हट एयर बेलुन- हेलो शुक्रबार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हट एयर बेलुन

तस्बिर : बिजु महर्जन

उड्न पाइयोस उडे जस्तो पनि नहोस् । भुइँ छोड्न पाइयोस् भुइँ छोडे जस्तो पनि नहोस् । हिमालसँगै हास्न पाइयोस् हिउँको चिसोले पनि नभेटोस् । छ चाहना यस्तो कसैको जुन एक घण्टामै पूरा हुन सक्छ ? यस्तै साहसिक यात्रा गर्ने चहना छ भने ‘हट एयर बेलुन’ उपयुक्त हुनसक्छ ।

सुनौलो घाम, तेजिलो बन्दै गरेको सूर्योदय वा तेजिलो घाम सुनौलो बनेर डाँडापारी हराउदै गरेको सूर्यास्त होस् । यी दृष्यहरूलाई नांगो आँखाले कैद गर्दै जमिनबाट चार हजार फिटको उचाइमा आफ्नो नजिकको मान्छेसँग उडिरहन सकिन्छ । अनि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई फेवातालमा पौडी खेलिरहेजस्तो देखिन्छ । कल्पना गर्दा पनि कौतुहल भइहाल्छ । मन फुरुंग उड्छ, अनि उडी उडी चराले जस्तै माछापुच्छ्रे, अन्नपूर्ण र फेवाताललाई हेर्न मन लाग्छ । कस्तो रोमाञ्चक ! मनै फुरंग !


पोखरामा हो भने पर्यटकीय नगरी र यस आसपासका पर्यटकीय गन्तव्य सबै मन–मस्तिस्कमा यतिवेला छाइरहेको हुनसक्छ । फेवाताल भन्दै गर्दा पामेको माछा सम्झन पुगिन्छ । पोखरामा होइन भने पनि अबको पोखरा भ्रमण रोमाञ्चक हुनेछ । पामेबाट फेवाताल तर्फ उड्दै गर्दाको आनन्द लिन सकिन्छ ।



साहसिक पर्यटनको नयाँ तथा सुरक्षित यात्राको रुपमा ‘बेलुन नेपाल’ले १६ महिना अघिबाट प्रतिव्यक्ति २० हजार डलर बराबरको बिमासहित ४ करोड ५० लाखको लागतमा ‘हट एयर बेलुन’ संचालनमा ल्याएको हो ।



बेलुनमा जडान गरिएको बास्केटमा पाइलटसहित तौलका आधारमा नौ जनासम्म यात्रा गर्न मिल्छ । समूहमा हो भने बेलुन ‘रिजर्व’ गरेरै यात्रा गर्न सकिन्छ । सम्झनाका लागि खिचिएका फोटो, भिडियो बाहेक लेकसाइडबाट पामेसम्मको आवतजावत कम्पनीले नै उपलब्ध गराउँछ । मौसमको प्रतिकूलताबाहेक हरेक दिन बिहान र साँझ बेलुन उडाइन्छ ।



असार, साउन र भदौमा भने सुरक्षाका कारण कम्पनीले सेवा संचालन गर्दैन । सूर्योदय र सूर्यास्तको समय भएकाले ज्याकेट र पञ्जा लगाएर चिसोबाट बच्न सकिन्छ । नेपाली, भारतीय र अन्य देशका पर्यटकको हकमा ३० मिनेट र एक घण्टाको छुट्टा छुट्टै शुल्कमा हट एयर बेलुनको रोमाञ्च लिन सकिन्छ ।

प्रकाशित : चैत्र ७, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्

दुविधामा आइरन मेडन

बेलायतका जति पनि ठूल–ठूला ब्यान्ड छन्, त्यसको नाम लिँदा आइरन मेडन छुट्‍ने गर्छ, होइन भने छुटाउने गरिन्छ ।
हिमेश

आइरन मेडन सुरुआती दिनदेखि जस्तो छ, अहिले पनि त्यस्तै छ । ब्यान्डले आफूलाई कहिले पनि परिवर्तन गर्न जानेन । ब्यान्डले परिवर्तन गर्न नजानेको अथवा नखोजेको भनेको आफ्नो शैलीलाई हो । फेरि यो शैलीलाई जसले मन पराउँछ, त्यो कहिले पनि फेरिदैन । परिवर्तन हुँदैन । यति पक्का हुन्छ, आइरन मेडनका डाइहार्ड फ्यान । तर ब्यान्डलाई लिएर एउटा समस्या छ र त्यो हो, यसले कहिले पनि त्यो श्रेय पाएन, जति उसले पाउनु पर्ने हो ।

सिधा भन्दा केही लेजेन्डरी हेभिमेटल ब्यान्डको ओझेलमा त छैन, आइरन मेडन ? ब्यान्डलाई लिएर यो ठूलै दुविधा हो । अरू ठूला ब्यान्डका तुलनामा आइरन मेडन एउटा अर्को तथ्यमा के पनि फरक छ भने यसका फ्रन्टम्यान हुन्, बास गितारिस्ट । त्यसो भनेको, स्टिभ ह्यारिस । ब्यान्डबारे केही सोध्नु छ अथवा भन्नु छ भने सबैभन्दा पहिले ती प्रश्न तिनै ह्यारिसमा गएर ठोकिन्छ । उनी चलाख छन्, मज्जाले धेरै विषयमा बोल्छन्, त्यसैले यो स्वभाविक पनि छ । फेरि उनी ब्यान्डका संस्थापक पनि त हुन् । अनि स्थापनादेखि अहिलेसम्म ब्यान्डमा कायम खालि एक मात्र सदस्य ।

अरू ब्यान्ड सदस्य आए र गए । उनी कहिले पनि अन्यत्र गएनन, त्यसैले उनलाई आइरन मेडनमा फर्कनु पर्ने औपचारिकता पनि गर्नु परेन् । त्यसैले भनिन्छ, ह्यारिस नै पक्का आइरन मेडन हुन् । भर्खरै उनले केही मिडियालाई लामा लामा अन्तर्वार्ता दिएका छन् । उनी पनि कोरोना भाइरसको प्रकोपका कारण अचेल आराम नै फरमाइरहेका होलान्, तर उनी चुप बस्न जान्ने होइनन्, सधैं केही न केही गर्न रूचाइरहने खालका हुन् । के छन् त ह्यारिसका अबका योजना ?

सबैभन्दा पहिले उनी पनि के मान्छन् भने आइरन मेडन ब्यान्डले जति हेभिमेटल संगीतमा जस पाउनु पर्ने हो, त्यो कहिले पनि पाएन् । सन् अस्सीको अगाडि पछाडि रेडियोको विश्व संगीतमा ठूलै भूमिका र महत्त्व थियो, त्यति बेला रेडियोले आइरन मेडनलाई कहिले पनि सहयोग गरेन् । रेडियो स्टेसनहरूलाई ह्यारिस र उनको शैली कहिले पनि मन परेन । कारण, त्यो तिनै रेडियो स्टेसनहरूलाई थाहा होला । त्यसपछि टेलिभिजन स्टेसनहरूले पनि ब्यान्डलाई खासै रूचाएनन् ।

त्यसैले ब्यान्डको लोकप्रियतामा केही धक्का त लाग्यो नै । तर पनि जत्तिले आइरन मेडनलाई मन पराउँछन्, तिनलाई यी कुराका के मतलब र ? आखिरमा आएर, बेलायती मिडियाले नै मान्नु परेको थियो, यो पूर्वी लन्डनको ब्यान्डमा पक्कै पनि केही छ, नत्र यसका १० करोड एल्बम पूरा विश्वमा विक्री हुने थिएन । बेलायतमा एकपल्ट हेभिमेटल संगीतको आन्दोलन नै सुरु भएको थियो । त्यसलाई ‘न्यु वेभ अफ ब्रिटिस हेभिमेलटल’ भनिन्छ ।

यो आन्दोलनका सबैभन्दा ठूलो भूमिका आइरन मेडनले पनि खेलेको थियो । अझ ब्यान्डलाई यो आन्दोलनको ‘पायोनियर’ नै मानिन्छ । तर पनि बेलायतका जति पनि ठूल–ठूला ब्यान्ड छन्, त्यसको नाम लिँदा आइरन मेडन छुट्ने गर्छ, होइन भने छुटाउने गरिन्छ । आफ्नो विशिष्ट बास गितार बजाउने शैलीका कारण चर्चित ह्यारिस मान्छन्, आफ्नो ब्यान्ड सबै पुस्तामा उत्तिकै लोकप्रिय भने छ । सन् अस्सीको पुस्तादेखि अहिलेको पुस्तासम्म पनि । यो एक प्रकारले घुमाउरो पाराले दिएको उत्तर भयो ।


वास्तवमै आइरन मेडन के हो त भन्ने प्रश्नको उत्तरमा उनले भनेका छन्, ‘ब्यान्ड यो नै हो भनेर कहाँ भन्न सकिन्छ र ? युवा पुस्तालाई मेरो सल्लाह हो, सबैभन्दा पहिला हाम्रा उत्कृष्ट गीतहरूको संग्रह सुन, त्यसपछि मन पर्‍यो भने हाम्रा एल्बमतिर जाउ ।’ आइरन मेडनको स्थापना ह्यारिसकै पहलमा सन् १९७५ मा भएको थियो । ब्यान्डले अहिलेसम्म १६ स्टुडियो एल्बम निकालेको छ । ह्यारिस भन्छन्, धेरै ब्यान्ड प्रशंसक सन् अस्सीतिरकै एल्बम मन पराउने गर्छन्, विशेषतः ‘पिस अफ माइन्ड’ ।

त्यसपछिको पुस्ताका लागि मन पर्ने एल्बम भनेको ‘सेभेन्थ सन अफ द सेभेन्थ सन’ हो । फेरि रमाइलो के पनि छ भने ह्यारिसले कहिले पनि आइरन मेडन छाडेनन्, तर उनको आफ्नै अलगै ब्यान्ड छ र त्यो हो, ब्रिटिस लायन । एक प्रकारले उनी समानान्तर दुई ब्यान्ड हाँकिरहेका छन् । ह्यारिसका लागि पनि ब्रिटिस लायन दोस्रो रोजाइ मात्र हो । उनलाई किन यो ब्यान्ड चाहियो त ? यसबारे उनको उत्तर पनि उत्तिकै रोमाञ्चक तुल्याउने खालको छ ।

उनकै शब्दमा ह्यारिस एकछिन पनि चुप लागेर बस्न सक्दैनन् । उनलाई केही न केही गरिरहनु पर्छ । उनका मनमा एकपछि अर्को सिर्जनाका सोच आइरहन्छन् रे । अब यी सबै सोच उनले आइरन मेडनमा पूरा गर्न सक्ने भएन नै । त्यसैले उनी आफ्नो फरक सोचका सिर्जनाका लागि ब्रिटिस लायनमा भर पर्ने रहेछ । ख्याल ख्याल मै सही उनी भन्छन्, अब त ब्रिटिस लायन पनि ठूलो ब्यान्ड भइसक्यो । तर त्यति ठूलो पनि होइन, जति आइरन मेडन हो । सबै आलोचकले नमाने पनि यो ठूलै ब्यान्ड हो ।

प्रकाशित : चैत्र ७, २०७६ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×