, तर ‘कान्तिपुर’ ले ‘तपाईं’ प्रयोग नगरेर ‘तिमी’ कोडलाई नै मानक बनायो, जुन लोकतन्त्रसम्मत थियो । एउटा भाषाकर्मी, साहित्यकार र प्राज्ञिक कर्म गर्ने मानिसको नाताले भन्छु, सबै स्वतन्त्र मिडियामा ‘तिमी’ प्रयोगको विषय सहज, स्वाभाविक र प्रजातान्त्रिक चेतनाजनिन थियो र छ । यस विषयलाई शक्ति र प्रतिष्ठासँग जोडेर सरकारका नेता र तिनका सल्लाहकारले लिएको कुरा सही छैन । गणेशमानले राजालाई ‘तपाईं’ भन्न सिकाउनु र अर्का नेता ओलीले पत्रकारलाई ‘तपाईं’ भन्न सिकाउनुजस्ता उदाहरणले भित्री कुरा बोल्छन् । लोकतान्त्रिक नेताहरूले खुला मनले सिक्नुपर्छ ।

शक्तिमा आसीनले ‘तिमी’ को स्वाभाविक प्रयोगलाई यसरी संवेदनशील भएर लिनुको प्रस्ट कारण यस्तो हुन सक्छ । भाषा प्रयोगका स्वाभाविक विषयलाई शक्ति, प्रतिष्ठा र राजनीतिसँग जोडिनुको पछि एउटा शक्ति–मनोविज्ञानको ग्रन्थिले काम गरेको हुन सक्छ । त्यो गम्भीर विषय हो । ‘तिमी’ को प्रयोग नेपाली भाषामा सहज, सृजनशील, सम्मानजनक र प्रजातान्त्रिक रूपमा आएको देखिन्छ । त्यस विषयमा शक्तिमा आसीन र तिनका सल्लाहकारलाई ज्ञान भएको देखिएन । त्यसो त साहित्यमा यो कसरी एउटा सम्मानजनक र स्वाभाविक प्रयोग भएर आएको छ भन्ने विषय साहित्यकारले पनि छलफल–जानकारीमा ल्याएनौं । साहित्यमा ‘तिमी’ को कसरी स्वाभाविक, स्वतन्त्र अनि सम्मानजनक प्रयोग र थोरै भए पनि छलफल भएको छ, हेर्नुपर्छ । एउटा संस्मरणबाट विषयमा पस्न चाहन्छु ।

नेपाल भाषाशास्त्र समाजको २६ नोभेम्बर १९९१ मा भएको बाह्रौं वार्षिक सम्मेलनमा अध्यक्षको भाषणमा मैले सन् १९९० को भर्खरै भएको राजनीतिक परिवर्तनपछि पनि राजनेताहरूमा पञ्चायतकालको शक्ति र ‘हाइरार्की’ को भाषाको मोहले काम गरिरहेका उदाहरण राखेर यसलाई प्रजातन्त्रसँगै परिवर्तन हुन नसकेको मनोग्रन्थि भनेको थिएँ । सोआसका प्राध्यापक माइकल हट्ले उनको किताब ‘नेपाल इन् द नाइन्टिज्’ (१९९४:८८) मा त्यही परिवर्तन हुन नसकेको मनोग्रन्थिबारे मेरो कुरालाई उद्धरण गरेका छन् । आज आएर हेर्दा प्रजातान्त्रिक संस्कारका निम्ति शक्तिका सपना बाधक भएको विषय प्रस्ट हुँदै गएको देखिन्छ ।

अर्को विस्तृत लेखको विषय हो, तर यहाँ केही शब्दमा भन्दा नेपाली साहित्यकारले ‘तिमी’ को प्रयोग अत्यन्त सहज र सृजनशील किसिमले गरे । समालोचकले मविवि शाह नामधारी राजा महेन्द्रका कविता, खासगरी ‘उसैको लागि’ का छलफलमा ‘तिमी’ प्रयोग गरेका उदाहरण छन् । समालोचकले ‘तिमी’ कोडलाई सहज बनाउनुपर्छ र प्रयोग गर्नुपर्छ भन्ने मौन सिद्धान्त बनाए । उनीहरू पाका र सम्मानजनक लेखकलाई पनि ‘तिमी’ कोड प्रयोग गरेर लेख्छन् । प्रायजसो समालोचनामा मैले ‘तिमी’ कोड प्रयोग गरेर लेखें, अहिले पनि लेख्छु । यदुनाथ खनाल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, इन्द्रबहादुर राई, खगेन्द्र संग्रौला, ताराकान्त पाण्डे आदि हिजो र आजका समालोचकले ‘तिमी’ कोडको प्रयोग गरेर लेखेका छन् । त्रिवि नेपाली विभागका प्राध्यापक समालोचकहरू ‘तिमी’ कोड प्रयोग गरेर लेख्छन् । एकाध अपवाद छन् । ‘तपाईं’ लेखिएका केही समालोचना पनि छन् । तर, ती अब पुराना भइसके । साहित्यिक समालोचनामा नितान्त ‘तिमी’ कोड प्रयोग गर्ने पद्धति बसेको छ । त्यो मानक भएको छ र सहज अभिव्यक्तिको आधार भएको छ ।

हामी साहित्य लेख्नेले कुनै राजनेतालाई ‘तिमी’ कोड प्रयोग गरेर लेख्यौं भने त्यसमा हाम्रो राजनीतिक सरकोर छ कि भनेर हेर्ने आवश्यकतै हुँदैन । ‘तिमी’ कोड प्रयोग नगरी अब नेपाली समालोचना लेखिँदैन । नेपाली साहित्य लेखन, खासगरी समालोचनाले जसरी ‘तिमी’ कोड प्रयोग सहज रूपले गर्छ, त्यो अहिलेका राजनीतिकर्मी र नेताका निम्ति अनुकरणीय विषय हो । ‘तपाईं’ लेख्ने भाषिक ‘रजिस्टर’ हरूमा त्यो आदरार्थीको प्रयोग भइहाल्छ । साहित्य र मिडियाले ‘तिमी’ प्रयोग गर्नु सहज र समयसम्मत प्रक्रिया हो ।

आदरार्थी वा ‘हाइरार्की’ मनोग्रन्थिले चिन्तित राजनीतिज्ञ र सरकारी नेताले यो पिरोलोबाट सिक्नुपर्छ र आफैंलाई प्रश्न गर्नुपर्छ, कतै म वा हामीभित्र शक्तिलोलुपताको जन्म भएको त होइन ? साहित्यमा हामीलाई चिन्ता छैन किनभने हामी समान, सृजनशील र स्वतन्त्र छौं । हामी ‘तिमी’ बाट सम्मानित छौं र त्यसैबाट सम्मान गर्छौं ।

प्रकाशित : असार १९, २०७८ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×