२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अनि मैले ठूलो प्लेन चढो

राजधानीको सिनामंगलमा रोडनजिकै रोकेर राखेको ठूलो प्लेन देखेर एक दिन मैले सोधेँ, ‘त्यो प्लेन त्यहाँ किन राखेको पापा ?’ उहाँले त्यो म्युजियम हो, एक दिन तिमीलाई घुमाउँछु भन्नुभयो । यसपालि जाडो बिदामा बाबाले मलाई त्यो म्युजियम हेर्न लैजानुभयो । माघ २ गतेको दिन थियो, घाम लागेको थिएन । सिमसिम पानी पर्‍यो, जाडो अलि बढी नै थियो ।

अनि मैले ठूलो प्लेन चढो


म्युजियमभित्र पस्न टिकट काट्नुपर्दो रहेछ । टिकटसँगै साँच्चिकैको प्लेन चढ्ने जस्तै बोर्डिङ पास पनि दिइँदो रहेछ । प्लेनभित्र छिर्नलाई त्यो बोर्डिङ पास दर्ता गरिसकेपछि हामीलाई भर्‍याङबाट प्लेनको ढोकाभित्र छिर्न दिइयो । ढोकामा साँच्चिकैको प्लेनको जस्तै एकजना एअरहोस्टेस दिदीले ‘नमस्कार’ भनेर स्वागत गर्नुभयो । प्लेनभित्र सिटमा बसाइसकेपछि मोनिटरबाट त्यस म्युजियमका संस्थापक क्याप्टेन वेद उप्रेतीले स्वागत गर्दै त्यो प्लेन, म्युजियम र अन्य कुराबारे बताउनुहुँदो रहेछ । त्यसपछि हामीले पाइलटहरू बस्ने ककपिट, विभिन्न प्रकारका सयौंथरी स–साना प्लेन तथा हवाई जहाजसम्बन्धी मोडलहरू, देशविदेशका फोटाहरू तथा अन्य थुप्रै कुराको अवलोकन गर्‍यौं । यसरी भित्र भ्रमण गर्दै अन्तमा क्याफ्टेरिया पुगिँदो रहेछ । त्यसपछि हामी पछाडिको भर्‍याङबाट तल झर्‍यौं ।
तल आएपछि साना केटाकेटीका लागि राखिदिएको प्ले स्टेसनमा म धेरैबेर खेलें । त्यहाँ मजस्तै थुप्रै केटाकेटी खेलिरहेका थिए । खेल्न थालेपछि त जाडो पनि बिर्सिंदो रहेछ । मैले त्यतिबेला भाइलाई एकदम मिस गरें । उसको चाहिँ स्कुल बिदा थिएन । नत्र त ऊसँग आउँदा झन् मज्जा हुने रहेछ । त्यहाँ दुइटा हेलिकप्टर पनि राखिदिएका रहेछन्, जहाँ बसेर मैले धेरै फोटो खिचें । त्यस कम्पाउन्डमा फोटो खिच्नकै लागि बनाइदिएका विभिन्न प्रकारका खुला स्टुडियोजस्तो, ठुल्ठूला पेन्टिङ तथा मोडल अगाडि बसेर पनि फोटो खिचें ।
देशभित्र उड्ने प्लेन त मैले धेरैचोटि चढिसकें तर देशबाहिर उड्ने प्लेनचाहिँ चढेको छैन । त्यसैले यो प्लेन मलाई धेरै ठूलो लाग्यो । टर्किस एअरलाइन्सको यो प्लेनलाई एअरबस ३३०–३०० भनिँदो रहेछ । यो काठमाडौंको एअरपोर्टमा अगाडिको पांग्राको भाग दुर्घटना भएपछि नउडाईकन राखिएको रहेछ । त्यसैलाई म्युजियम बनाइएको रहेछ । यो दुर्घटना हुँदा हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई दिनसम्म बन्द भएको थियो रे ।
जाडो भए पनि मैले आइसक्रिम र चिप्स खाएँ, पापाले कफी पिउनुभयो । त्यसपछि त्यहाँ रहेको पसलबाट मैले भाइ र मलाई सानो दुइटा प्लेन किनेर ल्याएँ । मलाई त त्यहाँ समय बितेको पत्तै भएन । अझ बस्न मन थियो । अर्कोपटक भाइ र परिवारका सबैजना आउने योजना बनाउँदै हामी फर्कियौं ।
- रेनिशा भण्डारी, कक्षा–३,
सेन्ट मेरिज स्कुल, ललितपुर

प्रकाशित : माघ १२, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?