कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

नासो-नोस्ताल्जिया

न्याय यथार्थ जीवनमा पाउनुपर्ने हो कि मरेपछि ईश्वरले गर्ने हो ? मैनालीजस्ता लामो समय न्यायसम्पादनमा बिताएका कथाकारमा समेत यस प्रश्नमा संशय देखिन्छ । 
नेत्र एटम

गुरुप्रसाद मैनाली (विसं १९५७ भदौ २३ – २०२८ जेठ २५) को बहुचर्चित क्लासिक हो– ‘नासो’ । ‘नासो’ उनको एउटै मात्र कथाङ्ग्रह हो, जसका एघारवटै कथा नेपाली साहित्यका पुँजी हुन् । ‘नासो’ भित्रका ‘छिमेकी’, ‘सहिद’, ‘चिताको ज्वाला,’ ‘पापको परिणाम’, ‘प्रत्यागमन’जस्ता कथा त्यसबखतदेखि यसबखतसम्मै अत्यन्तै सान्दर्भिक छन् ।

नासो-नोस्ताल्जिया

‘कोसेली क्लासिक’मा यसपटक गुरुप्रसाद स्मृति–दिवस (जेठ–२५)को सन्दर्भमा ‘नासो’ माथिको विमर्श प्रस्तुत छ :

मुधुरो बत्तीको धमिलो प्रकाशमा गुरुप्रसाद मैनालीको ‘नासो’ कथा सुनाएर आमा र दिदीहरूलाई रुवाउँदै गर्दा म बाह्र वर्षको थिएँ । मट्टीतेल राखेको सानो सिसीमा बत्ती बालेर नाकभरि ध्वाँसो समेट्दै कथाका अनुच्छेदहरू पढ्दा म पनि आँसु पुछिरहेको हुन्थेँ । देवीरमणले बिहे गरेको रात जब सुभद्रालाई नौली भन्थी— ‘सौता भनेको मुटुको बह हो, आजै ओछ्यान छोड्नुपर्‍यो, भोलि घरै छाड्नुपर्छ कि के जानिसक्नु छ र ?’ अनि सुरु हुन्थ्यो ‘कठै ! कठै !’ को सिलसिला । यसको मूल कारण थियो, मेरो बुबाले पनि कान्छी आमा ल्याउनुभएको थियो ।

जब देवीरमण सुभद्रालाई एकवचन पनि नसोधी छोरो भएकी कान्छी पत्नीलाई मात्र लिएर तीर्थयात्रामा हिँड्थे, सुभद्राको पीडाका अभिव्यक्ति सुनेर सुँक्कसुँक्कको आवाजसमेत सुनिन थाल्थ्यो । सुभद्रा एउटा पोको च्यापेर रातमा बाहिर निस्केपछि त्यसको पराकाष्ठा आउँथ्यो ।

गृहविछोडको पीडालाई गहिरो बनाउन जब कथाकार ताराहरू पिलपिल गर्दै रोइरहेको र एउटा तारा खसेको वर्णन गरिरहेका हुन्थे— कथाकी सुभद्रा सुनिरहेकै पात्रमा विलीन भएर ढुकढुकाउन थाल्थिन् अनि डबडबाएका आँसु पुछेर कथा अघि बढाउन मलाई पनि निकै अप्ठ्यारो पर्न थाल्थ्यो ।

त्यसरी नासो कथा पढेको चालीस वर्षपछि म अहिले ‘नासो’ कथासङ्ग्रह आद्योपान्त पुनर्पठन गर्दै छु । गुरुप्रसाद मैनालीसँगको सहयात्रामा म आफ्नो कथाका अनुभूतिलाई पुन: ताजापन दिँदै छु ।

‘नासो’ गुरुप्रसाद मैनालीको एउटा मात्र कथाङ्ग्रह हो र त्यसमा सङ्कलित एघारवटा कथा नै नेपाली साहित्यमा उनले जोगाएका चर्चित साहित्यिक पुँजी हुन् । तिनलाई सघन रूपले पढ्नु, विमर्श गर्नु, लेखकीय जीवनयात्रासित जोड्नु र पाठकीय निष्कर्ष निकाल्नु मेरा निम्ति कुनै साहित्यिक यात्राजस्तै रोमाञ्चक विषय हो । विद्यालय र कलेजका पाठ्यपुस्तकमा पढेबाहेक क्याम्पसमा अध्यापन गर्दाको पच्चीसवर्षे अवधिमा मैनालीका केही कथासँग धेरै पटक जम्काभेट भएकै हो । पढाउने क्रममा ‘नासो’ कथाबाहेक ‘छिमेकी’, ‘कर्तव्य’, ‘सहिद’, ‘चिताको ज्वाला’ जस्ता कथाबारे टिप्पणी, समीक्षा र केहीको त समालोचना पनि लेखिएकै हो । तर, लेखकसँगको मेरो कृतिगत यात्रा भने यो नै पहिलो हो । कथा पढ्दै गर्दा तिनमा पाइने सामाजिक विषयको गहिराइ, कथ्य भाषाको प्रवाह र सिर्जना शिल्पको प्रभावकारिताका कारक पहिल्याउँदै तिनलाई मैनालीका उमेर र अनुभव जोड्नु निश्चय नै कठिन छ, तर पनि यो यात्रा आनन्द र उत्सुकताले भरिएको छ । किनभने कथा पढ्नु भनेको यसै पनि जीवनका अप्राप्य अनुभवसँग साक्षात्कार गर्नु नै हो ।

मैनालीका कथामा प्रवेश गर्दा तिनका सबैजसो पात्र जीवन्त बनेर मनमा गढीकन बस्दा रहेछन् । तिनमा पनि जति दु:ख पाउँदासमेत त्यसको कारण आफैंलाई ठानी प्रायश्चित्त गर्ने पात्रहरूले तानिराख्दा रहेछन् । पात्रको मानवीय नैतिकता नै यी कथाले समाजलाई दिने जीवनको रहस्य रहेछ । प्रारम्भमा सौताप्रति अहम् र पतिप्रति पक्षपातको आरोप रहे पनि ‘नासो’ की सुभद्रा जब पति र पुत्रको सन्तापले घर फर्किन्छिन्, उनको परिवार पुनर्जीवित हुन पुग्छ । ‘छिमेकी’ मा जोदाहा बाहुबली धनजितेले प्रारम्भमा गुमानेलाई कुलामा लगेर पछारे पनि अन्त्यमा गुमानेको सहयोगले अभिभूत भएर उसको सबैभन्दा घनिष्ठ मित्र हुन पुग्छ । ‘कर्तव्य’ मा आफ्नो स्वार्थका खातिर दाजुसँग बाबुको जिउनी खेत खानका निम्ति मुद्दा जितेका श्रीधर अन्त्यमा मुरलीधरलाई बोलाएर खेत आधा–आधा खान तयार हुन्छ । ‘बिदा’ मा घरको करकापमा परी प्रभालाई सौता ल्याउने नरेन्द्र हरिद्वारसम्म पुगेर आफ्नो कमजोरीको प्रायश्चित्त गर्छ । छिमेकीको बिहेमा गएर भात पकाउन ढिलो गरी भनेर पत्नीलाई कुट्ने ‘परालको आगो’ को चामे अन्त्यमा लाचार भएर गौंथलीलाई फकाउन ससुराली पुग्छ । यसरी पश्चात्तापी पात्रको रचना गर्नुमा गुरुप्रसाद मैनालीको मानवतावादी चिन्तनको प्रभाव परेको छ किनभने उनी मान्छेलाई गल्ती गर्ने तर सधैं सुधारका निम्ति उन्मुख हुने सिर्जना मान्दारहेछन् ।

प्रेमसम्बन्धको चित्रण र त्यसको सामाजिक प्रभाव उनका कथाको महत्त्वपूर्ण पक्ष हो । प्रेमको चित्रणमा मैनालीको चिन्तनको विरोधाभास उनका कथामा प्रस्ट रुपमा प्रकट हुन्छ । उनी विवाहअघि हुने युवायुवतीको प्रेमलाई अस्वीकार पनि गर्दैनन् र त्यसमा सन्तुष्ट पनि हुँदैनन् । पात्रहरूको विवाहमा कुल, गोत्र, धन, अवस्थालाई महत्त्व दिनेप्रति उनी व्यङ्ग्य पनि गर्छन्, तर स्वतन्त्र प्रेमलाई सफल देखाउन पनि सक्दैनन् । त्यसैले विधवा गौरीलाई प्रेम र यौनसम्बन्धको सजाय आत्महत्याको प्रायश्चित्तबाट गराउँछन्, झर्रो छेत्री ज्वाइँ खोज्ने अगमसिंह खत्रीप्रति व्यङ्ग्य गरेर पनि प्रभा र नरेन्द्रको प्रेमको सफलतामा उनलाई सन्देह हुन्छ । विवाहित शशि र हरिको प्रेम सफल नभई उनीहरू चिताको ज्वालामा छटपटिनुपर्ने हुन्छ । प्रेम र विवाहको मैनालीको द्विविधा शशिले ‘मैले फेरि विवाह गर्नुहुन्छ र ?’ भनी सोध्दा हरिको उत्तर हुन्छ— ‘हुन्छ–हुँदैन त्यो त म निश्चय गरेर भन्न सक्दिन, तर केही आइमाईले त्यसो पनि गरेका छन् ।’ यसरी कथामा मैनालीको आधुनिकताप्रतिको बाह्य आकर्षण र परम्परागत हिन्दु चिन्तनको मानसिक सङ्कीर्णता एकै पटक प्रकट हुन पुग्दोरहेछ ।

आदर्शको पक्ष हेर्दा उनमा हिन्दु धार्मिक पद्धतिप्रति गहिरो आस्था देखिँदोरहेछ र पात्रहरूको क्रियाकलाप त्यसैअनुरूप चित्रण गर्दारहेछन् । मैनाली आफैं पनि गान्धीको धार्मिक–नैतिक व्यावहारिक पक्षबाट प्रेरित र धार्मिक शुद्धतामा कट्टर रहेछन् । यसैका निम्ति उनले आफ्ना आदर्श पात्रहरूलाई धार्मिक पूजापाठका क्रियाकलापमा संलग्न गराइहाल्दारहेछन् । मुरलीधरलाई आदर्श देखाउन उनले गरेको वर्णन यस्तो छ : ‘सबेरै नुहाउँथे, आधा दिनसम्म पूजापाठ गर्थे । उनी आफ्नु धर्म र संस्कृतिका उपर असीम श्रद्धा राख्थे । आफ्ना पिताझैं उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे ।’ यस्ता आदर्श बनाइएका पात्र पनि भाइसित बसेका पिताको जिउनी सम्पत्तिमा आँखा गाड्छन्, आफ्नो पक्षमा फैसला गराउन गाउँ बोलाउँछन् र नसकेपछि अड्डामा गई मुद्दामामिलामा ओर्लन्छन् ।

यसप्रकारको विरोधाभासमा मैनालीले आँखा चिम्लेको देखिन्छ । अर्कातिर ‘परालको आगो’ कथामा जुठे दमैलाई आदर्श देखाउन पनि उस्तै प्रकृतिको वर्णनलाई महत्त्व दिएका छन् : ‘जुठे चाखीनीति पनि गर्थ्यो । बिहानै धारामा गएर नुहाउँथ्यो । नुहाइसकेपछि पँधेर्नीहरूले लुगा पकाएको ठाउँको खरानीको बिगुत लाएर विद्युत्को सरि रूप लिई गगनमा उड्नुभयो झट् तसै भन्ने स्तोत्र पाठ गर्थ्यो ।’ यसरी आदर्श देखिन हिन्दु धर्मकै आड लिए पनि यस कथामा दलित पात्रको गृहस्थ जीवनलाई आदर्श बनाएर मैनालीले राणाकालमै नेपाली समाजलाई एउटा महत्त्वपूर्ण सन्देश दिएका हुन् । नेपाली साहित्यमा दलित अध्ययनका निम्ति विसं १९९५ सालमा प्रकाशित यो कथा प्रारम्भ र गौरव दुवै हो ।

जातीय दृष्टिबाट उनका कथा पढ्दा पनि गजबकै निष्कर्ष निस्कँदोरहेछ । उनले कथामा आफूलाई जान्ने–बुझ्ने ठान्ने, कमजोरको पक्ष लिएजस्तो पनि गर्ने, गरिबहरूलाई लडाएर रमिता पनि हेर्ने तर परिआएको बोला आफ्नो स्वार्थका निम्ति सत्यलाई तिलाञ्जली दिन तयार हुने कातर मध्यम वर्गको प्रतिनिधित्व बाहुन पात्रबाट गराएका रहेछन् । उदाहरणका लागि ‘छिमेकी’ कथाको पात्र धर्मानन्द पाध्ये पढे–लखेको र बुज्रुग भए पनि मान्छेका बीच फाटो पार्न र झगडाका निम्ति उचाल्न रमाइलो मान्छ ।

त्यस्तै, ‘पापको परिणाम’ कथाको दीनानाथ पाध्ये पनि पहिले जुठे, धनेजस्ता पात्रलाई कान्तुको विपक्षमा सहानुभूतिको नाटक गर्छ, तर वन फाँडेको आरोप आफूमाथि पनि पर्ने देखेपछि असत्यको सहारा लिएर गरिबहरूलाई नै सजायको भागीदार बनाउँछ । नेपाली समाज अहिले पनि यस्तै अनेक रङका स्वार्थचालित नीच बुद्धिजीवीहरूको कोपभाजन बनिरहेको यथार्थ पनि यसले सङ्केत गर्नेरहेछ ।

न्याय यथार्थ जीवनमा पाउनुपर्ने हो कि मरेपछि ईश्वरले गर्ने हो ? मैनालीजस्ता लामो समय न्यायसम्पादनमा बिताएका कथाकारमा समेत यस प्रश्नमा संशय देखिनेरहेछ । उनका कथामा न्यायको पालना ईश्वरले गराउँछन् भन्नेमा विश्वास पाइन्छ । ‘नासो’ कथामा देवीरणकी कान्छी पत्नी दुलहीको मृत्यु गराएर सुभद्रालाई न्याय दिलाइएको छ । ‘पापको परिणाम’ कथामा गरिब–मारा कान्तुका दुवै छोरालाई मरेको देखाएर जुठेको छोराप्रति न्याय गरेको सङ्केत गर्न खोजिएको छ । ‘सहिद’ मा वीरबहादुरको पैसा चोर्ने धने पछि पुलिसको थुनामा परेर सजाय पाएको छ ।

यी कथामा भएका घटना कथाकारका दृष्टिमा पाप धुरीबाट कराएका उदाहरण हुन् किनभने उनको न्यायप्रणालीले गौरीलाई न्याय दिन सक्दैन, प्रभालाई नरेन्द्रको परिवारमा स्थापित गर्न सक्दैन, शशिलाई जीवनदान दिन सक्दैन । सौतेनी आमाका ताडन भोग्नु कृष्णको नियति बन्छ । त्यसैले उनका कथा सकारात्मकभन्दा नकारात्मक र सहानुभूतिशील बनेका छन् । यथार्थवादी कथाको पाठकको संवेदनामा बलियो प्रभाव पार्ने र जीवनलाई दु:खको आगोमा जलाएर जर्जर र रुग्ण देखाउने कमजोर पक्ष नै यही हो । ‘परालको आगो’ र ‘प्रत्यागमन’ बाहेक उनका सबै कथा पाठकको संवेदनाको शोषणकै करण शक्तिशाली बनेका छन् ।

मैनालीका कथामा पाइने समाजको अध्ययन, घटना र परिवेशको चित्रण एवम् पात्रहरूको योजनाको रूपरेखामा उनको घुमन्ते बसाइ र जागिरको विशेष प्रभाव परेको छ । मैनालीको जन्म धनकुटामा भए पनि उनको पुख्र्यौली घर काभ्रेको कानपुर हो । तर, उनको खास बसाइ भने नुवाकोटको नर्जा–कपिलासमा भएको हो । उनका पिता काशीनाथ मैनाली राणाकालमा प्रभावशाली सरकारी जागिरे भएका कारण सरुवासँगै उनको बसाइ तराई र पहाडका विभिन्न स्थानमा भएको पाइन्छ साथै न्याय र प्रशासनिक अड्डामा रहेको आफ्नै जागिरले पनि उनलाई नेपाली जीवनलाई नजिकबाट बुझ्न सहयोग गरेको देखिन्छ । काठमाडौंमा रहँदा पं. हेमराज पाण्डेको पुस्तकालयमा पढेर होस् वा वागलुङ, रौतहटका गाउँ डुलेर होस्, मैनालीले जनजीवनलाई नजिकबाट पर्गेल्ने अवसर पाएका हुन् । त्रिभुवनकी आमासँग भारत भ्रमणमा जाँदा उनले त्यहाँ नेपालीहरूको अवस्था देखेका हुन् । यी सबै पक्षको छाप उनका कथामा पर्याप्त छ र उनको पक्षधरता पनि गौंथली, प्रभा, शशि, वीरबहादुर, जुठेजस्ता कमजोर वर्गका पात्रप्रति नै देखिन्छ ।

नासोको पुनर्पठन गर्दा मेरो मनमा पटकपटक आइरहेको एउटा प्रश्न हो— वास्तविक जीवन र कथाबीच के फरक हुन्छ होला ? जीवन समयअनुसार परिवर्तन हुँदोरहेछ, तर कथा भने जस्ताका तस्तै रहिरहँदोरहेछ । समस्या पर्दा समाधानका निम्ति जीवनमा अनेकौं बाटा पहिल्याउन सकिने रहेछन्, तर कथाको भने यात्रा सधैं एउटै र उही बाटामा मात्र हिँड्दोरहेछ । त्यसैले त ९५ वर्षपछि अहिले पनि देवीरमण सुभद्रालाई सौता हालेर धर्मको ठेकेदार भइरहेका छन्, चामेले गौंथलीलाई कुटेर परपीडनको आनन्द लिइरहेकै छ । कतै कान्तु पाध्ये सधैं सत्ता र सम्पत्तिको बलले जुठे, धने र मङ्गलीजस्ता गरिबहरूको बिजोक बनाउँदै निर्धक्क दादागिरी गरिरहेको छ भने इमानदार वीरबहादुर विदेशमा रिक्सा तानेर गाउँमा परिवारको बिजोग हेर्दै छ ।

वास्तवमा हाम्रो नेपाली समाज के अहिले ‘नासो’ का कथामा भन्दा अग्रगामी गएको हो त ?

प्रकाशित : असार ५, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?