रोनाल्डो १००० नटआउट

हिमेश

क्रिस्टियानो रोनाल्डो खेलाडी नै त्यस्ता हुन्, उनीबारे जति लेख्दा पनि नसकिने । एउटा सानो निहुँ चाहिन्छ, उनीबारे जत्ति पनि लेख्न सकिन्छ । अहिले त झन् ठूलो बहाना मिलेको छ र त्यो हो, उनले गत साता आफ्नो व्यावसायिक खेल जीवनको औपचारिक ‘१०००’ औं खेल खेले ।

विश्व फुटबलमा यसरी हजार खेल खेल्ने निकै कम छन् । फेरि खेलेर पनि सफल हुनुपर्‍यो, खेल्नका लागि खेल्दैमा के स्वाद र ? रोनाल्डोले भने हजारौं खेल पनि खेले र ती सबैमा आफ्नो उपस्थिति पनि सिद्ध गरे ।


अहिले कोरोना भाइरसको सम्भावित संक्रमणका लागि पूरा विश्व भयभीत छ । खेलकुद मात्र कसरी अपवाद हुन सक्छ र ? त्यसमाथि इटाली झन् बेसी डराएको छ । त्यसैले रोनाल्डोको यो ऐतिहासिक खेल प्रत्यक्ष हेर्ने भाग्यमानी दर्शक कोही रहेनन् किनभने युभेन्ट्स र इन्टर मिलानबीचको खेल टुरिनको बन्द रंगशालामा भएको थियो । युभेन्ट्सको एलिनाज स्टेडियममा त्यस दिन कोही थिएनन् भन्दा हुन्छ, खेलाडी र खेल पदाधिकारीबाहेक ।


तर रोनाल्डो पनि के कमका थिए । खेल सुरु हुनु अगाडि खाली–खाली दर्शकदीर्घातर्फ फर्केर सुरुमा ‘हाइफाइब’ दिए अनि खेलको अन्त्यमा फेरि तिनै खाली–खाली दर्शकदीर्घातिर हेरेर हात हल्लाए । यो सबै ‘सिम्बोलिक’ नै थियो, अर्थ भने विशेष थियो । फेरि खेल आफैंमा ठूलो महत्त्वको थियो, दुई उपाधिको होडमा रहेका टिमबीचको खेल । यो खेल जितेर युभेन्ट्स शीर्ष स्थानमा उक्लिन सफल पनि रह्यो । कोरोना भाइरसकै कारण लिग यत्तिकैमा रोकिए युभेन्ट्स च्याम्पियन घोषित हुन बेर छैन ।


खेलपछि आफूले खेलेको हजारौं खेलको खुसी मनाउन रोनाल्डोले इन्स्टाग्रामको मद्दत लिए । उनले लेखे, ‘हजारौं आधिकारिक खेल खेलेकामा निकै गर्व छ । यसमा प्राप्त महत्त्वपूर्ण जितले हामी लिग तालिकाको शीर्ष स्थानमा पनि पुगेका छौं । मेरा सबै सहकर्मी खेलाडी, प्रशिक्षक, परिवार, साथी र प्रशंसकहरूलाई धन्यवाद । उनीहरूकै कारणले म यहाँसम्म पुगेको हुँ ।’ पछि युभेन्ट्सले पनि ट्वीटरबाट आफ्ना स्टार पोर्चुगाली खेलाडीलाई बधाई दियो ।


यो हजारौं ऐतिहासिक खेलपछि रोनाल्डोको जीवनको जुन तथ्यांक तयार हुन्छ, त्यो गज्जब छ र सबै व्यावसायिक खेलाडी पनि त्यसप्रति लोभिने खालको छ । जस्तो, यी हजार खेलमध्ये रोनाल्डोले आफ्नो देशका लागि १ सय ६४ खेल खेले । त्यसमध्ये पोर्चुगलले जितेको पछिल्लो युरो कप पनि सामेल छ । त्यसपछि क्लब फुटबलका ८ सय ३६ खेल छन् । यी खेल स्पोर्टिङ लिस्वन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र अहिलेको युभेन्ट्सका लागि हुन् ।


त्यसो त रोनाल्डोको मैदानमा खास भूमिका विन्गरका रूपमा हो, तर पनि उनले अविश्वसनीय ढंगले ७ सय २५ गोल गरेका छन् । उनले क्लब फुटबलमा ६ लिग उपाधि जितेका छन् भने पाँच अवसरमा बेलन डे’अर पनि । यस्तै उनले जितेका पाँच युरोपेली च्याम्पियन्स लिगको उपाधि पनि कम्तीका होइनन् । त्यसैले त अहिलेको पुस्ताका खेलाडीमध्ये उनलाई सबैभन्दा सफल मानिन्छ । खासमा यी सबै तथ्यांकले उनी कस्ता खेलाडी हुन्, त्यो सबै छर्लङ्ग पार्छ ।


यो हजारौं खेलपछि धेरैले दुई प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् । त्यसमध्ये पहिलो हो, रोनाल्डोले कसरी यति धेरै वर्ष ‘फिट एन्ड फाइन’ रहेर खेल्न सके त ? यसको उत्तर हो, विश्व फुटबलमा रोनाल्डो जत्तिको मिहिनेत गरेर खेल्ने खेलाडी अरू कोही छैन । उनी अरू खेलाडीभन्दा बेसी नै पसिना बगाउँछन् । आफ्नो व्यक्तिगत साना–साना तथ्यमा पनि उत्तिकै ध्यान दिन्छन् । अब दोस्रो प्रश्न, उनले कहिलेसम्म खेलिरहने छन् होला त ?


यसको उत्तर रोनाल्डोसँग मात्रै छ । ख्याल ख्यालमै उनले सही भनेका छन्, ‘४१ वर्ष हुँदासम्म खेल्नेछु ।’ अचेल विश्व फुटबलमा एउटा नयाँ शब्दावली प्रयोगमा आउने गरेको छ र त्यो हो, ‘गोट’ अर्थात् ‘जी, ओ, ए, टी’ । त्यसको विस्तारित रूप हो, ‘ग्रेटेस्ट अफ अल टाइम’ । यो रोनाल्डो जस्ता खेलाडीकै लागि बनेको हो । यो शब्दावली लियोनल मेसीका लागि पनि प्रयोग हुन्छ । अब रोनाल्डोको चर्चा चल्दा बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसी छुट्ने त कुरै भएन ।


रोनाल्डोले हजारौं खेल खेलेपछि ट्वीटरमा यी दुई खेलाडीमध्ये को राम्रो त भनेर राम्रै बहस चलेको पनि देखियो । रोनाल्डो किन राम्रो हो भनेर उनका समर्थकका आ–आफ्ना तर्क थिए । मेसी समर्थकका पनि आफ्नै तर्क थिए । फेरि रोनाल्डो र मेसी सर्वथा फरक प्रकृतिका खेलाडी पनि त हुन् । खासमा यो कहिले पनि नसकिने बहस हो र यसको अन्त्य कहिले पनि हुने छैन । तर हजारौं खेलपछि रोनाल्डो विशेष भने भएका छन्, हाम्रोतर्फबाट पनि उनलाई ‘हाइफाइब’ । प्रकाशित : फाल्गुन ३०, २०७६ १४:५१

प्रतिक्रिया
पठाउनुहोस्

माल्दिनीका तीन पुस्ता

इटालीको चर्चित क्लब एसी मिलनाका लागि सिजर माल्दिनीले खेले । उनको छोरा पाओलो माल्दिनीले पनि खेले । हालै नाति ड्यानिएल पनि मिलानको जर्सीमा मैदानमा उत्रिन थालेका छन् ।
हिमेश

फुटबल मन पराउनेको एक पुस्ता पाओलो माल्दिनीको खेल हेर्दै हुर्के । बूढा पनि भए । यो पुस्ताले भन्ने गर्छ, ‘खेलाडी होस् त माल्दिनी जस्तो ।’ जति बेला यी जब्बर डिफेन्डरले एसी मिलानका लागि खेल्थे, क्लब विश्वकै नम्बर १ जस्तै थियो । इटालीको फुटबल आफैंमा सुखद समयबाट गुज्रिरहेको थियो । अनि सिरी ‘ए’ सफलता र लोकप्रियताको शिखरमा थियो । यो भनेको सन् अस्सीको मध्यबाट दुई दशकको समय हो ।

माल्दिनीलाई मन पराउनुको एउटा ठोस कारण पनि छ । माल्दिनीले आफ्नो पूरा खेल जीवन एउटै क्लबका लागि खेले । मिलान छाडेर उनी अन्यत्र कतै गएनन् । उनी ‘वान क्लब म्यान’ हुन् । उनी क्लबका ‘ट्र्यु लेजेन्ड’ हुन् । अचेलका खेलाडीलाई आरोप लाग्ने गर्छ, केही बढी पैसा पायो कि क्लब फेर्न हतार गर्छन् । यसमा माल्दिनी सर्वथा अपवाद रहे । त्यसैले पनि उनी खुबै लोकप्रिय रहे । मिलान समर्थक नभएकाका लागि पनि उत्तिकै प्रिय । उनले मिलानका लागि सबथोक जिते, घरेलु लिग र कपदेखि च्याम्पियन्स लिगसम्म ।

अहिले यी भेट्रान माल्दिनीको चर्चा किन भने उनका छोरा ड्यानिएल माल्दिनीले हालै सिरी ‘ए’ मा डेब्यु गरेका छन् । जति बेला ड्यानिएलले भेरोनाविरुद्ध खेले, चारैतिर माल्दिनी परिवारको चर्चा भयो । नहोस् पनि किन र ? आखिरमा उनी मिलानका लागि खेल्ने तेस्रो पुस्ताका खेलाडी हुन् । मिलानलाई मायाले ‘रोसेनेरी’ भनिन्छ । यो क्लबका लागि बाजे सिजर माल्दिनी पनि खेले । त्यसो भनेको माल्दिनीका तीन पुस्ताले मिलानका लागि खेलेको कीर्तिमान बनाए ।

ड्यानिएल भर्खर १८ वर्षका भए । उनी ‘क्रियटिभ मिडफिल्डर’ का रूपमा खेल्ने गर्छन् । उनी जेठो छोरा हुन । संयोगले उनको बुबा अझै मिलानसँग आबद्ध छन् । उनी खेलाडी त थिए नै, कप्तान पनि भए । अचेल क्लबका निर्देशक छन् । बुबा यो ठूलो भूमिकामा छँदा उनले डेब्युको सुखद अवसर पाए । ड्यानिएलका भाइ क्रिस्टियन माल्दिनी पनि फुटबल खेल्छन् । अहिले भने उनी सिरी ‘सी’ क्लब प्रो सेस्टञोका लागि खेलिरहेका छन् ।

बुबा माल्दिनीले सन् १९८५ को जनवरी २० मा मिलानका लागि डेब्यु गरेका थिए र त्यति बेला उनको उमेर थियो, १६ वर्ष र छ महिना मात्र । प्रतिद्वन्द्वी टिम थियो, उडिनेजी । उनले मिलानका लागि ९ सय १ पल्ट खेले, ३३ गोल पनि गरे । उनले सन् २००९ को जुनमा मात्र संन्यास लिएका हुन् । उनलाई विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्ये एक मानिन्छ । इटालीको फुटबलमा डिफेन्डरको सबैभन्दा बढी महत्त्व हुन्छ, उनी ठ्याक्कै यही पाराले खेल्ने खेलाडी थिए । त्यसमाथि हदैले भलाद्मी मान्छे ।

अब बाजे माल्दिनीको पालो । सिजर माल्दिनीले पनि मिलानका लागि मात्र खेलेनन्, कप्तान पनि भए । उनी त यस क्लबका प्रशिक्षक पनि बने । अझ उनी त मिलानका लागि युरोपेली कप उचाल्ने पहिलो कप्तान पनि थिए । पछि उनले इटालीको टिम पनि सम्हाले, प्रशिक्षकका रूपमा । उनी पनि खेलाडी छँदा डिफेन्डर नै थिए । माल्दिनी परिवारको फुटबलको वास्तविक जग बसाउने उनी नै थिए, यसको श्रेय उनलाई दिनैपर्छ, उनले भने सन् १९५३ मा पहिलोपल्ट सिरी ‘ए’ मा खेलेका थिए ।

मिलानका लागि भने उनले सन् १९५४ मा डेब्यु गरे । उनको निधन भएको चार वर्ष भयो । त्यति बेला उनी ८४ वर्षका थिए । दुःख केमा रहनेछ भने उनले नाति ड्यानिएलको मिलानका लागि खेलेको हेर्न पाएनन् । तर उनी के तथ्यमा ढुक्क थिए भने ड्यानिएल पनि मिलान जर्सीका लागि योग्य छन् । यी नाति माल्दिनीले आफ्ना बुबा र बाजे जत्तिको प्रसिद्धि र सफलता हात पार्न अझै लामो यात्रा तय गर्नुपर्नेछ । तर समग्रमा माल्दिनीका तीन पुस्ताको फुटबल कथा आफैंमा अद्वितीय र दुर्लभ छ ।

प्रकाशित : फाल्गुन २३, २०७६ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×