कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दगुर् कुइरो दगुर्

राजु, विद्या र साकार स्कुल जान घरबाट निस्किए । घरसँगैको चोक छिचोलेर मूलबाटोमा पुगे । त्यहाँ थुप्रै मानिस ठुल्ठूलो स्वरमा कराउँदै गरेका थिए । त्यो देखेर उनीहरूलाई अचम्म लाग्यो । उनीहरू जहाँको तहीँ उभिए ।

दगुर् कुइरो दगुर्


फेरि अर्को अचम्म १ अरू बेला तँछाडमछाड गर्दै गाडीहरू गुड्थे सडकमा । तर आज एउटा पनि गुडेका थिएनन् । सडक खाली थियो । अरू बेला छेउछेउबाट हिँड्थे मान्छेहरू । आज सडक बीचबाटै हिँडिरहेका थिए । राजु, विद्या र साकार पनि रमिता हेर्दै सडकको बीचबाटै हिँड्न थाले ।
‘आहा १ सडकको बीचबाट हिँड्दा त क्या मज्जा १’ विद्याले रमाउँदै भनिन् । अरू बेला डराइडराई सडकको पेटीबाट हिँड्नुपर्थ्यो । खाली सडकको बीचबाट हिँड्दा उनीहरूलाई मजा आयो । राजुले खुसी हुँदै भने, ‘सधैं यस्तैगरी हिँड्न पाए झन् कति मज्जा हुन्थ्यो ।’
‘त्यही त, गाडीले किच्ला भन्ने डर छैन । मोटरसाइकलले ठक्कर देला भन्ने डर पनि छैन,’ साकारले सानो ढुंगालाई खुट्टाले हान्दै भने । अलि पर मान्छेको हूल देखेर राजुले भने, ‘आज किन गाडी नचलेको होला हगि ?’ विद्याले परबाट आउँदै गरेको मान्छेलाई देखाउँदै भनिन्, ‘उहाँसित सोधौं न ।’
राजुले त्यो मान्छेको अगाडि गएर सोधे, ‘अंकल, आज किन गाडीहरू नचलेको ?’
‘किनकि आज सहरमा आन्दोलन छ,’ यसो भन्दै त्यो मान्छे जान खोज्यो । के होला आन्दोलन भनेको ? विद्याले बुझिनन् । उनले सोधिन्, ‘अंकल, किन आन्दोलन गरेको ?’
‘महँगीको विरोधमा’ हतार भएकाले हो कि, यति भन्दै त्यो मान्छे फटाफट बाटो लाग्यो । बेलाबेलामा घरमा पनि बुबाआमाबीच यस्तै महँगीको बारेमा कुरा चल्थ्यो । तर आज केको महँगीको विरोधमा आन्दोलन भएको हो, त्यो भने उनीहरूले बुझ्न सकेनन् । अलि पर पुगेर राजुले अर्को एकजना मान्छेसित सोधे, ‘अंकल, आज केको आन्दोलन हो ?’
‘सरकारले डिजेल र पेट्रोलको भाउ बढायो, त्यसैले,’ त्यो मान्छेले भन्यो । ‘आन्दोलन गरेपछि भाउ घट्छ त अंकल ?’ यसपटक विद्याले सोधिन् । ‘घट्न सक्छ,’ त्यो मान्छेले हिँड्दाहिँड्दै भन्यो । ‘अनि सडकमा आगोचाहिँ किन बालेको नि अंकल ?’ अलि पर कालो मुस्लो धुवाँ आउने गरी आगो बालेकोतिर देखाउँदै साकारले सोधे ।
‘अचेल आन्दोलन गर्ने भनेकै आगो बालेर त हो नि बाबु,’ हाँसेर यसो भन्दै त्यो मान्छे आफ्नो बाटो लाग्यो । उनीहरू त्यहाँबाट पनि अगाडि बढे । त्यसै बेला उनीहरूले ज्योति मिसलाई आफूहरूतिर आउँदै गरेको देखे । ज्योति मिसले पनि उनीहरूलाई देख्नुभयो । उनीहरू स्कुलतिर जाँदै गरेको देखेर भन्नुभयो, ‘आज स्कुल बन्द छ, तिमीहरू घर फर्क ।’
‘आन्दोलन हुँदा स्कुल पनि बन्द गर्नुपर्ने होला,’ राजुले मनमनै सोचे । ज्योति मिसको कुरा मानेर उनीहरू घर फर्के ।
उनीहरूको घर जाने चोकमा पनि मान्छेले आगो बालेका थिए । त्यो देखेर विद्याले एकजना मान्छेसित सोधिन्, ‘अंकल, यहाँचाहिँ आगो किन बालेको ?’
‘त्यहाँ महँगी घटाउन आन्दोलन भइरहेछ, यहाँचाहिँ जाडो घटाउन आन्दोलन गरेको,’ त्यो मान्छेले अलिकति ठट्टा गर्दै भन्यो ।
चिसोले गर्दा मान्छेहरू त्यही बलेको आगो तापिरहेका थिए । अलिअलि जाडो त राजु, विद्या र साकारलाई पनि लागिरहेको थियो । त्यसैले उनीहरूलाई त्यहाँ गएर आगो ताप्न मन लाग्यो । तर भीडमा जान मन लागेन । उनीहरू घरतिरै लागे ।
राजु, विद्या र साकारलाई पनि आगो बाल्न मन लाग्यो । बाटोमा हिँड्दाहिँड्दै उनीहरूले पनि सल्लाह गरे– ‘हामी पनि भोलि आगो बालेर जाडोविरुद्ध आन्दोलन गरौं ।’ अबचाहिँ उनीहरूले आन्दोलनको अर्थ बुझेजस्तो भयो ।
आगो बालेर आन्दोलन गरेपछि महँगी घट्छ भने जाडो पनि घट्छ होला । अनि कुइरो पनि भाग्छ होला । उनीहरूले सल्लाह गरे ।
राजु अरू बेला सधैं आमाले उठाएपछि मात्रै उठ्थे । त्यो दिन आफैं सबेरै उठे । उनी बाहिर जान खोजे । त्यही बेलामा भान्साबाटै आमा कराउनुभयो, ‘चिसो लाग्छ, बाहिर नजाऊ बाबु ।’
बाहिर साँच्चै चिसो थियो । कुइरो पनि डम्म लागेको थियो । राजुले हिजोको आन्दोलन सम्झिए । मान्छेहरूले सडकमा आगो बालेको पनि सम्झिए । उनले आमालाई बोलाएर भने, ‘आमा, हामी पनि आन्दोलन गरौं न ।’
उनको कुरा सुनेर आमाले डराउँदै भन्नुभयो, ‘के भनेको बाबु यस्तो ?’ आमा डरले अत्तालिएको देखेर राजुले हाँस्दै भने, ‘हाम्रो आँगनमा आगो बालौं भनेको क्या !’
‘किन बाल्ने आगो ?’ आमाले फेरि अनौठो मानेर सोध्नुभयो ।
‘कुइरो हटाउन अनि जाडो घटाउन’ राजुले कुइरोतिर देखाउँदै भने । ‘कसले भनेको आगो बालेपछि जाडो घट्छ भनेर ?’ आमाले अचम्म मान्दै सोध्नुभयो । ‘हिजो सडकमा आगो बालिरहेका थिए । आगो बालेपछि महँगी घट्छ रेन्त । आगो बालेपछि जाडो पनि घट्छ होला,’ राजुले आमाको मुख हेर्दै भने ।
आमा मुसुमुसु हाँस्नुभयो । बल्ल आमाले कुरा बुझ्नुभयो । त्यसपछि उहाँले एक आगालो दाउरा ल्याएर आँगनमा राखिदिनुभयो । सलाई कोरेर आगो पनि बालिदिनुभयो । आगो दन्दनी बल्न थाल्यो । आमाछोरा दुवै आगो ताप्न थाले ।
राजुको घरको आँगनमा दन्दनी आगो बालेको देखेर छिमेकी घरका गोपीदाइले सोध्नुभयो, ‘आज किन यसरी आगो बालेको माइली दिदी ?’ राजुले हत्तपत्त भने, ‘आन्दोलन गरेको ।’
‘कस्तो आन्दोलन ?’ गोपीदाइले आश्चर्य मानेर सोध्नुभयो ।
‘जाडो घटाउने आन्दोलन’ राजुले हाँस्दै भने ।
राजुको कुरा सुनेर गोपीदाइले बुझेझैं हाँस्दै भन्नुभयो, ‘एऽऽऽ त्यसो पो १ त्यसो भए म पनि अलिकति दाउरा थपिदिन्छु ।’ यसो भन्दै उहाँले पनि एक अँगालो दाउरा ल्याउनुभयो ।
राजुको घरमा आगो बालेको देखेर विद्या, साकार र अरू केटाकेटी पनि आए । सबै मिलेर आगो तापे । राजुले कुइरोतिर हेरेर भने, ‘भाग् कुइरो भाग् । नत्र तँलाई आगोले पोल्ला ।’
राजुले भाग् कुइरो भाग् भनेको सुनेर विद्याले आमाले भन्ने गरेको कुरा सम्झिइन् । हिउँदका बेला केटाकेटीलाई जाडो हुन्थ्यो । त्यसैले कहिलेकाहीँ आमाले अलि ठूलो स्वरमा भन्नुहुन्थ्यो, ‘दगुर् कुइरो दगुर् । तेरो घरमा चोर पस्यो । सातु–सामल बुकायो । मानु–पिठो लुकायो । बूढो भैंसी लडायो । थोत्रो नाङ्लो ठटायो ।’
विद्याले चाहिँ आफ्नै मनले सोचेर भनिन्, ‘दगुर् कुइरो दगुर् । तेरो घरमा चोर पस्यो । दुई माना पिठो चोर्‍यो । तेरो छोरो भोकै पर्‍यो । भोकले उसलाई गर्नु गर्‍यो । दौडिँदै भित्र–बाहिर गर्‍यो । दौडिँदै गर्दा कट्टु झर्‍यो । कट्टु नलाई जिल्ल पर्‍यो । छिटोछिटो दगुर् कुइरो दगुर्... ।’ त्यसपछि राजु, विद्या, साकार र अरू केटाकेटी पनि उसैगरी कराउन थाले, ‘दगुर् कुइरो दगुर्... ।’
एकछिनपछि विस्तारै कुइरो हट्दै गयो ।
कुइरो हटेपछि न्यानो घाम लाग्यो । केटाकेटीहरू खुसीले उफ्रिन थाले ।

प्रकाशित : माघ ५, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?