कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँ किन सेतो हुन्छ ?

गोविन्द पोखरेल

हिउँदका महिना धेरै नै जाडो हुन्छ । शरीरलाई न्यानो हुने किसिमका बाक्लो लुगा लगाइन्छ । जाडोमा आगो वा हिटरनजिक गएर होसियासीपूर्वक शरीरलाई तताउँछौं, न्यानो राख्छौं । सुपहरू खान्छौं ।

हिउँ किन सेतो हुन्छ ?

जाडो सुरु हुनेबित्तिकै पहाड तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन्छ । हिउँ परेको क्षेत्रमा हिउँ खेल्न धेरैलाई मन पर्छ होला । कतिपयले हिउँले ढाकेको सेताम्मे पहाडहरू देखेका होलाऊ । हिउँको विषय आउँदा कहिले काहीँ यो कसरी बन्छ ? जाडोमा मात्रै किन हिमपात हुन्छ ? अनि हिउँ किन सेतो हुन्छ भन्ने जिज्ञासा पनि लाग्दो हो ।
आज हामी हिउँ, हिमकण, हिमपात र हिउँको रंगका विषयमा चर्चा गर्नेछौँ । हिउँ बुझ्नुभन्दा पहिला पृथ्वीको वायुमण्डलका बारेमा बुझ्नु जरुरी छ ।
वायुमण्डल हावाले भरिएको भाग हो । कतिपयले आफ्नो विज्ञान किताबमा वाष्पीकरण (इभापोरेसन) का बारेमा पढेका पनि होलाऊ । पृथ्वीको सतहमा भएको पानी तातेपछि बाफ बन्ने र वायुमण्डलमा पुग्ने प्रक्रियालाई वाष्पीकरण भनिन्छ । बाफ बनेको पानी वायुमण्डलमा पुगेपछि सेलाउन थाल्छ । बाफ सेलाएपछि पानी बन्छ । अनि वर्षा हुन्छ । यो प्रक्रियालाई चलचक्र (वाटर साइकल) भनिन्छ ।
हिउँ, हिमपात र हिमकण पनि यही जलचक्रसँग सम्बन्धित छन् । तर, यसमा तापक्रमको कुरा आउँछ । भाइ बहिनीहरूलाई थाहा छ ? पानी सय डिग्रीमा उम्लने र शून्य डिग्रीमा जम्ने गर्छ नि ।
पृथ्वीको सतह तातेर बाफ बनेको पानीका कण वायुमण्डलमा पुग्छन् । वायुमण्डलमा स–साना कणहरू पनि हुन्छन् । यी धुलोलगायत पराग कणहरू हुन् । पानीको बाफ यी कणमा मिसिएपछि सेलाउन थाल्छन् । तापक्रम धेरै कम भएमा बाफ सिधै बरफमा परिवर्तन हुन्छ । अनि यी कणसँग टाँसिन्छ । यसरी हिमकणहरू बन्छन् । बाफ पानी नबनी सिधै बरफ बनेको अवस्थामा हिमकण निर्माण हुने हो ।
हिमकण (स्नो फ्लेक्स) हरू विभिन्न आकारका हुन्छन् । प्रायः यिनीहरू षट्कोण (हेक्जागोनल) आकारका हुन्छन् । पानीमा भएको हाइड्रोजन र अक्सिजनबीचको बोन्डका कारण यी स्नोफ्लेकहरू षट्कोण आकारका बन्ने गरेका हुन् । यिनीहरू स–साना हुन्छन् । हातले छुनेबित्तिकै बिलाएर जान्छन् । हिमकण नै हिउँको एक भाग हो । जब हिमकणहरू ठूलो मात्रामा संकलित हुँदै जान्छ, त्यो नै हिउँ हो ।
कहिलेकाहीँ सतहको तापक्रम अत्यन्त कम हुँदा पानी जमेर बरफ बन्छन् । यो विशेष गरेर उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गर्छ ।

डल्ला कसरी बन्छ ?
हिउँ परेका क्षेत्रमा डुल्न र घुम्न जाँदा हामी कहिलेकाहीँ हिउँको डल्लो बनाउँछौं । हिउँको सजिलै डल्ला बन्नुमा पनि विज्ञान लुकेको छ । हिमकणहरूमा केही भाग खाली हुन्छ । खाली ठाउँमा चिसो हावा भरिएको हुन्छ । जब चाप दिन्छौँ हिउँ अझ चिसो भइदिन्छ, जसका कारण सजिलै डल्लो बन्छ । हिमकणलाई पानीले अझ टँसाइदिन्छ । हिमकणहरू चाप र तापका कारण पग्लिरहेको पनि हुन्छ । हिउँ पग्लेर पानी बन्छ । र, हिमकण पानीका कारण टाँसिन्छ अनि डल्ला बन्छ । डल्लाका अलवा आफूले चाहेअनुसार आकार बनाउन पनि सकिन्छ ।
हिउँमा खेलिने खेलजस्तो कि स्किङ पनि यही कारणले सम्भव भएको हो । नत्र हिउँमा केही पानी नहुँदो हो त घर्षणले गर्दा खेलहरू खेल्न सम्भव नै हुने थिएन ।

हिउँ किन सेतो ?
वास्तवमा हामी प्रकाशलाई प्रतिविम्बित (रिफ्लेक्ट) गर्ने वस्तु मात्र देख्न सक्छौँ । हावालाई हामी देख्देनौँ किनभने हावाले प्रकाशलाई प्रतिविम्बित गर्न सक्दैन । भाइबहिनीहरूले बुझ्नुपर्ने अर्को कुरा भनेको, रंगको हो । कुनै वस्तुले प्रकाशमा हुने रंग (इन्द्रेणीमा हुने ७ रंग) आफूमा सोसेर जुन रंगलाई प्रतिविम्बित गर्छ, वस्तुको रंग पनि त्यहीँ हुने हो । जस्तो कि पहेंलो कपडा पहेंलो देखिन्छ किनभने उक्त वस्तुले प्रकाशमा भएका ७ वटा रंगमध्ये पहेंलो रंगलाई मात्र प्रतिविम्बित गर्छ र बाँकी रंगलाई आफैँसँग सोसेर (एर्ब्जभ) राख्छ । कुनै वस्तुले प्रकाशमा भएका सबै ७ वटै रंग आफैंमा सोसेर कुनै रंग प्रतिविम्बित गर्दैन भने, त्यो वस्तु कालो देखिन्छ । हिउँमा भएका कणहरूले प्रकाशमा भएका सबै रंगलाई बराबर रूपमा प्रतिविम्बित गर्छ, त्यही भएर सेतो हुन्छ । सबै
रंगलाई बराबररूपमा मिलाउने हो भने त्यो रंग सेतो बन्छ ।

हिउँ जाडो महिनामै किन ?
उच्च हिमाली क्षेत्रमा सधैं हिउँ पर्छ । तर जाडोयाममा पहाडी क्षेत्र पनि हिउँले ढाकेर सेताम्मे देखिन्छन् । यो समयमा वातावरणको तापक्रम ‘फ्रिजिङ’ स्तरमा पुग्छ । जमेको पानी पग्लन पाउँदैन अनि हिउँ धेरै हुन्छ । हिमकणहरू धेरै बन्दै र थुपि्रँदै गएपछि हिउँ पनि धेरै हुन्छ ।

स्वास्थ्यलाई असर
हाम्रो शरीरले धेरै तातो र धेरै चिसो थेग्न सक्दैन । शरीरको तापक्रम स्थिर हुनुपर्छ । धेरै हिउँ खेल्दा शरीरमा असर गर्छ । शरीरका तन्तु तथा कोषहरू मर्छन्, जसले चिसोमा लाग्ने खालका रोगको जोखिम बढाउँछ । कतिपयलाई हाइपोथर्मिया पनि हुन सक्छ । जब शरीरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम हुन्छ, हाइपोथर्मियाको सम्भावना हुन्छ ।
थकान हुने, शरीरबाट छिटो–छिटो ताप (ऊर्जा) सकिनेलगायत मुटुसम्बन्धी रोगहरू पनि लाग्न सक्छन् । हिउँले शरीरलाई धेरै चिसो बनाउँछ । औसत तापक्रममा काम गर्ने शरीरका अंगलाई ऊर्जा आवश्यक पर्छ, त्यस्तो अवस्थामा अंगहरूले काम गर्न छाड्न सक्ने सम्भावना हुन्छ । रोग संक्रमणको भय हुन्छ । त्यही भएर हिउँ खेल्न जाँदा, चिसोमा हिँड्दा बाक्लो लुगा लगाउनुपर्छ । हिउँको डल्ला बनाउँदा वा खेल्दा पन्जा लगाउनुपर्छ । हिउँ पर्ने क्षेत्रमा जथाभावी फोहोर फाल्नु हुँदैन । फोहोरमा हिउँ थुप्रिँदा लामो समयसम्म त्यहीं रहन्छ, जसका कारण रोग फैलन्छन् । यसतर्फ सचेत हुनुपर्छ ।

प्रकाशित : माघ १२, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?