कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चंखमानको डायरी

हेर्नुस् बाजे ! साहित्यमा मचैं सिर्जनशील अराजकतावादी । राजनीतिमा म सांस्कृतिक पहिचानवादी । दर्शनमा म पारस्परिक शून्यवादी । अर्थशास्त्रमा म कात्रोवादी । इतिहासमा म विकल्पवादी । तापनि म योभन्दा अरु केही हुँ, कोही हुँजस्तो लागिरहन्छ ।
हाङयुग अज्ञात

हिटलरको ग्यास च्याम्बरबाट भागेर जब म सुन्दरीजल पुगेँ, यौटा ख्याउटे दारीजुँगा फुलेको अग्लो मान्छे जेलको कुनामा कालो फ्रेम र बाक्लो लेन्सले केही पढ्दै र टिपोट टिप्दै बसिरहेको देखेँ । मनको घुर्‍यानमा कालो सुँगुरको बुच्चाले निस्केर भन्यो, ‘यही हो सुम्निमा लेख्ने मान्छे । यही हो हरेकको घरमा एउटा–एउटा दुहुनो गाई होस् भनेर सपना देख्ने मान्छे । पूर्वीय मिथकलाई पश्चिमसँग जोड्ने यही हो ।’

चंखमानको डायरी

म नजिक भएँ । उसका अगाडि ‘भागवतगीता’, फ्रायडको ‘इन्टर प्रिटेसन अफ ड्रिम्स’, राहुल सांस्कृत्यायनको ‘भोल्गा से गंगातक’ र ‘चंखमानको डायरी’ जस्ता किताब थिए ।

मैले हठात् उसको ध्यान भंग गर्दै भनेँ, ‘कुङ्बा सोमदत्त ! प्रणाम गरेँ ।’ तर, किताबको दहमा कुङ्बा यति डुबेका थिए कि मैले धेरैचोटि अनेक नामले पुकार्दा पनि सुनेनन् । अन्तमा मैले मेरो मुटु नै धुकधुक हल्लिने गरी भनेँ, ‘हे महामानव !’ तब मात्रै दोषी चस्माको माथिल्लो कान्लाबाट कुहिरो लागेका दुई नयनले चियायो । मलाई ठिंग उभिएको देखेर भुइँमा बस्ने इसारा दियो । उसले किताबको पृष्ठ पट्यायो, ‘असुर एक बहुत ही सुसभ्य जाति थे,’ जहाँ म ठोक्किएँ, पछारिएँ, अडिएँ । र, उसले सेल्फ स्टार्ट नभइरहेको बाइकको ख्याँसख्याँसे आवाजमा ‘तिमी को हौ युवक ?’ भन्दा मात्रै हत्तपत्त सम्हालिएँ म ।

थाहा पाएँ कि सम्हालिनु एउटा सुन्दर क्रीडा हो । भीरबाट खसेर छाँगो सम्हालिन्छ दहमा, नीलो दहमा सेतो हुँदै सम्हालिन्छ छाँगो । कहिले त पानीका थोपाहरू इन्द्रेणी भएर सम्हालिन्छ छाँगो ।

सोचको यस्तो सपनाबाट ब्युँझेर मैले भनेँ, ‘म हिटलरको ग्यास च्याम्बरबाट भागेर आएको चंखमान हुँ । यहुदी भनेर झुक्किएछन् । हिटलरका सैनिक दासहरूले समातेर च्याम्बरमा खाँदे मलाई । जब बुरुरु ग्यास निस्किन थाल्यो ‘सावरहेड’ बाट म त्यहीँबाट छिरेर सिलिन्डरभित्र पुगेँ अनि ग्यास सकिएपछि सिलिन्डर उठाउन एउटा हरियो ट्रक आयो । त्यही ट्रक चढेर जंगलैजंगल भागेँ, चिसो नदी आयो । त्यै नदीमा हातखुट्टा फालेर हाम्फालेँ । मेरो छातीमा पानीले ठेलेको दाग अझै छ । र, यसरी बग्दैबग्दै म सुन्दरीजल आइपुगेँ ।’

‘तपाईं सोमदत्त कि यहुदी ?’ मैले प्रश्न गरेँ । उसको हेराइमा यहुदीपनले अलिअलि चियाइरहेको थियो । नत्र ऊ सोमदत्त नै हो । एउटा सांस्कृतिक फ्युजनको मिथक नै हो ऊ । उडेर कहीँ जाऊँ भन्दा थुप्रै आकाशहरू हेरेर फर्केको एउटा यायावरजस्तो ऊ ।

‘सुरुमा म यहुदी थिएँ । जरा कोट्याउँदै जाँदा म इजरायल पुगेँ । तर, मलाई पछि ज्ञान भयो म सोमदत्त नै रहेछु कोसीको किनारमा डुलिहिँड्ने । राजनीतिमा म समाजवादी, साहित्यमा म अराजकतावादी । नरेन्द्र पनि हो मेरो नाम । बुझ्यौ युवक ?’

म एकै छिन घोरिएँ । कोसीको बाक्लो जंगल । सालका रूखहरू । हप्हप् गर्मी । दिनको अपराह्न । एक हूल काला सुँगुरहरू जलकुम्भीका जराहरू उधिन्दै चरिरहेका । कोसी नदीको पानी च्याब्रुङको तालमा बगिरहेको, ‘बाख्राको छाला के : दिङ् दिङ् ! सर्लाइ स : सर्लाइ स : !’ घाँस स्याउला काट्नेहरूको गीत । बेलाबेला लुइँचेको भाले बासेको आवाज– ‘किक्किरी काँ ।’

तब मैले भनेँ, ‘हेर्नुस् बाजे ! साहित्यमा मचैं सिर्जनशील अराजकतावादी । राजनीतिमा म सांस्कृतिक पहिचानवादी । दर्शनमा म पारस्परिक शून्यवादी । अर्थशास्त्रमा म कात्रोवादी । इतिहासमा म विकल्पवादी । तापनि म योभन्दा अरू केही हुँ, कोही हुँजस्तो लागिरहन्छ ।’

बूढो सोमदत्तको पातलो ओठमा पन्यालो मुस्कान दगुर्‍यो । आफ्ना चस्मा खोलेर किताबमाथि राख्यो र भन्यो, ‘उपनिषद्का महावाक्यहरू त्यसै रचिएका होइनन् । म त तिमीलाई जस्तो पहिचानको संकट पर्नेबित्तिकै ‘अहम् ब्रह्मास्मि’ को मन्त्र जप्छु । निको भैहाल्छु । तर, हिजोआज अलि बिरामी छु । अब म बाँच्न चाहन्नँ । म बाँचेँ भने मैले खप्रको सदस्यता लिनुपर्ने हुन्छ ।’

‘हाउबाजे ! म पनि ता–गे–रा–नि–ङ्–वा–भू–मा–ङ्–ए सेवारो ! सेवारो ! भन्दै सृष्टिकालदेखि नै बाँचिआएको हुँ नि । शक्ति र सत्ता नभएर पो त । नत्र त म पनि मुन्धुम विश्वविद्यालय खोल्ने थिएँ । मुन्धुमशास्त्रलाई विश्वव्यापी बनाउने थिएँ । भागवतगीताजस्तै किताब रच्ने थिएँ । तर, गीताको साइड इफेक्टले विश्वमा अशान्ति मात्रै मच्चाइरहेको छ है । विचार चोगे,’ मैले भनेँ ।

सोमदत्तले हीराजस्ता आँखा पुछ्दै भन्यो, ‘मैले देखेको हिटलर गीता पढ्थेँ । धर्म र कर्तव्यका नाममा कृष्णले जस्तै हिटलरले पनि मान्छे मारे । यहुदीहरूले नाजीहरूमाथि गरेको अन्याय–अत्याचारबारे कसले बोल्ने ? कसले लेख्ने ? हिटलरलाई जन्माएको त यहुदीहरूले नै हो जसरी कृष्णलाई कौरवहरूले युद्धमा प्रेरित गरेका थिए । तब तिमी आफैं सोच त युवक ! कृष्णलाई भगवान् मान्नुपर्ने अनि हिटलरलाई चैं राक्षस ! त्यसकारण तिमीले भनेजस्तै गीतालाई नयाँ ढंगले व्याख्या गर्नु जरुरी छ ।’

म ब्लाङ्क भएँ, पूरै ब्लाङ्क । बुर्जुवा लेखकजस्तो लागेको थियो यी बाजे मलाई । तर, यिनी त प्रगतिशीलहरूभन्दा पनि प्रगतिशील रहेछन् सोच र लेखनमा । मान्छेको जीवनमा कति धेरै प्याराडक्सहरू हुन्छन्, विरोधाभास र विमतिहरू हुन्छन् । अहम् र आडम्बरहरू हुन्छन् । मलाई सुरुमै अलिकति रिसचैँ उठेकै हो । ‘कुङ्बा सोमदत्त’ भन्दाचैं नबोल्ने, हाम्रै चेली सुम्निमासँग लभ गरेका हैनन् यिनले ? ‘महामानव’ भन्दा मात्रै कान सुन्ने ! ‘राजतन्त्र र मेरो घाँटी एउटै हो’ पनि भनेका होइनन् यिनले ?

राजतन्त्रले सिल्टिम्बुर खाएपछि यिनीचैं किन बाँचिरहेका छन् ? यिनलाई बाँच्ने इच्छा छैन अरे, कारण बाँच्यो भने खप्रको पार्टीमा लाग्नुपर्छ अरे । बाँच्ने इच्छा कसलाई हुँदैन होला र ? तर, यिनको दुःखभन्दा उखु किसानहरूको दुःख कैयौं गुणा गह्रुंगो छ । भारतका किसानहरूले जस्तो नेपालका किसानहरूले आत्महत्या गर्न थाले भने ? यी बाजेले पनि आत्महत्या गर्दै ऐक्यबद्धता जनाउलान् ? सडकमा पलेटी कसेर ऐक्यबद्धता जनाउन त म पनि सक्छु । ठीक यतिबेला एउटा बूढो सुँगुरले सालको रूखमा ढाड दलेर लुतो कन्याइरहेको देखेँ । मनको घुर्‍यानमा अघिको कालो सुँगुरको बुच्चा फेरि उफ्रेर भाग्यो ।

मैले भने, ‘बाजे ! तपाईंको गिदीलाई छपनीमा छानौं कि सिलौटोमा पिनौं ? कस्तो एक्स्ट्रा अर्डिनरी गिदी छ तपाईंको ! पूरै हाडे ओखरको गिदीजस्तो । म तपाईंको यस्तो फ्यान हुन पुगेँ कि तपाईंको हरेक वाक्यमा मह चुहिएको पाउँछु । तपाईंको शब्द सुन्दा मेरो कानमा मह खन्याएजस्तो लाग्छ । आजसम्म तपाईंजस्तो ज्ञानले भरिएको महासागर देखेकै थिइनँ । तर, महामानव अलिकति बढ्ता भएन र ?’

‘डियर चंखमान ! म मानव हुँ । यही कुरो मैले भन्ने गर्थें यी जेलका भित्ताहरूलाई । मैले बाँचेको युगमा ईश्वरको मृत्युको डंका पिटिएको थियो । नित्सेले ईश्वरलाई मार्‍यो र ईश्वरको ठाउँमा सुपरम्यानहरूको जन्म हुन थाल्यो । नेपाली भर्सनमा मलाई सुपरम्यान बनाउन खोज्दा महामानवको प्रचार गरे । म मानव हुँ पृथ्वीका सात अर्ब मानवजस्तै । मन दुख्दा रुन्छु, खुसीमा हाँस्छु, फुरुंगै हुन्छ । खान्छु, हग्छु, सुत्छु, उठ्छु । म आममानव हुँ,’ सुकेको ओठलाई बेचैनीले भिजाउँदै सोमदत्त मेरै जगमा उभियो ।

मैले सोधेँ, ‘क्युबाको सिगार छ, तान्नुहुन्छ ?’

‘आगो उपलब्ध छैन यहाँ,’ उनले भने । मनको आगोले जलाए भैगो नि, मैले मनमनै भनेँ ।

कृष्णको पूजा गरेर विश्वमा शान्ति हुँदैन । पूजा अर्जुनको गर्नुपर्छ जसले युद्ध इंकार गरे, युद्धमा मर्ने शत्रु होइन, मान्छे हो भनेर वकालत गरे । कत्ति धेरै गर्लफ्रेन्ड थिए कृष्णका तर उनैको पूजापाठ भएपछि हाम्रो समाजले भगवान् हुनुका लागि धेरै गर्लफ्रेन्ड बनाउन जरुरी रहेछ भन्ने ट्याबु निर्माण गर्ने भो । सोह्र सय गोपिनीको वस्त्र हरण गर्ने कृष्णले एउटी द्रौपदीको वस्त्र हरण हुनुबाट किन जोगाए ? किनभने द्रौपदी त कृष्णकी बहिनी थिइन् नि त । एउटा अराजकतावादी लेखकको लिखितम यहीँ समाप्त हुन्छ ।

प्रकाशित : पुस १८, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?