३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

च्याम्पियन केटो

हिमेश पन्तले रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि चुमे । उनी कसरी सफल भए ? अब के गर्दैछन् ?
गोकर्ण गौतम

मान्छेहरुले मलाई भन्छन्– ‘तैले नेताहरुको धेरै मजाक उडाउछस् ।’ नेताहरुले मेरो भोटको मजाक उडाउनचाहिं हुने, मैले नेताको मजाक उडाउन नहुने ? सत्तरी वर्ष देश लुटेको हो के कांग्रेसले । लाज लाग्नुपर्ने हो, कांग्रेसलाई । कम्युनिष्टहरुबाट केही सिक । दुई वर्षमै देश लुटेर देखाइदिए ।

च्याम्पियन केटो

...

यस्ता कयौं पेचिला व्यंग्यले हिमेश पन्तको छवि अलग र विशेष बनेको थियो, ‘कमेडी च्याम्पियन’मा । तर, उनी आफैं उपाधी जित्नेमा ढुक्क थिएनन् । शोमा एकसेएकप्रतिभाशाली प्रतियोगी जो थिए । उत्कृष्ट पाँचसम्म पुगेपछिचाहिं उनलाई लागेछ, ‘च्याम्पियन त मै हो ।’ किन ? हिमेश भन्छन्, ‘कन्टेन्ट र पर्फमेन्समा मैले अचाक्ली मेहनत गरेको थिएँ । जसले ममा प्रचुर आत्मविश्वास बढाएको थियो ।’ नभन्दै हिमेश शोको पहिलो संस्करणको विजेता बने । भलै उनी भन्ने गर्छन्, ‘उपाधी जितेपछि मैले २५ लाख र कार पाउने भएँ । बाँकी मैले गर्नुपर्ने संघर्षचाहिं उस्तै हुन्छ । बरु जिम्मेवारी थपिएको छ ।’

त्यसो त शोमा भाग लिनुअगावै हिमेश युट्युबमा परिचित थिए । सुरुमा आफ्नै युट्युब च्यानल खोलें, छोटा कमेडी भिडियो बनाएर अपलोड गरे । हल्काफुल्का भ्युज बटुल्न थाल्यो । त्यतिबेला उनको कमेडी युवा पुस्ता लक्षित हुन्थ्यो । पछि ‘कमेडी सर्कल’ नामक स्ट्यान्ड–अप कमेडीको प्लेटर्फममा जोडिए । यसबाट उनको लोकप्रियता अझ बढ्यो, स्ट्यान्ड–अपमै भविष्य देखे । भन्छन्, ‘बिस्तारै मलाई हसाएर मात्र हुन्न, विकृतिमाथि कटाक्ष गर्नुपर्छ बोध हुनथाल्यो । त्यसैले सामाजिक–राजनीतिक घटनाक्रमलाई नियाल्न थाले ।’

हिमेशको मुख्य विशेषता नै उनको कमेडीमा समाज–चेत हुनु हो । जहाँ हसाउनका लागि मात्र हसाइएको हुन्न, सन्देश र सवाल पनि हुन्छ । ‘हास्यलाई हामीले भोगिरहेको तीतो–मिठो यथार्थसँग जोड्‍न सकियो भने मात्र त्यसको आयु लामो हुन्छ,’ उनले आफ्नो बुझाई सुनाए ।

उपाधी जित्ने अभिलासा त छदै थियो, त्यो भन्दा बढीचाहिं आफ्नो प्रतिभा पस्कने र नयाँ कुरा सिक्ने चाह बोकेर हिमेश ‘कमेडी च्याम्पियन’मा पुगेका थिए । शोमा अघि बढ्दै जादा ती चाहनाहरु पुरा हुँदै गए । कन्टेन्ट चयन र प्रस्तुतीकरणका नयाँ तरिका सिके । ‘थाहा नभएको कुरा सिक्ने मोहकै कारण म यहाँसम्म आइपुगेको हुँ,’ हिमेशले भने । केही समयमा अन्य दुई फाइनलिस्ट सुमन कोइराला र खड्गबहादुर पुनमगरसँगै उनी ‘वर्ल्ड टूर’मा निस्कदैछन् । ‘कमेडी च्याम्पियन’कै निर्माताको नयाँ रियालिटी जोमा उनको पनि सहभागिता हुनेछ । आफ्नो युट्युब च्यानलका लागि कन्टेन्ट उत्पादन गर्दैछन् । ‘जे गर्छु, कमेडीमै गर्छु,’ उनले भने ।

कतिपय रियालिटी शोका विजेताहरु शो सकिएसँगै ओझेलमा पर्छन् । आफ्नो मौलिक छवि बनाउन सक्दैनन् । हिमेशलाई यसको हेक्का नभएको होइन । तर, गायन वा नृत्यभन्दा कमेडीमा आफ्नो प्रतिभा देखाउन सहज हुने भएकाले यस क्षेत्रमा हराउने सम्भावना कम हुने बताउँछन् उनी । गीत निकाल्न, म्युजिक भिडियो बनाउन टन्न पैसा लाग्छ तर क्यामेराको जोहो भयो भने कमेडी भिडियो बनाएर युट्युबमा अपलोड गर्न उतिविघ्न खर्च लाग्दैन् । युट्युबबाटै आम्दानी गर्न सकिन्छ । ‘आफूमा क्षमता छ भने कमेडीमा चाहिं पछि परिन्न । एकल प्रयासमै अगाडि बढ्न सकिन्छ,’ हिमेश भन्छन्, ‘मेहनत गरिएन भने त जहाँ पनि पछि परिन्छ, कमेडीमा पनि त्यही हो।’

टेलिभिजन र युट्युबमा मात्र होइन, फिल्ममा पनि हास्यकलाकारकै जगजगी छ अहिले । हिट फिल्मको सूची हेर्दा कमेडीकै पल्लाभारी हुन्छ । शो जितेसँगै हिमेशको चर्चा चुलिएको छ । भिडियोमा धेरथोर अभिनयकला पस्किसकेका छन् । फिल्म खेल्ने योजना छैन ? उनले मुस्कुराउँदै भने, ‘छ तर त्यसअगाडि मैले मेरो अभिनयमा व्यापक सुधार गर्नुपर्नेछ । लहडमा होइन, सिकेर मात्र फिल्म खेल्छु ।’ जहाँ कला देखाए पनि स्तर खस्कन नदिन प्रतिबद्ध छन् उनी । झाराटार्ने ढंगले काम गर्दा किनारा लागेका धेरै कलाकार देखेकाले आफू त्यही हुलमा मिसिन चाहँदैनन् । ‘मलाई धेरै होइन, स्तरिय कला पस्कनुछ । त्यसमाथि कमेडीमा त हरेक पटक केही न केही नयाँ गनैपर्छ । एउटा जोकमा दुई पटक कोही हाँस्दैनन्,’ हिमेशले यथार्थ सुनाए ।

शोकै दौरान हिमेशले मोटरसाइकलको लाइसेन्सका लागि ‘ट्रायल’ दिए तर फेल भए । च्याम्पियन बनेसँगै उनले कार पनि पाएका छन् । हाँस्दै भने, ‘भाग्यमा कार लेखेको रहेछ, मचाहिँ बाइकको लाइसेन्स लिन दौडिएछु । अब एकैपटक कार चलाउनै सिक्ने हो ।’

प्रकाशित : चैत्र ७, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?