संगीतमा टिकटकको प्रभाव


सन् २०१९ मा लिल नास एक्स भए, सर्वाधिक कमाउनेमध्ये एक कलाकार । उनी अश्वेत अमेरिकी र्यापर हुन्, राम्रै ढंगले गीत पनि लेख्छन् ।


त्यसैले त उनी फोर्ब्सले निकालेको सर्वाधिक कमाउने गायक–गायिकामध्ये १८ औं स्थानमा रहे । उनको अहिलेसम्मकै सबैभन्दा लोकप्रिय गीत हो, ‘ओल्ड टाउन रोड’ । यसलाई पछ्याएर रिमिक्स गर्ने काम पनि धेरै भयो । बिलबोर्डको हट १०० मा यो लामो समय नम्बर १ पनि रह्यो । एक प्रकारले कीर्तिमान नै बन्यो ।
यी सबै उपलब्धि पछाडिको सबैभन्दा ठूलो कारण रह्यो, सामाजिक सञ्जालको भिडियो एप, टिकटक । यसले पनि देखाउँछ, अहिलेको विश्व संगीतमा कसरी टिकटकको प्रभाव बढ्दै छ भनेर । भलै लिल नास एक्स राम्रा कलाकार हुन्, उनको प्रतिभामा कुनै शंका छैन । तर उनलाई अहिलेको सफलतामा सबैभन्दा ठूलो भूमिका त टिकटककै त
रह्यो । अझ रमाइलो त के भन्दा बिली रे साइरसले ‘ओल्ड टाउन रोड’ को रिमिक्स सुरुमा टिकटकमा हालेका रहेछन् ।
यसले वास्तविक गीतलाई पनि लोकप्रिय बनाउन सुरुआती भूमिका खेल्यो । फोर्ब्सलाई नै आधार मान्ने हो भने यी २० वर्षीया लिल नास एक्सले सन् २०१९ मा मात्र १ करोड ४० लाख डलर कमाए । सन् २०१८ को जुन १ देखि २०१९ को जुलाईसम्म कमाइ हो, यो । टिकटकमा लोकप्रिय भएपछि उनलाई कोलम्बिया रेकर्डले पनि अनुबन्ध गर्यो र उनले निकाले, डेब्यु एल्बम ‘ईपी सेभेन’ । सन् २०१९ को फेब्रुअरीमा मात्र उनले टिकटकमा आफ्नो गीत राखेका थिए ।
टिकटक आफैं पनि यी उपलब्धि सुन्दा मख्ख छ । भेनेसा पापास हुन्, अमेरिकामा टिकटकका प्रमुख व्यवस्थापक । उनी भन्छन्, ‘टिकटकमै ओल्ड टाउन रोडले सफलता चुमेको थियो र सर्वाधिक लोकप्रिय गीत पनि सावित भयो । अचेल टिकटक कसैका लागि पनि गीत सुन्ने राम्रो माध्यम भएको छ । दिनहुँ करोडौंले टिकटकबाट गीत सुन्ने गर्छन् ।’ हुन पनि अब टिकटकमा जुन कलाकारको सबैभन्दा बढी गीत सुनिन्छ, निश्चित छ, यिनै सफलताको शिखरमा पुग्नेछन् ।
–फोर्ब्स
