कस्ता छन् २०२० मा आउने बलिउड फिल्म ?

रीना मोक्तान

बलिउडले सन् २०१९ मा सामाजिक अनि राजनीतिक मुद्दाका विषय फिल्ममा राम्रैसँग उठायो  । चाहे त्यो सर्जिकल स्ट्राइक माथिको 'उरी’ होस् या दलित मुद्दामा ‘आर्टिकल १५’  ।

ZenTravel

बलिउडले सन् २०१९ मा सामाजिक अनि राजनीतिक मुद्दाका विषय फिल्ममा राम्रैसँग उठायो । चाहे त्यो सर्जिकल स्ट्राइक माथिको ‘उरी’ होस् या दलित मुद्दामा ‘आर्टिकल १५’ । रोमान्स, कमेडी, बायोपिक र एक्सनका साथै राष्ट्रवादी फिल्मको पनि बलिउडमा बहार नै आयो । यस वर्ष बलिउडमा धेरै फिल्म सफल पनि भए । यसले सन् २०२० लाई लिएर दर्शकको अपेक्षा बढाएको छ । यो अपेक्षा कसरी पूरा गर्दै छ त बलिउडले । यस वर्षका प्रतीक्षित फिल्महरू :

छपाक, तानाजी र दरबार
नयाँ वर्ष २०२० को सुरुमै रिलिज हुने ‘छपाक’ प्रतीक्षित फिल्म हो । दुई वर्षअघि ‘राजी’ बनाएर प्रशंसा कमाएकी मेघना गुलजारको यो फिल्म ट्रेलर रिलिज भएदेखि नै चर्चामा छ । दीपिका पादुकोणले एसिड आक्रमणकी सिकार बनेकी युवतीको भूमिकामा यसमा अभिनय गरेकी छन् । यसअघि दिल्लीमा भएको आरुषी हत्याकाण्डमाथि ‘तलबार’ जस्तो प्रशंसित फिल्म बनाएकी मेघनाले ‘छपाक’ मा एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको साँचो जीवनकथा उतारेकी छन् । फिल्ममा विक्रान्त मेसी पनि प्रमुख भूमिकामा छन् ।
‘छपाक’ सँग जनवरी १० मा एकै दिन आउँदै छ अजय देवगनको फिल्म ‘तानाजी’ । फिल्ममा काजोल र सैफअली खानको पनि मुख्य भूमिका छ । १७ औं शताब्दीका मराठा योद्धा तानाजीको कथामा बनेको यो फिल्मलाई ओम राउतले निर्देशन गरेका छन् । बलिउडका दुई ठूला स्टार अजय देवगन र दीपिकाको बक्सअफिसमा हुने भिडन्तका कारण पनि यी दुवै फिल्म प्रतीक्षित मानिएका छन् ।
यसै दिन अर्को फिल्म पनि आउँदै छ, जुन बलिउडको होइन तर यसले यी दुवै बलिउड फिल्मलाई टक्कर दिने मानिएको छ । यो फिल्म हो– रजनीकान्तको ‘दरबार’ । नयनताराको पनि प्रमुख भूमिका रहेको यो तमिल फिल्ममा रजनीकान्त प्रहरी अधिकारीको भूमिकामा देखिँदै छन् । फिल्म हिन्दीमा पनि डब गरी प्रदर्शन
गरिँदै छ ।

Meroghar

छलाङ
हंसल मेहता र राजकुरमा रावको जोडी बलिउडमा कलात्मक तथा यथार्थवादी फिल्मको पर्याय नै बनिसकेका हुन् । यी दुईका साहिद, सिटी लाइट्स, अलिगढ र ओमार्टाजस्ता फिल्म यसका प्रमाण हुन् । यो वर्ष फेरि हंसलको फिल्ममा राजकुमार देखिँदै छन् । फिल्म हो– छलाङ । फिल्ममा नुसरत बरुमचा पनि हुनेछिन् ।

पंगा
‘पंगा’ अर्थात् निहुँ । यसै पनि कंगना रनावतलाई सबैसँग निहुँ खोज्ने अभिनेत्री भनिन्छ । त्यसमाथि यो त फिल्मकै नाम ‘पंगा’ । उमेर ढल्किँदै गएकी एक आमाले फेरि आफ्नो खेल करिअरमा गर्ने संघर्षको कथा यसमा छ । कबड्डी खेलाडीका रूपमा कंगना रनावत देखिँदै छिन् । ‘नील बट्टे सन्नाटा’ र ‘बरेली कि बर्फी’ की निर्देशक अश्विनी ऐयर तिवारीले निर्देशन गरेको यो फिल्ममा कंगनाका साथ पंकज त्रिपाठी, ऋचा चड्ढा पनि देखिनेछन् ।

गुलाबो सिताबो
सुजित सरकार पछिल्लो समयमा मानवीय संवेदनामाथि खेल्न सक्ने निर्देशकमा हुन् । पहिलो फिल्म ‘यहाँ’ देखि ‘विक्की डोनर’, ‘पिकु’ हुँदै ‘अक्टोबर’ सम्ममा उनले आफ्ना क्षमता देखाएका छन् । यस वर्ष उनी बलिउडका दुई उम्दा अभिनेताहरू अमिताभ बच्चन र आयुष्मान खुरानालाई लिएर ‘गुलाबो सिताबो’ मा आउँदै छन् । केही अघि फिल्ममा अमिताभ बच्चनको लुक बाहिरिएको थियो ।

आज कल
भ्यालेन्टाइन डेलाई लक्षित गरेर निर्देशक इम्तियाज अलीले ‘आज कल’ निर्देशन गर्दैछन् । कार्तिक आर्यन र सारा अली खानको मुख्य भूमिका रहने यो फिल्म २००९ को ‘लभ आज कल’ को सिक्वेल हो । यसमा सैफअली खानले मुख्य भूमिका गरेका थिए। ‘आज कल’ मा उनकै छोरी सारा हिरोइन हुँदै छिन् । इम्तियाजको फिल्म ‘हाइवे’ बाट धेरैलाई प्रभावित बनाएका रणदीप हुडा पनि खास भूमिकामा देखिँदै छन् ।

थप्पड
बलिउड अभिनेतामा आयुष्मान खुरानाजस्तै अभिनेत्रीमा तापसी पन्नु र भूमि पेडनेकर राम्रा फिल्म मात्रै छानेर खेल्ने अभिनेत्रीमा गणना हुन थालेका छन् । गत वर्ष ‘बदला’ र ‘साँड कि आँख’ दुई प्रशंसित फिल्ममा देखिएकी तापसी पनु यस वर्ष ‘थप्पड’ मा देखिँदै छिन् । यसका निर्देशक हुन्– ‘आर्टिकल १५’ का अनुभव सिन्हा । लैंगिक असमाधानतासम्बन्धी फिल्ममा अर्जुन कपुर र सरमन जोशी पनि देखिनेछन् ।

रुही अफ्जा
दुई वर्षअघि हरर–कमेडी ‘स्त्री’ को निर्माण टिमले बनाएको ‘रुही अफ्जा’ मा पनि राजकुमार राव मुख्य भूमिकामा छन् । हार्दिक मेहताले निर्देशन गरेको फिल्ममा रावका साथ जान्हवी कपुर पनि देखिने छिन् । यसलाई ‘स्त्री’ को सिक्वेल भनिएको छ ।

सडक २
यो फिल्मसँगै महेश भट्ट बीस वर्षपछि निर्देशनमा फर्किंदै छन् । ९० को दशकको चर्चित फिल्म ‘सडक’ को दोस्रो भागका रूपमा यो आउनेछ । महेशले निर्देशन गरेको ‘सडक’ मा सञ्जय दत्त, पूजा भट्ट र सदाशिव अमरापुरकरले मुख्य भूमिकामा अभिनय गरेका थिए । पूजा महेशकी जेठी छोरी हुन् । ‘सडक २’ मा उनकी अर्की छोरी आलिया मुख्य भूमिकामा हुनेछिन् । आदित्य रोय कपुर पनि हुनेछन् ।

८३
‘गल्ली ब्वाई’ पछि रनवीर सिंह यो बायोपिकमा देखिनेछन् । र, साथमा हुनेछिन् श्रीमती दीपिका पादुकोण । ‘रामलिला’ र ‘बाजिराव मस्तानी’ पछि यो रियल–लाइफ जोडी तेस्रोपटक यसमा देखिँदै छन् । कवीर खानले निर्देशन गरेको ‘८३’ सन् १९८३ मा भारतले विश्वकप क्रिकेट जितेको कथामा आधारित छ । फिल्ममा रनवीरले त्यो टिमका कप्तान अलराउन्डर कपिल देवको भूमिका गर्दैछन् भने दीपिका कपिल देवकी श्रीमतीको भूमिकामा हुनेछिन् । फिल्ममा ताहिर भासिन, वोमन इरानी र पंकज त्रिपाठी पनि हुनेछन् ।

गंगुबाई
वर्षको अन्त्यतिर आउने प्रतीक्षित फिल्म हो– गंगुबाई । ‘पद्मावत’ पछि सञ्जयलिला भन्सालीले निर्देशन गरेको यो फिल्म धेरै कारणले चर्चामा छ । सलमान खानसँग फिल्म बनाउने घोषणा गरिसकेपछि भन्सालीले त्यो फिल्म रद्द गरी ‘गंगुबाई’ बनाउनतिर लागेका हुन् । मुम्बई अन्डरवर्ल्डका महिला डनबारेको यो फिल्ममा आलिया भट्ट गंगुबाई खतिवाडीको प्रमुख भूमिकामा हुनेछिन् । फिल्ममा अजय देवगन पनि हुनेछन् । भन्सालीले यसपछि ‘बैजुबावरा’ को रिमेक गर्ने घोषणा गरिसकेका छन् । यसमा अजय देवगन र रणवीर सिंह हुने बताइएको छ ।

आरआरआर, मैदान र भुज
यसै वर्ष ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म ‘आरआरआर’ पनि आउने बताइएको छ । भारतका दुई स्वतन्त्रता संग्रामका योद्धाको यो कथामा दक्षिणका सुपरस्टार रामचरन र जुनियर एनटीआरले मुख्य भूमिकामा अभिनय गरेका छन् । यसमा आलिया भट्ट र अजय देवगन पनि हुनेछन् । अजय देवगनका यस वर्ष अरू दुई फिल्म आउनेछन्– मैदान र भुज । ‘मैदान’ भारतको फुटबल शिखरमा रहेको बेलाको कलकत्ताको कथा हो भने ‘भुज’ भारतीय राष्ट्रवादको गीत गाउने फिल्म ।

लालसिंह चड्डा
यस वर्ष आमिर खानको ‘लालसिंह चड्ढा’ प्रदर्शनमा आउनेछ । गत वर्षको ‘ठग्स अफ हिन्दुस्तान’ को असफलतापछि झस्किएका आमिर यस वर्ष ‘लालसिंह चड्ढा’ मा देखिनेछन् । टम
ह्याङ्क्सको फिल्म ‘फरेस्ट गम्प’ को यो रिमेकमा करिना कपुर पनि मुख्य भूमिकामा छन् । फिल्मलाई ‘सिक्रेट सुपरस्टार’ का निर्देशक अद्भत चौहानले निर्देशन गरेका छन् ।

सूर्यवंशी

बलिउडका नयाँ हिट मेसिन अक्षय कुमारका यस वर्ष पनि थुप्रै फिल्म लाइनमा छन्। 'लक्ष्मी बम', 'बच्चन पाण्डे', 'सूर्यवंशी' र 'पृथ्वीराज' घोषित छन्। 'सूर्यव‌ंशी'को त रिलिज डेट पनि फाइनल भइसकेको छ। रोहित शेट्टीले 'सिंघम'बाट सुरु गरेको पुलिस दुनियाँको नयाँ श्रृंखला सूर्यवंशीमा अक्षयका साथ कट्रिना कैफ पनि हुनेछिन्। र, यिनका साथमा हुनेछन् विशेष भूमिकामा 'सिंघम' अजय देवगन र 'सिम्बा' रणवीर सिंह।


–एजेन्सीको सहयोगमा

प्रकाशित : पुस १८, २०७६ ११:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मार्दी मोह

कान्तिपुर संवाददाता

नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षित गर्न सक्ने एउटा गन्तव्य मार्दी हिमाल पनि हो  । कास्कीको धम्पुस, काँडे वा सिलिङबाट मार्दीको पदयात्रा सुरु गरिन्छ  ।

नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकलाई आकर्षित गर्न सक्ने एउटा गन्तव्य मार्दी हिमाल पनि हो । कास्कीको धम्पुस, काँडे वा सिलिङबाट मार्दीको पदयात्रा सुरु गरिन्छ । यात्राको पहिलो दिन धम्पुसबाट चार घण्टा हिँडेर उकालै उकालो पोतना हुँदै समुद्री सतहबाट २,१०० मिटर उचाइमा रहेको देउरालीको उचाइमा पुगेर बसियो । दुइटा मात्रै होटल रहेको यहाँ रातमा घान्द्रुकको झिलिमिली बत्ती र बिहानको मिर्मिरे उज्यालो अनि सूर्योदयको दृश्य नियाल्न सकिन्छ ।
भोलिपल्ट बिहानको चिया पिएर हाम्रो टोलीलाई गुराँसको घना जंगल छिचोलेर सुइरो डाँडा हुँदै फरेस्ट क्याम्पमा दिउँसोको खाना खाएर ३,०५० मिटरस्थित लो क्याम्प पुग्न सात घण्टा लाग्यो । बस्ने होटल धेरै भए पनि बास बस्ने ठाउँको निधो गर्न मुस्किल पर्‍यो । कोठामा झोला राखेर लसुनको सुप र खानाको अर्डर गरेपछि क्यामेराको ब्याट्री चार्ज गर्दै डाइनिङ हलतिर लाग्यौं ।
लो क्याम्पको बसाइपछि हामी बादल डाँडा हुँदै हाई क्याम्पको फिस्टेल होटलबाट करिब बिहानको ४ बजे हिँडेर मार्दीको ४,२०० मिटरको उचाइमा अपर भ्यु पोइन्टबाट हिमाली शृंखलाको तस्बिर खिच्न ६ बजे पुगियो । स्वदेशी–विदेशी पर्यटकको घुइँचोसँगै मार्दी, माछापुच्छ्रे, अन्नपूर्ण तेस्रो, गंगापूर्ण, तारेकाङ, सिगुंचुली, खंसारकाङ, अन्नपूर्ण पहिलो, हिमचुली र अन्नपूर्ण साउथलगायत हिमालहरूको सामान्य लेन्सले नै गज्जब तस्बिर खिच्न सकिन्छ ।

प्रकाशित : पुस १८, २०७६ ११:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×