च्याम्पियन मोडहरू

'जसरी खेले पनि १ करोड सकिने रहेछ, हारे पनि झरे पनि । लिग खेल्‍नै पर्ने हुन्छ, चुनौती लिएर उठ्छ भनेर टिम आँटिएको हो ।'
राजु घिसिङ

घरेलु फुटबलकै सर्वाधिक प्रतिष्ठित सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ च्याम्पियन हो मछिन्द्र क्लब । उसले अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर शनिबार इतिहास कोरेको हो । उपाधि जित्न मछिन्द्रलाई त्यो खेलमा जितको विकल्प थिएन भने आर्मीलाई बराबरी वा विजयी दुवै नतिजा ट्रफी चुम्न पर्याप्त हुन्थ्यो । तर, बाजी मार्‍यो मछिन्द्रले । राजधानीको ४७ वर्ष पुरानो यो क्लबको सफलताका ५ आधार :

चर्चित खेलाडीहरूको आगमन

लिगको दौरान थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भनेका थिए, ‘नेपालमा कुन खेलाडीलाई स्टार मान्ने, कसलाई नमान्ने ? ठूलो लगानी गरेर खेलाडीलाई स्टार भन्ने खालको खेल कहाँ छ र ?’ हुन पनि नेपाली फुटबलको अवस्था त्यस्तै छ । खेलाडीहरूलाई स्टारभन्दा पनि नाम चलेका भन्नुपर्ने अवस्था छ किनभने नामअनुसारको खेल मैदानमा विरलै देख्न पाइन्छ ।


यस्तै परिस्थितिमा पनि मछिन्द्रले चर्चित खेलाडीहरूलाई अनुबन्ध गर्‍यो ठीक लिगअघि । जति बेला कीर्तिमान आठपल्टको ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दीमा उसका पुराना खेलाडीहरूले ‘बार्गेनिङ’ गरिरहेका थिए । उनीहरूलाई क्लब व्यवस्थापनप्रति चित्त बुझेन । ठीक यसै बेला खेलाडीहरूलाई मछिन्द्रले आकर्षक पारिश्रमिक दिने प्रस्ताव गरिरहेको थियो ।


विशाल श्रेष्ठ, विशाल राई बी, सुजल श्रेष्ठ, विराज महर्जन, दीपक राई, हेमन गुरुङ, एडेलाजा सोमिडे मनाङबाट मछिन्द्र पुगे । मनाङकै जर्सीमा एएफसी कप खेलेका देवेन्द्र तामाङ र अभिषेक रिजालले पनि मछिन्द्रलाई नै गन्तव्य बनाए । थ्रीस्टारले खर्चिलो टिम राख्ने हिम्मत गरेन र त्यसको फाइदा मछिन्द्रलाई नै भयो । रन्जिन धिमाल, विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनले पाटने क्लब छाडे । अनि बलियो बन्यो मछिन्द्र । योगेश गुरुङ, विशाल राई ए जस्ता अनुभवीसँगै युवा खेलाडीहरूलाई पनि ल्याइयो ।



सात वर्ष मनाङमा खेलेका मिडफिल्डर विशाल बी ले भने, ‘ऐतिहासिक क्लब मनाङमा जस्तै दबाब त भएन तर सबैले स्टार स्टार भनिरहेपछि मछिन्द्रमै पनि दबाब महसुस हुन थाल्यो । मछिन्द्रले जित्दा थप खुसी किन पनि लाग्यो भने जुन हामीले खेल्दाखेल्दै बीचमा बजारमा हल्ला जति खर्च गरे पनि हुँदैन रहेछ भन्ने थियो । हाम्रो यो सफलताले भविष्यमा अरू खेलाडीलाई पनि राम्रो हुन्छ ।’ लिगको अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर च्याम्पियन भएपछि उनीसहित गोलकिपर विशाल श्रेष्ठ, सुजल र फरवार्ड दीपक राईले ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गरे । उनीहरूले अघिल्ला दुई उपाधि (२०७० र ०७५) मनाङबाट जितेका थिए ।


व्यक्तिगत कौशल र उमेर समूह तथा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरू लिएर यसपालि मछिन्द्रको टिम जसरी बन्यो, त्यसले उसलाई प्रतियोगिताअघि नै उपाधिको मुख्य दाबेदारका रूपमा प्रस्तुत गरेको थियो । लिगमा तेस्रो चरणदेखि उसले अन्त्यतिर गोल गर्ने, पछाडि परेको अवस्था उल्ट्याउने, दबाबमै पनि अनुकूल नतिजा निकाल्ने गर्दै च्याम्पियन बन्ने छनक पनि देखाउन थाल्यो । अन्त्यमा आएर जित्नैपर्ने खेल जितेपछि मछिन्द्रले १६ औं विजेताका रूपमा इतिहास बनाएको हो ।


अब्बल विदेशी

मछिन्द्रले नाम चलेका स्वदेशी खेलाडी त भेला पारेका थिए नै, विदेशी खेलाडी पनि राम्रै स्तरका अनुबन्ध गर्‍यो । नाइजेरिन डिफेन्डर पिटर सेगुन, फरवार्ड एडेलाजा सोमिडे र क्यामरुनी मिडफिल्डर आन्द्रेस निआलाई भित्र्यायो । शारीरिक रूपमा बलिया यी तीनै खेलाडीले लिगमा राम्रै प्रभाव देखाए । देवेन्द्र, विशाल बीसँगै पिटर र निआ २–२ पल्ट म्यान अफ द म्याच भए । रञ्जित र दीपकसँगै सोमिडे एकपल्ट म्यान अफ द म्याच चुनिए ।



मछिन्द्रले एकमात्र हार सातौं चरणमा हिमालयन शेर्पाविरुद्ध २–० को बेहोर्‍यो । त्यसलाई लिएर पिटरको आलोचना भएको थियो । तर, अरू खेलमा उनले त्यस्तो नराम्रो प्रदर्शन गरेनन् । पिटर र सोमिडे नेपाली फुटबलका अनुभवी खेलाडी हुन् र त्यो अनुभवलाई उनीहरूले मछिन्द्रका लागि उपयोग गरे । निआले गत वर्ष मोफसलका प्रतियोगिताहरू ‘दाउफिन्स’ नाम दिइएको अफ्रिकी खेलाडीहरूको टिमबाट खेलेका थिए । पूरा लिगमै छाएका उनी निर्णायक खेलमा आर्मीविरुद्ध म्यान अफ द

म्याच चुनिएका थिए । विदेशी खेलाडीको प्रदर्शनलाई तुलनात्मक रूपमा हेर्ने हो भने अरू क्लब मछिन्द्रभन्दा निकै पछाडि देखिए ।


खेलाडी बुझेका प्रशिक्षक

प्रवेश कटुवालले कुनै बेला मछिन्द्रका यी खेलाडीहरूसँगै खेलेका थिए र उनीहरूलाई प्रशिक्षकका रूपमा सम्हालेका पनि थिए । त्यसैले हुन सक्छ, मछिन्द्रले खेलाडीहरूलाई बुझेका र नजिक रहेका प्रवेशलाई नै प्रशिक्षक बनायो । तीन वर्षअघि एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गरेका उनले सैनिक युथ क्लबलाई प्रदेश १ च्याम्पियन बनाएका थिए भने झापा फुटबल क्लबलाई गत वर्ष राजधानीको सी डिभिजनमा छनोट गराएका थिए ।



झापा ११ फुटबल क्लबको सिनियर र युवा टिमका प्रशिक्षक पनि हुन् प्रवेश । मछिन्द्रका अधिकांश खेलाडीले यसअघि नै प्रवेश प्रशिक्षक रहेको टिमबाट खेलिसकेका थिए । उनले लिगमा मछिन्द्रका २० खेलाडी उपयोग गरे । त्यसमध्ये ५ खेलाडी झापाका हुन् भने ११ खेलाडी पूर्वका । देवेन्द्र, विशाल बी, योगेश, विशाल ए, विमान राई झापाका हुन् भने दीपक, विजय, रञ्जित, सूर्य अधिकारी मोरङका तथा सुजल र बुद्ध धनकुटाका । फुटबल खेलाडी उत्पादनको उर्वर भूमि प्रदेश १ हो । त्यसैले पनि राजधानीको क्लबले पूर्वकै खेलाडी र प्रशिक्षक रोजेको हुन सक्छ ।


थ्रीस्टारबाट २०६९ मा खेलाडीका रूपमा र यसपालि मछिन्द्रबाट प्रशिक्षकका रूपमा ए डिभिजन लिग च्याम्पियन भएका प्रवेशले भने, ‘धेरै खेलाडीसँग पहिला सँगै खेलेको थिएँ, प्रशिक्षकका रूपमा पनि खेलाएको थिएँ । उनीहरू मेरा लागि मैदानमा खेलाडी हुन् भने बाहिर साथी । त्यसैले स्टार खेलाडीलाई सम्हाल्न गाह्रो भएन । व्यवस्थापनले पनि टिमका लागि आवश्यक हरेक कुरामा साथ दियो ।’ शीर्ष डिभिजनको उनको यो नै पहिलो लिग हो प्रशिक्षकका रूपमा । उनले ४–३–३ को आक्रामक शैलीमा लिग सुरु गरेका थिए । हेमन गुरुङ अस्ट्रेलिया गएपछि र मनाङसँगको


तनावमा तीन खेलाडी निलम्बनमा परेपछि ३–५–२ र ४–४–२ को संरचना पनि अपनाए । उनले अभिषेक माल्दिभ्सको बी डिभिजन खेल्न गएपछि फरवार्डको खोजीमा नाइट क्लब काण्डबाट फर्किएका विमल घर्तीमगरलाई एक खेलका लागि पनि ल्याए ।


फ्रि–स्कोरिङ

व्यक्तिगत कौशल र पोजिसनका आधारमा बलियो देखिए पनि मछिन्द्रको सेन्टर फरवार्ड खासै प्रभावशाली भएन । सुजल, विराज, दीपक, रेजिनको चोटले पनि मछिन्द्रलाई पीडा दियो । तर, ‘डेड बल’ मा राम्रो गर्‍यो । विशेषगरी रञ्जित धिमालले प्रहार गर्ने फ्रि–किक, कर्नर विपक्षीका लागि निकै खतरनाक बन्यो ।



२०७५ सालमा अन्तिमबाट दोस्रो हुँदा यसपालि १ अंक गुमाउनुपरेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्ने क्रममा २५ गोल गरेर ८ गोल बेहोर्‍यो । उसले १ गोल विपक्षीको आत्मघाती पायो भने २४ गोल ११ खेलाडीले गरे । दीपक, सोमिडे र विशाल बीले ४–४ गोल गरे भने देवेन्द्रले ३ । रञ्जित र रेजिनले २–२ गोल । योगेश, पिटर सेगुन, सुजल, निआ र विशाल ए ले १–१ गोल गरे । त्यसैले मछिन्द्रलाई ‘फ्रि–स्कोरिङ’ टिम भन्न मिल्छ । मछिन्द्रले १८ गोल दोस्रो हाफमा गरेको थियो । गोलकिपर विशाल श्रेष्ठले ७ खेलमा ‘क्लिन सिट’ राखे ।


ठूलो लगानी

मछिन्द्र क्लबका अध्यक्ष प्रवोध वीरसिं कंसाकार यसपालि चुनौती मोलेरै ठूलो टिम बनाएको बताउँछन् । ‘हामीले जोखिम नै लिएको हो, पैसा भएर होइन,’ उनले भने, ‘जसरी खेले पनि १ करोड सकिने रहेछ, हारे पनि झरे पनि । लिग खेल्नै पर्ने हुन्छ, चुनौती लिए उठ्छ भनेर भाइहरू तयार भएपछि टिम आँटिएको हो । यो सबै फुटबलको प्यासनका लागि गरिएको हो ।’


उनका अनुसार क्लबले यो ए डिभिजन लिगमै केन्द्रित भएर १ करोड ५० लाख रुपैयाँको बजेट बनाएको थियो, जुन गत वर्षभन्दा दोब्बर हो । ‘फुटबलमा यताउति थुप्रै खर्च हुने रहेछ, १ करोड ७५ लाखसम्म पुग्ला,’ कंसकारले भने । मोफसलमा हुने नकआउट प्रतियोगिताबाट राम्रै आम्दानी आशा गरेको क्लबले प्रायोजकहरू सानमिगेल, पेपे पिज्जा, नेपा टप, गुडविल फाइनान्स, भिजन सफारीबाट करिब ३० लाख पाएको बताइन्छ ।


मछिन्द्रको मुख्य स्रोत भने केलटोल क्षेत्रको बजार व्यवस्थापनबाट संकलन गरिने रकम नै हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी खर्च २० लाख र काठमाडौं महानगरले १० लाख दिन्छन् । लिग च्याम्पियनको पुरस्कार ५० लाख पायो । त्यसैले मछिन्द्रलाई फुटबल खेलेरै लगानी उठाउन भने मुस्किल छ । खेलाडीको अनुबन्ध चैतसम्मलाई छ । मनाङ र थ्रीस्टारबाट चर्चित खेलाडीहरूलाई भित्र्याएर बलियो बन्ने क्रममा मछिन्द्रले एउटै खेलाडीलाई मासिक १ लाखसम्मै दियो । ए डिभिजन लिगमा नयाँ च्याम्पियन बनाएर ती खेलाडीहरूले क्लबप्रति न्याय नै गरे । अब वैशाखदेखि हुने भनिएको राष्ट्रिय लिगमा मछिन्द्रको टिमको स्वरूप कस्तो हुन्छ, च्याम्पियन टिमलाई हेर्न बाँकी नै छ । प्रकाशित : फाल्गुन ९, २०७६ १२:२५

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सात गायक-गायिकाका रोजाइका रोमान्टिक गीतहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — भ्यालेन्टाइन्स डेमा संगीतमा पनि प्रेम र रोमान्सकै गीत बढी सुनिने गर्छ । हुन त बढी चल्ने पनि माया–प्रेमकै गीत हुन्छन् । यस सन्दर्भमा सात जना गायक–गायिकाका सात रोमान्टिक गीत :

म संसार जित्ने आँट...
भिटेन
धेरै राम्रा–राम्रा रोमान्टिक गीत आएका छन् । प्राय सुनिराखेको हुन्छु । मलाई एकदमै मनपर्ने सविन राईका गीत हुन् । त्यसमा पनि सबै भन्दा मन पर्ने गीत ‘म संसार जित्ने आँट गर्दै छु...’ हो । यो गीत मनभारि भएर निराश भएको बेला प्रेमिका वा पत्नीले रोमान्टिक रुपमा आएर फकाइदिए हुन्थ्यो भन्ने भावको छ । यो गीत धेरै सुनेको छु । सुनेमध्ये धेरै नै मन परेको गीत यही हो । मन दुःखेको बेला यो गीत सुन्दा गीतले हिम्मत दिएको अनुभूति हुन्छ ।
मरी जाउँ...
त्रिशला गुरुङ

मैले गाएका गीत पनि रोमान्टिक नै छन् । तर, गायक बिक्की गुरुङको ‘मरी जाउँ..’ निकै मन पर्छ, जुन गीत मलाई पहिल्यैदेखि मनपर्थ्यो । शब्द राम्रो छ । गीत राम्रो भएरै ‘मरीजाउँ भाग २’ पनि आएको छ । भिडियो राम्रो छ । बिहान कलेज आउने बेलामा प्राय: यही गीत सुन्थे । घरमा हुँदा पनि बिहानको समयमा यही गीत गुनगुनाउँछु । अरु गीत पनि राम्रा छन् । तैपनि यो गीत बढी मन पर्छ ।

एउटा मान्छेको मायाले...
अभया सुब्बा

सबै रोमान्टिक गीत राम्रा छन् । संसारभर प्रेम गीत नै बढी रुचाइन्छ । किनकि लभ गीत सदाबहार हुन्छन् । मलाई भने नारायण गोपालको ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ..,’ एकदमै मन पर्छ । त्यो बेलाको गीत अहिले पनि उत्तिकै सान्दर्भिक छ । हजारौंको विचमा दुःख पाइरहेको समयमा एक जनाको मायाले कति फरक पर्छ भन्ने कुरा गीतमा दर्शाइएको छ । यो गीत जति सुनेपनि मलाई चित्त बुझ्दैन । सुनीरहन मन लाग्छ । मेरो बुवाले पनि यो गीत मन पराउनु हुन्थ्यो । मलाई सानैहुँदा बुवाले गाएर सुनाउनु हुन्थ्यो । माया भन्ने कुरा जे पायो त्यही पनि होइन । आफुले स्विकारेको र सोचेको सपना अनुसार अगाडी बढ्ने मान्छे पाइयो भने कति फरक पर्छ जीवनमा भन्ने कुरा गीतले बोलेको छ ।

उकाली ओरालीहरूमा...
निर्णय श्रेष्ठ

र्‍यापरले रोमान्टिक गीत नसुन्ने कुरै भएन । तारादेवीको ‘उकाली ओरालीहरूमा..’ गीत एकदमै मनपर्छ । यसमा सेन्टिमेन्ट छ । रचना राम्रो छ । गीतमा देशको मायादेखि लिएर सबै कुरा समेटिएको छ । सबैलाई उपयुक्त हुने र मन जित्ने खालको गीत छ । जुनसुकै समयमा सुन्दा पनि राम्रो लाग्ने छ । गीतले दिमागलाई ताजा बनाउँछ । मन आनन्दित हुन्छ । गीतमा मायाप्रेमदेखि लिएर सबैकुरा समेटिएको छ । प्रकृतिलाई जोडेर प्रेमका कुरा गरिएको छ ।

तिमीलाई कुनै पल...
प्रिती आले

धेरैजसो पुरानो गीत सुन्छु । ‘बाटो मुनीको फूल’ फिल्मको यसकुमार र प्रकृति गिरीको स्वर रहेको ‘तिमिलाई कुनै पल...’एकदमै मन पर्छ । यो गीतमा कसैलाई नदेख्दा, नभेट्दा मन कत्ति आत्तिन्छ भन्ने कुरा समेटिएको छ । मन परेको मान्छेसँग हरेक समय भेटिरहन मन लाग्छ भन्ने कुरा उजागर गरिएको छ । हरदमसँगै हुनुपर्ने भावहरु यो गीतमा पोखिएको छ । त्यसैले नजिक नहुंदा नभेट्दा मन डराउँछ भन्ने कुरा पनि छ । यसमा धेरै प्रेमका भाव दर्शाइएको छ । लामो यात्रामा निस्कदा प्राय यो गीत सुन्ने गरेको छु । गाडीमा हिंड्दा मायाप्रेम मिसिएका गीत बजाउन लगाउने गरेको छु ।

तिम्रो नै माया लाग्दछ...
आस्था राउत

रोमान्टिक गीत मलाई पनि मन नपर्ने कुरै भएन । केही समय यता झलकमान गान्धर्वको श्रद्धा प्रसाइँले रिमेक गरेको ‘तिम्रो नै माया लाग्दछ साँइला..’ सुनिरहेको छु । आफ्नो बाहेक गुन्गुनाउने गीत अहिले यही हो । गीत सुन्ने यही समय भन्ने छैन । दिमागमा आयो भने युट्युब अन गर्‍यो, सुन्यो । तर, मलाई एकदमै मन पर्ने सिक्किमको ब्यान्ड ट्राइबल रेनका गीतहरू हुन् । त्यसमा पनि राहुल राईका गीत मन पर्छ । तर, उनी अहिले यो संसारमा छैनन् । एक्लै हुँदा उनको गीत सुन्छु । उनका गीतले ऊर्जा मिल्छ ।

भन्छु आज मनको कुरा...
प्राश्‍ना शाक्य

प्रेम गीत मन नपर्ने भन्ने कुरै भएन । मलाई एकदमै मनपरेको गीत सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘म यस्तो गीत गाउँछु’ फिल्मको ‘भन्छु आज मनको कुरा सुन्छौ भने तिमी...’ हो । यसको शब्द साह्रै राम्रो छ । जतिखेर सुन्दा पनि मन आनन्दित हुन्छ । यसमा रोमान्टिक लभ महसुस हुन्छ । भ्यालेन्टाइन जोडीका लागि यो गीत उपयुक्त हुन्छ । लोकल बस चढेर नेपालको दुर्गम क्षेत्रको यात्रा गर्दा यस्तो गीत सुन्न मज्जा लाग्छ । यस्तो गीतले कताकता आफूलाई नै छोए जस्तो महसुस हुन्छ ।

प्रस्तुति : विमल खतिवडा

प्रकाशित : फाल्गुन २, २०७६ १४:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×