स्वदेशमै सम्भावना

गएको साता राजधानीमा भएको ‘काठमाडौं युथ कन्क्लेभ’ मा २० वटा स्कुल तथा कलेजमा तीन हजार बढी विद्यार्थी सहभागी थिए । यी विद्यार्थीहरू के गर्न चाहन्छन् त ?
नुमा थाम्सुहाङ

काठमाडौँ — बैंकर बन्ने सपना छ निर्मल मगरको । पोखरा, नयाँ गाउँका १८ वर्षीय उनी आफ्नो सपना साकार गर्नका लागि व्यवस्थापन विषय लिएर १२ मा अध्ययनरत छन् । नेपालमै बैंकिङ क्षेत्रमा भविष्य बनाउनलाई उनी यति बेलादेखि नै मिहिनेत गरिरहेका छन् ।

ZenTravel

दुर्गम ठाउँका आम नागरिकसम्म बैंकिङ पहुँच पुर्‍याउने आफ्नो योजना रहेको निर्मलले सुनाए, ‘अहिले धेरै बैंक सहर केन्द्रित मात्र भएका देखिन्छन् । सबैको हातैमा बैंकको सेवा पुर्‍याउने सपना छ ।’ स्वदेशमै पढेर सफलता प्राप्त गर्न सकिने आत्मविश्वास बढेको उनले बताए ।

कसैलाई व्यवसाय गर्न कर्जा चाहियो । गाउँको साहुसँग किन ऋण माग्ने ? उनले आफैंले गरेको प्रश्नलाई स्पष्ट पारे, ‘किसानलाई कृषि, व्यवसाय सुरु गर्ने र बढाउनेलाई सहज तरिकाले कर्जा उपलब्ध गराउने वातावरणको सिर्जना गर्नु छ । धेरैले ऋण लिएर पनि तिर्न सकेका हुँदैनन्, यसका लागि कर्जा उपलब्ध गराउने संस्थाले उपयोग हुन नसक्नुका कारण पत्ता लगाई समाधानतर्फ जानुपर्छ ।’
गत २४ माघमा माध्यमिक विद्यालय र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि काठमाडौंका ५ कलेजले संयुक्त रूपमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा दोस्रो काठमाडौं युथ कनक्लेभ २०२० आयोजना गरेको थियो । त्यसमा २० वटा विद्यालय तथा कलेजबाट ३ हजार विद्यार्थीको उपस्थिति थियो । कार्यक्रमको उद्देश्य विद्यार्थीलाई सही दिशा निर्देश, सामाजिक संलग्नतामा उत्प्रेरित र स्वदेशमै सफलता पाएका व्यक्तिबाट प्रेरित गर्ने थियो ।

भेलामा सहभागी सबै विद्यार्थीमा भविष्यप्रति चिन्ता स्पष्ट देखिन्थ्यो । अन्योल हटाउनकै लागि कार्यक्रममा सहभागी भएको पोखरा, रामबजारका मनीष गुरुङले बताए । १८ वर्षीय उनी म्यारिगोल्ड बोर्डिङमा १२ कक्षामा कम्प्युटर साइन्स पढिरहेका छन् । नेपालमा इन्फरमेसन टेक्नोलोजी (आईटी) मा धेरै सम्भावना देख्ने उनी यसै क्षेत्रमा भविष्य बनाउने योजनामा छन् ।

‘नेपालमा आईटी क्षेत्रको सम्भावना धेरै देख्छु,’ मनीष आफ्नो भविष्यमा के बन्ने भन्नेमा स्पष्ट छन्, ‘सफ्टवेयर इन्जिनियर बन्ने चाहना छ । नेपाल टेक्नोलोजीमा धेरै पछाडि छ । त्यसैले यसको प्रयोगको सम्भावनालाई अवसरमा रूपान्तरण गर्नु छ ।’ प्रविधिको समय भएकाले यसको प्रयोगबाट फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ, ‘हार्डवेयर, सफ्टवेयर, प्रोग्रामिङ तथा एप्सको विकासमा नेपाल अगाडि बढ्न जरुरी छ । यसमा अहिलेदेखि नै केन्द्रित हुनुपर्छ ।’


न्याय र सत्यको पक्षमा बोल्न मन पराउने तीनकुने (काठमाडौं) का १८ वर्षीय अप्सनाखड्का कानुन लिएर १२ कक्षामा अध्ययन गर्दै छिन् । अहिले देशमा बढिरहेको बलात्कार जस्तो घटनामा कसैले न्यान नपाएको उल्लेख गर्दै उनी भन्छिन्, ‘धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् । दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन प्रधानन्यायाधीश बन्न चाहन्छु ।’ समाजमा अधिवक्ताले राम्रो भूमिका खेल्नुपर्ने पनि उनी बताउँछिन् ।

कानुन पढेर धेरै क्षेत्रमा काम गर्न सकिन्छ । यसबाट राजनीति, सरकारी र निजी क्षेत्र तथा प्रशासन सबैमा कानुन जान्नुपर्ने भएकाले यो विषय पढेर भविष्य निर्माण गर्न सकिने अप्सनाले सुनाइन्, ‘यहाँ वकिल बन्न नेपालको कानुन पढ्न आवश्यक छ । विदेशका विश्वविद्यालयबाट यहाँको कानुन राम्ररी थाहा पाउन सक्दैनौं । सिद्धान्तको कुरालाई व्यावहारिक परीक्षणका लागि पनि नेपालमै पढ्न आवश्यक छ ।’ नेपालमै धेरै राम्रो विश्वविद्यालय र शैक्षिक गुणस्तर राम्रो भएको उनको तर्क छ ।

गाईघाट, उदयपुरकी २० वर्षीया सुस्मिता कटुवाल नपढेका र सीप नभएकालाई रोजगार दिन आफ्नै व्यवसाय सुरु गर्न चाहन्छिन् । व्यवस्थापन संकायको स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, ‘आफ्नै बिजनेस चलाउने विचार छ । सबै सुविधाका साथ रेस्टुराँ र हाउजिङको व्यवसाय सञ्चालन गर्ने चाहना हो । सुरुमा कुनै कर्जा वा साझेदारीमा भए पनि व्यवसाय गर्न समस्या छैन ।’ आफ्नो व्यवसायलाई सफलतामा पुर्‍याउन मिहिनेत गर्नुपर्ने उनले बताइन् । उनी लगातार दोस्रोपल्ट यो युथ कनक्लेभमा सहभागी भएकी हुन् । कक्षा १२ अथवा स्नातक गरेपछिपढ्नलाई विदेश नै रोज्नुपर्छ भन्ने छैन । पढेपछि काम गर्न र आफैंले केही गर्नका लागि नेपालमै अवसर देखेकी छन् सुस्मिताले ।

रूपन्देहीस्थित बुटवलदेखि विज्ञान पढ्न १८ वर्षीय विपिन ज्ञवाली काठमाडौं आएका छन् । काठमाडौं मोडल कलेजमा १२ कक्षामा होस्टेल बसेर पढिरहेका उनी सिभिल इन्जिनियर बन्न राजधानी आएको बताउँछन् । भौतिक विकास निर्माणका लागि सिभिल इन्जिनियरको महत्त्वपूर्ण भूमिका हुने उनको बुझाइ छ । ‘विकासका संरचना बनाउने भनेको इन्जिनियरले हो,’ उनले भने, ‘नेपाल विकासोन्मुख देश भएकाले अवसर धेरै छ । यहाँ विकास निर्माणका लागि धेरै काम हुन बाँकी छ । त्यसका लागि आफूले नै संरचनाको नक्सा बनाउने सपना छ ।’ प्रतिस्पर्धासँगै अवसर पनि भएकाले पढ्नलाई राजधानी आएको उनले बताए ।

न्यु समिट कलेज, शान्तिनगरकी सरिसा घिमिरे कम्प्युटर साइन्समा स्नातक तहको चौथो वर्षमा अध्ययनरत छिन् । दोलखाकी २२ वर्षीया उनी आफ्नै सफ्टवेयर कम्पनी चलाउने सोचमा छिन् । भन्छिन्, ‘हार्डवेयर, सफ्टवेयरसम्बन्धी कम्पनी चलाउने चाहना पूरा गर्न विभिन्न क्लास र ट्रेनिङ लिइरहेकी छु, जसले पढेको कुरालाई व्यवहारमा उतार्न सजिलो बनाउँछ । आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्छ ।’

प्रविधिको युग भएकाले प्रविधिबिना केही गर्न नसक्ने अवस्था आएको सरिसा बताउँछिन् । नेपालमा इन्टरनेटको पहुँच सबैको हातमा पुर्‍याउन नसकेको र यसैलाई विस्तार गर्ने माध्यमका रूपमा काम गर्न चाहन्छिन् उनी । ‘सबै इन्टरनेटको पहुँचमा छैनन्, भएकाले पनि सुरक्षित महसुस गर्न सकेका छैनन्,’ उनले भनिन्, ‘व्यक्तिको व्यक्तिगत डाटा सर्भरबाट सुरक्षित हुन सक्ने वातावरण छैन । यो अन्योल हटाउनजरुरी छ ।’

तस्बिरहरू : विजु महर्जन

प्रकाशित : फाल्गुन २, २०७६ १३:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मास्क उत्पादन गर्ने दुई उद्योग मात्रै

स्वदेशी उत्पादनले माग धान्दैन 
वार्षिक ६ करोड थान मास्क आयात  
उपत्यकामा मात्र ७५ प्रतिशत खपत
नुमा थाम्सुहाङ

काठमाडौँ — बजारमा ‘एयर–फिल्टर मास्क’ को माग बढ्दो छ । चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्कको माग बढेको सरोकारवाला बताउँछन् । भाइरसको प्रकोपकै कारण दुई सातायता मास्क आयात हुन सकेको छैन । बजारमा मास्क पाइँदैन पनि । अहिले नेपालमा दुई उद्योगले मात्र मास्क उत्पादन गरिरहेका छन् । तिनले यहाँको माग भने धान्न सकेका छैनन् । त्यसैले आयातकै भर पर्नुपरेको उद्योगीहरू बताउँछन् ।

काठमाडौंको बौद्धमा नवीन श्रेष्ठले हालै पेपर मास्क उद्योग सञ्चालनमा ल्याएका छन् । उनको उद्योगले दैनिक २ हजारदेखि ३ हजार थान मास्क उत्पादन गर्छ । अर्का उद्योगी खडानन्द पाण्डेले रूपन्देही बुटवलमा दुई वर्षदेखि कपडाको कटन मास्क बनाइरहेका छन् । उनको उद्योगले अहिले दैनिक आठ सय थान मास्क उत्पादन गर्छ । ‘हामीले उद्योग सञ्चालनमा ल्याएको धेरै भएको छैन, हातले चलाउने मेसिन हो, दिनमा ३ हजार थानभन्दा बढी उत्पादन गर्न सक्दैनौं,’ उद्योगी श्रेष्ठले भने । २५ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याएको उनले बताए । उनको उद्योगमा उत्पादन हुने मास्कको मूल्य ३ देखि ५ रुपैयाँ छ ।

आयातित पेपर मास्कको मूल्य भने १ रुपैयाँ ८० पैसादेखि ३ रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । प्रोत्साहनको अभावमा स्वदेशी उद्योगको उत्पादन लागत बढी पर्दा महँगो हुन जाने उनको भनाइ छ । मास्कका लागि आवश्यक कच्चा पदार्थ (नाक र कानमा लगाइने लुप) आयातमा छुट दिनुपर्ने उनको भनाइ छ । त्यसो भए आयातितभन्दा स्वदेशी मास्क सस्तो पर्ने उनले बताए । चीनबाट आयातित मास्क १५ प्रतिशतमा भन्सारबाट छुट्छ । कच्चा पदार्थमा भने ३५ प्रतिशत भन्सार महसुल लाग्ने उनको भनाइ छ ।

चीनले एकैदिन करोडौं मास्क उत्पादन गरेर विश्व बजारमा पुर्‍याउँछ । चीनमा नयाँ वर्षको बिदाका कारण केही समय फ्याक्ट्री बन्द रहे, जसका कारण त्यहाँ पर्याप्त मास्क उत्पादन हुन सकेन । त्यसमाथि चीनमा नोवल कोरोना देखिएपछि नेपालमा समेत मास्कको माग बढेको उद्योगी पाण्डे बताउँछन् । ‘हामीले कपडाको मास्क बनाउँदै छौं,’ उनले भने, ‘तर स्वदेशी मास्कको तुलनामा आयातित सस्तो पर्दा समस्या पर्छ ।’

पाण्डे त्रिपुरेश्वरस्थित पामिर इन्टरनेसनलका सञ्चालक पनि हुन् । पामिरले चीनबाट सर्जिकलसम्बन्धी सामान आयात गरी नेपालमा होलसेल व्यापार गर्छ । ‘स्वाइनफ्लुको प्रकोप देखिएपछि बजारमा पेपर मास्कको प्रयोग बढेको हो,’ पाण्डेले भने, ‘काठमाडौंको वायु प्रदूषणबाट जोगिन पनि मास्क लगाउनेहरू बढिरहेका छन् ।’

छैन नियमन
बजारमा मास्कको माग बढेपछि खुद्रा व्यवसायीहरूले होलसेल मूल्यभन्दा तेब्बर मूल्य लिइरहेका छन् । होलसेलमा पेपर मास्कको मूल्य १ देखि ३ रुपैयाँसम्म पर्छ । तर फार्मेसी र बाहिर बजारमा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुने गरेको छ । कोरोना भाइरसको डरले गर्दा मूल्य बढेको व्यवसायी बताउँछन् । एउटा डब्बामा पेपर मास्क ५० प्रति हुन्छ । यसको होलसेल बजारमै ५० रुपैयाँ बढेर आएको एक फार्मेसी सञ्चालकले बताए ।

नेपाली बजारमा पुस ५ देखि १८ गतेसम्म मात्र ५१ लाख थान मास्क बजारबाट उठिसकेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष सुरेश घिमिरेले बताए । पुस ५ देखि २० सम्ममा ७ लाख ५९ हजार थान मात्र मास्क चीन र हङकङ निर्यात भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक छ ।

वार्षिक सर्जिकल, पेपर र एन–९५ मास्क ६ करोड थान हाराहारीमा आयात भइरहेको एसोसिएसनका उपाध्यक्ष कविराज पोखरेलले जानकारी दिए । एक महिनामा एउटा ठूलो अस्पतालमा १०/१२ हजार थान नर्मल मास्क प्रयोग हुने एसोसिएसनका महासचिव विनोद मानन्धरले बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×