‘मरुभूमिमा जीवन खोज्नेहरू’ का नाममा- कोसेली - कान्तिपुर समाचार

‘मरुभूमिमा जीवन खोज्नेहरू’ का नाममा

‘सनैया’ मा वैदेशिक रोजगारका अँध्यारा पाटा मात्रै छैनन्, उज्याला कथा पनि छन् । किताबले खाडीको श्रम–संसारलाई छर्लङ्गै उतारिदिएको छ ।
गणेश गुरुङ

वैदेशिक रोजगार नेपालीका लागि नौलो विषय होइन । वैदेशिक रोजगारमा नेपालीहरू जान थालेको निकै वर्ष भइसक्यो । खाडी राष्ट्रमा जान थालेको भने धेरै भएको छैन । तेल उत्पादनसँगै खाडी राष्ट्रहरूको आम्दानी बढ्न थालेपछि भौतिक विकासका कामले तीव्रता पायो ।

खाडी राष्ट्रहरूले अन्य देशबाट कामदार आपूर्ति गर्न थालेपछि नेपालीहरू रोजगारीका लागि उता पुग्न थाले । देशको उर्वर माटोमा रोजगारी अभाव हुँदा मरुभूमिमा भविष्य खोज्न पुगेकाको कथा–ब्यथा लेखिएको छ होम कार्कीको किताब ‘सनैया’ मा । कभरमा ‘सनैया’ शीर्षकमुनि लेखिएको छ– ‘मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै ।’ लेखक मरुभूमिमा पाखुरा बजार्ने नेपाली श्रमिकका पछिपछि हिँडेका छन् ।

‘कान्तिपुर’ दैनिकको संवाददाताका रूपमा कतारमा बसेर काम गरेका हुन् लेखकले । ४ वर्षको कतार बसाइमा खाडी मुलुकमा कार्यरत ५४० श्रमिक भेटेर तयार पारिएको किताब हो– सनैया । नेपाली लेखकहरू आफ्नो किताब थप वजनदार बनाउन प्रध्यापक/डाक्टर तथा नाम चलेका मानिसबाट भूमिका लेखाउन लालायित हुन्छन् । तर, यो मोहबाट लेखक कार्की मुक्त छन् ।

किताबका अठार अध्यायले वैदेशिक रोजगारको चक्रलाई मिलाएर सिलसिलेवार ढंगले प्रस्तुत गरेको छ । यी अध्यायले नेपालीको वेरोजगारी अवस्था र आर्थिक रूपले निम्नमध्यम वर्गका परिवारको कठोर यथार्थलाई सजीव ढंगले चित्रण गर्छन् । आफ्नो र परिवारको भविष्यका लागि खाडीका पाँच देशका उजाड र कहालीलाग्दो मरुभूमिमा पसिना चुहाइरहेका युवाको कथा लेखिएको छ किताबमा ।

‘वैदेशिक रोजगारको चक्रमा’ नेपालबाट वैदेशिक रोजगारमा जाँदादेखि फर्कंदासम्मका प्रक्रिया पर्छन् । किताबका केही विषय छन्– ‘काठमाडौंमा भिसा झर्‍यो (पृष्ठ.२३)’, ‘सेवा शुल्कको शासना (३९)’, ‘करारपत्रको झेल’ (५७), ‘रातो बाकसले भिसा पायो’ (३२७) । यी विषयले वैदेशिक रोजगारको भयानक सकस र श्रमिकले पाएको शासनाको बयान गर्छन् ।

लेखक आफू बसेको राष्ट्र कतारबाहेक साउदी अरब, बहराइन, ओमन र कुबेतमा आफैं पुगी समस्यामा परेका नेपाली श्रमिकको समाचार लेखेर सहयोग गर्छन् । वैदेशिक रोजगारमा जाँदा शून्य शुल्कमा कामदार लैजानुपर्ने वा बढीमा रू. दस हजारसम्म प्रवर्द्धन शुल्क लिन पाइने प्रावधान २०१५ मे ३० मा लागू गरिएको थियो । यद्यपि श्रमिकले त्योभन्दा धेरै बढी रकम तिर्नुपरिरहेको यथार्थ किताबमा उल्लेख छ । ‘सेवा शुल्कको शासना’ मा राजेन्द्र शाही, रामचन्द्र बस्नेत, लेखनाथ श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ र नीरबहादुर थारूको कथाले शून्य लागत नीति वा इम्प्लोयमेन्ट पेमेन्ट मोडेलमा नेपाल सरकारको अनुगमन अत्यन्त फितलो लाग्छ ।

नेपाली श्रमिकका कतिसम्म दुःख छन् ? मरुभूमिमा एक पेट खान नपाई ऊँट चराउने वा ऊँटसँगै मरुभूमिमा हिँड्दा पर्याप्त पानी पनि खान नपाएको श्रमिकका कथा लिपिबद्ध छन् किताबमा । श्रमिकलाई मालिकले पिटेपछिको शरीरको घाउ र वर्षौं तलब नपाएपछिको मनको घाउ– यी दुवै घाउको कथा भन्छ किताब ।
वैदेशिक रोजगारी युवाको रोजाइ होइन, देशले रोजगार उपलब्ध नगराएपछि उब्जिएको बाध्यता हो । पैसा कमाउन खाडी गएको मानिस विभिन्न कारणले कोमामा पुगेर अस्पताल बसेको र त्यो डरलाग्दो समयमा परिवारले सहनुपरेको असाध्य पीडाको वृत्तान्त छ किताबमा । कोमामा गएको श्रमिकको ज्यान त जान्छ नै, साथै परिवारले बेहोर्ने आर्थिक क्षति र मानसिक पीडा पनि असाध्यै दर्दनाक हुन्छ । यी विषय किताबमा मिहिनसँग लेखिएको छ ।

त्यति मात्र होइन, बिरामीलाई देश फर्काउन उत्तिकै प्रशासनिक झन्झट सहनुपर्ने बाध्यता छ । किताब पढ्दा पाठकलाई लाग्न सक्छ– यत्तिका दुःख–पीडाका बाबजुद पनि युवाहरू किन बैदेशिक रोजगारीमा जान ताँती लागिरहेका छन् ? तर, देशभित्रै रोजगारी नहँॅदा युवाले यस्तो चुनौती उठाउनुको विकल्प पनि त छैन । किताबले वैदेशिक रोजगारमा गएकाको दुःखान्त पनि भन्छ । वैदेशिक रोजगारमा पुगेकाहरू दैनिक ३ जनाजति लास भएर रातो बाकसमा फर्किन्छन् । रातो बाकसको कथाले भन्छ– वैदेशिक रोजगारको यो दुःखान्तले आफन्तलाई जिन्दगीभरि रुवाउँछ ।

वैदेशिक रोजगारीको अर्को अति संवेदनशील पक्ष हो– घरेलु कामदार भएर जाने नेपाली महिलाको अवस्था । यसको मूल कारण हो– खाडी राष्ट्रमा घरेलु कामदारलाई श्रमिकको दायरामा नराख्नु र त्यहाँको चल्तीको ‘कफला’ प्रणाली । सन् २०१५ यता भने खाडी राष्ट्रले घरेलु कामदारलाई श्रम कानुनभित्र समेट्न खोजेको देखिन्छ । घरेलु कामदारका रूपमा जाने महिला अति संवेदनशील अवस्थामा पुग्नुमा घरेलु कामदारप्रति परिवर्तन भइरहने नेपालको संकीर्ण नीति हो । नेपाली महिलाको अस्मितासँग जोडिएको यो विषयमा नेपाल सरकार, संसदीय समिति, गैरसरकारी संस्था र नागरिक समाजले विभिन्न मत जाहेर गरेका छन् । यस विषयमा लेखकले ‘मान्छे किन्नेहरूको सहर’ शीर्षकमा तथ्याङ्कसहित एलिना तामाङको भोगाइलाई लेखेका छन् । यस अध्यायले सांसदहरूको अध्ययन भ्रमणपछि निर्णयहरू कसरी गरिन्छन् भन्ने प्रमाण पनि प्रस्तुत गर्छ ।

किताब पढ्दै गर्दा एक ठाउँ अचम्मको प्रश्न उठ्छ– त्यो कस्तो देश होला, जहाँ जेल जान पनि घूस खुवाउनुपर्छ ! आवासीय भिसाको अवधि समाप्त भएको र कम्पनी छाडेर हिँडेकाहरू स्वदेश फिर्न चाहन्छन् । धादिङका रमेश थोकरले आफूलाई प्रहरीबाट पक्राउ गराउने सर्तमा, जेलबाट नेपाल फर्काइदेला भन्ने आशामा २५ सय रियाल (झन्डै ७५ हजार नेपाली रुपैयाँ) घूस खुवाएको कथा अत्यन्त मार्मिक छ । २५ सय रियाल घूस खुवाउँदा पनि जेल जान अझै नाटक गर्नुपर्ने बाध्यताको कथा छ ।

वैदेशिक रोजगारको एउटा उज्यालो पक्ष पनि छ । नेपालबाट जाने प्रायः कामदार अदक्ष वा अर्धदक्ष हुने गरेका छन् । तर, सीप भएका मानिसले खाडी राष्ट्रमा चाँडै प्रगति गर्न र धेरै पैसा कमाउन सक्छन् । ‘सञ्जीवको उडान’ शीर्षक अध्यायले वैदेशिक रोजगारको उज्यालो पक्षलाई देखाउँछ । अति साधारण सीप भएको काममा गएर पनि प्रगति गरेका व्यक्ति हुन्– सञ्जीव, जो पछि एकाउन्ट इन्चार्जसम्म भएका थिए । यो अध्यायले त्यहाँ गएर प्रगति गर्ने अन्य नेपालीको कथा पनि समेटेको छ ।

अन्तिम अध्याय ‘तस्बिराको काठमाडौं यात्रा’ ले उद्धार मामिलामा राज्यको दिक्कलाग्दो प्रशासनिक झमेलालाई उजागर गरेको छ । जस्तो: वैदेशिक रोजगारमा फसेकालाई उद्धार गर्न उनीहरूका श्रीमतिले पाउने प्रशासनीक झन्झट, रोजगारदातासँग म्यानपावर कम्पनीको पहुँच, अनावश्यक कागजी प्रक्रिया, न्याय पाउन काठमाडौं केन्द्रीत प्रशासनीक संरचना, कर्मचारीको असंवेदनशीलतालगायत तमाम दुःखबारे यो अध्यायमा चित्रण गरिएको छ ।

‘सनैया’ मा लेखिएका सबै कथा यथार्थ हुन् । किताबमा सन्दर्भ मिलाएर सम्बन्धित विषयकै तथ्य र तथ्यांक राखिएको छ, जसले तथ्यपरक लेखनमा लेखकको सृजनशीलता पुष्टि गर्छ । किताब अनुसन्धानकर्ता, विद्यार्थी, नीति–निर्माता, वैदेशिक रोजगारमा जान खोज्ने युवा, उनीहरूका परिवार र ‘मरुभूमिमा जीवन खोज्ने’ लाई बुझ्न चाहने जो–कोही पाठकका लागि अत्यन्त कामलाग्दो छ ।

-(राष्ट्रिय योजना आयोगका पूर्वसदस्य गुरुङ श्रम–मामिला विज्ञ हुन् ।)

प्रकाशित : असार १२, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीमा वडाध्यक्षको हत्या

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको छ । सरकारी पोखरी खन्ने क्रममा एक्स्काभेटर चालकसँग विवाद हुँदा एक्स्काभेटरको बकेटले ठक्कर दिइ वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ ।

राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, पोखरी खनाउने ठेकेदार प्रेमराज दाहाल र एक्स्काभेटरका चालक हर्कबहादुर तामाङ नजिकैको होटलमा सँगै खाजा खाएर बसेका थिए । राति करिब १० बजेपछि खाजा खाएर घर फर्कने क्रममा एक्स्काभेटरका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको र सोही क्रममा पोखरी खन्ने स्थानमा पुगेपछि चालक तामाङले एक्स्काभेटर चलाएर एक्स्काभेटरको बकेटले वडाध्यक्ष श्रेष्ठलाई लडाएर माटोले पुरेको पाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

अचेत अवस्थामा फेला परेका वडाध्यक्ष श्रेष्ठलाई उपचारका लागि अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटना संलग्न रहेको आरोपमा ठेकेदार ईश्वरपुर नगरपालिका–३ का ३५ वर्षीय प्रेमराज दहाल एक्स्काभेटरका चालक बरहथवा नगरपालिका–१ का ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार १२, २०७८ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×