कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाको ओमिक्रोन भेरियन्टबारे अहिलेसम्म के-के थाहा छ ? 

भेरियन्ट संक्रामक हुने वा नहुने, संक्रमणको गम्भिर्यता( लक्षणसहित)को, खोपको प्रभावकारिता, परीक्षण तथा उपचारमा पार्ने प्रभावका बारेमा अध्ययनहरु जारी नै छन् ।

काठमाडौँ — २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले बी.१.१.५२९ लाई भेरियन्ट अफ कन्सर्न भन्दै ओमिक्रोन नामाकरण गर्‍यो । यो धेरै पटक उत्परिवर्तित भएकाले यसले कस्तो प्रतिक्रिया देखाउने हो भन्नेमा वैज्ञानिकहरूको चासो छ । यो छिटो फैलिने, गम्भीर बनाउन सक्नेलगायत अहिले लगाएका खोप पनि प्रभावकारी नहुने जस्ता कुराहरु आइरहेका छन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टबारे अहिलेसम्म के-के थाहा छ ? 

दक्षिण अफ्रिकाका अनुसन्धानकर्ता तथा विश्वका विभिन्न देशका वैज्ञानिकहरुले ओमिक्रोनको विविध पक्षबारे अध्ययनहरु गरिरहेका छन् ।

कत्तिको संक्रामक?

ओमिक्रोन कत्तिको संक्रामक हुन सक्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । संक्रामक भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नु हो जस्तै डेल्टा भेरियन्ट अहिलेसम्मको संक्रामक मानिएको छ । दक्षिण अफ्रिकामा यो भेरियन्टबाट संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ तर ईपिडिमोयोलिजक अध्ययन हुन बाँकी छ । यसले ओमिक्रोन हो वा अरु माध्यम भनेर देखाउनेछ ।

रोगको गम्भिरता

यो भेरियन्टले संक्रमण कत्तिको गम्भिर बनाउँछ भन्ने स्पष्ट रुपमा आइसकेको छैन । प्रारम्भिक तथ्यांकले दक्षिण अफ्रिकाका अस्पतालमा बिरामी भर्नाको संख्या बढिरहेको देखाइरहेका छन् । यो संख्या संक्रमण बढेर पनि हुन सक्छन् तर ओमिक्रोनले नै हो भन्ने देखिएको छैन । हालसम्म ओमिक्रोन भेरियन्टको संक्रमणले केही निश्चित लक्षणहरु देखिन सक्ने भन्ने सूचना आइसकेको छैन । अहिलेको केही रिपोर्ट हेर्दा युनिभर्सिटीका विद्यार्थीहरुमा देखिएको छ र मध्यम खालको संक्रमण देखिएको छ । रोग कत्तिको गम्भिर हुने वा नहुनेमा थाहा पाउन केही दिन तथा हप्ता नै लाग्न सक्छ । कोभिड १९ का सबै भेरियन्ट विशेष गरी डेल्टा अहिले जुन विश्वमा फैलिएको छ जसले जोखिम वर्गमा मृत्यु गराउने तथा गम्भीर बनाउन सक्छ । त्यसैले रोकथाम नै ठूलो उपाय हो ।

संक्रमणको प्रभाव

प्रारम्भिक अध्ययनले ओमिक्रोनले पुन: संक्रमण गराउन सक्ने जोखिम बढ्ने देखाउँछन् । जस्तै, जो मानिस पहिले कोभिड संक्रमित भइसकेका छन् उनीहरुलाई यो भेरियन्ट सजिलै फैलिन सक्छ । तर, यसबारे जानकारी सिमित छ ।

खोपको प्रभावकारिता

खोपको प्रभाकारिताका बारेमा पनि धेरै जिज्ञासाहरु उठिरहेको छ जस्तै, अहिलेका खोपले काम गर्ने हो वा होइन भन्नेमा । यस बारेमा बुझ्न विश्व स्वास्थ्य संगठनले आफ्ना प्राविधिक टिमसँग काम गरिरहेको छ । खोपले संक्रमण गम्भीर तथा मृत्यु हुनबाट जोगाउँछ । वर्तमान खोपहरु अहिले यसविरुद्ध प्रभावकारी देखिएका छन् ।

वर्तमान परीक्षणमा प्रभाव

अहिले देखिएका भेरियन्टहरु पीसीआर परीक्षणमा पुष्टि भइरहेको छ । ओमिक्रोन पनि पीसीआर परीक्षणमै देखिन सक्छ । द्रूत एन्टिजेन पत्ता लगाउने परीक्षणहरूसहित अन्य प्रकारका परीक्षणहरूमा कुनै प्रभाव छ कि छैन भनेर निर्धारण गर्न अध्ययनहरू जारी छन् ।

वर्तमान उपचारमा प्रभाव

कोर्टिकोस्टेरोइड्स तथा आईएल रिसेप्टर ब्लकर्स अझै पनि गम्भीर कोभिडका बिरामीहरुको उपचारमा प्रभावकारी हुनेछन् । ओमिक्रोन भेरियन्टमा भएका भाइरसका भागहरूमा भएका परिवर्तनहरूलाई ध्यानमा राखेर तिनीहरू अझै प्रभावकारी छन् कि छैनन् भनी अन्य उपचारहरूको मूल्यांकन गरिनेछ ।

अध्ययन जारी छ

वर्तमान अवस्थामा विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई विस्तृत रुपमा बुझ्नका लागि धेरै संख्यामा अनुसन्धानकर्ताहरुसँग समन्वय गर्दैछ । भेरियन्ट संक्रामक हुने वा नहुने, संक्रमणको गम्भिर्यता( लक्षणसहित)को, खोपको प्रभावकारिता, परीक्षण तथा उपचारमा पार्ने प्रभावका बारेमा अध्ययनहरु जारी नै छन् । संगठनले संक्रमण देखिएका देशहरुलाई अस्पतालमा भर्ना भएका बिरामीको तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको छ ।

देशहरुलाई निर्देशन

ओमिक्रोन भेरियन्ट अफ कन्सर्नमा वर्गीकरण गरिएसँगै विश्व स्वास्थ्य संगठनले देशहरुलाई संक्रमणको निगरानी, सिक्वेन्सिङका लागि अनुरोध गरेको छ । संक्रमण फैलिन नदिन सबै देशहरुले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ । साथै संक्रमण बढेको खण्डमा जनस्वास्थ्य तथा मेडिकल क्षमतालाई बढाउनुपर्नेछ । यसका लागि संगठनले सहायता तथा निर्देशन पनि दिइरहेको छ । त्यसैगरी जोखिम वर्ग, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिकहरुले पहिलो तथा दोश्रो मात्राको खोपको पहुँचमा ल्याउनुपर्छ ।

नागरिकहरुलाई अनुरोध

कोभिड संक्रमणबाट बच्‍न मुख्यतः स्वास्थ्यका मापदण्ड पालना गर्नु नै हो । मानिसहरुले एक मिटरको दूरी राख्नुपर्छ । साथै, अनुहार राम्ररी छोप्ने मास्क तथा भिडभाड ठाउँमा भेन्टिलेसन कायम राख्नुपर्छ । त्यसैगरी हात सफा राख्ने, हाच्छ्युँ गर्दा मुख छोप्ने तथा आफ्नो पालोमा खोप लगाउने गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा यससम्बन्धी जानकारी प्रवाह गरिरहनेछ ।

प्रकाशित : मंसिर १३, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?