कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्टार्टअपका सारथि

नवीनतम सोच, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरी आफ्नै व्यवसाय सुरु गर्नुलाई अचेल स्टार्टअप भनिन्छ  । यसको ठ्याक्कै परिभाषा नभए पनि यसैभित्र रहेर व्यवसाय सुरु गर्नेको संख्या बढ्दो छ  ।स्टार्टअपको संख्या मात्रै नभई यसलाई सहजीकरण गर्ने निकाय पनि बढिरहेका छन् ।

स्टार्टअपका सारथि

समाजमा विद्यमान चुनौतीलाई अवसरका रूपमा प्रयोग गरी धेरै युवाले आफ्नै व्यवसाय सुरु गरेका पाइन्छन् । स्टार्टअपको उद्देश्य व्यवसायका माध्यमबाट समाजमा रहेको चुनौती समाधानका लागि सघाउनु पनि हो । यसका लागि ठूलो लगानी नचाहिन पनि सक्छ, मात्र अरूभन्दा फरक सीपलाई प्रयोग गरी उद्यमी बन्ने सोच हुनुपर्छ । जसबाट कुनै समस्या समाधानका लागि सहयोग पनि होस् ।


अहिले यिनै स्टार्टअपहरूलाई नयाँ अवसरको बाटो देखाउन विभिन्न समुदाय (बिजनेस कम्युनिटी) छन् । जसले उद्यमी बन्ने चाहना भए पनि लगानीको स्रोत नभएकालाई तालिम, कार्यक्रम तथा लगानीको वातावरण सिर्जना गर्न सहयोग गर्दछन् । सन् २०१३ देखि गुगल बिजनेस ग्रुप (जीबीजी) ले स्टार्टअपलाई अवसरको विकल्प दिँदै आएको छ । यसले महिलाका लागि ‘वुमन विल’ र स्टार्टअपका लागि ‘बीज फेस्ट’ प्रदर्शनी गरिरहेको छ । अघिल्लो साता भएको बीज फेस्टमा एक सय बढी स्टार्टअप सहभागी भएका थिए ।


जीबीजी अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था भएको यसबारे नेपालमा नेतृत्व गरिरहेका अमित अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘यो स्वयंसेवी संस्था हो । नव उद्यमीलाई अगाडि बढाउनु नै यसको उद्देश्य हो । चुनौती मै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअप छन् । स्टार्टअपसँग महँगो प्रदर्शनी हलमा गएर आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोत साधन पनि नहुने भएकाले यसले सहयोग गर्छ ।’


स्नातक सकेका, जसमा उद्यमी बन्ने सपना भएका युवाहरू बढी स्टार्टअपमा आकर्षित छन् । स्टार्टअपहरू नयाँ भएकाले सबै दर्ता भइसकेका हुँदैनन् । त्यसलाई जीबीजीले गाइड गर्छ । जीबीजीले हालसम्म ५ सय बढी स्टार्टअपलाई निःशुल्क रूपमा उद्यमशीलतासम्बन्धी तालिम र अरू सहयोग गरिसकेको छ । ‘यो एउटा प्लेटफर्म मात्र हो,’ अग्रवालले भने, ‘यसमा अवसर र चुनौती दुवै छ, त्यसको सामना पनि गर्नुपर्छ । उद्यमी बन्न सजिलो कुरा पनि होइन ।’
उनका अनुसार कृषिमा उपयोगी हुने ड्रोनदेखि मोबाइल गेम, एनिमेसन, डिजिटल मार्केटिङ, अनलाइन सपिङ, अनलाइनमार्फत शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्नेसम्मका स्टार्टअपलाई जीबीजीले सहजीकरण गरेको छ । स्टार्टअपका लागि कामको वातावरण सिर्जना गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘आविष्कार पहिला र नीति पछि आउँछ । यो नयाँ कुरा हो, त्यसैले टेक्नोलोजीसँगै जनहितमा ठीक गर्न कानुन बनाउनुपर्छ ।’



जीबीजीले गत साता काठमाडौंमा गरेको बीज फेस्टमा सहभागी भएका डेढ सय स्टार्टअपमध्ये ‘सजिलो मर्मत सेवा’ पनि हो । यसका संस्थापक २९ वर्षीय सुजित रेग्मी तीन लाख रुपैयाँ लगानीमा तीन जना साथी मिलेर दुई वर्ष अघि कम्पनी स्थापना गरेको बताउँछन् । उनको कम्पनीले घर वा अफिसका लागि कार्पेन्टर, प्लम्बिङ, इलेक्ट्रिसियन तथा होम अप्लायन्सका सामग्री बनाउने र नयाँ उपलब्ध गराउने काम दिने गर्दछ । उनका अनुसार कम्पनीमा १३ जना कर्मचारी छन् भने ६५ जनालाई पार्टटाइम काम मिलेको छ ।


बीज फेस्टजस्तो प्लेटफर्मका कारण आफ्नो स्टार्टअपको ब्रान्डिङमा सहयोग पुग्ने उनी बताउँछन् । एमबीए गरेका रेग्मी भन्छन्, ‘क्लासको प्रोजेक्टको समयमा हामीले गरेको अध्ययनबाट सेवाग्राहीको समयमा काम नहुने र सेवा प्रदायकमा दक्ष कामदारको समस्या देखियो । त्यतिबेला नै यसमा केही गर्न सकिन्छ भन्ने सोच आएको हो ।’ उनको कम्पनीले हालसम्म उपत्यकाभित्र नौ हजार ग्राहक बनाइसकेको छ । १७० वटा संस्थाले सेवा लिइसकेका छन् । ‘विदेश जानुपर्ने बाध्यता भएकाहरूका लागि मर्मतसम्बन्धी तालिम धेरै छन्,’ उनले भने, ‘उनीहरूका लागि रोजगारीको वातावरण सिर्जना गर्न पनि यसले सहयोग गरेको छ ।’ स्टार्टअपमा संघर्ष धेरै गर्नुपर्ने भए पनि यसबाट केही गर्न सकिने विश्वास रहेको उनले बताए ।


नेपाल कम्युनिटर स्टार्टअपलाई गाइड गर्ने अर्को कम्पनी हो । यसले एक वर्षसम्म स्टार्टअपलाई सफल व्यवसायी बनाउनमा, सहकार्य, प्रशिक्षण, व्यापार तथा परामर्शको सेवा दिने काम गर्दछ । कम्युनिटरका प्रोगाम अफिसर अनिल पराजुली भन्छन्, ‘हामीले स्टार्टअपलाई एक वर्षसम्म व्यवसाय वृद्धिसम्बन्धी तालिम प्रदान गर्दछौं । जसमा स्टार्टअपलाई आफ्नो व्यवसायको उद्देश्य निश्चित गर्न सिकाउँछौं ।’ स्टार्टअपले रोजेको व्यवसायको बजार अध्ययन यसको महत्त्वपूर्ण पक्ष रहने उनी बताउँछन् ।



२०७२ सालको महाभूकम्पपछि नेपाललाई सहयोग गर्न आएको अन्तर्राष्ट्रिय संस्था कम्युनिटरले नव उद्यमीका लागि अवसरका रूपमा स्थापित गरेको पराजुली सुनाउँछन् । उनको यो संस्था दर्ता भएर सञ्चालनमा आएको एक वर्षमात्र हुँदै छ । नेपाल कम्युनिटरमा चार कम्पनी रहेका छन् । यसले आफ्नो कम्पनीलाई अगाडि बढाउन सहयोग गरिरहेको छ ।


अनिल पराजुलीले ५ वर्ष अगाडि समृद्धि फाउन्डेसनमा ‘अर्थलाय’ कार्यक्रममा युवालाई उद्यमसम्बन्धी तालिम दिने काम गर्थे । तीन वर्षको अनुभवबाट सिक्दै सिकाइरहेको उनी बताउँछन् । ‘त्यो समयमा हामीले २४ युवालाई तालिम दिएको मध्ये २–३ जनाले मात्र आफ्नै कम्पनी सञ्चालन गर्न सकेका थिए,’ उनले भने, ‘त्यसले मेरो चित्त बुझेन । आफूले अरूलाई केही सिकाएपछि नतिजा पनि राम्रै निस्कियोस् भन्ने चाहना हुन्छ । त्यसैले अहिले एक वर्षसँगै राखेर व्यवसायसम्बन्धी सबै तालिम दिइरहेका छौं ।’ नेपाल कम्युनिटरमा १२ जनाको टिमको आ–आफ्नै भूमिका रहेको उनले बताए । देशलाई उद्यमीको आवश्यकता रहेकाले उनीहरूलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘स्टार्टअप नयाँ हुन्,’ उनले भने, ‘व्यवसायको वातावरण सिर्जना हामीले गर्न सक्नुपर्छ ।’


भाडामा कपडाको व्यवसाय सुरु गर्ने नव उद्यमी हुन् २७ वर्षे मनीषजंग थापा । उनले आठ महिनायता कम्युनिटर नेपालबाट ‘एन्टिडोट नेपाल’ सञ्चालन गरिरहेका छन् । उनले यो व्यवसाय ५० हजार रुपैयाँको लगानीबाट सुरु गरेका हुन् । बानेश्वर, युनिग्लोब कलेजबाट मार्केटिङ एन्ड सेल्समा बीबीए गरेका उनी भन्छन्, ‘कपडा छ, फेरि दोहोर्‍याएर लाउन मन नलाग्ने । पैसा छ, एकचोटि लाउनलाई मात्र महँगो तिर्नुपर्ने समस्या मेरी बहिनीबाट थाहा पाएँ ।’ यसको समाधानका लागि उनले अरूबाट १–२ पटक प्रयोग गरिसकेको कपडा लिने र त्यसलाई भाडामा दिने व्यवसाय सुरु गरेका हुन् ।

प्रकाशित : पुस २५, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?