अग्निपन्छीको एथेन्स उडान- कोसेली - कान्तिपुर समाचार

अग्निपन्छीको एथेन्स उडान

फिनिक्स शब्दको सर्वप्राचीन उल्लेख पश्चिमका हेरोडोटसले गरेका छन् ईसापूर्व पाँचौं शताब्दीमा । यो यस्तो चरा हो, जो स्वयं आगो उत्पन्न गरेर खरानी हुन्छ र त्यसैबाट पूर्ण नयाँ कायामा उब्जिएर उड्छ । पूर्वीय अनुवाद हुन्छ– अग्निपन्छी । ‘फिनी’ तृणासन हो संस्कृतमा । सिमलचरी जल्दा तृणासन (परालासन) मै हुन्छे हाम्रो कथामा । सिमलचरी जलेर खरानी हुन्छे । तर, अरु चराका प्वाँखहरु सापटी लिएर ऊ उड्छे अर्थात् अति रंगीन हुन्छे– हाम्रो कथाले भन्छ । अर्थात् पाँचौं शताब्दीअघि ग्रीकहरुले त्यो हाम्रो अग्निपन्छीलाई टिपे ।
सौरभ

धारणाहरू
गोंग याने कुखुराको भाले भन्छन् छानाका चार कुनामा रहेका उड्न लागेका जस्ता चरालाई ठिमी, भक्तपुर, बुङ्मती, कीर्तिपुर आदि निवासीहरूले । गोंगपा याने भाले इँट भन्छन् खोकनाकाहरूले ।

बखुन्चा याने परेवा इँटा भन्छौं हामी– एक अर्का खोकनावासीले भने । बुझ्नुपर्छ खोकनवासीमा यसबारे स्पष्टता छैन । चट्याङ पर्दैन भनेर हाल्ने हो– ठिमीका एक व्यवसायीले भने । फाट्टफुट्ट अरूका भनाइ पनि त्यस्तै थिए । तर कुखुराको भाले र चट्याङबीचको सम्बन्धबारे स्थापित मान्यता छैन । जस्तो कि च्याखुराको बारेमा छ । च्याखुराले आगलागी सुरु भएको संकेत गर्छ भन्ने स्थापित धारणा छ । यति पिरो ख्वाइन्छ च्याखुरालाई पछि त आगोको फिलिंगो पनि यसले पत्तो पाउँदैन भनेर सन् १९०३ मा फ्रान्सिस बुखानन ह्यामिल्टनले लेखेका छन् ।

मन्दिरका टुँडाल तल अश्लील दृश्य राखिनुको कारण आकाशबाट झर्ने बज्रा (जो कुमारी हुन्) तल आइपुग्नुअघि नै त्यस्तो दृश्य देखी लाज मानेर फर्की जाऊन् भन्ने हो– धनशमशेर राणाले तान्त्रिक कारण दिएका छन् (कामकला रहस्य) । यही धनशमशेरको तान्त्रिक तर्क कुखुरामाथि खामिएको हो, त्यो तर्कको आधार छैन फेरि पनि ।

चखुँपा याने भँगेरा इँटा भन्छन्, पानी तर्कियोस् भनेर हाल्ने हो– एक कीर्तिपुरवासीले भने । तिनैले भने– एक पश्चिमाले ‘रूप’ भन्दै थिए कसैलाई सोधेपछि ।

कुँपा याने कुनाको पखेटा हो– खोकना र बुङमतीवासी केहीले भने । कुम्पा कुनाको झिंगटीलाई भनिन्छ (पेज ३७८, नेपाली प्रतिमा लक्षण, क्षत्री र रायमाझी, २०५४), क्वपुअपा अर्थात् धुर छोप्ने इँट वा झिंगटी हो भन्नेसमेत केहीको भनाइ थियो ।

कु झँग (कुनापंक्षी, पेज ६४, नेपाल, पूर्णांक २७०, राजवंशी) पनि लेखिएको छ । तर यही जातको चरा हो भनी चिनाइएको छैन केही । कुँशल अर्थात् कुनामा रहने (कुँ ≠ कुना+ अश्वल ≠ घोडा) बाट झिकेर कुँपा भनिदिएपछि जिब्रोलाई सजिलो हुने नै भयो । यो तथ्यबाट पलायन मात्र हो ।

चिलाएअपा (सिउरे इँट) भनिन्छ यसलाई पनि कसैले लेखेका छन् (नेवारी–नेपाली शब्दकोश– श्रेष्ठ र तुलाधर) लाक्षणिक अर्थ गोंगपा नै हो यसको ।

हेँचा याने हाँस भन्छन् ठेचोकाहरूले । तर, ठेचोमा भएका त्यस्ता कुनै चराका चुच्चोहरू फ्यात्त परेका छैनन्, हाँसको जस्तो ।

मयूर थियो पहिला कुनामा, फुटेर गएपछि धातुको पखेटारूपी बनोट हालिएको हो– खोकनाको रुद्रायणी मन्दिरको छानोको चरोबारे एक स्थानीयले भने अर्थात् गोंग परम्परागत होइन ।

गरुड देखिन्छ चाँगुनारायण मन्दिरको चारै कुनामा भएको धातुको पखेटारूपी बनोटका ठीक पछाडि । गरुड नारायणको वाहन भएकाले माटोको बनाइनु अनौठो भएन तर त्यो पछाडि मात्र छ । धातुको पखेटा हालिनुअघि त्यहाँको चराको रूप के थियो भन्न सकिन्न ।

गोंग भनिएको बनोटको माथि चरा बसेको छ भक्तपुरको भैरव मन्दिरमा । पछाडि मात्र होइन माथि पनि चरा आएको छ ।

कर्नर हर्न (कुनाको सिंग) संज्ञा दिएका छन् पश्चिमा उलरिच वेल्सनरले यसलाई (म्यान एन्ड हिज हाउस, सम्पादक तँ फ्या) ।

यसरी कुखुराको भाले, भँगेरा, हाँस, परेवा, मयूर, सारौं (रूप अथवा रूपी) देखि गरुडसम्म मन पर्दो उच्चारण सामान्य भइसकेको छ काठमाडौंमा । र अब हुँदाहुँदा कुनाको सिंगसम्मको नाम पाएको छ यसले एक दर्जन नामहरूबाट गुज्रँदा । यसबारेको यकिन विस्मृत छ ।

इमापा (चिल इँट) हुन्छ सिउर नभएको, सिउर भएको गोंगपासँगै– अर्को खबर छ काठमाडौंको । यो कुरा माथिको चिलाएआपासँग मिल्न गएको छ । तर, यो कुरा भाटभटेनीको कथासँग मेल खाँदैन । जुन चिलले मानिसको बच्चालाई उडाएको हुनाले मन्दिर नै बन्न गएको छ त्यस चिललाई अरू मन्दिरको निर्माणमा किन प्रयोग गरियो होला भन्ने प्रश्न अवश्य उठ्छ ।

न्याकोतित्या

मन्दिरका छानावरिपरिका चराहरूलाई न्याकोतित्या भनिन्छ र घडीको सुईको आधारमा राखिएको हुन्छ– न्यातापोलमाथि शोध गरिरहेका विनोद राजोपाध्यायबाट सरोज श्रेष्ठ हुँदै पंक्तिकारलाई आएको जानकारी हो । अब त्यसतर्फ जाऊँ–

न्या–माछा अवश्य हो, तर यो सगुनको अर्थमा आएको हो । अष्टमंगलमध्ये एक हो माछा । तर, सगुन शब्द नै चराबोधक सकुन शब्दबाट बनेको हो । नेवारहरूले फूललाई सगुन मान्नुको कारण नै त्यो सकुन अर्थात् चराको स्रोत हो । त्यो चलन मोरक्कनहरूमा पनि छ । यसर्थ सगुन माछा र सकुन चरालाई छानामा चढाउँदा माछा सगुनलाई सकुनले टिपिरहेको द्विअर्थी अभिव्यक्ति दिइयो अर्थात् ‘न्या’ ले माछा होइन अन्ततः चरा नै जनाउँछ ।

‘को’ अक्षरले काग अवश्य जनाउँछ तर काग छोइँदैन, छोएमा नुहाउनुपर्ने चलन छ भने त्यसलाई सगुन मानेर छानामा राख्ने कुरा आउँदैन । माथि रूप पनि भन्ने गरिन्छ लेखियो । नेवारीमा कायँचा भनिन्छ सारौंलाई र रूपी सारौंको अर्को नाम हो, सिन्टोला, डांग्रे भनेजस्तै । तर सारौं खाएमा छारेरोग हुन्छ भनेर खाइँदैन । यसैले सारौंलाई छानामा चढाउने कुरा आएन । अर्थात् ‘को’ ले काग होइन, ‘क्वले’≠ नेवारीमा चराले चारा टिप्नु (माछा टिप्नु) भनेर जुन अर्थ दिन्छ यहाँ त्यही मात्र बुझिन्छ ।

ती र त्या–तीको एउटा अर्थ नेवारीमा पानी बग्ने डोरो, डोब बनाउनु पनि हो । भितक्भितक् (टिकटिके चरो), तितझंग (तित्रो), को कुनै सांस्कृतिक महत्त्व छैन । तित्रासँग मिल्ने हुटिट्याउँ हो, नेवारीको तितित्याँउ । तितित्याउँ यथार्थमा संस्कृतको टिट्टिभको अपभ्रंश हो । तर हुटिट्याउँलाई आकाश थाम्छु भन्ने स्वांगेको रूपमा लिइन्छ । यसलाई छानामा चढाउने कुरा आउँदैन । यसर्थ ‘ति’ को अर्थ नेवारीमा पानी बग्ने डोरो मात्रै हो, छानोबाट पानी चुहिन नदिइने इँट कुम्पाभन्दा बढी अर्थ खुल्दैन । र, ‘त्या’ अक्षर पनि ‘ति’ कै रूपान्तरण मात्र देखिन्छ अर्थात् कुलेसा र खोल्साहरू भन्ने मात्र अर्थ हुन्छ ।

थप कुरा । माथि चखुम्पा अर्थात् भँगेरा इँट भनिन्छसम्म उल्लेख गरियो । नेवारहरू तान्त्रिक पूजामा दुई भँगेरा प्रयोग गर्छन् । एउटालाई आगोमा होमेर र अर्कोलाई स्वर्गसम्म पुग्ने सन्देशवाहकको रूपमा छोडेर । यो धातुको चरा नउडुन्जेल म जिउँदो रहेको ठान्नू भनी योगनरेन्द्र मल्लले भनेका थिए भन्दै उनको ओछ्याननजिक हुक्का, तमाखु, खाना हरेक दिन समयमै दिने चलन थियो । उनको मूर्तिमा रहेको चरालाई अझै त्यसैगरी हेरिन्छ पनि । भक्तपुरमा भूपतिन्द्र मल्लको सालिकमा पनि यो चरा छ । यसैले भँगेरालाई स्वर्गको सन्देशवाहक चरा हो भनी बुझ्नुपर्छ तर भँगेरा अति कामुक चरामा गनिने हुँदा सात्त्विक र जीवित देवताको मन्दिरमा राखिने चरा चखुम्पा होइन भन्ने पनि स्पष्ट छ ।

अग्निपन्छी

बुङ्गेचरालाई अंग्रेजीमा सनबर्ड भनिने हुनाले अग्निपन्छी भन्न मिल्छ । नेपालको चलनमा चाहिँ अग्निन्छी भनिन्छ तोपचरालाई । घरको पूर्वपट्टि चरा बस्ने प्वाल हुनुपर्छ, यो अग्निपन्छी बस्नका निम्ति हो जसले सूर्योदय भएको संकेत दिन्छ, घडीको काम गर्छ भनेर एक जनाले लेखेका छन् । एक जना भनेर नामचाहिँ नदिइएको कारण छ । उनको कुरा सही होइन र उनी बिती पनि सके ।

तर, तैतिरीयसंहिताले सबै चरालाई अग्नि मानेको छ अर्थात् अग्निपन्छी भनेको विशेष चरा होइन । र, बुङ्गे चराजस्तै तोपचराले घरमा गुँड लगाउँदैन पनि । गुँड लगाउने भनेको घर भँगेरा (पासर डोमेस्टिकस) र घर गौंथली (हिरून्डो रस्टिका) ले मात्रै हो । यसर्थ मन्दिरको इसानकोण (सूर्योदय हुने पूर्वको उत्तरी कुना) मा घडी चरोलाई लगेर स्थिर गरिदिने हो भने पनि कुरा मिल्दैन । घडीचरो नेपाली समाजमा कुखुरालाई भन्ने चलन छ जो मिर्मिरे हुनुभन्दा अघि नै बासेर अब जागा हुने बेला भयो भनी सूचना दिन्छ । यही मूल कारण हो राजपोध्यायले घडीको सुईअनुसार चरा फिट गरिएको हुनुपर्छ भन्नु र अधिकांश नेवारहरूले मन्दिरको छानाको चरालाई गोंगचा भन्नुको ।

तर, खोकनाको रुद्रायणी मन्दिरमा कुखुरा चढ्दैन । गाउँमै कुनै बेला कुखुरा पालिँदैनथ्यो भने त्यो मन्दिरको छानामा कुखुरा राखिने कुरै उठ्दैन । नेवार भइसकेका पापुंग, पालुंग, वज्रबाराहीका गोपालीहरू पनि कुखुरा खाँदैनन् भने उनीहरूको मन्दिर र घरका छानामा कुखुरा आउने प्रसंगै आउँदैन । ठेचोमा यो चरालाई हाँस भन्छन् भनियो, तर भक्तपुरका प्रजापतिहरू हाँस खाँदैनन् । यसैले उनीहरूका मन्दिर र घरमा भएका चरालाई पनि हाँस हो भन्न सकिँदैन र के पनि भने काठमाडौंमा प्रशस्तै वैष्णव मन्दिरहरू छन् । तिनमा भएका चरा छोए पनि नुहाउनुपर्ने परम्परा भएका ब्राह्मण र क्षत्रीहरूले, अझ उपत्यका बसाइँमा आएका थारूहरूले पनि आफ्ना घरका छानामा गोंग नै राखे त ? कुखुरा चरा उड्दैन, त्यसलाई किन पखेटा फिजाएर तला चढाइयो होला ? कुनै तुक छ ? र सगुनकै रूपमा राख्ने हो भने पनि हाँस हो कुखुरा होइन ।

घडीको सुईको क्रममा चरा राखिएको हुन्छ भनेर मान्ने हो भने पहिला इसानबाट सुरु भएर वायव्य कोणमा गई, नैऋत्य भएर आग्नेय कोणमा आइपुग्नुपर्ने हुन्छ जुन आधुनिक घडीको उल्टो हुन्छ । यसर्थ घडीको सुई भन्ने कुरा स्वैरकल्पना हो त्यसमा सत्यता देखिन्न किनभने सूर्य दिउँसो पश्चिममा पुगेर फेरि त्यही साँझ पूर्वी दक्षिण कोणको आग्नेयमा अस्ताउने कुरा अवैज्ञानिक हुन्छ ।

गोंगचा (छानाको चरा) लाई चन्द्रमाको प्रतीक सिन्हमु र सूर्यको प्रतीक ज्वाला न्हायकं अगाडि राखेर पूजा गर्छन् (पेज २९, नेवाछें, सुरेन्द्रमान श्रेष्ठ २०५४) लेखिएपछि गोंगचा भनिए पनि अब यो कुखुरा हो भन्ने देखिएन । कुखुराको पूजा हुँदैन । त्यसमाथि जुन नेवारहरू पूजामा सगुनरूपी फुल (अण्डा) प्रयोग गर्छन् तिनले फुल पार्न नसक्ने भालेलाई फुलले किन पूजा गर्छन् ? नभन्दै पहाडी घरका चरहरूमा सिउर देखिँदैन र उपत्यकाका पुराना घर र मन्दिरका चरामा पनि । अर्थात् भाले टाउकोको वर्तमान निर्माण र प्रयोग नवीन र दिग्भ्रान्त धारणा हो ।

सौभाग्यको प्रतीक सिन्दूर (सिन्हमु ≠ सिन्दूरपात्र) र न्हायकं (ऐना) सहित कसैलाई पूजा गरिन्छ भने त्यो देवीलाई हो । ज्वाला होइन जल न्हायकँ हो भन्ने भ्रम पनि चलिसक्यो तर जल हुन्थ्यो भने पुराना न्हायकँ वरिपरि ज्वालावृत्त किन हुन्थ्यो ?

कथाहरू

तलका हरफहरू पाठकहरूले अक्षरशः बुझ्ने प्रयास गरेमा उनीहरू स्वयं निर्क्योलमा पुग्न सक्छन् । त्यसैले यहाँ सारांश दिइएको छैन । हरफहरू थपक्क राखिएको छ ।

‘मंसिर महिनामा खलाबाट जति धान ओसारे पनि नसकिएपछि किसानले धानमा आगो लगाएर घर हिँडे । धानभित्र लुकेकी बूढी (सिमलचरी) डढेर लडिछ । अरू चराको प्वाँख सापट लिएर उडी । तर आफ्नो प्वाँख नउम्रिएपछि सापटी फिर्ता दिनुपर्ने भएकाले राति ‘गोलसिमल’ को आवाज निकालेर कराउन थाली । यो हल्ला सुनेपछि किसानले प्रायश्चित्तस्वरूप धानको बिटामा बूढी (सिमलचरी) बसाल्ने बेला पूजाआजा गरी सिमलचरीलाई स्थापना गर्छ । दाँइ हाल्दाका दिन दँगेराहरूले नदेख्ने गरी सिमलचरीलाई धानको रासभित्र घुसार्दछ (पेज २४९, गण्डकीको सुसेली, धर्मराज थापा) । यो लमजुङको कथा हो ।

माथिको बूढी शब्द पाको उमेर जनाउने होइन । बुदी अर्थात् बोदको, तिब्बतको बुझाउन हो भन्ने कुरा तल गएपछि बुझिनेछ ।

‘विष्ट (मालिक) कोमा खला बनाउन भोलिपल्ट जानुपर्ने थियो तर आज आफ्नो धानको रास कहिल्यै सकिएन यसैले आफ्नै खलोमा एउटा दलितले आगो लगायो विष्टकोमा छिटो जानलाई । तर, कुन्युमा लुकेका चराका प्वाँख जले । यसैले उसले अरू चराबाट सापट लिनुपर्‍यो । तर, तिनले पनि सापटी दिएका प्वाँख खोज्ने हुनाले ऊ दिउँसो खलोमा आउन नसकेर रातिराति मात्र आउने गरेको हो ।’ यो कास्कीको कथा हो ।

तर, यो कुरा गर्दा दलितहरू रिसाउँछन् भनेर २०६३ पछि यो कथा आजभोलि दोहोर्‍याइँदैन त्यहाँ । र, कुन्युको वरिपरि खरानीको रेखा हालेर माथिपट्टि खरानीले नै ॐ लेख्ने गर्छन् । खरानीले धानको रासलाई छेको हाल्छ । यसो गर्दा त्यसै खोल्साखाल्सीमा लुकेका भूतप्रेतले सह लिन सक्दैनन् रे (पेज २४५, ऐ. थापा, २०३२) । अन्नपूर्णा देवी (पार्वती वा चरी, धानकी प्रतीक) आउन भनेर... कुन्यु खोल्दा चराको आवाज सुनियो भने त्यो वर्ष पूरै सह हुन्छ भन्ने चलन छ । अझै पनि खरानीको रेखा हाल्ने चलनले यसको मौलिक स्रोतलाई बुझाउँछ । यहाँनेर अन्नपूर्णा देवी र चरी पर्यायवाची हुन् । नभन्दै नजिकैको पाँग गाउँ पार्वतीको जन्मस्थान मानिन्छ र कास्की नेपालका पहाडी जिल्लाहरूमा सबैभन्दा बढी धानको प्रजाति पाइने जिल्ला हो । यसैको उत्तरी भेगको हो अन्नपूर्ण हिमाल ।

‘दाँइ गर्दागर्दै मियोको टुप्पोमा सियाँलचडी (सिमलचरी) आएर बस्यो भने धानधनीलाई ठूलो सहकाल पर्छ भनिन्छ (पेज १४, कर्णाली लोकसंस्कृति, खण्ड ५) । जति धान ओसार्दा पनि धान नसकिएपछि कृषकले खलामा आगो लगायो । बास बसेको सियाँलचडी खरानी भयो । उसलाई त्यो पत्तै थिएन । पछि गाउँलेले हप्काए, त्यो धानको रासमा त सियाँलचढी ब्याएको थियो (ऐ. पेज ११८) । यो कर्णालीको कथा हो । ‘सिमलचडी– १२ रङ भएको अति सुन्दर, जोख्दा एक तोला जतिको मात्रै वजन हुने, राति मात्रै बोलेको सुरिलो र मिठो स्वर, टाढासम्म सुनिन, ढुंगामा उम्रेको झ्याउमा गुँड बनाउने एकप्रकारको चरो’ (पेज ८५०, डोट्याली शब्दकोश, चटौत) । यो डोटीको कथा हो ।

‘लिम्बूहरूकहाँ सिमलचराले नै अन्न पुर्‍याइदिएकाले त्यहाँ खेतीपाती सुरु भएको हो । यसरी लिम्बू संस्कृतिमा सिमलचराका अनेक प्रसंग आउँछन् । यस्तो धारणा लिम्बूहरूबीच प्रशस्तै छ । किजङपु, ताङबु, पङसङ, फङ्दुमा, मेरिङ्गेन, सिमलचरीका नाम हुन् लिम्बू भाषामा (लिम्बू शब्दकोश–चेम्जोङ र काइँला) । थाङ्बो पनि भनिन्छ । यसरी छवटा नाम भेटिन्छन् लिम्बूहरूमा । लिम्बूहरूबीच धान नाच प्रसिद्ध पनि छ । धान हुने खास इलाका नभए पनि अट्टे, हजारीजस्ता नवीन प्रजाति लगाइने भए पनि सिमलचरीका प्रसंगहरू त्यहाँ पाइन्छ ।’ यो ताप्लेजुङ र पाँचथरको कथा हो । सिमलचरीका निम्ति पोपैवा भन्ने नाम कुलुङ राई भाषामा छुट्टै छ । यो कोसी र सगरमाथा अञ्चलको उत्तरी भेगको कथा हो ।

सिमलचरी≠ अन्नकी अधिष्ठात्री देवी, धान्यलक्ष्मी । यो बृहत् नेपाली शब्दकोशले नेपालभरिकै निम्ति दिएको संज्ञा हो । प्रचलित मान्यता हो ।

माथि लेखिएको थियो ‘सौभाग्यको प्रतीक सिन्दूरपात्र र ऐना राखी कसैलाई पूजा गरिन्छ भने त्यो देवीलाई हो’, यसैले स्पष्ट छ छानोको चरा अन्नपूर्णा हो ।

थप धारणाहरू

सिमलचरीको भाले सानो, पोथी ठूलो हुन्छ । ठूलो बच्चा पार्न यसले अरूको फूललाई पनि ओथारो दिन्छ अर्थात् कुमालकोटीले जस्तै अरूका फूलबाट पनि सिमलचरी निकाल्छ– पंक्तिकारले पहाड भेगमा सुनेको कुरा हो । तर यो वैज्ञानिक रूपमा सम्भव होइन ।

(यद्यपि कुमालकोटीलाई साङ्ला दिएर कुमालकोटी निकाल्ने प्रयोगमा जापानीहरू छन् भनी कसैले लेखेका छन् (जापानमा के के पाएँ– बर्मा २०५३) । यस्तो कुराले सिमलचरी भनेको कोइली रहेछ भन्ने धारणा बन्छ, जुन गलत हो ।

‘राति लामो सुरिलो स्वर दिन्छ’ भन्नेमा आधारित रहेर चराविज्ञ हेमसागर बरालले ठम्याएको सिमलचरी कमन हक (हियरोसिक्स भारियस) हो । तर, लिम्बूहरूले नमानेपछि झुमा लिम्बूको एल्बम ‘खास्साम’ को दोस्रो संस्करणबाट यसलाई हटाइएको छ । हरिशरण काजी नेपालका सर्वाधिक प्रतिष्ठित चराविज्ञ हुन् । आफूकहाँ आइपुगेको सिमलचरीको स्वर भनिएको एउटा टेप पंक्तिकारले काजीलाई सुनायो । उहाँको निर्णय निस्क्यो– स्कप्स उल अर्थात् लाटोकोसेरोको एक प्रजाति । त्यसको एक–दुई दिनपछि नै सिक्किमका रोजन ढुंगेलले नेटमा सिमलचरी भनेको स्कोप्स उल भन्ने वृत्तान्त हाले नै ।

यसैले छानाको चराबारे नेवारहरूमा जु न भ्रान्त धारणा छ, गैर–नेवार विज्ञहरूमा पनि भ्रान्त धारणा छ, कोही कोइली, कोही बाज, कोही लाटोकोसेरोको नजिक छन् । तर, सबैको एउटा कुरा मिल्छ– भँगेरा जत्रै र जस्तै हुन्छ रङहीन ।

खन्जन चरी धानको थुप्रोमा बस्यो भने त्यो धनधान्य हुन्छ भन्ने अर्को धारणा पनि छ । यसले यो नै सिमलचरी हो भन्ने धारणा बन्न सक्छ । खन्जन चरी≠ बाहुनी चरी लेखिएको पाइन्छ नेपाली शब्दकोशहरूमा । खन्जन चरी (फनिकरस) लेखेका छन् चराविद्हरूले । तर, दुवै फरक हुन् । खन्जन चरी हुनका निम्ति त्यो खोच्याउने वा हिँड्दा खोच्याएजस्तै देखिनुपर्छ फ्लेमिंगोजस्तै । हाम्रो सन्दर्भमा कर्‍याङकुरुङ (ग्रस भर्गो) खन्जन चरी हो, जो धानको थुप्रोमा बस्यो भने सह हुन्छ, खेतमा बस्यो भने बालीनाली सप्रिन्छ भन्छन् । तर यो आगन्तुक चरा हो यद्यपि सारस पनि खन्जन नै हो ।

तर, बाहनी चरी भनियो टिकटिके (रेन, मोन्टिसेल्ला अल्बा) लाई किनभने यो पानीको नजिक अवश्य हुन्छ कर्‍याङकुरुङ र सारसजस्तै तर खोच्याउँदैन । नुहाइरहेजस्तो देखिन्छ धेरैपटक बाहुनले जस्तै ।

(दुई प्रसंग)

शकुनमाला र खन्जनमाला हो जुम्लाका राजा पुण्य मल्ल (विसं १३९५) का दुई पत्नीको नाम । विवाह भइसकेपछि राखिएको नाम बुझिन्छ यो । यसैको रूपान्तरण हो शासकवर्गका पत्नीको मध्यनाम राज्यलक्ष्मी, जो अन्नपूर्णा देवीको पर्यायवाची हो । बालकृष्ण पोखरेलले ‘खस जातिको इतिहास’ मा गोर्खाली राजवंश रैथाने हो, जुम्लाकै राजवंशको निरन्तरता हो भन्ने दर्साएका छन् एक ठाउँमा । सम्भवतः यही कारणले हो पृथ्वीनारायण शाहकी पत्नीको नाम नरेन्द्रलक्ष्मी छ जुन शकुनमाला र खन्जनमालाको उत्तराधिकार हो । अर्कोतिर शासित वर्गका महिलाको मध्यनाम भने ‘माला’ मात्र हुन गयो ।

श्यामा चरा नै सिमलचरी होजस्तै गरिन्छ तराईमा करिब करिब उस्तै लाग्ने कथाको आधार लिएर जुन सत्य होइन । पद्मपुराणअनुसार कृष्णले सामालाई चरा हुने श्राप दिए तर मिथ्योरोप लगाउने चुणकको मुखमा आगो लगाइदिए । यसैमा सामा चकेवाको चाड आधारित छ (पेज १५०, मैथिली संस्कृति– राकेश) देखि पद्मपुराणमा कथा पाइन्छ, कृष्णकी छोरी थिइन् श्यामा, श्यामाका दाजु सान्व थिए र पति थिए चक्रवाक (पेज १५९, बिमल) सम्मका भनाइ छन् । तर पद्मपुराणमा यस्तो कुनै प्रसंग छैन । तीनवटै नाम छैनन् । चुडकको अर्थ कुवा हो । सकुनशास्त्रको प्रसिद्ध पुस्तक वसन्तराजमा श्यामा चरासम्बन्धी ४०० श्लोक अवश्य छन्, त्यसमा पनि त्यस्तो प्रसंग छैन । यो कप्सिचस मलाबारिकस हो ।

तान्त्रिक मत

चारैतिरका चराको अर्थ हो, त्यो एक किसिमको ईश्वर विराजमान भएको विमान हो, जसको वास्तविक खम्बा जमिनमा हुँदैन । त्यो तैरिरहेको हुन्छ आकाशमा । दर्शनार्थीलाई दर्शन दिनलाई मात्र ईश्वर जमिनमा उत्रिन्छन् यसर्थ चराहरूले ईश्वर विराजित विमानलाई आकाशमा तैराइरहेका हुन्छन् । विमानझ्याल त्यसैले ‘यो मन्दिर हो’ भन्ने संकेत हो ।

कुंशल≠ कोण अश्व पनि मन्दिरका चारैतर्फ कुनामा हुन्छन्, पखेटायुक्त घोडाहरू उडिरहेका । वायुपंखी घोडाका (ध्वजारूपी) प्रतीकहरू शेर्पा वा भोटिया घरहरूका धुरीमा हुन्छन् भनी कर्नेली जेस्टले जे लेखे (पेज २०५, म्यान एन्ड हिज हाउस– सं. तँफ्याँ), त्यही कुंशलको रूपान्तरण हो ।

त्यसैगरी चिनियाँ मन्दिर वा आवासीय भवनहरूका यत्रतत्र सिंह र सिंहहरू देखिन्छन् तिनका मुख, तिनका जगर अस्वाभाविक खालका हुन्छन् । ती चुप हुँदैनन् रोमन सिंहका मूर्तिजस्ता, भारतीय अशोकका सिंहहरूजस्ता । ती मुख बाइरहन्छन् । र, नेपाली मन्दिरका दिक्पाल पनि मुख बाइरहन्छन्, जुम्ला कनकासुन्दरी मन्दिरको सिउबाघ (सिंह) पनि मुख बाइरहन्छ । बसाइ मिल्दैन भारतको मध्यप्रदेशको गिरजंगलका सिंहहरूसँग, जगर मिल्दैन कसैसँग । ती पनि वायुपंखी सिंहहरू हुन् । बुझिन्छ सिंहमूर्ति नेपालको बाटो चीन गयो तर पखेटा नेपालमै छोडेर । मात्रै होइन, छानाका चराहरू पनि नेपालकै हो । चीन, जापान, कोरिया कुनैका पगोडा शैलीका घरका छानामा चरा पाइँदैन ।

अप्सराहरू, परीहरू, यक्षीहरू जे मन्दिरमा पाइन्छन् ती पखेटायुक्त नै हुन्छन् भनेर कसैले लेखिसकेको छ (आर्किटेक्चर अफ नेवार्स– नेल गस्चो) अर्थात् चरा एक प्रतिनिधि पात्र मात्र हो ईश्वरीय विमानमा तर देवासन र कुँपायुक्त घरमा एउटा भिन्नता छ । देवासनमा कुँपा, कुंशल र दिक्पाल हुन्छन् पखेंटायुक्त । तर, घरमा सहकालको प्रतीक कुँपा मात्र हुन्छ, कुंशल र दिक्पाल हुँदैनन् । त्यसैले घरचाहिँ जमिनमै रहेको मानिन्छ । अर्थात् देवासन र मानव घरबीचको बोर्डरलाइन हो– छानाको चरा ।

सन् ४३८ तिर चीनबाट जापानमा बौद्ध धर्म गयो । त्यसैबखत नेपालबाट चीन, चीनबाट कोरिया हुँदै पगोडा शैली जापान पुग्यो । जापानमा पगोडा शैली अलि विकसित रूपमा पाइन्छ (पेज २५, बर्मा) । पगोडा शैली नेपालकै हो (पेज १५८, नेपाल– लेभी) । यी दुई उक्तिको व्याख्या अब आवश्यक परेन ।

फिनिक्स

फिनिक्स शब्दको सर्वप्राचीन उल्लेख पश्चिमका हेरोडोटसले गरेका छन् इसापूर्व पाँचौं शताब्दीमा । यो यस्तो चरा हो, जो स्वयं आगो उत्पन्न गरेर खरानी हुन्छ र त्यसैबाट पूर्ण नयाँ कायामा उब्जिएर उड्छ । पूर्वीय अनुवाद हुन्छ– अग्निपन्छी ।

‘फिनी’ तृणासन हो संस्कृतमा । सिमलचरी जल्दा तृणासन (परालासन) मै हुन्छे हाम्रो कथामा । घाँसबोधक पुलाबाट पराल भएको हो नेपालीमा । यसैले तृण र पराल भन्नु एउटै हो । विज्ञानले पनि धानलाई घाँस अर्थात् ग्रामिनेई परिवारमा राखेको छ । सिमलचरी जलेर खरानी हुन्छे– हाम्रो कथाले भन्छ । र, कशको अर्थ खरानी पनि हो । तर, अरू चराका प्वाँखहरू सापटी लिएर ऊ उड्छे अर्थात् अति रंगीन हुन्छे– हाम्रो कथाले भन्छ । अर्थात् पाँचौं शताब्दीअघि ग्रीकहरूले त्यो हाम्रो अग्निपन्छीलाई टिपे ।

प्रमथ, शिवका सहयोगी हुन् । शिव संहारक (आगो) हुन् । यही प्रमथलाई ग्रीकहरूले प्रमथियस बनाइसकेका थिए स्वर्गबाट आगो चोरेर ल्याउने पात्रको रूपमा खडा गरेर । नौलो कुरा थिएन हेरोडोटसका निम्ति यो, चलिरहेको चलन नै थियो आखिर ।

‘कोण्डोछटेस’ नाम दिएका थिए गण्डकी (जसलाई हिरण्यवती, गल्लिका, सदानीरा आदि पनि भनिन्छ) लाई इश्वीको पहिलो शताब्दीमा ग्रीक एरियनले । उनीभन्दा करिब चार सय वर्षअघि ग्रीक मेगास्थनिज पटनामा राजदूत भएर रहेका थिए सेल्युकस प्रथमको । हेरोडोटस उनीभन्दा पनि सय वर्षअघिका हुन् । यसैले अग्निपन्छीबारेको सूचनाका वाहक मेगास्थनिज बुझिँदैनन् । तर, मेसोडोनियाका हेरोडोटसले प्रशस्त सूचनाहरू सम्भव भएसम्म संसारभरिबाट बटुलेका थिए आफूले इतिहास लेख्नुअघि । र, नभन्दै उनीभन्दा सय वर्षअघि पर्सियाका साइरसले ग्रीसदेखि सिन्धसम्म साम्राज्य खडा गरेका थिए । यसैबाट अग्निपन्छीको सूचना हेरोडोटससम्म कसरी पुग्यो ? सहजै अनुमान गर्न सकिन्छ ।

पुछारमा,

तर, हरिशरण काजीलाई सुनाएको टेप फर्काएर घरमा ल्याई स्कोप्स उलको स्वरसँग भिडाउँदा आवाजको स्केल र पिच मिलेन । यसपछि जेनो क्यान्टोको सहयोग लिएर हजारौं चराहरूको गीत (सङ) र जोडालाई निम्ता (कल साउन्ड) सँग टेपको आवाजलाई भिडाइयो ।

कजाखस्तानको अलमा अतामा रेकर्ड गरिएको एउटा चराको गीत (कल साउन्ड होइन) सँग मिल्न गयो । चराको भौतिक रूपअन्तर्गत पर्ने गाजल (सुपर सिलियम) मा आउने परिवर्तनहरू पनि स्पष्ट भए । पालिआर्कटिक क्षेत्र जसमा चीनको कुन्लुन सान पनि पर्छ, त्यहाँबाट हिउँद छल्न आउने चरा हो भन्ने संकेत मिलेको छ ।

पाँच वर्षअघि कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा देखिन्छ भन्ने सुनेर पंक्तिकार एक मित्रसहित त्यता निरीक्षण गर्न पुगेको थियो । ऋतु भिड्किसकेको रहेछ । यति बेला पंक्तिकारलाई यसको जिनस र स्पेसिजमा ९८ प्रतिशत अब शंका छैन । तर, एकपल्ट प्रत्यक्षदर्शी नै भएर यकिन नगरी यहाँ लेखिदिनु पनि कमन हककै घटनाजस्तो हुन पुग्ला भनेर त्यसलाई खुलाइएको छैन । पाठकहरूसँग क्षमा मागौं ।

प्रकाशित : माघ ३, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

डबल फासिस्ट

विमल निभा

मेरो टोलमा बस्छएउटा फासिस्ट

कसैसित बोल्दैन

र, बोल्नुपरेमा आफ्नो

मोबाइलमा झुण्डेर

हाँसिरहन्छ लामो समयसम्म

(ह ह ह ह ह ह...)


बेलुकीपख घुम्न निस्कन्छ

र, बुढो भइसकेकोले

एउटा ऐतिहासिक टाइपको

लठ्ठी समातेको हुन्छ

त्यसैले फासिस्टहरु

बूढो हुँदैनन् भन्ने

भ्रम समाप्त भएको छ


मुखभरि सुकुमेलजस्तो

केही चपाइरहन्छ फासिस्ट

र, यसको तीब्र सुगन्ध

उसका भयंकर पछुवाहरुका

नामसम्म पुगिरहेको हुन्छ

र, के पनि भनिन्छ भने

असलमा फासिस्टको

मुखमा केही अमृतजस्तो

कुनै अद्भुत चिज छ


यो फासिस्ट कुनै समय

ठूलै राजकीय ठाउँमा

रहेको थियो रे

र, अहिले पनि हो

भन्नेतिर उसको अधिकांश

एक्टिभिटी लक्षित रहन्छ

(केही त हो नै)

र, उसको एक्लो छोरो

अहिले सरकारको कुनै

माथिल्लो दर्जामा रहेको छ

फासिस्टको छोरो


फासिस्टको सरकारी छोरो

सरकार बनाउन र ढाल्नमा

लागेको छ भन्ने सुनिएको हो

र, यस कुरमा

फासिस्टलाई गौरब छ

भन्ने टोलको एक

उसको पछुवाबाट

टोलभरिलाई थाहा भयो

हिजोको कुरो हो

मेरो फासिस्टको छोरोसँग

कुनै बातचित् छैन

र, बाटोमा भेटेमा

मुसुक्क पनि गर्दैन

(नगरोस्)


आज बेलुकी फासिस्टसँग

उसको स्वेत कलरको

विदेशी कुकुर पनि छ

जो सडकछेउमा बसेर

तरकारी बेच्नेतिर हेरी

जोड–जोडले भुकिरहेछ

फासिस्टको कुकुर

साले डबल फासिस्ट

प्रकाशित : माघ ३, २०७७ १२:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×