बा- कोसेली - कान्तिपुर समाचार

बा

स्नेह सायमि

बाले 
भोक चपाएर जोगाइराखेको 
पानी लाग्ने खेत
कुहिनो र कुम टालेको 
चोलो लगाएर 
आमाले
बाँकी राखेको 
बारीको पाटो 
न धान उमार्न सकियो 
न साग फलाउन 

न गोड्न सकियो वर्तमान

न जोड्न सकियो एक नयाँ साँघु

बाँझो राखेर आफ्नो माटो

जोतिरहें आफूलाई


बा ! मैले जोगाउन सकिनँ

तिम्रो युग जोगाउने इच्छा

साटिदिएँ एउटा चारपांग्रेसँग बारीको पाटो

र आयातित पेट्रोल खर्चेर जिउँदै

गइरहेछु आफ्नो जिन्दगीको मलामी

एट्याच्ड बाथरुममा सावर लिएर

पखालिरहेछु हरेक दिन

तिमीले नदीमा स्नान गरेर

पुस्तान्तरण गरेको स्वाभिमानको मुहान


हातगोडा चलाउन किनेको छु

एक्सरसाइज एप !

र, युट्युबमा सिकिरहेछु तन्दुरुस्त हुने

व्यायाम !

हेला गरेर अँगेनामा पकाएको

फापर–कोदाको रोटी

तोरी–रायोको साग

चपाइहेछु बर्गरसँग आफ्नै आयु


झुन्ड्याएर विद्यावारिधिको घमन्ड

पालेर अग्रजहरुप्रति तीव्र घृणा

फुकालेर आफ्नो आदिम पहिचान

पिइरहेछु ह्विस्कीसँग मीठो विष

गाली गर्दै तपाईंका आशीर्वचनलाई

गाइरहेछु, कसैले सिकाएको नयाँ विदेशी गीत

म हराइरहेछु यो बजारमा

मलाई किन लाग्छ,

आफ्ना बा–आमा शत्रु

मलाई किन लाग्छ,

आफ्नै दिदीबहिनी प्रतिस्पर्धी

मलाई किन लाग्छ,

आफू जन्मेको घर परदेश

कसले गरिसकेको छ

मेरो मन मस्तिष्कको अप्रेसन !


र, म डराइरहेछु

आफ्नै पुरानो सपनासँग

कुन मालिकले मलाई अँगालेर

के सोच सिकाइरहेछ

पुरानो ठाउँ फर्कन खोजेर पनि

फर्कनै नसक्ने गरी

यो सहर–बजारले मलाई

बोकाएर उसको स्वार्थको भारी

के लालचको सगरमाथा चढाइरहेछ !

बा म के बन्न चाहन्थें

के बनाइरहेछ ?

बा म के भन्न चाहन्थें

के भनाइरहेछ ?

प्रकाशित : चैत्र ७, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

एक्ला बालबालिकाका बेचैनी

अभिभावकको आत्मिक साथ, प्रेरणा र हौसला पाएर अघि बढ्ने उमेरमा एक्लोपनको अनुभूतिले निराश भएका बालबालिकाको मानसिकता र बेचैनीलाई किताबमा लेखिएको छ ।
ज्ञानु अधिकारी

आज पनि नेपाली समाज एउटी छोरीबाट स्वाभिमान र पहिचान चाहँदैन, केवल अनुशासन, मर्यादा, सम्झौता र इज्जत चाहन्छ । परिवार चाहन्छन्– उसले दायाँबायाँ नहेरोस् । अभिभावकको निर्देशनअनुसार मात्र पाइला चालोस्, नम्र, विनयी र सुशील भइराखोस् किनकि कुनै राम्रो (?) केटा वा परिवारले विवाहका लागि प्रस्ताव गरून् । उसको गृहस्थी जमोस् र ऊ त्यसमै सन्तुष्ट देखियोस् ।

नेपाली समाज र आमपरिवारले आजसम्म पनि छोरीबाट राखेको अपेक्षा मोटामोटी यत्ति नै हुन्छ र बारम्बार उसलाई यही रटाइन्छ । समाज र परिवारले कुनै दबाबबिना, नैतिक उपदेशबिना र डर–धम्कीबिना स्वतन्त्र रूपमा छोरीलाई हुर्कन नै दिँदैन र उसलाई तिमी कमजोर छौ, तिमी हरहमेसा सतर्क रहनुपर्छ भन्ने अनुभूति दिलाइरहन्छ । यस्तै दबाबका कारण असल र इमानदार छोरी बनेर देखाउने रहरमा एउटी किशोरीले कतिथरी सपनाको पखेटा काट्नुपर्छ, कति रहर र चाहनालाई आफैंभित्र दबाउनुपर्छ र ऊ कति तड्पिनुपर्छ भन्ने न अभिभावक बुझ्छन् न त अरू कसैले यसतर्फ चासो नै दिन्छन् । यसरी कसैले नबुझेको र बुझ्न नखोजेको एउटा पृथक विषयमाथि लेखिएको उपन्यास भर्खरै प्रकाशित भएको छ ।

सानु शर्माको उपन्यास ‘उत्सर्ग’ मा होस्टेल र आफन्तको जिम्मा लगाएर अभिभावक विदेश गएपछि एउटी बालिकाको बाल्यकाल, किशोरकाल र युवावस्था केकस्ता अवसादहरूका बीचमा गुज्रन्छ भन्ने विषय प्रस्तुत गरिएको छ । किताबमा भौतिक सुखसुविधाको मोहसँगै बाबुआमाका जीवनमा आएका बाध्यता र सपनाको बन्दी भएकी एउटी बालिकाको जीवनले पार गरेका दुर्घटित मोडलाई गम्भीर रूपमा प्रस्तुत गरिएको छ ।

सानु शर्माको यसअघि ‘अर्थ’ (२०६८), ‘विप्लवी’ (२०७४), ‘एकादेशमा’ (२०७५) जस्ता आख्यानहरू प्रकाशित छन्, ‘उत्सर्ग’ (२०७७) उनको चौथो आख्यान–कृति हो । लामो समयदेखि विदेशमा बस्दै आएकी शर्माका आख्यानमा स्वदेश र विदेशका पात्र तथा परिवेशको सम्मिश्रण पाइन्छ । मानवीय संवेदनाका सूक्ष्म अनुभूतिलाई कलात्मक रूपमा प्रस्तुत गर्नु उनका आख्यानको विशेषता हो । यस उपन्यासमा मानवीय जीवनको यस्तै एउटा फरक आयामलाई देखाइएको छ । बाल्यकाल, किशोरकाल हुँदै युवावस्थामा पुगिसक्दा पनि अभिभावकको वात्सल्य, माया र साथ नपाएकी आर्याको मनोदशा र एक्लोपनको अनुभूतिले उसका जीवनमा पारेका जटिलतालाई यस उपन्यासमा मिहिन रूपमा प्रस्तुत गरिएको छ । कहिले होस्टल, कहिले आफन्त, कहिले आफैंले किनेको घरमा एक्लै बस्दै आएकी आर्यामा विदेशमा बस्ने आमाबाबाप्रति उत्पन्न भएको जुन वितृष्णा र उदासीनता छ त्यही नै यस उपन्यासको केन्द्रीय कथ्य हो ।

अभिभावकको आत्मिक साथ, प्रेरणा र हौसला पाएर अघि बढ्ने उमेरमा एक्लोपनको अनुभूतिले निराश भएका बालबालिकाको मानसिकता र बेचैनीलाई किताबमा लेखिएको छ । यस्तो अवस्थामा उनीहरूभित्र नकारात्मकता सिर्जना भई जीवनमा सही निर्णय लिन नसक्ने र असल–खराबबीचको भेद छुट्ट्याउन नसक्ने स्थिति आउने यथार्थलाई किताबमा देखाइएको छ । युरोपेली मुलुकहरूमा राजदूत भएर गएका बाबा र आमाकी एक्लो सन्तानका रूपमा विदेशमै जन्मिएकी आर्यालाई ६ वर्षको उमेरमा काठमाडौंको कुनै होस्टेलमा राखेर उनीहरू फर्केपछि आर्याले अभिभावकको अनुपस्थितिमा भोगेका भोगाइ, अनुभव र उसले सामना गर्नुपरेका मानसिक, शारीरिक तथा अन्य जटिलतालाई किताबमा लेखिएको छ । आर्याले जीवनलाई पछाडि फर्केर हेर्ने क्रममा संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा उसले बिताएका बाल्यकालका त्रासद अनुभूतिहरूलाई प्रस्तुत गरिएको छ ।

कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलको जिम्मामा छाडेर विदेश जाने गरेको स्थिति छ र यसलाई सन्तानकै भविष्य र खुसीका लागि गरिएको संघर्ष र त्याग भएको बताउने गरिन्छ । वास्तवमा सन्तानको भविष्य र खुसी पैसामा होइन, अभिभावकबाट पाउने साथ, सहयोग, प्रेरणा र सही मार्गदर्शनबाट मात्र सम्भव छ भन्ने कुरालाई उपन्यासमा प्रभावी रूपमा देखाइएको छ । अभिभावकको सामीप्यबाट टाढा रहेका बालबालिकामा पर्ने मानसिक आघातका साथै अभिभावकप्रतिको वितृष्णालाई देखाइएको यस उपन्यासको एक ठाउँमा भनिएको छ, ‘अब कसरी माफ गर्थें आफ्ना जन्मदातालाई, मेरो त्यो दारुण बालापनका लागि ? उमेरभन्दा परिपक्व हुने प्रयासमा बारम्बार भोग्नुपरेको पीडाका लागि ?’ विदेशबाट पठाइएका महँगा खेलौना, चकलेट, चिजबिज र सुविधाहरूले बालहृदयमा जागृत मायाको, प्रेमको र आत्मीयताको भोक साम्य हुन सक्दैन । उनीहरू त्यही भोकका कारण आहत हुन्छन् र आफ्ना जन्मदाताहरूलाई घृणा गर्न पुग्छन् भन्ने कुरा आर्याका माध्यमबाट उपन्यासमा व्यक्त गरिएको छ ।

उपन्यासमा आर्याको विकट बाल्यकाल मात्र आएको छैन उसले एकान्त र एक्लोपनमा नै रित्याएको किशोरकालका जटिल दिनहरूको चित्रण छ । बेचैनी र छटपटीमा बिताएका यौवनकालका सुरुवाती दिनहरूको वर्णन छ अनि एक्लोपनबाट सिर्जित कमजोर मानसिकताका कारण ऊबाट भएका गल्ती र कमजोरीहरूको अभिव्यक्ति छ । स्नेह र आत्मीयताको अनुभूति प्राप्त गर्नुभन्दा बढी अभिभावकबाट बारम्बार सुन्नुपरेको अर्तिउपदेश र नैतिकताको पाठले आजित बनेकी एउटी किशोरीले कसरी आफ्नो बालसुलभ चञ्चलता, सपना, रहरहरूलाई मार्न बाध्य हुन्छे भन्ने उपन्यासमा मार्मिक किसिमले प्रस्तुत गरिएको छ । आर्याको जीवनमा प्रेमी बनेर आएको गौरव र श्रीमान् बनेर आएको आदित्यका माध्यमबाट पुरुषका नकारात्मक र सकारात्मक प्रवृत्तिहरूको सूक्ष्म चित्रण पनि उपन्यासको महत्त्वपूर्ण पक्ष हो ।

एकातिर समझदार हुनुपर्ने, दायाँबायाँ नगर्ने, अनुशासित हुनुपर्ने अभिभावकको दबाब र अर्कोतिर ‘तिमी नभई बाँच्नै सक्दिनँ’ भनेर अघिपछि लाग्ने केटाको धम्की अनि भर्खर सुरु भएको कलेजको पढाइ र अत्यासलाग्दो एक्लोपनले छटपटाएकी आर्याको जटिल अवस्था युवावस्थामा प्रवेश गर्दै गरेका आमकिशोरीहरूको जटिल अवस्था हो । यस्तो समयमा यदि अभिभावक, आफन्तको साथ र सुझावबाट वञ्चित हुनुपरेको अवस्थामा उनीहरूले सही निर्णय गर्न सक्दैनन् भन्ने कुरा किताबमा देखाइएको छ । भौतिक सुविधा र सम्पन्नताले होइन प्रेम र साथले मात्र छोराछोरीहरूलाई सफल मार्गमा डोर्‍याउन सकिन्छ भन्ने आशय उपन्यासले प्रस्तुत गरेको छ ।

साहित्यिक वाद र प्रयोगको जालोबाट मुक्त यो उपन्यास अनुभूतिपरक छ । आमपाठकलाई व्यावहारिक रूपमा प्रभाव पार्नु र विषयको गम्भीरतालाई बोध गरी संवेदित बनाउन सक्नु उपन्यासको विशेषता हो । सीमित पात्रका माध्यमबाट गम्भीर विषयलाई प्रस्तुत गरिएको उपन्यासको सबल पक्ष भनेको यसको प्रवाहमय, सरल र कलात्मक भाषाशैली हो ।

प्रकाशित : चैत्र ७, २०७७ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×