कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली जेट बोट 

सीमा तामाङ

सप्तकोसीमा तीन वटा जेट बोट सञ्चालनमा छन्, तीनमध्ये एकचाहिँ नेपाली इन्जिनियरको समूहले तयार पारेको जेट बोट हो । १ करोड ५० लाख रुपैयाँमा बनेको जेट बोटमा एकपटकमा ३० जना अटाउन सक्छन् । पहिलोपटक जेट बोट बनेकाले सगरमाथाको उचाइबाट ‘८८४८–जेट बोट’ नामकरण गरिएको निर्माणकर्ताहरूको भनाइ छ ।

नेपाली जेट बोट 

काठमाडौंका अभिषेक कार्की, तेह्रथुमका सुमन खत्री, लेखराज र रोहित रिजालको टोली गत वर्ष चतरा घुम्न गएको थियो । सप्तकोसी तर्ने क्रममा उनीहरूले जेट बोटमा यात्रा गरे । त्यसको एक महिनापछि फेरि उनीहरू चतरा जानुपर्ने भयो । सप्तकोसीमा चल्ने जेट बोट मर्मत गर्नुपर्ने अवस्थामा थियो । उनीहरूले जेट बोट मर्मत गर्ने प्रस्ताव गरे र बनाउन समय खर्चिए । उक्त जेट बोट बनाउँदा उनीहरूलाई पनि जेट बोट बनाउने रहर पलायो किनकि उनीहरूले त्यसअघि नै खुट्टाले चल्ने (प्याडल बोट) बनाएर केही अनुभव बटुलिसकेका थिए ।


आठ महिनाको अध्ययन र अनुसन्धानपछि गत वर्ष चैतमा उनीहरूले जेट बोट नै तयार पारे । ०७५ को चैत १६ गते बोटको पहिलो परीक्षणपछि यो वैशाखदेखि सप्तकोसीमा नेपालमै बनेको जेट बोट चल्न थालेको हो । ‘इन्जिन र जेटबाहेक सबै सामान नेपालको हो,’ इन्जिनियर कार्कीले भने, ‘बोटको डिजाइन हामी आफैंले बनाएका हौं ।’ सिंगापुरबाट स्टाटर मोटर भएको मरिन इन्जिन र जेट मगाएर बोटलाई चाहिने अन्य अंगहरू नेपालमै बनाएको थियो ।


बाहिरबाट ल्याउँदा इन्जिन र बोटको मूल्य ८० लाख रुपैयाँ पर्‍यो । उक्त इन्जिनको क्षमता २९५ एचपी छ भने बोटको स्पिड ३५ नट छ । एक नट बराबर ६५ किलोमिटर प्रतिघण्टा गति हुन्छ । जीडीएस फाइबर वर्ल्डका सञ्चालक काठमाडौंका कार्की, तेह्रथुमका खत्री, जयलक्ष्मी फाइबर वर्ल्डका सञ्चालक रिजालद्वय हुन् । दुवै कम्पनी फाइबर ग्लाससँग सम्बन्धित काम गर्छन् ।


उक्त कम्पनी फाइबरको डमी, गमला, वाटर पार्कका सामग्री बनाउँछन् । चार जनाको समूहमा अभिषेक डिजाइनको काम गर्छन् । रोहित मेटलसँग सम्बन्धित काम गर्छन् । बाँकी निर्माणको जिम्मेवारी सुमन र लेखनाथले गर्छन् । भारतमा मेकानिकल इन्जिनियरमा डिप्लोमा गरेका लेखराजले उतै काम गर्नेसमेत मौका पाएका थिए ।



एक वर्षअघि प्याडल बोट निर्माण गर्ने क्रममा इन्जिनियरद्वय सुमन र लेखनाथको भेट भएको थियो । ‘एउटै काम गर्ने भएपछि प्रतिस्पर्धाभन्दा पनि मिलेर गरौं भनेर हामीले प्याडल बोटको काम गर्‍यौं,’ इन्जिनियर लेखनाथले भने, ‘त्यहीँबाट सुरु भएको हाम्रो समूह अहिले पनि जेट बोट, ओबीएम बोटमा काम गर्दै छौं ।’ एक वर्षमा एउटा जेट बोटसँगै सात वटा ओबीएम बोट निर्माण गर्न सकेपछि उनले कामले गति लिइरहेको सुनाए ।


त्यस्तै रोहित पनि भारतमै मेटलसँग सम्बन्धित डिप्लोमा गरेर आएका हुन् । उनी १४ वर्ष उतै बसेर पढाइसँगै मेटल अर्थात् फलामसँग सम्बन्धित काम पनि गरेका थिए । बाहिरबाट ल्याएर मात्र चलाइने जेट बोट नेपालमै पनि बनाउन सकिने उनले बताए ।


काठमाडौं विश्वविद्यालयबाट बी टेक गरेका कार्की र खत्री पाँच वर्षदेखि फाइबर ग्लाससँग सम्बन्धित काम गर्दै आएका छन् । ‘जेट बोट पहिलोपटक भए पनि प्याडल बोट निर्माण र जेट बोटसमेत मर्मत गरिसकेका थियौं,’ उनले भने । ‘विदेशबाट डिजाइन गरेर ल्याइएको बोट समुद्रमा चल्ने गरी बनाइएको हुने उनले बताए । नेपालको नदीनालामा कतै धेरै पानी कतै थोरै, बालुवा, ढुंगाको समिश्रण भएकाले त्यसअनुसारको अध्ययनलाई जोड दिएर जेट बोट बनाउने उनले बताए ।


यही समूहले अर्को नयाँ ‘ओबीएम बोट’ पनि सञ्चालनमा ल्याइसकेको छ । ओबीएम भन्नाले ‘आउट बोर्ड मोटर’ हो । ओबीएमको बोटभन्दा बाहिर इन्जिन राखिन्छ । ओबीएम बोटको नाम माउन्ट मकालु राखेका छन् । यो बोट चलाउनका लागि ३ फिटभन्दा बढी पानी हुनुपर्छ । जेट बोट कम पानी भएको ठाउँमा पनि चलाउन सकिन्छ भने ओबीएमलाई धेरै पानी चाहिन्छ । अहिले कर्णालीका लागि दुई वटा जेट बोट र दुई वटा ओबीएम बोट निर्माण गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?