कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हिउँ छिचोल्दै खिजिदेम्बा

कुम्भराज राई

रंगीविरंगी गुराँसले ढकमक्क ढाकेको वन । गुराँसे वनमाथि खुलेको लेकाली पाटन । पाटनमाथि पग्लिँदै गरेको हिउँको थुप्रो । त्यही हिउँको थुप्रो छिचोल्दै दौडिरहेको पाइलाहरु । दौडिँदै गर्दा आँखैसामु लहरै देखिने गौरीशंकरदेखि सगरमाथासम्मको सेताम्मे हिमश्रृंखला ।

हिउँ छिचोल्दै खिजिदेम्बा

नेपालमा दर्जनौं अल्ट्रा (ट्रेल) रेसको आयोजना हुन्छन् । त्यसमध्ये गत साल सुरु भएको दौड हो, खिजिदेम्बा अल्ट्रा म्याराथन । पहिलो संस्करण सोलुखुम्बुको पिकेदेखि ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको केन्द्र खिजिफलाँटेसम्म २१ किलोमिटर (हाफ म्याराथन) दौडाइएको थियो । यस वर्ष बढाएर ४२.१९५ कै पूर्ण म्याराथन बनाइयो । रुट थोरै परिवर्तन भएको छ ।



समुन्द्री सतहदेखि २,२०० मिटरको उचाइमा अवस्थित खिजिफलाँटे बजारबाट सुरु भएर जिल्लाकै अग्लो डाँडा थोलेदेम्बा हुँदै ताक्लुङबाट दम्साइलो उकालो भएर सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुग्नुपर्छ । भुलभुलेबाट फर्किएर फेरि खिजिफलाँटे आइपुग्दा ४२ किलोमिटर पूरा हुन्छ । थोलेदेम्बालगायतका डाँडाहरु छिचोल्दा समुन्द्री सतहदेखि अधिकतम ३,५०० मिटर हाराहारीको उचाइमा खेलाडीहरू दौडिन्छन् ।


कोरोना भाइरस संक्रमणको फैलिँदो त्रासकबीच यसपाली १९ फागुनमा सम्पन्न भयो । यसमा महिला र पुरुष गरी ३५ जना नेपाली धावकधाविकाहरु दौडिए । ‘ठिक्कको अल्टिच्यूड, चिसो मौसम, उकालो, ओरालो र तेर्सो सबै किसिमको भूगोलले गर्दा यस्तो अल्ट्रा रुट अन्त देखेको छैन,’ खिजिदेम्बा म्याराथनका लगातार दुइर् पटकका विजेता भिमबहादुर गुरुङले भने, ‘यसलाई थप व्यवस्थित गरी प्रचार गर्न सके संसारकै उत्कृष्ट अल्ट्रा म्याराथन रुट बनाउन सकिन्छ ।’



अर्का धावक दुर्गाराज बुढामगरले यो रुटमा दौडिँदा यहाँको प्राकृतिक सुन्दरता हेरेरै थकान महसुस नहुने प्रतिक्रिया दिए ।


जिल्लाको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले म्याराथनको सुरुवात गरिएको हो । ओखलढुंगा पर्यटन विकास समितिले आयोजना गरेको म्याराथनमा महिलातर्फ लगातार दुई वर्ष नै स्थानीय धावकले कडा प्रतिस्पर्धा दिइरहेका छन् । यसले गाउँगाउँमा दौडिने संस्कारको विकास भएको छ । यसपाली पुरुषतर्फ भीमबहादुर गुरुङ र महिलामा रोजिना भण्डारी विजेता भए । आउने संस्करणमा आयोजकले विदेशी धावकहरूलार्य पनि सहभागी गराउने लक्ष्य राखेको छ ।

प्रकाशित : चैत्र ७, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×