कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एचआईभी संक्रमित भन्छन्–‘सरकारले हामीलाई विभेद गर्‍यो’

कोभिडले एचआईभी परीक्षणमा कमी
बुनु थारु

काठमाडौँ — विश्वभर डिसेम्बर १ मा ३४ औँ एड्स दिवस मनाइरहँदा एचआईभी संक्रमितहरूले समाज तथा सरकारबाट आफूहरू विभेद र अपमानित हुनुपरेको गुनासो छ । एचआईभी संक्रमितहरू भेदभावका कारण अझैसम्म खुलेर आउन सकेका छैनन् । परीक्षणको दायरामा नपुग्दा एचआईभी एड्स नियन्त्रणमा चुनौती देखिएको बताइन्छ ।

एचआईभी संक्रमित भन्छन्–‘सरकारले हामीलाई विभेद गर्‍यो’

राष्ट्रिय एचआईभी एड्स महासंघका अध्यक्ष राजेश डिडियाले अझै पनि समाजमा एचआईभी संक्रमितहरुलाई मानवअधिकारको लाञ्छना अनि भेदभावका घटना देखिँदैआएको बताउँछन् । उनले यो घटना कोभिडका समयमा पनि देखिएको बताए । ‘ विभेद कम त भएको छ तर कायम नै छ । कोभिडको दौरानमा एचआईभीसँग सम्बन्धित कार्यक्रमहरु पर्याप्त मात्रामा स्थानीय तहमा नपुगेकाले पनि समस्या देखिएको हो,’उनले भने ।

कोभिडको समयमा एचआईभी संक्रमितहरूलाई मानसिक अवस्थामा प्रभाव पारेको बताउँदै उपचारको लागि अस्पताल जाँदा बेड खाली भए पनि भर्ना नलिने उनको गुनासो थियो । ‘उनका अनुसार कोभिडको सुरुआती समयमा सबै अस्पतालहरू कोभिड केन्द्रित थिए । त्यसमाथि लकडाउन ।स्वास्थ्य उपचार पाउनका लागि एचआईभी संक्रमितले ठूलो समस्या भोगे । उनले कोभिडको समय तथा हालसम्मम एचआईभी संक्रमितहरुले औषधिको पहुँचबाट बञ्चित भने हुन नपरेको बताए ।

सरकारले यो वर्षको बजेट भाषणमा मिर्गौला, क्यान्सर, हृदयघात लगायतका दीर्घरोगीहरुलाई मासिक ५ हजार दिने घोषणा गरेको छ । यो राहत कार्यक्रममा सरकारले एचआइभी संक्रमितहरुलाई छुटाएको राजेशको गुनासो छ । भन्छन्–‘हामीले विभेद गरियो । हामी आफैँ पनि दीर्घरोगी हौँ ।एकचोटी संक्रमित भइसकेपछि निको हुने अवस्था आइसकेको छैन र एचआइभी संक्रमितहरुमा पनि हेपटाइटिस सि, बि, टिबी भएकाले ३ थरीको औषधि खाएर जीवन बाँचिरहेका छन् । त्यस्ता व्यक्तिहरूलाई नेपाल सरकारको घोषणाले नै विभेद गरेको अवस्था छ ।’

कोभिडले परीक्षणमा आयो कमी

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२० को अन्तसम्म नेपालमा ३० हजार ३०० व्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान छ । जसमा पुरुषको संख्या १६ हजार ३१४ छ भने महिलाको संख्या १३ हजार ९८६ रहेको छ । १४ वर्षभन्दा माथिका १ हजार २६८ रहेकोमा १५ देखि ४९ वर्ष माथिका २० हजार १३७ रहेका छन् । यस्तै ५० वर्ष माथिका ८ हजार ८ सयभन्दा धेरै छन् ।

यस्तै वयस्क जनसंख्याको ०.१३ प्रतिशतमा संक्रमण दर छ । सन् २०२० मा ७५४ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको केन्द्रले जनाएको छ । त्यसैगरी सन् २०२० मा मात्रै ६ सय ३६ व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ ।

आव २०७७–७८ सम्म नेपालले ९०:९०:९० लक्ष्यहरु अर्थात ९० प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरुमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार(भाइरल लोड न्यून भएको हुने ) लक्ष्य हासिल गरेको देँखिदैन । ८३ प्रतिशत पहिचान गरिएका संक्रमितको अवस्था थाहा पाइएको छ भने औषधिको उपचारमा ८३ प्रतिशत संक्रमितहरु रहेका छन् ।

त्यसैगरी भाइरल भार नगण्य अवस्थामा भाएका संक्रमितहरु ३१ प्रतिशत मात्र देखिएका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका वरिष्ठ शिक्षा अधिकृत लोकराज पाण्डेले तेस्रो ९० प्रतिशत लक्ष्य हासिल हुन कठिन हुनुमा कोभिडको समयमा परीक्षण कम भएको बताए । उनका अनुसार कोभिडले मानिसहरु परीक्षणमा गएनन् त्यसमाथि केही ठाउँमा परीक्षण मेसिन पनि बिग्रिए र भएका मेसिन पनि कोभिड परीक्षणमा प्रयोग भयो ।

केन्द्रका अनुसार हालसम्म ५ वटा प्रदेशमा ८ वटा सेन्टरमा भाइरल लोडको परीक्षण हुने गरेको छ ।एचआईभी संक्रमितहरूलाई ६१ जिल्लाका ८३ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरल उपचार नि:शुल्क उपलब्ध गराइएको छ । साथै देशका सबै जिल्लाहरूमा १८९ वटा एचआईभी परामर्श तथा परीक्षण केन्द्रहरुबाट सेवा प्रदान भइरहेको केन्द्रले जनाएको छ । सन् २०२१ को जुलाई महिनासम्म नेपालमा २० हजार ८ सय ८३ संक्रमितहरुले एन्टिभाइरल( एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कुल एचआईभी संक्रमितमध्ये ६९ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् ।

सन् २०२० मा मात्रै ६ सय ३६ व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ जुन २०२१ को तुलनामा ५५ प्रतिशतले कम देखाएको छ ।

वरिष्ठ शिक्षा अधिकृत लोकराज पाण्डेले कोभिडको समयमा औषधि वितरणमा कुनै पनि समस्या नआएको दाबी गरे ।उनले कोभिडका समयमा घरघरमै स्वास्थ्य स्वयंसेविकाहरूले औषधि पुर्‍याएको बताए । उनले एड्स नियन्त्रणका लागि संक्रमित सबैलाई उपचारको दायरामा ल्याउनुपर्ने जोड दिए । नियमित रुपमा उपचार भएको खण्डमा भाइरल लोड कम भएपछि अरुलाई सार्न सक्ने सम्भावना पनि कम हुने उनको भनाइ छ ।

राष्ट्रिय एचआईभी एड्स महासंघका अध्यक्ष राजेशले २ –३ वर्षदेखि एड्सको उपचार साक्षरता र शिक्षासम्बन्धी कुनै पनि संघसंस्थाले सञ्चालन तथा वकालत नगरेकाले चेतनामा कमी भएको बताए । अधिकांश संक्रमित परीक्षणको दायरामा नआउनुका कारण कम सुविधा र गोपनियता भंग हुने डर देखिएको बताउँछन् ।

लक्ष्य भेट्न चुनौती

सन् २०२० को अन्त्यसम्म विश्वमा ७ करोड ९३ लाख व्यक्तिहरू एचआईभीबाट संक्रमित भइसकेका छन् र ३ करोड ६३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भइसकेको छ। सन् २०२० को अन्तसम्म संसारमा ३ करोड ७७ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ ।

नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू र रोजगारीका लागि विदेशीनेहरू एचआईभी संक्रमणको उच्च जोखिम समूहमा पर्छन् । यीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिंगी यौनकर्मीहरू संक्रमणदर अरु जोखिम समूहभन्दा उच्च छ । सन् २०२० मा सम्पन्न सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ ।

नेपाल सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५:९५:९५ र एचआईभी जाँच र उपचारको लागि रणनीतिमा आधारित भएर एचआईभी तथा एड्स समबन्धी कार्यक्रम सञ्चालन भइरहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ तर लक्ष्य भेट्न कठिन देखिन्छ ।

संक्रमित भइसकेका तर आफ्नो एचआईभी संक्रमणको अवस्था बारेमा थाहा नपाएका व्यक्तिहरुको एचआईभी संक्रमणको अवस्था थाहा पाउनु, तिनीहरुबाट अन्य व्यक्तिमा एचआईभी संक्रमण हुनबाट रोक्नु र संक्रममित भइसकेकालाई उपचार, हेरचाह तथा सहयोग कार्यक्रममा पहुँच बढाउनु नेपालको लागि चुनौतीपूर्ण नै छ । केन्द्रकी निर्देशक डा सुधा देवकोटा भन्छिन्–‘ लक्ष्य भेटिनेछ भनेर भन्न त सकिँदैन तर हामीले काम गरिराखेका छौँ । मुख्य कुरा एचआईभी संक्रमितहरुलाई गरिने विभेद अन्त्य गरिनुपर्छ ।’

प्रकाशित : मंसिर १४, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?