स्वाद फेर्दै धरान

गोपाल दाहाल

धरान घुम्न आउनेहरु प्रायः कालो बङ्गुरको मासुसँगै तोङ्बा र बियरको चुस्की लाउन चाहन्छन् । बियर, रक्सीको बढी खपत हुने बजार पनि हो धरान । तर, पछिल्लो समय स्थानीयवासी स्वाद फेर्दै कफी र चियातिर आकर्षित देखिएका छन् । गफगाफको जमघट हुने थलो पनि कफी र चिया पसल नै बन्न थालेको छ ।

कफी मोह

धरानमा कफी पिउने चलन सुरु भएको धेरै भएको छैन । पहिला चियापसलमै तातोपानी वा दुधमा बजारमा पाइने सामान्य कफी हालेर कफी बनाइन्थ्यो । मेसिनबाटै कफी बनाएर बिक्री हुन थालेको एक दशक जति हुन लाग्यो ।


बुद्धचोकमा सञ्चालित ‘एमसी कफी शप’ धरानमा कफी पियाउने पुरानो रेस्टुराँमा पर्छ । यहाँ करिब ३० प्रकारका कफी पाइन्छन् । तीमध्ये ‘क्यापुचिनो’, ‘अमेरिकानो’, ‘क्याफे लाते’ बढि चल्ने गर्छन् । पुतलीलाइनको ‘कामना बेकरी’, ‘फ्रेन्ड्स गार्डेन’, भानुचोकको ‘धरान किचन, ‘बराह किचन’ लगायत दर्जनभन्दा बढी रेष्टुराँको मुख्य आकर्षण नै अहिले कफी बनेको छ । अन्य धेरै खाजाघर तथा रेष्टुरेन्टहरुले पनि मेनुमा कफी थप्न थालेका छन् ।


कफी पसलहरु बिहानैदेखि गफगाफ गर्ने र जमघट गर्ने केन्द्र बनिरहेका छन् । एमसी कफी शपकी सञ्चालिका कुन्दन राईका अनुसार कतिपय कफी पारखी बिहान सात बजेअघि नै आएर पर्खिरहेका हुन्छन् । उनी भन्छिन्, ‘पहिला रक्सी भट्टी धाउनेहरु पनि अहिले नियमित कफी पिउन आउँछन् ।’ पहिले चिया पसल वरिपरि जम्मा हुनेहरूको भेटघाटको थलो पनि कफी पसल नै हुन थालेको छ ।


मट्कामा सुरुप्प

धरानमा पछिल्लो समय ‘मट्का चिया’ खुबै लोकप्रिय बनेको छ । धरान–१९ मा किरण राईले सञ्चालन गरेको ‘चिया स्टेशन’को विशेषता के हो भने यहाँ पुगेर चिया मागे अन्यत्र जस्तो सिसाको कपमा होइन, माटोको कपमा दिइन्छ । सानो कपमा खाए ३० रुपैयाँ र ठूलो कपको चियाको मूल्य ६० रुपैयाँ तिर्नुपर्छ ।


तीन महिनाअघि खुलेको ‘चिया स्टेशन’मा नियमित ‘मट्का चिया’ पिउन जानेहरु धेरै छन् । शिक्षिका गुनसरी तामाङ, प्रतिक्षा शाक्य र मदन राई ‘मट्का चिया’को स्वाद लिइरहेका भेटिए । पहिलो पटक त्यहाा पुगेका मदनले भने, ‘चियाको स्वाद उस्तै भएपनि मट्कामा खाादा अलि भिन्न लाग्यो ।’ गुनसरीलाई चाहिं चियामा मिसिएको नरिवलको स्वाद विशेष लाग्छ रे । चौथो पटक आएको बताउने उनी भन्छिन्, ‘मट्कामा खाँदा स्वादै मिठो लाग्छ ।’


सञ्चालक किरणका अनुसार चिया दिने कप मधेसमा बनाउन लगाएर धरान ल्याइन्छ । एक जनाले चिया पिएको कप फेरि प्रयोग गरिंदैन । चिया पिइसकेपछि त्यो कपमा चिया पिउनेको नाम लेखेर राखिन्छ । अहिले पसल अगाडि राखिएका ती ग्राहकको नाम लेखिएका कपलाई सजाएर राख्ने योजना छ किरणको । उनी भन्छन्, ‘पहिला काठमाडौंतिर देखेको थिएँ । अरुले भन्दा फरक तरिकाले चिया बेचौं भन्ने लागेर धरानमा सुरु गरें । सबैले मन पराएका छन् । हामी चियामा नरिवल पनि हाल्छौं ।’ चिया पिउनुमा फरक अनुभवका लागि यहाँ आउने बढिरहेको उनले बताए ।


चोकचोकमा ग्रिन टी

धरानमा पछिल्लो समय चोक चोकमा ‘ग्रिन टी’ शपहरु खुलेका छन् । स्वास्थ्यप्रति सचेत धरानेहरुको जमघट ग्रिन टी पसलहरुमा देखिन्छन् । धरानका सदनरोड, धनकुटे रोड, कलेज रोड, बुद्धचोक लगायत धेरै ठाउँमा खुलेका ग्रीन टी पलसमा ग्रिन टीसँगै गोल्डेन टी, सिल्भर टीलगायत अर्गानिक चियाका विभिन्न आइटम पाइन्छन् ।


यस्ता पसलहरुमा तातो पानी थप्दै ग्रिन टी पिउनेहरु बिहानदेखि बेलुकासम्मै भेटिन्छन् । पहिला दूध, चिनी र चियापत्ती मिसिएको चिया पिउने प्रचलन बढी थियो । केही वर्षयता त्यसको विकल्पमा ग्रिन टी पिउनेहरु बढिरहेका छन् । धरानमा चार पाँच वर्षयता ग्रिन टी पसलहरु खुल्न थालेका हुन् । विशेषगरी उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोलजस्ता समस्या भएकाहरु र यस्ता समस्याहरुबाट टाढा रहने प्रयासमा भएकाहरूको लत ग्रिन टीमा बसेको हो ।


ग्रिन टीलाई एन्टिअक्सिडेन्टको स्रोतका रुपमा लिइन्छ । त्यसैले पनि शहरी क्षेत्रमा विभिन्न रोगबाट बच्न ग्रिन टीतिर आकर्षित हुनेहरुको संख्या बढिरहेको छ । बुद्धचोकमा सञ्चालित ह्यापी ग्रीन मार्टमा ग्रीन टीसागै विभिन्न अर्ग्यानिक समान बेच्दै आएकी सविता राई भन्छिन्, ‘पसलमा आएर गफ गर्दै पिउने मात्र होइनन्, ग्रिन टी घरमै लगेर खानेहरु पनि बढिरहेका छन् ।’ प्रकाशित : चैत्र ७, २०७६ १४:३३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चितवन : सौराहा मात्रै होइन

विमल खतिवडा

चितवनमा घुम्ने ठाउँ भन्नेबित्तिकै प्रायः ले सम्झिने गन्तव्य हो सौराहा । यो स्थान देशकै लागि पनि मुख्य पर्यटकीय गन्तव्यमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित एकसिंगे गैंडा मुख्य आकर्षण हो । चितवनमा घुम्ने र रमाउने ठाउँ अरू पनि छन् । गाउँदेखि सहरी जनजीवनलाई यहाँ सजिलै देख्न सकिन्छ । त्यस्ता गन्तव्यमा पुग्दा समय बितेको पत्तो पाइँदैन । भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार संघीय सरकारले छनोट गरेको नेपालका १ सय गन्तव्यमा चितवनका सोमेश्वरगढी, बीस हजारी ताल र पटिहानी परेका छन् । स्थानीयस्तरबाट ६० वटा पर्यटकीय गन्तव्यको पहिचान गरिएको छ । यीमध्ये चितवनका ७ गन्तव्य :


इच्छाकामना
चिसो ठाउँ । घमाइला डाँडापाखा । इच्छाकामना मन्दिरबाट देखिने लस्करै हिमशृंखला । यस्ता दृश्यले सबैलाई लठ्याउँछ । इच्छाकामना गाउँपालिकामा पर्ने यो ठाउँ समुद्री सतहबाट १८ सय मिटरको उचाइमा छ । फागुन–चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रंगीन बनाउँछ । यो बेला घुम्न आउनेको जमात बाक्लो हुन्छ । जिप, मोटरसाइकल लिएर फिस्लिङबाट २ घण्टाको यात्रामा पुग्न सकिन्छ इच्छाकामना । सूर्योदयसँगै यो ठाउँबाट मनास्लु, माछापुच्छ्रे, गणेश हिमाल देखिन्छन् । मुग्लिनबाट पैदल हिँडेर करिब ५ घण्टामा पुगिन्छ यहाँ ।

लामो झरना
मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमि दूरी छिचोल्नसाथ पुग्ने ठाउँ हो जलवीरे । गर्मी मौसममा धेरैले यो ठाउँलाई गन्तव्य बनाउन बिर्संदैनन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने जलवीरेबाट करिब आधा घण्टा उकालो पैदल हिँडेपछि झरना पुगिन्छ । झरना छेउसम्म जिप, मोटरसाइकल सहजै पुग्छ । १०२ मिटर लामो झरनामा जो पुग्छ, घन्टौं भुल्छ । थकान मेटिएको अनुभूति गर्छ । गर्मी मौसममा अघिपछिभन्दा बढी भीड हुन्छ । पछिल्लो समय यहाँ फिल्म र म्युजिक भिडियो छायांकन गर्ने बढेका छन् । त्रिशूलीमार्‍याफ्टिङ गर्न आउनेहरू यहाँ क्यानोनिङ गर्छन् ।

पटिहानी
भरतपुर महानगरपालिका–२२ मा रहेको पटिहानी सूर्योदय र सूर्यास्तको दृश्य नियाल्नका लागि आकर्षक गन्तव्य हो । यो क्षेत्रको पर्यटन विकास गर्न स्थानीय सक्रिय छन् । यहाँ बनाइएको ‘अम्रेला स्ट्रिट’ ले सबैको ध्यान तानेको छ । जहाँ ५ सय छाता राखिएको छ । नजिकै चितवन निकुञ्ज पर्छ । सीतामाई देवालय, कमलपोखरी यही क्षेत्रमा पर्छ । ठूला ३ वटा र साना २५ होटल छन् । होटल थपिरहेको छ । राप्ती किनारमा बसेर साँझबिहान रमाउँदै थारू र बोटे संस्कृति नियाल्न सकिन्छ । नदी किनारमा चरिरहेका हरिण, मृग र हिँडिरहेका गैंडाले ध्यान खिच्छ ।

उपरदाङगढी
चितवनको पुरानो सदरमुकाम हो उपरदाङगढी । पृथ्वीनारायण शाहका पनाति शत्रुभञ्जन शाहले किल्ला निर्माण गरी गढीको संरचना बनाएको मानिन्छ । यहाँबाट २०१४ सालमा सदरमुकाम भरतपुर सारिएको हो । सडकको पहुँच भएपछि यहाँ घुम्नेको भीड बढेको हो । पैदलै पुग्नेहरू पनि हुन्छन् । यहाँ एक रात बिताएर सूर्योदय नियाल्नुको छुट्टै मज्जा छ । वरिपरिका अग्ला पहाडले मन लोभ्याउँछ । ऐतिहासिक थलो भएकाले यहाँ पुराना पर्खाल, ढोकालगायत संरचनाको संरक्षण गरिएको छ । समुद्री सतहबाट १,२७५ मिटर उचाइमा रहेको यो गन्तव्य शक्तिखोरबाट करिब ५ किमि टाढा पर्छ ।

मेघौली
मेघौली भरतपुरबाट २५ किमिमा पर्दछ । यो चितवन राष्ट्रिय निकुञ्ज तथा दुई ठूला नदी राप्ती र नारायणी नदीले घेरिएको सुन्दर टापुका रूपमा रहेको छ । थारू, कुमाल र मुसहरको संस्कृति यहाँ हेर्न सकिन्छ । मेघौली सामुदायिक वनको साढे ५ सय बिघामा राइनो पार्क निर्माण थालिएको छ । यही ठाउँमा मेघौली विमानस्थल छ । यो ठाउँबाट सहजै गैंडा देख्न पाइन्छ । जल यात्राका लागि गोलाघाट उपयुक्त गन्तव्य हो । साँझपख राप्ती र नारायणीको संगमस्थल गोलाघाटमा सूर्यास्तको दृश्यले मनमोहक पार्छ । जंगल सफारी सुरु गरिएको क्षेत्र पनि मेघौली नै हो ।

सिराइचुली
पृथ्वी राजमार्गको हुग्दीबाट १४ किमि गाडी यात्रापछि सिराइचुलीको फेदी पुगिन्छ । समुद्री सतहबाट १,९४५ मिटर उचाइमा अवस्थित यो ठाउँ सूर्योदयको दृश्यावलोकनका लागि चर्चित छ । त्यसैले यहाँ एक रात बस्ने गरी जानु राम्रो हुन्छ । हात्तीबाङमा १० वटा होमस्टे छन् । यहाँबाट करिब ९० मिनेट पैदल हिँडाइमा सिराइचुलीको चुचुरो पुगिन्छ । सिराइचुलीबाट चेपाङ हिल देखिन्छ । जंगल र चराचुरुङ्गीको आवाजले मन प्रफुल्लित बनाउँछ । लालीगुराँस फुल्ने समयमा यहाँको जंगल सुन्दर देखिन्छ । ऐंसेलु र काफलको स्वाद लिन पाइन्छ ।

सोमेश्वरगढी
माडी नगरपालिका ५ स्थित सोमेश्वरगढी भरतपुरबाट ५० किमि दूरीमा पर्छ । नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकार जम्मा गरेर ५० बढी ढुंगामा विभिन्न देवदेवीका मूर्ति कुँदिएको छ । यो नेपाल र भारतको सीमा पनि हो, जहाँ सोमेश्वर कालिकाको मन्दिर छ । चैते दसैं र ठूलो दसैंमा मेला लाग्छ । साना गाडी र मोटरसाइकल सहज रूपमा गढीसम्म पुग्छन् । लुम्बिनीमा जस्तै यहाँ पुरातात्त्विक वस्तुहरू पाइन्छन् । मूर्ति स्थापनापछि यहाँ आन्तरिक पर्यटक बढेको हो । यहाँबाट माडी र भरतपुरलाई हेर्न सकिन्छ । समुद्री सतहबाट १३०० मिटरमा रहेको यहाँ पाल्पाका राजा मंगलसेनले गढी बनाएको भनिन्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×