केकी अधिकारीका प्रिय सात रोमान्टिक फिल्म

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेम र रोमान्सकै कुरा गर्ने समय हो भ्यालेन्टाइन्स डे । यस बेला हलहरूमा पनि रोमान्टिक फिल्म नै लागेका छन् । यसै अवसरमा अभिनेत्री केकी अधिकारीका प्रिय सात रोमान्टिक फिल्म, किन र कसरी ?

ZenTravel

१) टाइटनिक
याद भएसम्म मैले ध्यान दिएर हेरेको पहिलो अंग्रेजी फिल्म हो टाइटनिक । सानै थिएँ तर यो हेर्दा धेरै पटक रोएँ । हिरो लियोनार्दो डिकाप्रियोसँग ‘क्रस’ पनि भयो, त्यसपछि मैले लियोनार्दोले खेलेको फिल्म खोजि–खोजि हेर्न थालें, अहिले पनि हेर्छु । सम्भवतः मैले सबैभन्दा धेरै दोहोर्‍याएर हेरेको फिल्म टाइटनिक नै हो । कहिल्यै पट्यार लाग्दैन । आठ वर्षअघि यो फिल्म नेपालमा स्पेशल शो भएको थियो, त्यतिबेला म अभिनयमा लागिसकेको थिए । कलाकारको रुपमा हेर्दा लियोनार्दो र केट विन्सलेटको अभिनय अझ मन पर्‍यो । अहिले टेलिभिजनमा आउँदा सकेसम्म हेर्छु, ‘स्किप’ गर्नै सक्दिनँ । सत्य घटनामा आधारित र मिठास शैलीमा कथा भनेकाले जोकोहीलाई यो फिल्म मनपर्छ ।

२) वीरजारा
म शाहरुख खान र प्रिती जिन्टाको खास फ्यान होइन तर वीरजाराचाहिं अति राम्रो लाग्छ । माया भनेको प्राप्ती मात्र होइन, त्याग हो भन्ने दर्शनलाई यो फिल्मले जीवन्त बनाएको छ । भारत–पाकिस्तानको तनावमा पिल्सिएको प्रेमलाई यश चोपराले निकै सशक्त शैलीमा देखाएका छन् । वीर र जारा छुट्टिएको धेरै वर्षपछि अदालतमा पुनर्मिलन भएको दृश्य सम्झदा मेरो आँखा रसाउँछ । फिल्म हेर्दा त कत्ति रोए कत्ति । वास्तविक जीवनमा यस्तै वीर र जाराकै परिस्थितिबाट गुज्रिएकाहरु कति होलान्‌जस्तो लाग्छ । प्रेममा बलिदानीलाई स्थापित गरेको यो फिल्म हेर्दा युवापुस्ताले धेरै कुरा सिक्न सक्छन् ।

३) लभ सासा
मैले खेलेकोमध्ये मन पर्ने फिल्म हो यो तर मैले खेलेर मात्र मन परेकोचाहिं होइन । कलाकार हुँ भन्ने बिर्सेर हेर्दा पनि लभ सासा प्रिय लाग्छ । जति पटक हेर्दा पनि दिक्क लाग्दैन । लभस्टोरी फिल्ममा ठूल्ठूला कुरा देखाइन्छ तर यदि पात्रसँग प्रेम अंकुरण भयो भने सानै घटनाले दिल जित्न सक्छ । फिल्ममा निर्देशक प्रचण्डमान श्रेष्ठले सानै घटनाबाट ठूलो संवेदना पैदा गरेका छन् । मैले निर्वाह गरेको पात्र सासासँग हरेक केटीले कहिं न कहिं आफूलाई पाउँछन् भन्ने लाग्छ । जति स्वतन्त्र देखिए पनि हामीहरु परिबन्धमा हुन्छौं । तर, प्रेम त जोसँग पनि हुनसक्छ । यसको स्क्रिप्ट पढ्दा अमेरिकामा थिएँ, उत्साही भएर नेपाल आएँ । यो फिल्मपछि मेरो अभिनयमा परिपक्वता आएको महसुस गरेको छु ।

४) माई स्यास्सी गर्ल
दश वर्ष जति भयो होला यो फिल्म हेरेको । त्यतिबेला नेपाली युवापुस्तामा कोरियन फिल्मको खुब क्रेज थियो, डिभिडी ल्याएर मेरा साथीहरु पनि हेर्थे तर मलाई सब–टाइटलमा के बुझिएला जस्तो लागेर हेर्न मन लाग्दैन्थ्यो । धेरै साथीहरुले हेर्न कर गरेपछि बल्ल यो फिल्म हेरें, यसले मेरो कोरियन फिल्मप्रतिको दृष्टिकोण नै बदलिदियो । म त लठ्ठै भएँ । मायालाई यति मिठासपूर्ण तरिकाले देखाइदोरहेछ की त्यसको पात्र म नै हो जस्तो लाग्ने । क्लाइमेक्समा वियोग हुँदाचाहिं रोइयो । केटीको पात्र जिद्धी देखाएको पनि मन पर्‍यो मलाई । म आफैं कलाकार भएपछि हेरें, त्यतिबेलाचाहिं कसरी अभिनय गरे होलान्, प्रोसेस के–के हुनसक्छ भन्नेतिर ध्यान दिएँ । यो फिल्म जतिबेला हेर्दा पनि आनन्द लाग्छ ।

५) प्रेमपिन्ड
नेपाली फिल्म कुन मन पर्छ भनेर कसैले सोध्दा प्रेमपिन्डको नाम फ्याट्ट आउँछ । यो फिल्म हेर्दा स्कुलमै पढ्थे, ‘गैरी खेतको...’ गीत निकै सुनिन्थ्यो । टेलिभिजनमा यो फिल्म हेर्दा रोमाञ्चित भइन्थ्यो । देखिरहेको भन्दा फरक लाग्छ यसको प्रेमकथा । सरोज खनाल, नीर शाह, सन्नी रौनियार सबैको अभिनय मन पर्छ । खासमा उहाँहरुले अभिनय गरेको जस्तै लाग्दैन, एकदमै स्वभाविक लाग्छ । त्यसैले कथाले तानेको हुनुपर्छ । पछिल्लो समयचाहिं यो फिल्म हेर्न मन छ तर पाएको छैन । छिट्टै हेर्ने सोचमा छु । यो प्रेमकथा हाम्रो लागि अझ सान्दर्भिक छ ।

६) सोचा ना था
इम्तियाज अलीको सबैभन्दा मन पर्ने फिल्म हो यो । त्यतिबेला प्लस टुमा पढ्थें, साथीहरु आफ्नो लभस्टोरी सुनाउथें, यो फिल्ममा तीनै साथीहरुको कथा हेरेजस्तो लाग्यो । त्यसैले यो फिल्म मेरो मनमा बसेको छ । पहिले केटा माग्न आउदा केटीले अस्वीकार गर्छे, पछि त्यही केटासँग माया पर्छ, तर विवाह गर्न पाउदैनन्, भाग्नुपर्छ । सुन्दा नै क्या मनछुने । त्यसमाथि निर्देशकले निकै सरल तरिकाले दृश्यमा उतारेका छन् । अभय देवल र आयशा टाकियाको अभिनयले मलाई प्रभाव पार्‍यो । नेपालमा यस्तै फिल्म बनुन् र आफूले अभिनय गर्न पाइयोस् भन्ने चाहना छ ।

७) द नोटबुक
पहिले उपन्यास पढें, त्यसपछि फिल्म हेरे । पात्रहरु पहिल्यै चिनेको भएर होला, फिल्म हेर्दा थप आत्मिय महसुस भयो । ‘फ्याल्सब्याक’ मा कथा भनेको पनि राम्रो लाग्यो । वियोगान्त भएपछि झन् मनछुने भइहाल्यो । कलेज पढ्दादेखि हेर्न थालेको यो फिल्म अहिले हेर्दा पनि भावुक हुन्छ । कतै हवाई यात्रा गर्दा मेरो पहिलो रोजाईमा यही फिल्म पर्छ । र्‍यान गोस्लिङ, रचेल म्याक्एडम्स, जेम्स गार्नरको अभिनय स्वभाविक छ । मलाई यस्तो लाग्छ कि द नोटबुक मन नपर्ने कुनै कारण नै छैन, सबैलाई मन पर्छ ।

प्रस्तुति : गोकर्ण गौतम

प्रकाशित : फाल्गुन २, २०७६ १२:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डेटिङ एपमा ह्यापी इन्डिङ !

विजय तिमल्सिना

काठमाडौँ — च्याटमा गलत पहिचान राखेर अरुसँग कुरा गर्ने र त्यसलाई पत्याउने संख्यामा कमी आएको होला तर पूरै हटिसकेको छैन् । सामाजिक सञ्जालमा मात्रै होइन, यो क्रम डेटिङ एपहरुमा पनि उत्तिकै छन् । भ्यालेन्टाइन डे विशेष :

च्याटमा कुरा गरी भेट्‍न जाँदा ससुरा–बुहारी परेपछि...
च्याटमा भेटिएकी केटी आफ्‍नै बहिनी परेपछि...

यस्ता खालका धेरै हेडलाइन समाचारको लागि मसला बन्ने गरेका छन्। यस्ता हेडलाइनसहित आउने अधिकांश समाचार नेपालको नभएर विदेशतिर भएको घटनाको उद्धृत गर्दै आएका हुन्छन्। पढ्नेहरुको मनमा लाग्छ, आफूलाई वा आफ्ना आफन्त र चिनेजानेकालाई यस्तो आपत् नपरोस्। यस्ता घटनाको उदाहरण दिने अनलाइनका कारण समाज बिग्रिएको, परिवारमा विग्रह भएको र मानिसमा व्यभिचार बढेको तर्कहरु बुनिन्छन्।

चल्तीमा रहेका टिण्डर, ह्यापेन, टनटन, मिटमी, कफी मिट बेगल, बम्बलजस्ता डेटिङ एपमा प्रशस्त नेपाली प्रयोगकर्ता भेटाउन सकिन्छ। तर, कतिले यस्ता एपको प्रयोग गर्छन् भन्ने आधिकारिक तथ्यांक छैन्। यी सबै एपको आधारभूत अवधारणा आफ्नो प्रोफाइलसँग मिल्ने अर्को व्यक्ति अनलाइनमा भेट्ने र कुराकानी अघि बढाउने हो। खासमा डेटिङ एपको अवधारणा हुकअप अर्थात् सम्बन्ध अघि बढाउनको लागि सम्पर्क गराइदिने हो। विशेषतः यसको प्रयोग विपरीत लिंगीसँगको सम्पर्क र सम्बन्धसँग हुने गरेको छ।

प्रयोगकर्तालाई यही विशेषता ज्यादा मन परेको हुनसक्छ यसका प्रयोगकर्ताहरु बढेको बढ्यै छन्। डेटिङ एपले आफूलाई विपरीत वा समलिङ्गीसँगको छोटो भेटघाट वा सम्बन्ध बनाउन सहज बनाएको त छ तर यसले मानसिक समस्या पनि उत्तिकै निम्त्याएको छ। यसको प्रयोगले मानिसमा चिडचिडाहट र डिप्रेसन बढाउने, डेटिङ एपमा आफूलाई कसैले लाइक नगर्दा आत्मविश्वास कमी हुने, यस्ता एपमार्फत छोटाछोटा सम्बन्ध गाँस्ने र बिर्सने बानीले मानिससँग लामो सम्बन्धमा रहने हराउँदै जाने तथा सम्बन्धहरूलाई सजिलै त्याग्ने बानीको विकास हुने विभिन्न अध्ययनले देखाएको छ।

डेटिङ एपको प्रभाव कतिसम्म बढेको छ भने अधिकांश एपले आधारभूत फिचर निःशुल्क उपलब्ध गराए पनि धेरै मानिसहरुसँग कुराकानीको लागि पैसा तिर्नुपर्ने शर्त तेर्स्याउन थालेका छन्। मानिसहरु सजिलै साथी बनाउन चाहन्छन् र यसका निर्माताले उनीहरुको मनोविज्ञान बुझेका छन्।

भर्चुअल संसारले वास्तविक संसारसँग दुरी छोट्याएजस्तै अनलाइन रोमान्स वास्तविक प्रेमको सुरुवात बन्न थालेको उदाहरण धेरै छन्। फेसबुकमा चिनजान भएर विवाह भएको घटना सामान्य हुन नपाउँदै डेटिङ एपमा भेटिएर प्रेम सम्बन्धमा हुने र विवाहसम्म पुगेको उदाहरण पनि छन्। तर विश्वभर नै डेटिङ एपमा भेटिएर गरेको प्रेम र विवाहलाई अनौठो रुपमा हेर्ने प्रवृत्ति हटेको छैन। छोटो सम्बन्ध गाँस्न प्रयोग गरिने एपलाई लामो सम्बन्धमा रुपान्तरण गरेकोमा धेरैले आश्चर्य मानेका होलान्।
डेटिङ एपमा भेटिएका व्यक्तिहरु सधैं सही पहिचान भएका हुँदैनन्। डेटिङ एपमार्फत् हुने फोन नम्बर आदानप्रदान वा आफ्नो वास्तविक सामाजिक सञ्जालमा पुग्ने कथाहरु सधैं सुखदायी नहुन सक्छन्।
भर्चुअल संसारमा सुरु हुने यस्ता कथामा सधैं ‘ह्पाप्पी ईन्डिङ’ नहुनसक्छ। डेटिङ एपमा भेटिएका व्यक्तिहरु सधैं सही पहिचान भएका हुदैनन्। डेटिङ एपमार्फत् हुने फोन नम्बर आदानप्रदान वा आफ्नो वास्तविक सामाजिक सञ्जालमा पुग्ने कथाहरु सधैं सुखदायी नहुन सक्छन्। डेटिङ एपमा भेटिएका व्यक्तिसँगको अन्तरङ्ग कुराकानी होस् वा तस्विर बाहिरिने वा दुरुपयोग हुने सम्भावना सधैं रहन्छ। यसको प्रयोग गर्नेहरुले डेटिङ एपमा भएका सबै प्रोफाइलहरु वास्तविक नहुन सक्छन् भन्ने यथार्थ बुझ्नुपर्छ।

केही डेटिङ एपले वास्तविक मानिसको मात्रै फ्रोफाइल होस् भन्ने उद्देश्यले भेरिफाइड अप्सनको फिचर पनि राखेका छन्। नेपालमा धेरै चल्तीमा रहेको एप टनटनमा यस्तो फिचर राखिएको छ जसमा प्रयोगकर्ताले प्रोफाइल बनाउने क्रममा आफ्नो वास्तविक तस्विर खिचे भेरिफाइडको व्याच पाउँछन्। यस्ता भेरिफाइड व्याच पाएकाहरु कम्तिमा पनि आफ्नै तस्विर राखेर प्रयोग गरिरहेका हुन् भनेर छुट्याउन सजिलो हुन्छ।

अहिले पनि सामाजिक सञ्जालमा लेख्न नहुने बिषय लेखेर जेल परेका वा दुःख पाएका प्रयोगकर्ताहरु धेरै छन्। केही व्यक्ति सामाजिक सञ्जालमा लेखेकै आधारमा जेल परेका छन्। नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत अरुलाई धम्की दिने, अरुको तस्विर दुरुपयोग गरी प्रयोग गर्ने, अरुको मानहानी हुने किसिमका पोष्ट गरेको आधारमा मुद्दा चलाइरहेका छन्।

सामाजिक सञ्जालमा के राख्ने के नराख्ने? के लेख्ने के नलेख्ने? के गर्ने के नगर्ने? प्रयोगकर्ताको व्यक्तिगत अभिरुचीको कुरा हो। तर, आफ्नो कारणले अरुलाई हानी नगर्नु र वास्तविक जीवनमा गर्न भन्नु र गर्न नसकिने बिषय त्यसमा नराख्नु, आफ्नो गोपनियता सार्वजनिक नगर्नु सामाजिक सञ्जालका सामान्य नियम हुन्। जसरी सामाजिक सञ्जाल यसैगरी प्रयोग गर्नुपर्छ भन्ने ठोस सूत्र छैन त्यसैगरी डेटिङ एपमा के गर्ने र नगर्ने भन्ने बिषयमा कुनै सूत्र छैन्। तर, केही सामान्य बिषयमा विचार गरे डेटिङ एपको प्रयोगबाट हुने नकारात्मक नतिजाबाट बच्न भने सकिन्छ।

अहिले चल्तीका अधिकांश डेटिङ एपले पुरुषलाई भन्दा महिला प्रयोगकर्तालाई बढी सुविधा दिएका छन्। पुरुष प्रयोगकर्ताले कसैले च्याट गर्नुपूर्व महिला प्रयोगकर्ताले उक्त व्यक्तिको प्रोफाइललाई कुनै न कुनै रुपमा अनुमति दिनै पर्छ। डेटिङ एपहरु लैंगिकरुपमा विभेदकारी देखिन्छन्। तर, अनलाइनमार्फत हुने दुर्व्यवहार र आफूले नचाहेको व्यक्तिको म्यासेजबाट महिला प्रयोगकर्तालाई आजित हुन बाट बचाउन यो फिचर निकै उपयोगी पनि छ। टिण्डरले त कुनै समस्या परे जानकारी गराउनको लागि ‘प्यानिक’ बटनकै व्यवस्था गरिदिएको छ।

विशेषगरी महिला प्रयोगकर्ताहरुले फिचरको बिषयमा जानकारी राखेर डटिङ एप प्रयोग गर्दा बढी सुरक्षित हुन सकिन्छ। एपमा आफ्नो प्रोफाइल स्वाइप गर्ने जोसुकै सँग कुरा नगर्ने सुविधा उनीहरुले पाउँछन्। च्याट गरेको व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण दिने नदिने र कतिसम्म दिने भन्ने कुरा पनि उनीहरुको स्वेच्छाको कुरा हो। तर डेटिङ एपको आधारभूत अवधारणा नै छोटो भेटको लागि सम्पर्क गराइदिने माध्यम मात्रै भएकाले अधिकांश प्रयोगकर्ता यही मनोभावमाबाट यसको प्रयोग गरेका हुनसक्छन्। त्यसैकारण छोटो सम्बन्धको लागि प्रयोग गरिने यस्ता एपमार्फत भेटिएका व्यक्तिसँग लामो समयसम्म प्रभाव पर्ने खालका जानकारी नखुलाउनु नै उपयुक्त हुन्छ, जबसम्म आफू विश्वस्त हुदैन कि कुरा गरिरहेको व्यक्ति सही हो।

यस्ता एपमा प्रोफाइल बनाउनु अघि तिनका फिचरहरु बारे जानकारी राख्नु उपयोगी हुन्छन्। केही डेटिङ एपले आफ्नो मोबाइलमा भएको सम्पर्क नम्बरलाई नोटिफिकेसन नजाने र उनीहरुलाई आफ्नो प्रोफाइल देखाउन नमिल्ने खालको फिचर पनि उपलब्ध गराएका हुन्छन्। तर, कुनै एपले आफ्नो मोबाइलमा सेभ भएर रहेका सबै नम्बरहरुमा आफूले प्रयोग गर्न थालेको डेटिङ एपमा नोटिफिकेसन जाने व्यवस्था गरेका पनि हुन सक्छन्। यसबारे प्रयोग गर्नु अघि जानकारी पाएकै राम्रो हुन्छ। आफूले डेटिङ एप प्रयोग गर्न थालेको जानकारी आफ्नो परिवार, नातागोताको मोबाइलमा पनि नोटिफिकेसन गयो भने कस्तो हुन्छ?

प्रयोग गर्नु अघि उक्त एपबारे जानकारी हासिल गर्नु त आवश्यक छ नै प्रयोग गर्न छाड्दा पनि सतर्कता अपनाउनु उत्तिकै जरुरी हुन्छ। यसबारे कुनै अध्ययन त भएको छैन तर नेपालमा डेटिङ एपमा अधिकांश प्रयोगकर्ता निस्क्रिय छन्। तर उनीहरुको प्रोफाइल ति एपका प्रयोगकर्तामाझ देखाइरहन्छ। कुनै डेटिङ एपमा आफ्नो प्रोफाइल बनाएपछि आफ्नो उद्देश्य पूरा भएपछि वा प्रयोग गर्न मन नलागेपछि प्रोफाइल डिलिट गर्न नबिर्सनु पनि उत्तिकै महत्वपूर्ण छ।

डेटिङ एप प्रयोग गर्न छाड्दा मोबाइलबाट एप अनस्टल गरेर छाड्दैमा आफू त्यसबाट टाढा भए भन्ने ठान्नु हुन्न। प्रायः सबै एपमा एकपटक बनाएको प्रोफाइल आफूलाई मन लागेको बेलामा डिलिट गर्ने सुविधा राखिएको हुन्छ। यसो गर्न बिर्सदा भविष्यमा समस्या नआउला भन्न सकिन्न। डेटिङ एप प्रयोग गर्न छाडेपनि बनाइसकेको प्रोफाइल अरु प्रयोगकर्तालाई देखाइरहेको हुन सक्छ।

कुनै बेलामा डेटिङ एपमा बनाएको प्रोफाइल कसैको विवाहपछि पनि कुनै आफन्तले देखे भने? आफ्नो कार्यालयका साथीले डेटिङ एपमा आफ्नो प्रोफाइल भेटे भने? यो कसैको लागि सामान्य पनि हुन सक्छ तर कसैको लागि लाजमर्दो अवस्था पनि सिर्जना गर्नसक्छ किनकी मानिसले डेटिङ एपमा आफूले चिनेको व्यक्तिको प्रोफाइल भेट्दा कुरा नकाटी कहाँ बस्न सक्लान् र?

प्रकाशित : फाल्गुन २, २०७६ १२:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×