सुर्तीजन्य पदार्थ सेवनले ९० प्रतिशत फोक्सोको क्यान्सर

काठमाडौँ — ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज (मंगलबार) देशभर विश्व सूर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ । सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरितगृह ग्यासले वायु प्रदूषण गराउनाले आफ्नो स्वास्थ्य र वातावरण सुरक्षित राख्न धुम्रपान त्याग्नुपर्ने चिकित्सकहरु बताउँछन् । वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंका अनुसार सुर्तीजन्य पदार्थ सेवन नगरे ९० प्रतिशत फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ । 

सुर्तीजन्य पदार्थ सेवनले ९० प्रतिशत फोक्सोको क्यान्सर

उनले चुरोटमा ६०० प्रकारका तत्वहरु हुने र सेवन गर्दा ७ हजार प्रकारका रसायनहरु जल्ने र ती निकै हानिकारिक हुने बताइन् । ‘ती रसायनमध्ये ६९ वटा रसायनले क्यान्सर गराउन सक्छन् जुन एकदमै विषाक्त हुने गरेका छन् । यस्ता विषालु रसायनहरु मुसा मार्न प्रयोग गरिने औषधिमा पनि पाइन्छन्,’ उनले भनिन् ।

सन् २०२० को विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने विश्वमा वार्षिक २४ लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । त्यसैगरी सन् २०१८ को तथ्यांक हेर्दा ९६ लाख मानिसहरुको क्यान्सरबाट मृत्यु भएको छ । विश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोस्रो नम्बरमा पर्छ । २५ प्रतिशत क्यान्सरबाट मृत्यु सुर्तीजन्य पदार्थका कारण हुने गरेका छन् जसमा २० प्रकारका क्यान्सर हुन सक्ने सम्भावना रहन्छ ।

नेपालको कुरा गर्ने हो भने २३.७ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको पाइएको छ जसमा चुरोट सेवन गर्ने बढी पाइएका छन् । फोक्सोको क्यान्सरबाट मृत्यु हुनेमा पुरुष १८ प्रतिशत र महिला ७.७ प्रतिशत रहेको छ । सन् २०१९ मा गरिएको नसर्ने रोगको सर्वेक्षणमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाहरुले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको देखाउँछ ।

मानसिक स्वास्थ्यका लागि पनि धुम्रपानमुक्त जीवन अपनाउनु पर्ने बताउँछन् मानसिक रोग विशेषज्ञ तथा पाटन अस्पतालका निर्देशक डा रवि शाक्य । उनले सुर्तीजन्य पदार्थ सेवन गर्ने लत बसिसकेपछि त्यसलाई छुटाउन निकै गाह्रो हुने बताए । उनका अनुसार छुटाउन चाहने व्यक्तिहरुलाई आवश्यक परामर्श र औषधिको आवश्यकता पर्दछ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन,२०६८ कार्यान्वयनमा आए पनि राम्ररी कार्यन्वयनमा आउन सकेको छैन ।

धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्न छोडेमा हुने फाइदाहरु

-हृदयघातको जोखिम कम हुने,

-क्यान्सरको जोखिम कम हुने,

-मधुमेहको जोखिम कम हुने,

-फोक्सो र श्वासप्रश्वाससम्बन्धी समस्या कम हुने,

-मुख, दाँत , गिजा स्वस्थ्य रहने,

-उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने,

-आँखाको दृष्टि कमजोर हुनबाट जोगिने,

-श्रवण शक्ति कमजोर हुनबाट जोगिने,

-गर्भावस्थामा हुने जोखिम कम हुने ,

कस्ता खालका असरहरु हुन सक्छन् ?

-दम, निमोनिया, ब्रोन्काइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या हुने,

-बारम्बार रुघाखोकी लाग्ने समस्या हुने

-कानको संक्रमण भइ श्रवण शक्तिमा समस्या हुने

-क्यान्सर हुने सम्भावना बढ्ने


प्रकाशित : जेष्ठ १७, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?