१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

चितवन : सौराहा मात्रै होइन

विमल खतिवडा

चितवनमा घुम्ने ठाउँ भन्नेबित्तिकै प्रायः ले सम्झिने गन्तव्य हो सौराहा । यो स्थान देशकै लागि पनि मुख्य पर्यटकीय गन्तव्यमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित एकसिंगे गैंडा मुख्य आकर्षण हो । चितवनमा घुम्ने र रमाउने ठाउँ अरू पनि छन् । गाउँदेखि सहरी जनजीवनलाई यहाँ सजिलै देख्न सकिन्छ । त्यस्ता गन्तव्यमा पुग्दा समय बितेको पत्तो पाइँदैन । भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार संघीय सरकारले छनोट गरेको नेपालका १ सय गन्तव्यमा चितवनका सोमेश्वरगढी, बीस हजारी ताल र पटिहानी परेका छन् । स्थानीयस्तरबाट ६० वटा पर्यटकीय गन्तव्यको पहिचान गरिएको छ । यीमध्ये चितवनका ७ गन्तव्य :

चितवन : सौराहा मात्रै होइन

इच्छाकामना

चिसो ठाउँ । घमाइला डाँडापाखा । इच्छाकामना मन्दिरबाट देखिने लस्करै हिमशृंखला । यस्ता दृश्यले सबैलाई लठ्याउँछ । इच्छाकामना गाउँपालिकामा पर्ने यो ठाउँ समुद्री सतहबाट १८ सय मिटरको उचाइमा छ । फागुन–चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रंगीन बनाउँछ । यो बेला घुम्न आउनेको जमात बाक्लो हुन्छ । जिप, मोटरसाइकल लिएर फिस्लिङबाट २ घण्टाको यात्रामा पुग्न सकिन्छ इच्छाकामना । सूर्योदयसँगै यो ठाउँबाट मनास्लु, माछापुच्छ्रे, गणेश हिमाल देखिन्छन् । मुग्लिनबाट पैदल हिँडेर करिब ५ घण्टामा पुगिन्छ यहाँ ।


लामो झरना

मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमि दूरी छिचोल्नसाथ पुग्ने ठाउँ हो जलवीरे । गर्मी मौसममा धेरैले यो ठाउँलाई गन्तव्य बनाउन बिर्संदैनन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने जलवीरेबाट करिब आधा घण्टा उकालो पैदल हिँडेपछि झरना पुगिन्छ । झरना छेउसम्म जिप, मोटरसाइकल सहजै पुग्छ । १०२ मिटर लामो झरनामा जो पुग्छ, घन्टौं भुल्छ । थकान मेटिएको अनुभूति गर्छ । गर्मी मौसममा अघिपछिभन्दा बढी भीड हुन्छ । पछिल्लो समय यहाँ फिल्म र म्युजिक भिडियो छायांकन गर्ने बढेका छन् । त्रिशूलीमा र्‍याफ्टिङ गर्न आउनेहरू यहाँ क्यानोनिङ गर्छन् ।


पटिहानी

भरतपुर महानगरपालिका–२२ मा रहेको पटिहानी सूर्योदय र सूर्यास्तको दृश्य नियाल्नका लागि आकर्षक गन्तव्य हो । यो क्षेत्रको पर्यटन विकास गर्न स्थानीय सक्रिय छन् । यहाँ बनाइएको ‘अम्रेला स्ट्रिट’ ले सबैको ध्यान तानेको छ । जहाँ ५ सय छाता राखिएको छ । नजिकै चितवन निकुञ्ज पर्छ । सीतामाई देवालय, कमलपोखरी यही क्षेत्रमा पर्छ । ठूला ३ वटा र साना २५ होटल छन् । होटल थपिरहेको छ । राप्ती किनारमा बसेर साँझबिहान रमाउँदै थारू र बोटे संस्कृति नियाल्न सकिन्छ । नदी किनारमा चरिरहेका हरिण, मृग र हिँडिरहेका गैंडाले ध्यान खिच्छ ।


उपरदाङगढी

चितवनको पुरानो सदरमुकाम हो उपरदाङगढी । पृथ्वीनारायण शाहका पनाति शत्रुभञ्जन शाहले किल्ला निर्माण गरी गढीको संरचना बनाएको मानिन्छ । यहाँबाट २०१४ सालमा सदरमुकाम भरतपुर सारिएको हो । सडकको पहुँच भएपछि यहाँ घुम्नेको भीड बढेको हो । पैदलै पुग्नेहरू पनि हुन्छन् । यहाँ एक रात बिताएर सूर्योदय नियाल्नुको छुट्टै मज्जा छ । वरिपरिका अग्ला पहाडले मन लोभ्याउँछ । ऐतिहासिक थलो भएकाले यहाँ पुराना पर्खाल, ढोकालगायत संरचनाको संरक्षण गरिएको छ । समुद्री सतहबाट १,२७५ मिटर उचाइमा रहेको यो गन्तव्य शक्तिखोरबाट करिब ५ किमि टाढा पर्छ ।


मेघौली

मेघौली भरतपुरबाट २५ किमिमा पर्दछ । यो चितवन राष्ट्रिय निकुञ्ज तथा दुई ठूला नदी राप्ती र नारायणी नदीले घेरिएको सुन्दर टापुका रूपमा रहेको छ । थारू, कुमाल र मुसहरको संस्कृति यहाँ हेर्न सकिन्छ । मेघौली सामुदायिक वनको साढे ५ सय बिघामा राइनो पार्क निर्माण थालिएको छ । यही ठाउँमा मेघौली विमानस्थल छ । यो ठाउँबाट सहजै गैंडा देख्न पाइन्छ । जल यात्राका लागि गोलाघाट उपयुक्त गन्तव्य हो । साँझपख राप्ती र नारायणीको संगमस्थल गोलाघाटमा सूर्यास्तको दृश्यले मनमोहक पार्छ । जंगल सफारी सुरु गरिएको क्षेत्र पनि मेघौली नै हो ।


सिराइचुली

पृथ्वी राजमार्गको हुग्दीबाट १४ किमि गाडी यात्रापछि सिराइचुलीको फेदी पुगिन्छ । समुद्री सतहबाट १,९४५ मिटर उचाइमा अवस्थित यो ठाउँ सूर्योदयको दृश्यावलोकनका लागि चर्चित छ । त्यसैले यहाँ एक रात बस्ने गरी जानु राम्रो हुन्छ । हात्तीबाङमा १० वटा होमस्टे छन् । यहाँबाट करिब ९० मिनेट पैदल हिँडाइमा सिराइचुलीको चुचुरो पुगिन्छ । सिराइचुलीबाट चेपाङ हिल देखिन्छ । जंगल र चराचुरुङ्गीको आवाजले मन प्रफुल्लित बनाउँछ । लालीगुराँस फुल्ने समयमा यहाँको जंगल सुन्दर देखिन्छ । ऐंसेलु र काफलको स्वाद लिन पाइन्छ ।


सोमेश्वरगढी

माडी नगरपालिका ५ स्थित सोमेश्वरगढी भरतपुरबाट ५० किमि दूरीमा पर्छ । नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकार जम्मा गरेर ५० बढी ढुंगामा विभिन्न देवदेवीका मूर्ति कुँदिएको छ । यो नेपाल र भारतको सीमा पनि हो, जहाँ सोमेश्वर कालिकाको मन्दिर छ । चैते दसैं र ठूलो दसैंमा मेला लाग्छ । साना गाडी र मोटरसाइकल सहज रूपमा गढीसम्म पुग्छन् । लुम्बिनीमा जस्तै यहाँ पुरातात्त्विक वस्तुहरू पाइन्छन् । मूर्ति स्थापनापछि यहाँ आन्तरिक पर्यटक बढेको हो । यहाँबाट माडी र भरतपुरलाई हेर्न सकिन्छ । समुद्री सतहबाट १३०० मिटरमा रहेको यहाँ पाल्पाका राजा मंगलसेनले गढी बनाएको भनिन्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?